(आध्यात्मिक र रहस्यवादीहरूले प्रेम र भावनाका कुरालाई ‘दैवी रहस्य’का रूपमा व्याख्या गर्छन्। विज्ञानले भौतिक क्षेत्रमा काम गरेता पनि मन र हृदयको क्षेत्रमा भने काम गर्न नसक्ने भन्दै अध्यात्मवादीहरूले आरोप लगाउने गरेका छन् तर आधुनिक विज्ञानले मन र भावनाको सुस्पष्ट व्याख्या गर्न सक्छ, रसायनशास्त्रले त्यसो गर्न सक्छ। प्रेमलाई मान्छेको शरीरको ग्रन्थीमा उत्पन्न हुने विभिन्न रसायनहरूको आधारमा व्याख्या गर्न सकिने तर्क यो लेखमा उल्लेख छ। यो लेख हावर्ड विश्वविद्यालयको ‘द साइन्स इन् द न्युज’वेबसाइटबाट अनुवाद गरेर प्रस्तुत गरिएको छः सम्पादक।)
क्याथरिन उ
सन १९९३ मा जर्मन–अमेरिकन गायक नेक्सर अलेक्ज्याडर हादवेले गीतमार्फत आफ्ना संगीत पारखीहरूलाई सोधे, ‘ह्वाट् इज लभ?’ हादवेले प्रेम के हो भन्ने प्रश्नको उत्तर पाए कि पाएनन् तर आजका दिनमा ‘प्रेम के हो’ भन्ने प्रश्नको वैज्ञानिक उत्तर हामीसँग छ–एक प्रकारले।
सानै आवाजमा होस्, समाजशास्त्रदेखि स्नायुविज्ञानसम्मका वैज्ञानिकहरूले यस्तै प्रश्नहरू दशकौँदेखि सोधी रहेका थिए र छन्। र, त्यस प्रश्नको उत्तर हामीले सोचेभन्दा केही अर्थमा सरल पनि छ र केही जटिल पनि छ। गुगलमा गएर तपाईँले ‘बायोलोजी अफ् लभ्’ भनेर खोज्नुभयो गर्नुभयो भने प्रेमका बारेमा अनेकौँ खालका व्याख्याहरू तपाईँले पाउनुहुनेछ। र, त्यस्ता सर्च रिजल्टहरूमा प्रायः प्रेम र विज्ञानको विषयलाई सन्सनीपूर्ण बनाइएको हुन्छ। र, अन्य विज्ञानमा हुने अपूर्णताजस्तै, प्रेमकै बारेका सम्पूर्ण कुरा त विज्ञानलाई पनि थाहा छैन। तर यति कुराचाहिँ भन्न सकिन्छ कि प्रेमबारेका अधिकांश कुरालाई आजको रसायनशास्त्रले व्याख्या गर्न सक्छ। यदि प्रेमको त्यस्तो सुत्र नै छ भने त्यो के हो? त्यसो भन्नुको अर्थ के हो?
प्रेमः मुटुबाट होइन, दिमागबाट
पछिल्लो पटक आफूलाई मन परेको कुनै मान्छेको बारेमा सोच्नुहोस् त! उसलाई वा उनलाई देख्नेवित्तिकै तपाईँको आवाज दबिएको थियो होला, तपाईँको हत्केलामा पसिना आएको थियो होला, हडबडीमा तपाईँले कुनै अकल्पनीय शब्दै नै पो बोल्नुभयो कि? र, त्यस क्षणबाट उम्कन खोज्दाखोज्दै उल्टै त्यही व्यक्तिको सम्झना र कल्पनाको अल्झनमा पो पर्नुभयो कि! र, त्यस्तो अवस्थामा तपाईँको मुटु छिटोछिटो धड्कियो होला। र, सम्भवतः त्यही कारणले गर्दा पनि होला, मान्छेहरूले शताब्दीयौँसम्म प्रेमलगायत अन्य मानवीय भावनाहरू मुटुबाटै सिर्जित हुन्छ भन्ठाने। तर रसायन विज्ञानले प्रेमलाई हृदय या मुटुबाट सिर्जित हुने विषय ठान्दैन। किनभने प्रेमको प्रतिक्रिया मुटुमा मात्रै सिमित छैन, यसले सिंगो शरीरलाई नै सक्रिय बनाइदिन्छ।
अमेरिकाको रटगर्स विश्वविद्यालयका डा. हेलेन फिसरले नेतृत्व गरेको वैज्ञानिकको समूहको अध्ययनअनुसार रोमान्टिक प्रेमलाई ३ तहमा विभाजन गर्न सकिन्छः १. यौनाकर्षण, २. आकर्षण, ३. अनुराग। यी फरक चरणका प्रेममा शरीरले फरक–फरक हर्मोनहरू निर्माण गर्छ। ख्याल राख्नुपर्ने कुरा के छ भने आम रूपमा यसरी ३ तहमा प्रेमलाई वर्गीकरण गर्न सकिए पनि यौनाकर्षण, आकर्षण र अनुराग कहिलेकाहीँ नछुट्टिने अवस्थामा पनि व्यक्त हुन्छन्। सबै खालका प्रेमहरू छ्यासमिस पनि हुनसक्छन्। ओभरल्याप पनि हुन सक्छन्।
वासना वा यौनाकर्षणको लक्ष्य हो–यौनसन्तुष्टि। प्रकृतिमा पुनर्उत्पादन अत्यावश्यक भएकाले प्राणीमा यौन आकर्षणको विकास भएको व्याख्या उद्विकास–सिद्धान्तले गर्छन्। पुनर्उत्पादनका माध्यमबाट अर्गानिजमहरूले आफ्ना सन्तानहरूमार्फत निरन्तर आफ्ना जीनहरू हस्तान्तरण गर्छन्। थाहै नपाइकन वा जानेर आफ्नो प्रजातिको स्थायित्वका लागि प्राणीले योगदान गरिरहेका हुन्छन्।
यस प्रक्रियामा मस्तिष्कको हाइपोथैलेमसले ठूलो भूमिका निर्वाह गर्छ। स्त्रीको डिम्वाशयबाट एस्ट्रोजन र पुरुषको अण्डाशयबाट टेस्टोस्टेरोन नामक सेक्स हार्मोन–उत्पादनका लागि हाइपोथैलेमसले उत्तेजित गराउँछ। जबकि यी दुबै रसायनलाई प्रायः क्रमशः ‘पुरुष’ हर्मन र ‘महिला’ हर्मनका रूपमा बुझिने गरेको छ, जबकि दुबैले पुरुष र महिलामा एकै खालको भूमिका निर्वाह गर्छ। यो कुरा प्रमाणित छ कि टेस्टोस्टेरोन लगभग सबै मान्छेमा कामेच्छा बढाउँछ। यौन उत्तेजनामा एस्ट्रोजेनको प्रभाव कम छ भनिन्छ तर कतिपय महिलाहरू डिम्वनिष्काशन भएको अवधिमा आफूहरूमा यौनेच्छा बढ्ने बताउँछन् र त्यतिखेर महिलामा एस्ट्रोजनको निष्कासन उच्चतम् स्तरमा हुने गरेको छ।
कारक: हर्मोन
आकर्षण र वासनाबीच सम्बन्ध छ तर कहिलेकाहीँ आकर्षणमा वासना र वासनामा आकर्षण नहुन पनि सक्छ। आकर्षणको प्रक्रियामा मस्तिष्कको त्यस्तो मार्ग संलग्न हुन्छ, जसले प्रशंसा वा सम्मानको व्यवहारलाई नियन्त्रण गर्छ। सोही कारण आकर्षणका प्रथम केही हप्ता वा महिना अत्यन्त सम्मोहक हुन्छ। तपाईँलाई आकर्षित गर्ने व्यक्तिको बारेमा तपाईँ व्यापक सोच्न थाल्नुहुन्छ।
हाइपोथैलेमसमा निर्मित डोपामाइन, त्यतिखेर हाम्रो शरीरभित्र निस्कन्छ, जब हामी आफूलाई राम्रो लागेको कुरा गर्छौँँ। यसमा मन परेका व्यक्तिका साथ समय बिताउनु र यौन सम्पर्क गर्नु पनि हुन्छ। आकर्षणको समयमा अत्यधिक डोपामाइन तथा डोपामाइनसँगै सम्बंधित अर्को हार्मोन–नारपेनेफ्रिन जारी हुन्छ। यो रसायनले हामीलाई गदगद, ऊर्जावान तथा उत्साहपूर्ण बनाउँछ। यहाँसम्म कि यसले कम भोक र अनिद्राको अवस्थासम्म लैजान सक्छ। जसको अर्थ हो, तपाईँ वास्तवमा यति धेरै प्यारमा पर्नु भएको छ कि तपाईँलाई खाने कुराको पनि मतलव हुँदैन, निन्द्रासमेत लाग्दैन। वास्तवमा नरपेनेफ्रिन, जसलाई नरएड्रेनालिनको रूपमा पनि बुझिन्छ, त्यस हर्मोनले झगडा वा विमानको उडानका क्रममा प्रतिक्रिया जनाउनमा ठूलो भूमिका निर्वाह गर्छ। जसले तनावग्रस्त भएको अवस्थामा हामीलाई सतर्क राख्छ। प्यारमा परेका मान्छेको ब्रेन स्क्यानहरू गर्दा त्यस व्यक्तिको मस्तिष्कको प्राथमिक ‘आनन्द संचार गर्नेे’ केन्द्र लगायत भेन्ट्रल टेग्मेन्टल क्षेत्र तथा काडेट न्यूक्लियसमा समेत चैत्रमा आगो लागे झैँ देखिन्छ,। भनौ जब कुनै व्यक्तिलाई मन परेको व्यक्तिको तस्वीर देखाइन्छ त्यस व्यक्तिप्रति तीव्र आकर्षण भएको स्रकेत दिन्छ। तर खासै वास्ता नभएको व्यक्तिको फोटो देखाउँदा भने उसलाई मतलवै हुँदैन, उसको शरीरभित्र त्यस्तो तिव्र रसायन निस्किदैन।
आकर्षण सेरोटोनिनमा हुने कमीको कारण बन्छ। यो त्यही हर्मोन हो जुन भोक र मनोदशाजस्ता मुड बनाउने सन्दर्भमा पनि उल्लेख्य छ। दिलचस्प कुरा यो छ कि जो व्यक्तिहरू ‘अब्सेसिभ कम्ल्पल्सिभ डिसअर्डर’बाट पीडित हुन्छन्, उनीहरूमा पनि सेरोटोनिनको स्तर कम हुन्छ। वैज्ञानिकहरू ठान्दछन् कि त्यही कारण प्रेमको प्रारम्भिक दिन वा चरणमा अति सम्मोहन र आकर्षण सिर्जना हुनुमा सेरोटोनिनको कमी जिम्मेवार छ।
दुई धारे तरबार
अनुराग या लगावचाहिँ दीर्घकालिक सम्बन्धहरूमा सबैभन्दा प्रमुख हो। जबकि वासना र आकर्षण रोमान्टिक सम्बन्ध हो भने लगावपूर्ण दोस्तीले चाहिँ माता–पिता–शिशु सम्बन्ध, सामाजिक सौहार्दलगायत अन्य खालका अन्तरंग सम्बन्धहरूको पनि मध्यस्थता गर्छ। यसमा दुई प्राथमिक हार्मोनः अक्सीटोसिन र भासोप्रेसिनले भूमिका खेल्छन्।
यस कारणले अक्सीटोसिनलाई प्राय ‘कडल हार्मोन’ (प्रेम जगाउने हर्मोन) पनि भनिन्छ। डोपामाइनजस्तै अक्सीटोसिन पनि हाइपोथैलेमसमा निर्मित हुन्छ र यौनसम्पर्क, स्तनपान तथा बच्चा जन्मने बेला ग्रन्थीहरूबाट निस्कन्छ। ख्याल गर्नुपर्ने कुरा यो छ कि माथि उल्लेख गरिएका गतिविधि एकै ठाउँमा मिसाउँदा अनौठो लाग्छ, तर यी सबै गतिविधिहरू सम्बन्ध विस्तारकै क्रममा हुने प्रक्रिया हो।
माथि उल्लेखित विषय आकर्षक लाग्छ, जब हर्मोन शरीरभित्रका ग्रन्थीबाट निस्कन्छ, हामीलाई आनन्द आउँछ र हामी एकअर्काप्रति झनै निकट हुन थाल्छौँ। तर यतिमात्रै हुँदैन। प्रेममा इर्ष्या र विवेकहीन व्यवहारहरू पनि प्रकट हुन्छन्, तपाईँले जनाएको प्रेमप्रति सकारात्मक प्रतिक्रिया नदिने व्यक्तिको हकमा त्यस्तो हुन्छ। यस्तो लाग्छ कि हर्मोनको हाम्रो अनुकुल समूह समेत प्रेमकै पतनका लागि समेत जिम्मेवार हुन्छ।
उदाहरणका लागि डोपामाइन मस्तिष्कको ‘आनन्द संचार हुने मार्ग’ कै धेरैजसो अंशको लागि जिम्मेवार हर्मोन हो। यसको अर्थ हो कि राम्रो र नराम्रो दुबैलाई नियन्त्रण गर्नमा यसको भूमिका छ। आफूले असल या खराब काम गर्दा शरीरमा भएको डोपामाइनको वृद्धि भएको अनुभव हामीलाई हुन्छ। वास्तवमा जब लत या नसाको कुरा आउँछ, त्यतिखेर डोपामाइन–मार्गको बारेमा विशेष रूपमा अध्ययन गरिन्छ। जब हामी नशालु पदार्थ या कुनै मिठाई खान्छौँ, प्रेममा पर्दा या आकर्षित हुँदा सक्रिय हुने दिमागको त्यही क्षेत्र नै सक्रिय हुन्छ। यसो भन्नुको मतलव, आकर्षण पनि लत या नसाजस्तै हो। भौतिक पदार्थप्रतिको आकर्षण या बाउआमाको प्रेमको आशक्तिमा पनि हुने त्यही हो। आफ्नै समुदाय वा जातिप्रतिको आकर्षणमा पनि अक्सिटोसिनको भूमिका रहन्छ, केवल आफ्नो जातिप्रति अनुराग हुने कुराचाहिँ सही होइन। डोपामाइनजस्तै अक्सिटोसिन पनि दुईधारे तरबारजस्तै हुनजान्छ।
अन्त्यमा, प्रेमका बारेको जस्तासुकै परिभाषा गर्न जोसुकै व्यक्ति सक्षम छन्। र रसायनशास्त्रले भनेझैँ यदि, सबै कुरा हर्मोनकै कारण हुन्छ भने त हामीमध्ये प्रत्येकको जोसुकैसँग पनि जति नै खेर पनि केमिस्ट्रि मिल्न सक्छ, प्रेम हुन सक्छ। तर त्यस्तो प्रेम अझै अघि बढाउने या नबढाउने भन्ने कुरा त तपाईँकै मर्जी।










