प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभिन्न राजनीतिक दलहरू निरन्तर आन्दोलनमा छन् । शनिबारपनि प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनरत दलका नेताहरूले संघर्ष जारी रहने अभिव्यक्ति दिएका छन् ।
आन्दोलन सफलतामा नपुगी विश्राम हुँदैनः झलनाथ खनाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा प्रतिक्रान्ति गरेर देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन् । उपचारका लागि भारत गएका नेता खनाल शनिबार स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् । उनले जनता लोकतन्त्र र संविधानको रक्षाका लागि उठिसकेको बताउँदै आफूहरूको आन्दोलन सफलतामा नपुगि विश्राम नहुने उल्लेख गरे ।
किन ‘अदालतले जे गर्छ त्यही मान्छौं’ भनिँदैछ ? : रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई किन अदालतले जे गर्छ त्यही मान्छौँ भनिँदैछ भनेर प्रश्न गरेका छन् । शनिबार सुनसरीको इनरुवामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रश्न गरे, ‘अदालतमा सेटिङ भएको हो ? होइन भने किन अदालतले जे गर्छ त्यही मान्छौं भनिँदैछ ?’ नेता पौडेलले संविधान रक्षा गर्ने आफूहरुको पनि दायित्व भएको भन्दै बेखबर बस्न नमिल्ने बताए ।
मुख्यमन्त्रीले धम्क्याउने काम गरेः भीम आचार्य
नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रदेश १ को प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिनाको अवधिमा मुख्यमन्त्री शेरधन राईले धम्क्याउने काम गरिरहेको आरोप लगाएका छन् । प्रदेश सभा सदस्य समेत रहेका नेता आचार्यले राजधानीमा पत्रकार सम्मेलन गरी तागत भए प्रदेश सभा भंग गर्न चुनौती दिए । मुख्यमन्त्रीले चाहेर पनि प्रदेशसभा भंग गर्न नसक्ने उनको भनाई थियो ।