प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतबाट आफ्नो पक्षमा फैसला नभए आन्दोलन गर्ने बताएपछि विभिन्न टिप्पणी हुन थालेको छ । विराटनगरमा भएको सभामा ओलीको यस्तो अभिव्यक्ति आएपछि यसविषयलाई लिएर आइतबार आन्दोलनरत दलका नेताहरूले संसद पुनस्र्थापना हुने भएपछि प्रधानमन्त्री आत्तिन थालेको टिप्पणी गरे ।
प्रधानमन्त्री अत्तालिन थालेः रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्र्थापना हुने थाह पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिन थालेको बताएका छन् । आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री ओली आत्तिएको बताए । उनले अदालतले संसद पुनस्र्थापनाको फैसला गरेपछि ओलीको दिन सकिने पनि टिप्पणी गरे ।
अदालतलाई ऐतिहासिक अवसर छः कृष्णप्रसाद सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् । प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले शासकहरू पागल जस्तै हुनसक्ने भएकाले यसलाई रोक्ने काम अदालतको भएको र संविधानको रक्षा गर्न अदालतलाई ऐतिहासिक अवसर रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा फैसला नभए आन्दोलन गर्छु भन्नु राज्य आतंकको नमूना भएको उनको टिप्पणी छ ।
राष्ट्रपतिमा गुटको गन्ध आइरहेको छः रामकुमारी झाँक्री
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवि भण्डारी एउटा पक्षको पछि लाग्दा संविधान खतरामा परेको बताएकी छिन् । संखुवासभामा आइतबार पत्रकारसँगको संक्षिप्त कुराकानीमा नेता झाँक्रीले राष्ट्रपति भण्डारीमा गुटको गन्ध पनि आइरहेको बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक निकायलाई भर्तीकेन्द्र बनाएको पनि झाँक्रीको आरोप छ ।