सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकको पहिलो दिनमै नेताहरूबीच आरोप प्रत्यारोप र घोचपेच भएको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामै भनाभन भएको दिन वरिष्ठ नेता माधवकुमार नेपालले पनि आक्रोश पोखेका छन्।
अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सहित विभिन्न सातवटा एजेन्डा तय गरिएको बैठकमा प्रधानमन्त्री ओली सरकारको बचाउ गर्दै धारा प्रवाह बोल्न थालेपछि वरिष्ठ नेता नेपाल रिसाएका थिए। ओलीले सरकारले प्रभावकारी रुपमा नतिजा दिने गरी काम गरिरहेको र जनता पनि उत्साहित रहेको बताउन थालेपछि वरिष्ठ नेता नेपालले ओलीलाई बीचमै रोकेर बोलेका थिए। प्रधानमन्त्री ओलीले सरकार सफल भएको बताइरहँदा नेता नेपालले जनताको आक्रोश पनि बुझ्न भन्दै बीचमै आफ्ना कुरा राखेका थिए।
तर ओलीले नेता नेपाललाई तपाईंको पनि बोल्ने पालो आउँछ भन्दै रोक्न खोजेका थिए। ओलीले रोक्न खोजे पनि नेता नेपालले केही मिनेट आफ्ना कुरा राखे। जहाँ उनले सरकारको अक्षमताका कारण सडकमा जनआक्रोश बढिरहेको बताउँदै बरु आफूसँगै सडकमा निस्किएर हेर्न भनेका थिए। ‘तपाईंका यस्ता कुरा सुन्दा सुन्दा कान पाकिसके। अझै कति सुनाउनुहुन्छ। जनताबीच सरकारबारे कस्तो टिप्पणी भइरहेको छ? कहिले विचार गर्नु भएको छ?’, नेपालको भनाइ उद्धृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘ग्राउन्डमा के भइरहेको छ? सरकारबारे जनताको धारणा बुझ्न ग्राउन्डमा जानुस्।’ नेता नेपालले पार्टीलाई बेवास्ता गरेर ओलीले एक्लै सरकार चलाउन खोजेकोमा पनि आक्रोश व्यक्त गरे। ‘पार्टीका अरु नेताले गरेको योगदानलाई नबिर्सिनुस्, आत्मप्रशंसा मात्रै नगर्नुस्’, नेता नेपालले बैठकमा भने, ‘सामूहिक नेतृत्वलाई नभुल्नुस्, एक्लै हिँड्न खोजेर पार्टी कहीँ पुग्दैन, असफल हुन्छ, एकतामा गडबडी आउँछ, आफूलाई सच्याएर अघि बढ्नुस्।’ बीचमै आफूलाई रोकेर नेता नेपाल बोलेपछि प्रधानमन्त्री ओलीले प्रतिवाद गर्न खोजेका थिए।
उनले आफ्नै पालोमा बोल्नुस् भनेर रोक्न खोजे पनि नेता नेपालले केही मिनेटमा आफ्ना कुरा राखिसकेका थिए। आजको बैठकमा प्रधानमन्त्री ओलीले पार्टी नै प्रतिपक्ष जसरी सरकारविरुद्ध खडा भएको भन्दै अध्यक्ष दाहाल र नेता नेपालमाथि बहुमतको डर देखाउने कोशिश गरेको आरोप लगाएका थिए। ओलीले सरकारले राम्रो काम गरिरहेका बेलामा पार्टी भित्रैबाट अनेकन तिकड्म गरेर असफल बनाउन खोजिएको पनि गुनासो गरेका थिए।
ओलीले पार्टी भित्रैबाट सरकारलाई असफल बनाउन लागिरहेका बेला विदेशी शक्ति पनि सक्रिय भएको बताएका थिए। उनले सरकारलाई असफल बनाउन विदेशी शक्तिले ठूलै चलखेल गरिरहेको उल्लेख गरेका थिए। थाहाखबर