प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख सापकोटालाई सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा सभामुख सापकोटाले नेपालको संविधानअनुसार राष्ट्रपतिबाट शपथ लिनु भएको हो।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी हुनुहुन्थ्यो ।त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेल, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रिगण, सांसद, संवैधानिक अङ्गका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, उच्च सरकारी अधिकारीलगायतको सहभागिता रहेको थियो ।सपथग्रहणपछि सभामुखका सपरिवारले सामूहिक तस्बिर खिचाउनु भएको थियो । प्रतिनिधि सभाको आइतबार भएको बैठकबाट सांसद सापकोटा सभामुखमा निर्विरोध निर्वाचित हुनु भएको थियो।
एमसीसीबारे बहस भइरहेकाले पास गर्न हतार गर्न नहुने
यसैगरी, नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे बहस भइरहेको भन्दै यसमा पास गर्न हतार गर्नु नपर्ने प्रतिक्रिया दिएका छन् ।सोमबार सपथपछि पदभार ग्रहण गरेका सापकोटालाई एमसीसीबारे सञ्चारकर्मीहरुले प्रश्न गरेका थिए । जवाफमा उनले भने, यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ । अध्यनन गर्दै जाउँ न सबैले। यसलाई अहिले किन हतार गर्नुपर्यो र।’ एमसीसीबारे सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा मत बाझिएको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित मन्त्रीहरु यो सम्झौता पास गर्नुपर्ने मत राखिरहेका छन् भने अन्य नेताहरुले अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको आशंका गरेका छन्।
यसैबीच सापकोटामाथि सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि सोमबार नै सुनुवाइ हुँदैछ । गएको शुक्रबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउन नहुने भन्दै दायर गरेको रिटमा अधिवक्ता सपना प्रधान मल्लको इजलासमा सुनुवाइ हुने भएको हो ।आइतबारका लागि तोकिएको सुनुवाइ स्थगित भएपछि सोमबार सुनुवाइ हुन लागेको हो । आइतबार सुनुवाइका लागि न्यायाधीश हरि फुयाँलको इजलास तोकिएकोमा फुयाँलले यो रिट आफूले हेर्न नमिल्ने बताएपछि सुनुवाइ स्थगित गरिएको थियो ।