एक महिनाअघि अमेरिकाको टेक्सासमा एउटा जन्मोत्सव समारोह भएको थियो। त्यहाँ एक जना मानिसले १८ जनालाई कोरोना भाइरस सारिदिए।यस्तो समाचार पढिरहँदा यो भाइरस जंगलको डढेलोजस्तो फैलिरहेको छ भन्ने भान पर्छ। यस्तो लाग्छ संक्रमित जता पुग्छ, उसले तुरून्तै महामारी फैलाउँछ।

यसको अर्को पाटो पनि छ। इटालीका वैज्ञानिकहरूले कोरोना भाइरस कहिलेदेखि देखियो भन्ने पत्ता लाउन फोहोर पानीमा भेटिएका नमूना परीक्षण गरेका थिए। गत साता प्रकाशित रिपोर्टअनुसार तुरिन र मिलान सहरमा डिसेम्बर १८ देखि नै भाइरस देखिएको फेला पर्‍यो। जबकि, त्यसको दुई महिनापछि मात्र उत्तरी इटालीका अस्पतालमा कोरोना संक्रमितको घुइँचो सुरू भएको थियो।

यी दुइटा रिपोर्टले के बुझाउँछ भने, कोरोना भाइरस सबै ठाउँमा देखिनेबित्तिकै ह्वारह्वार्ती सल्किने होइन। धेरै व्यक्तिले आफू कोरोना संक्रमित भए पनि अरूलाई सार्दैन वा कमलाई मात्र सार्छ, जसरी इटालीमा डिसेम्बरमै देखिएको भाइरस निस्प्रभावी वा निस्तेज बसेको थियो।

कतिपय व्यक्तिले भने आफ्नो सम्पर्कमा आएजतिलाई भाइरस सल्काउँछन्, जसरी टेक्सासको एउटै समाराेहबाट १८ जनामा सल्केको थियो।’मानौं, तपाईंले सलाइको काँटी कोरेर हुत्याउनुभयो। त्यसले आगो नसल्काउन सक्छ। अर्को बालेर हुत्याउनुस्, त्यसले पनि नसल्काउला। तर, कुनै एउटा काँटीले जब ठ्याक्क ठाउँमै भेट्छ, ह्वारह्वारी आगो बल्न थाल्छ,’ वासिङ्टनस्थित इन्स्टिच्युट फर डिजिज मोडलिङ इन बेलभ्युका प्रमुख अध्येता वैज्ञानिक बेन अल्टहाउसले भने, ‘कोरोना भाइरस पनि यस्तै हो।’

चीनमा पहिलोपटक भाइरस फेला पर्नेबित्तिकै विज्ञहरूले यो एकबाट अर्कोमा कसरी सर्दो रहेछ भन्ने पत्ता लाउन धुन्धान खोजी गरेका थिए। उनीहरूको पहिलो काम नै प्रत्येक संक्रमितले औसत कति जनालाई सार्छन् भनेर पत्ता लगाउनु थियो। त्यति बेला एक जना संक्रमितले औसत दुईदेखि तीन जनालाई सार्ने देखिएको थियो। यो दर मानिसको व्यवहार र आनीबानीअनुसार फरक पर्छ।

उदाहरणका लागि, म्यासाचुसेट्समा लकडाउन सुरू हुनुअघि एक जनाबाट अरूमा फैलिने दर २:२ थियो। यो मार्चको सुरूदेखि अन्त्यसम्मको कुरा हो। अहिले त्यही दर ०.७४ मा झरेको छ।यो औसत दरले पनि मानिसलाई झुक्याउन सक्छ। किनकि, भाइरस कुन अवस्था र परिस्थितिमा एकबाट अर्कोमा सरेको हो भन्नेले यसमा फरक पार्छ।

मानौं, दस जना संक्रमितमध्ये नौ जनाले कसैलाई सारेनन्। बाँकी एक जनाले भने अरू २० जनालाई संक्रमित पारिदिए। यसो हुँदा पनि औसत दर २ नै हुन्छ।रुघामर्की (इन्फ्ल्युएन्जा) र बिफरजस्ता केही रोगमा धेरै संक्रमितले अरूलाई पनि सारिरहन्छन्। यी विस्तारै विस्तारै तर लगातार बढ्ने खालका हुन्छन्।

‘यो मामिलामा रुघा वास्तवमै अगाडि हुन्छ,’ इमोरी विश्वविद्यालयका सह-प्राध्यापक क्रिस्टिन नेल्सन भन्छिन्।तर, दादुरा र सार्सजस्ता रोग थोरै संक्रमितले फैलाए पनि तुरुन्तै सारिदिने खालका हुन्छन्। महामारीविदहरूले फैलावटको यो फरकपनलाई ‘डिस्पर्सन प्यारामिटर’ का रूपमा लिएका छन्। यसले एकबाट अर्कोमा हुने संक्रमणबीच कति फरक हुन्छ भन्ने कुरा नाप्छ।

युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसका रोग विशेषज्ञ जेम्स लोयड स्मिथले १५ वर्षअघि यस्तो ‘डिस्पर्सन प्यारामिटर’ विकास गरेका थिए। वैज्ञानिकहरूले भने यही आधारमा कोरोना संक्रमणबारे धेरै कुरा जान्यौं भनेर नठान्न चेतावनी दिएका छन्।

‘हामीले सीमित कुरा मात्र बुझिरहेका हुन्छौं,’ स्मिथ भन्छन्।कोरोना फैलिएपछि डा. कुचारस्की र उनका सहयोगीले विभिन्न देशमा भाइरसको प्रभाव नाप्ने कोशिस गरेका थिए। कोरोना रुघाजस्तो मात्र भइदिएको भए फरक-फरक स्थानमा पनि यसको प्रभाव उस्तै र उत्तिकै देखिनेछ भन्ने आशा हुन्थ्यो।

तर, डा. कुचारस्कीको टोलीले त्यसमा एकदमै विविधता फेला पारे। यो भनेको, अहिलेका कुल संक्रमितमध्ये ८० प्रतिशतलाई जम्मा १० प्रतिशतले कोरोना सल्काएका थिए।डा. कुचारस्की र उनको टोलीको यो रिपोर्ट गत अप्रिलमै प्रकाशित थियो। उनीहरूको रिपोर्ट अन्य वैज्ञानिकले समीक्षा नगरेका भए पनि अरू महामारीविज्ञले गरेको अध्ययनको परिणाम लगभग उस्तै आएको थियो।

उदाहरणका लागि, जर्जियामा डा. नेल्सनले मार्चदेखि मेसम्म ९ हजार ५ सय जना कोरोना संक्रमितको विश्लेषण गरेकी थिइन्। पाँच फरक काउन्टीमा उनले एक जनाबाट थप कति जनामा संक्रमण फैलियो भनेर अध्ययन गरेकी थिइन्।गत साता प्रकाशित उनको रिपोर्टअनुसार धेरै मानिसलाई एकैपटक संक्रमित पार्ने थुप्रै अवस्था थिए। २० प्रतिशतमा संक्रमण फैलाउनुका पछाडि जम्मा दुई प्रतिशत संक्रमित जिम्मेवार देखिए।

त्यति थोरै संक्रमितले त्यति धेरै संक्रमण कसरी फैलाइरहेका छन् भन्ने बुझ्न अध्येताहरू लागि परेका छन्।उनीहरू मुख्य तीनवटा प्रश्नको उत्तर खोजिरहेका छन्- यी ‘सुपर स्प्रेडर’ को हुन्? एकसाथ धेरैमा फैलाउने घटना कहिले भएको थियो? र, कहाँ भएको थियो?

पहिलो प्रश्नका हकमा, चिकित्सहरूले केही संक्रमितका शरीरमा अरूभन्दा धेरै भाइरस वृद्धि हुने र उनीहरूबाट धेरै मानिसमा फैलिन सक्ने स्थिति फेला पारिसकेका छन्। अर्थात्, केही मानिस भाइरसको कारखाना बन्न सक्छन् जसले प्रत्येकपटक सास फेर्दा धेरै भाइरस फ्याँकिरहेका हुन्छन्।

संक्रमणका मामिलामा मानिसको शारीरिक अवस्थाभन्दा पनि सामाजिक परिस्थितिको भूमिका धेरै हुने डा. नेल्सन बताउँछिन्। डा. लोयड स्मिथ उनका कुरामा सहमति जनाउँछन्, ‘यो भेला र समारोहहरूमा बढी केन्द्रित छ भन्ने लाग्छ।’

संक्रमित कुन बेला अरू मान्छेको सम्पर्कमा पुगेको छ भन्नेले पनि महत्व राख्छ। कुनै मानिसलाई भाइरस सरेको एक-दुई दिन मात्र भएको छ भने उसमा लक्षण देखिएको हुँदैन। लक्षण नदेखिएका यी दिनमा संक्रमितले अरूसँग सम्पर्क नगरे भाइरस सार्दैन। सम्पर्कमा आएमा अरू धेरैलाई सार्न सक्छ।

त्यसैगरी धेरै मात्रामा संक्रमण फैलिनुमा ठाउँको भूमिका उत्तिकै हुन्छ। धेरै मान्छे भेला भएका बन्द हल वा कोठामा यो जोखिम बढी पाइएको छ। हल्ला भएका ठाउँमा मान्छे ठूलो स्वरमा कराइरहेका हुन्छन्। यो भिडमा संक्रमित छ भने उसले नखोकी पनि ‘सुपर स्प्रेडर’ बन्न सक्छ। यस्ता कोठामा ताजा हावा निरन्तर प्रवाह हुँदैन भने त्यहाँको वायुमा भाइरस घन्टौं रहिरहन्छ।

हालै जापानमा भएको अध्ययनअनुसार सबभन्दा धेरै कोरोना भाइरस फैलाउने क्षेत्रहरू स्वास्थ्य सेवाका स्थान, नर्सिङ होम, दिवा स्याहार केन्द्र, रेस्टुरेन्ट, बार र लाइभ कन्सर्टहरू हुन्।

एकसाथ धेरैमा सर्ने (सुपर स्प्रेडिङ) प्रवृत्तिले नै सायद इटालीमा पहिलोपटक भाइरस देखिएर महामारी भइसक्दाका बीचमा धेरै समय रहेको हुनसक्छ। विज्ञहरूले अन्य मुलुकमा पनि इटालीकै जस्तो प्रवृत्ति देखिएको बताएका छन्। अर्थात्, कुनै ठाउँमा भाइरस पहिल्यै देखा परे पनि हप्तौंपछि मात्र महामारीको रुप लिएको छ।

धेरै देश तथा राज्यले कोरोना भाइरससँग लड्न ‘लकडाउन’ गरेका छन्। यसले संक्रमण नियन्त्रणमा राख्न सघाएको देखिन्छ। तर, धेरै देश लकडाउन खोल्न तम्सिएका छन्। उनीहरूले सुपर स्प्रेडिङको सम्भावना बिर्सन खोजेजस्तो देखिन्छ, जुन उचित होइन।

‘एक साताभित्रै संक्रमण धेरै फैलिएर नियन्त्रणै गर्न नसकिने स्थितिमा पुग्ने सम्भावना छ भन्ने बिर्सनु हुँदैन,’ डा. लोयड स्मिथ भन्छन्।सिंगापुरमा बेलैमा संक्रमित पत्ता लगाएर महामारी सम्भावना टारेको भनेर निकै वाहवाही भएको थियो। तर, वैदेशिक रोजगारीअन्तर्गत आएका धेरै कामदार विशाल हलभित्रै अटाएर बसेका छन् भन्ने उनीहरूले ध्यान दिएनन्। जबकि ती ठाउँ नै ठूलो मात्रामा संक्रमण फैलाउने मुख्य केन्द्र थिए। अब अहिले फेरि चर्किएको भाइरस आतंकबाट मुक्त हुन सिंगापुरले संघर्ष गर्नुपरिरहेको छ।

सुपर स्प्रेडिङका घटना हुन नदिन ठूला भेला र समारोह रोक्नु नै बुद्धिमानी हुन्छ।’सार्वजनिक गतिविधि नियन्त्रण गर्न सके खतरा पनि कम गर्न सक्नेछौं,’ डा. कुचारस्की भन्छन्।

(द न्यूयोर्क टाइम्सका लागि कार्ल जिम्मरले लेखेको स्टोरीको भावानुवाद सेतोपाटीबाट साभार)

फेसबुकबाट तपाईको प्रतिक्रिया