वरिष्ठ राजनीतिज्ञ तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ। हृदयघातका कारण गएराती निधन भएका नेम्वाङ नेकपा एमालेमा दोस्रो वरियताका उपाध्यक्ष तथा संसदीय दलका उपनेता थिए। उनको निधनपछि विभिन्न राजनीतिकर्मीहरुले उनको जीवन र योगदान स्मरण गरेका छन्।
झलनाथ खनाल, पूर्वप्रधानमन्त्री
उहाँ राजनीतिमा लागिसकेपछि चाहे कोअर्डिनेसन काल, चाहे माले काल, चाहे नेकपा एमाले र चाहे नेकपाको कालखण्डमा हामी सँगसँगै अगाडि बढेका छौं। उहाँले देशको कम्युनिष्ट आन्दोलन र समाजवादी आन्दोलनलाई अगाडि बढाउन योगदान गर्नुभयो। त्यसका साथै एउटा कुशल सांसद र कुशल सभामूखका रुपमा उहाँले भूमिका निर्वाह गर्नुभयो। उहाँ खासगरी पहिलो संविधान सभाको अध्यक्ष बन्दा संयोगवश म देशको ३४ औं प्रधानमन्त्री थिएँ।
संविधान निर्माण गर्ने सिलसिलामा उहाँले अध्यक्षको रुपमा जुन प्रकारले भूमिका निर्वाह गर्नुभयो र विविध खालका विचार तथा राजनीतिक शक्तिहरूका बीचमा जसरी सहजीकरण गर्नुभयो, त्यो असाध्यै महत्वपूर्ण योगदान थियो। यो उहाँको जीवनको सबैभन्दा चहकिलो पाटो हो। यही चहकिलो पाटोका कारण आज हामीले संविधान प्राप्त गरेका छौं।
सुवास नेम्वाङ एउटा मृदुभाषी र इमानदार व्यक्ति हो। उहाँका केही निजी स्वार्थ थिए जस्तो मलाई लाग्दैन। निजी स्वार्थभन्दा माथि देश, जनता र राष्ट्रको निम्ति केही गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति हो। र, उहाँ अनुशासित र अध्ययनशील व्यक्ति पनि हो। यी गुणहरू हामी सबैले सिक्नुपर्छ।
हामी जब संसदको निर्वाचनका क्रममा पहिलोपटक इलाममा सँगसँगै हिँडेका थियौं, त्यतिबेला म उहाँको निर्वाचन क्षेत्रमा गएर भाषण गर्थे भने उहाँ मेरो निर्वाचन क्षेत्रमा भाषण गर्नुहुन्थ्यो। यी क्षणहरू हामी दुवैका निम्ति अविस्मरणीय थिए। उहाँ एउटा वरिष्ठ वकिल मात्रै हुनुहुन्न थियो, उहाँले संविधान सभाबाट होस् वा संसदबाट, बनाइने कानुनहरूमा पनि उहाँले महत्वपूर्ण सहयोग गर्नुभयो। यो पनि उहाँको महत्वपूर्ण योगदान थियो।
बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री तथा अध्यक्ष, नेपाल समाजवादी पार्टी
सुभासचन्द्र नेम्वाङजी संविधानसभाको दुवै पटक अध्यक्ष रहनुभयो। संविधानसभाबाट संविधान निर्माणको बेलामा म संवैधानिक राजनीतिक तथा सहमति समितिको सभापति थिएँ। नेताहरुले महत्वपूर्ण विषय टुङ्गयाएर संविधानसभामा प्रस्तुत गर्दा उहाँ मार्फत नै प्रस्तुत गर्नु पर्थ्यो। त्यस्तो बेलामा उहाँको समन्वयकारी भूमिका निकै महत्वपूर्ण हुन्थ्यो।
संविधानसभाको अध्यक्षका नाताले उहाँले बेलाबखत नेताहरुलाई तथा समितिका सभापतिहरुलाई बोलाएर समन्वयको काम पनि गर्नुहुन्थ्यो। कोही आवेशमा आयो भने सन्तुलन मिलाउने काम उहाँले कुशलतापूर्वक गर्नुभयो। संविधान निर्माणपछि पनि शान्ति प्रक्रियाका सबै काम टुङ्गी नसकेको हुनाले हामी एकखालको संक्रमणमै छौं। यस्तो बेला समन्वयकारी भूमिका खेल्ने व्यक्तिको अभाव सधै खड्की रहनेछ। त्यसैले उहाँसँगको सहकार्यलाई म अत्यन्तै सम्मान र उच्च महत्वका साथ सम्झी रहन्छु।
संविधान निर्माणपछि पनि शान्ति प्रक्रियाका सबै काम टुङ्गी नसकेको हुनाले हामी एकखालको संक्रमणमै छौँ । यस्तो बेला समन्वयकारी भूमिका खेल्ने वहाँ जस्तो व्यक्तिको अभाव सधै खड्की रहने छ ।
खासगरी केपी शर्मा ओलीले दुई–दुई पटक संसद विघटन गरेपछि देशमा जस्तोखाले अन्यौलता सिर्जना भयो हामी त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर पनि भेटघाट गरिरहन्थ्यौँ। उहाँ एमालेको नेता भएकै कारण एमालेप्रति प्रतिवद्ध हुनुहुन्थ्यो तथापि हामी भेटघाट छलफल गरिरहन्थ्यौँ। त्यति बेला मैले भनेको थिएँ– केपी ओलीजी अलिक आक्रामण, असहिष्णु देखिनुहुन्छ, उहाँको यो शैलीले देशलाई धेरै भलो गर्दैन। त्यसैले तपाईंले उहाँलाई मत्थर पार्न समन्वयकारी भूमिका खेल्नुपर्यो। उहाँले ‘राम्रो कुरा गर्नु भयो। म प्रयास त गर्छु तर उहाँले कति मान्नुहुन्छ’ भन्नुभएको थियो। उहाँ मैले मन पराएको व्यक्तित्व हुनुहुन्थ्यो। यो असाध्यै दुःखको घडीमा म उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु।
प्रदीप ज्ञवाली, उपमहासचिव, नेकपा एमाले
हाम्रो पार्टीका उपाध्यक्ष, संविधान सभाका अध्यक्ष र प्रतिनिधि सभामा ४ पटकसम्म सभामूखको भूमिका खेल्नुभएका अत्यन्त लोकप्रिय नेता सुवासचन्द्र नेम्वाङको आज बिहान १ बजेर ५० मिनेट जाँदा हृदयघातबाट निधन भएको छ। हाम्रो पार्टी परिवार मात्रै होइन, उहाँको परिवार मात्रै होइन, एउटा सिंगो देश शोकको घडीमा डुबिरहेको छ।
खासगरी मुलुकको संविधान निर्माणका लागि उहाँले खेल्नुभएको भूमिका नेपालको इतिहासमा अमेट रहेको छ। दुई/दुई पटकसम्म संविधान सभाको अध्यक्षताको दुर्लभ अवसर उहाँले पाउनुभयो र त्यो अवसरलाई जसरी अत्यन्त कुशलतापूर्वक उहाँले निर्वाह गर्नुभयो, सर्वाधिक महत्वपूर्ण योगदानको रुपमा त्यो कुरालाई मूल्यांकन गरेका छौं। त्यस्तै सभामूखको रुपमा, पार्टी उपाध्यक्षको रुपमा, संसदीय दलका उपनेताको रुपमा असाध्यै कुशल सांसदको रुपमा, चाहे राष्ट्रिय सभामा रहँदा होस्, चाहे प्रतिनिधि सभामा, सार्वजनिक लेखा समितिको सभापतिको रुपमा हरेक आयाम र हरेक भूमिकामा उहाँले आफूलाई अत्यन्त खरो सावित गर्नुभएको छ।
मृदुभाषी, सरल र जस्तोसुकै तनावको बीचमा पनि सबै पक्षलाई समन्वयमा ल्याएर एउटा सहमतिको निकास निकाल्न सक्ने त्यो व्यक्तित्वको अभाव नेपालको राजनीतिक आन्दोलनमा लामो समयसम्म हुनेछ। उहाँ कति लोकप्रिय हुनुहुन्थ्यो भन्ने कुरा ०५६ सालदेखि उहाँले इलामबाट लगातार हासिल गर्दै आएको विजयबाट प्रष्ट हुन्छ। २०५६, २०६४, २०७०, २०७४ र २०७९ का सबै निर्वाचनमा उहाँले त्यहाँको जनताको मायाबाट अत्याधिक बहुमतका साथ विजय हासिल गर्नुभएको छ।
विन्दा पाण्डे, स्थायी समिति सदस्य, नेकपा (एमाले)
मैले विद्यार्थी हुँदादेखि नै चिनेको हो। पहिले ल फर्म थियो। हामीहरु केही कानूनी सहयोग चाहिएमा पुग्ने उहाँकै फर्ममा हो। पछि म अनेमसंघको केन्द्रीय कोषाध्यक्ष भएपछि पनि अनेमसंघलाई कुनै कानूनी सल्लाह आवश्यक पर्दा उहाँसँगै लिन जान्थ्यौँ।
संविधानसभामा म मौलिक हक तथा राज्यका निर्देशक सिद्धान्त समितिको सभापति थिएँ। उहाँ अध्यक्ष भएकाले हाम्रा कतिपय समस्या उहाँसँगै ठोकिन पुग्थे। उहाँसँग संवाद गरिहरन्थ्यौं। राज्यका निर्देशक सिद्धान्त र नीतिहरुका विषयमा कहीँ पनि प्रश्न उठाउन नपाउने कुरा संविधानको मस्यौदामा परेपछि मैले आपत्ती जनाएँ।
प्रश्नै उठाउन नपाउने पनि हुन्छ ? भनेर प्रश्न गरेपछि उहाँले यस सम्बन्धमा सरकारले संसदमा प्रतिवेदन पेश गर्नुपर्ने र प्रतिवेदनमाथि छलफल गर्न पाउने धारा थप्न भन्नुभयो र समस्या हल भयो। पछि नागरिकता सम्बन्धी विषयमा विवादहुँदा पनि हामीले यस्तो व्यवस्था राख्ने हो ? हामी संसदमै अवरोध गर्छौँ भनेर आफ्ना कुरा राख्यौँ। उहाँले संविधानसभामा अवरोध गर्न पाइन्न बरु असहमतीका बुँदाहरु राख्नुस त्यससहितको प्रतिवेदन पाठाउँला भनेर वे–आउट निकाल्नु भयो।
पार्टीमा उठ्ने विवादमा पनि शालिनतापूर्वक आफ्ना असहमति राख्नुहुन्थ्यो । पार्टी भित्रका विवाद मिलाउन पनि उहाँले निकै मेहनत गर्नुभयो । उहाँका कुरा तत्कालिन नेतृत्वले राम्ररी सुनेर मानेको भए अहिलेको जस्तो समस्या आउँदैन्थ्यो ।
महिला ककसका विषयमा पार्टीका नेताहरुले विरोध जनाएपछि विवाद उत्पन्न भयो। उहाँले पछि हामीलाई सहजिकरण गर्नुभयो र कर्मचारी र अफिस दिनुभयो।
पार्टीमा उठ्ने विवादमा पनि शालिनतापूर्वक आफ्ना असहमति राख्नुहुन्थ्यो। पार्टी भित्रका विवाद मिलाउन पनि उहाँले निकै मेहनत गर्नुभयो। उहाँका कुरा तत्कालिन नेतृत्वले राम्ररी सुनेर मानेको भए अहिलेको जस्तो समस्या आउँदैन्थ्यो।
समावेशीता र समानतालगायत कतिपय विषयमा विवाद हुँदा अन्तर्राष्ट्रिय प्रतिवद्धता अनुसार गर्नुपर्छ भन्ने उहाँको धारणा हुन्थ्यो र समाधान निकाल्न सहज हुन्थ्यो। उहाँका असल कुराबाट हामी बाँचेकाहरुले सिकेर व्यवहारमा अपनाउनु आवश्यक छ।
राजेन्द्र श्रेष्ठ, नेता, जनता समाजवादी पार्टी (जसपा)
सुवासजीसँग म तत्कालिन नेकपा (माले) को राजनीतिमा भूमिगत कालदेखि नै सम्पर्कमा थिएँ। उहाँ पार्टीको बुद्धिजीवी विशेष जिल्ला कमिटिमा संगठित भएर कार्यरत हुनुहुन्थ्यो। त्यसको प्रमुखमा प्रमेश हमाल हुनुहुन्थ्यो। म उपत्यका विशेष समन्वय कमिटिको सचिव थिएँ। त्यतिबेलादेखि नै हरेक विषयमा प्रष्ट राजनीतिक विचार राख्ने र दृढ स्वभावको तर समन्वयकारी व्यक्तित्व हुनुहुन्थ्यो।
पछिल्लो समय रुपान्तरित संसदको सभामुख र संविधानसभाको अध्यक्षका रुपमा उहाँले संविधान निर्माण जस्तो महत्वपूर्ण र जटिल काममा देशको नेतृत्व गर्नुभयो। पहिलो संविधानसभामा उहाँले चाहेको भए जेठको पहिलो सातामै संविधान जारी हुने अवस्था थियो। उहाँले १४ गतेसम्म पनि यो भूमिका खेल्न सक्नुहुन्थ्यो। उहाँले धेरै समय नेताहरुको आदेश पालक जस्तो बनेर संविधानसभाको बैठक बोलाउने/नबोलाउने निर्णय गर्न थाल्नुभयो। यसले गर्दा दोस्रो निर्वाचन गर्नुपर्ने र मुलुकले ठूलो आर्थिक भार व्यहोर्नु पर्ने अवस्था आयो।
उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता पक्ष सामेल भएको नेपालको संविधान ०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो।
जे भएपनि उहाँले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, समानुपातिक प्रतिनिधित्व जस्ता पक्ष सामेल भएको नेपालको संविधान ०७२ जारी गर्ने ऐतिहासिक कार्यको नेतृत्व गर्नुभयो। यस अर्थमा उहाँको भूमिका उच्चस्तरको रह्यो।
हाम्रो मुल्याङ्कनमा पहिचानको राजनीति नेपाल जस्तो बहुभाषिक तथा बहुसाँस्कृतिक प्रकृतिको देशमा हामीले चाहेको जस्तो संघीय प्रणालीमा जाने विषयमा उहाँले थप भूमिका खेल्न सक्नुहुन्थ्यो। तर, यसमामिलामा उहाँको त्यति सन्तोषजनक भूमिक रहेन।
घनश्याम भूसाल, महासचिव, नेकपा एकीकृत समाजवादी
सुवासजी लोकतान्त्रिक मुल्य, संवैधानिक तथा कानूनी व्यवस्थाका पक्षबाट राजनीतिलाई हेर्नुहुन्थ्यो। उहाँले अरु पक्षबाट सक्रिय वैचारिक विमर्श र बहस गर्नु भएन। बहस र विवादका समयमा सहमति र एकता खोज्ने कुरातिर उहाँको ध्यान जान्थ्यो। स्वभाव शालिन थियो, सरल थियो जसले गर्दा होला कतिपय जटिल विषयमा सार्वजनिक रुपमा आफ्ना मत राख्नबाट तर्किनु हुन्थ्यो।
यसमा पार्टीको नेतृत्वको शैली पनि कारण थियो होला। पार्टी नेतृत्वसँग मत बझाउन नचाहँदा पनि त्यस्तो भएको हुनसक्छ। व्यक्तिगत रुपमा अत्यन्त भद्र, शालिन र सरल व्यक्तित्व थियो तर राजनीतिक नेताका रुपमा जुन पहलकदमीको अपेक्षा गरिन्छ आफ्नो पदीय भूमिका अनुसार पनि त्यस्तो पहलकदमी लिन चुक्नुभयो।
प्रमेश हमाल, नेता, नेकपा एकीकृत समाजवादी
०३९ सालतिरबाट सुवासजी र म नेकपा (माले) को भूमिगत संगठनमासँगै काम गर्थ्यौं। उहाँको व्यक्तित्व प्रखर थियो। कानून व्यवसायी हुनुहुन्थ्यो र नेपाल ल क्याम्पसमा प्राध्यापन पनि गर्नुहुन्थ्यो। ०४२ सालपछि बुद्धिजीवी विशेष जिल्ला कमिटि गठन भयो। त्यसमा म सचिव र उहाँ सदस्यका रुपमा काम रहेर काम गर्यौँ। प्रखर वक्ता, राजनीतिक पृष्ठभूमि भएका कारण आफ्नो पेशामा पनि अब्वल हुुनुहुन्थ्यो। त्यतिवेला पार्टीका नेता कार्यकर्ता पक्राउ पर्दा उनीहरुका पक्षबाट मुद्धा लड्ने र सहयोग गर्न मुख्य भूमिका खेल्नु भएको थियो। यसैगरि पछि नेपाल बुद्धिजीवी परिषद्को गठन कालमा म सचिव र उहाँ सदस्य भएर पनि काम गर्यौं। उहाँ सरल सहज व्यक्तित्व हुनुहुन्थ्यो।
कृष्णप्रसाद सिटौला, नेता, नेपाली काँग्रेस
सुवास नेम्वाङजीको असमायिक निधनले म र मेरो पार्टी नेपाली काँग्रेस स्तब्ध छ। यसबीच उहाँ कहिल्यै बिरामी भएको पनि हामीले थाहा पाएनौँ। उहाँको अप्रत्यासित निधनले हामी सबै मर्माहत भएकाछौं।
संविधान निर्माणका क्रममा संविधान जारी नगर्नका लागि आएका यावत् दबाबलाई पन्छ्याएर संविधान जारी गराउन उहाँले संविधानसभाको अध्यक्षको हैसियतमा जे–जति भूमिका खेल्नुभयो त्यो सबै नेपालीले उच्च कदर गरिरहने छन्।
नेपालको लोकतन्त्रीक आन्दोलन तथा गणतन्त्रपछि संविधान निर्माणमा उहाँले खेलेको भूमिकालाई कुनै पनि नेपालीले भुल्न सक्दैन। हामी पनि उहाँको भूमिकालाई बिर्सन सक्दैनौँ। संविधान निर्माणका क्रममा संविधान जारी नगर्नका लागि आएका यावत दबाबलाई पन्छ्याएर संविधान जारी गराउन उहाँले संविधानसभाको अध्यक्षको हैसियतमा जे–जति भूमिका खेल्नु भयो त्यो सबै नेपालीले उच्च कदर गरिरहने छन्।
संविधान निर्माणका लागि गठन भएको पहिलो संविधानसभामा म थिइन। तर, उहाँले खेलेको भूमिकालाई मैले नजिकबाट नियाली रहेकै थिएँ। उहाँले जति निष्ठाका साथ संविधान बनाउनका लागि आफ्नो भूमिकालाई सक्रिय पार्नुभयो त्यसैलाई मध्यनजर गरेरै उहाँलाई दोस्रो संविधानसभामा अध्यक्षका रुपमा भूमिका दिइएको थियो।
म संविधान मस्यौदा समितिको संयोजक भएर काम गर्दा हामीले तयार पारेको मस्यौदालाई सदनमा पेश गराउन तथा विभिन्न पार्टीका नेताहरुलाई त्यसमा सहमत गराउँदै संविधान जारी गराउन उहाँले गरेको मेहनतलाई आज म यहाँ विशेषगरी स्मरण गर्न चाहन्छु। उहाँले त्यतिबेला सक्रियतापूर्वक भूमिका नखेलिदिएको भए संविधान जारी हुने थिएन। त्यसैले उहाँको कामको, भूमिकाको, सक्रियताको जति नै प्रशंशा गरे पनि पुग्दैन।
यस्तो दुःखको घडीमा म उहाँको आत्माको चिर शान्तीको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जति अर्पण गर्छु। साथै शोकाकुल परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु।
राधाकृष्ण मैनाली, नेकपा (माले) का पूर्व नेता
नेम्वाङको निधनले मलाई स्तब्ध बनायो। निधनको खबर पाउना साथ म अचानक ०३२ सालको सेरोफेरोमा पुगेछु। आज उहाँको निधनकै दिन आलोचनात्मक कुरा किन गर्नु? तर, के भन्न सकिन्छ भने उहाँ अडान लिएर, संघर्ष गरेर भन्दा पनि समन्वय गरेर अघि बढ्न खोज्ने मिलनसार प्रवृत्तिको व्यक्ति हुनुहुन्थ्यो।
पार्टीका अन्य कार्यकर्ताहरु सरह उहाँ पार्टी जीवनमा सांगठनिक संघर्ष, त्याग र बलिदान गरेर आउनु भएको होइन। उहाँको बुबा जिल्ला न्यायाधीश हुनुहुन्थ्यो। उहाँ अधिवक्ता, प्रध्यापक हुँदै पार्टीमा जोडिनुभयो। विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गर्दा राजकाजको मुद्दा लागेर उहाँ ०३२ सालमा केही दिनका लागि सेन्ट्रल जेल आउनुभएको थियो। मैले उहाँलाई त्यहीँबाट चिनेको हो। ०३३ सालमा साथीहरुले कोअर्डिनेशन केन्द्रको पार्टी सदस्यता दिए। ०३५ सालमा उहाँ फेरी जेल पर्नुभयो। त्यति बेला म नख्खु सरुवा भइसकेको थिएँ, भेट हुन सकेन।
कुटनीतिक ढंगले आफ्नो कुरा राख्ने व्यक्तित्व भएकाले उहाँले बोलेको कुरा सबैले बुझ्न पनि नसक्ने हुन्थ्यो । खासमा उहाँ दिअर्थी शब्दको प्रयोग गरेर आफ्ना कुरा राख्नु हुन्थ्यो । उहाँ जमिनबाट उठेर आएको भन्दा पनि बौद्धिक नेता हुनुहुन्थ्यो भन्नु राम्रो हुन्छ ।
सबैलाई मिलाएरै जाउँ भन्ने खालको व्यक्तित्व भएकै हुनाले उहाँ संविधानसभाको सभामुख हुनुभयो। संविधान निर्माणका क्रममा पनि सम्झौता गरेर अघि बढ्नुपर्छ भन्ने उहाँको भनाइ हुन्थ्यो। उहाँले त्यहाँ सकेको भूमिका निर्वाह गर्नुभयो। पार्टी जीवनमा पनि उहाँ त्यसैगरी मिलाउँदै मिलाउँदै पार्टी उपाध्यक्षसम्म पुग्नुभएको हो।
सरल, मृदुभाषी र कसैको आलोचना गर्नु परे पनि कुटनीतिक ढंगले आफ्नो कुरा राख्ने व्यक्तित्व भएकाले उहाँले बोलेको कुरा सबैले बुझ्न पनि नसक्ने हुन्थ्यो। खासमा उहाँ द्विअर्थी शब्दको प्रयोग गरेर आफ्ना कुरा राख्नुहुन्थ्यो। उहाँ जमिनबाट उठेर आएको भन्दा पनि बौद्धिक नेता हुनुहुन्थ्यो भन्नु राम्रो हुन्छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली !
भीम रावल, नेता, नेकपा (एमाले)
०३२ सालमा कमरेड सुवास नेम्वाङ नेपाल ल क्याम्पसमा पढाउनुहुन्थ्यो। म त्यसैसँग जोडिएको आरआर क्याम्पसमा विद्यार्थी थिएँ। त्यही क्रममा हाम्रो भेटघाट भयो। ०३३ सालमा तत्कालीन प्रधानमन्त्रीले बोलेका कतिपय कुराले भारतसँग झुकेको देखिएपछि हामीले भारतसँग झुक्ने प्रधानमन्त्रीको अभिव्यक्तिका विरुद्ध एउटा पर्चा छर्यौँ। त्यही सिलसिलामा हामीलाई गिरफ्तार गरियो। केही समय थुनामा बसेपछि क्षेत्रीय अदालतको फैसलाले हामी रिहा भयौँ। त्यसयता ४८ बर्षसम्म उहाँ र मेराबीच अत्यन्त हार्दिकतापूर्ण र निकट सम्बन्ध रह्यो।
०३६ सालमा म अनेरास्ववियुको केन्द्रीय सदस्य भएँ ०३८ सालपछि नेकपा मालेको बुद्धिजीवी फाँटमा हामीले सँगै काम गर्यौँ। ०४२ सालमा वासुदेव ढुङ्गाना नेपाल बारको अध्यक्ष हुँदा उहाँ सचिव हुनुहुन्थ्यो। पार्टीको आन्तरिक राजनीतिमा हामी एउटै कमिटीमा थियौँ। त्यसमार्फत हामीले पञ्चायती व्यवस्था विरुद्ध वैचारिक सांगठनिक काममा भूमिका खेल्यौँ। उहाँ असाध्यै सरल, तार्किक र बौद्धिक व्यक्तित्व हुनुहुन्थ्यो। संविधानसभाको दोस्रो कार्यकालमा पनि संविधानसभालाई सफल बनाउन उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो। पार्टी उपाध्यक्षका रुपमा मेरो उहाँसँग निरन्तर संवाद भइरहन्थ्यो।
अत्यन्त मिलनसार, राष्ट्रिय स्तरको बौद्धिक र देशभक्त नेता पार्टीले तथा देशले गुमाएको छ। देशलाई ठूलो नोक्सान भएको छ। उहाँको निधनको खबरले म अत्यन्त मर्माहत छु।
अहिले म अछाम जिल्लामा छु। यता आउनु अघि पनि उहाँसँग मेरो कुरा भएको थियो। हाम्राबीचमा पार्टीका आन्तारिक समस्या र देशले बेहोरिरहेको चुनौतीका विषयमा छलफल भयो र यस्तो छलफल गरिरहने समझदारी थियो हामीबीच तर अब उहाँ यो धरतीमा हुनुहुन्न भन्दा पत्याउनै गाह्रो भइरहेको छ।
अत्यन्त मिलनसार, राष्ट्रिय स्तरको बौद्धिक र देशभक्त नेता पार्टीले तथा देशले गुमाएको छ। देशलाई ठूलो नोक्सान भएको छ। उहाँको निधनको खबरले म अत्यन्त मर्माहत छु। उहाँप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु।