संविधान जारी भएयता दोस्रोपटक भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले दोस्रो स्थानमा सीमित हुन पुगेको छ। अघिल्लो निर्वाचनमा पहिलो भएको एमालेको अहिले आएको नतिजा स्वभाविक वा नियमित प्रक्रिया जस्तो लाग्छ। तर यसबाट पार्टीले अभ्यास गर्दै आएको संगठनात्मक प्रणालीका दोषहरूको उजागर भएको छ। यो निर्वाचन र निर्वाचनमार्फत जनताले केही सन्देश छोडेका छन्। निर्वाचनमार्फत जनताले ‘पार्टीमा चरित्रको पुनर्स्थापना गर’, ‘दुई अर्थी भाषा नबोल’, ‘तिम्रो कर्म र वाणीमा संगति राख’ भनेका छन्। उनीहरुले सन्देश दिएका छन् ‘जनता भनेको पार्टी वा नेतृत्वको निरिह वा जीवनहिन रोबोट होइन, तिमी जे–जे उर्दी दिन्छौँ, त्यो पालन गर्ने होइन, हामी विवेक राख्छौँ, हामी सत्स/असत् छुट्याउन सक्छौँ ‘।
गढहरू भत्किए
पार्टी संरचना यसरी निर्माण गरियो कि जसको एकमात्र शर्त नेतृत्वप्रतिको समर्पण हो। भलै एउटा राजनीतिक कार्यकर्तामा अपेक्षित चरित्र वा गुण होस् वा नहोस्, तर उ नेतृत्वप्रति निशर्त समर्पित भने हुनुपर्छ भन्ने खालको भ्रम कार्यकर्ता पंक्तिमा पारियो। नेतृत्वप्रति बफादार व्यक्तिलाई अगाडि सारेर जस्तो पनि परिणाम दिन सकिन्छ भन्ने परिपाटीमा रहेर जुन संगठन प्रणाली निर्माण भयो, एमालेको त्यो प्रणालीलाई यसपटक जनताले चुनौति दिए।
र, जनताका यी सन्देशहरू शिलापत्रमा लेखिएका अक्षर जत्तिकै जब्बर छन्। यो निर्वाचनले धेरै मुद्दाहरू उठाएको छ, तर यिनलाई प्राथमिकता दिने काम पार्टीहरुबाट भएको छैन। अहिलेको सबैभन्दा प्रमुख मुद्दा भनेको राजनीतिक पार्टीले चरित्रमा सुधार ल्याउन् भन्ने नै हो। यो निर्वाचनमार्फत जनताले भनेका छन्, ‘तिमीले आफ्नो चरित्र ठीक गरेनौँ भने हामीसँग विकल्प छन्।’ जनताले विकल्प दिए पनि, जस्तैः धरानका हर्क साम्पाङ वा बालेन वा अरु केही।
अरु जहाँ–जहाँ राम्रा चरित्रहरू छन्, त्यस्ता केही चरित्रहरूले पनि गत स्थानीय तहको निर्वाचन जितेका छन्। यद्यपि ठूला पार्टीहरूप्रतिको विश्वास पूरै गुमेको भने होइन। केही उदाहरणहरूले पार्टीप्रति जनताको विश्वास रहेछ भन्ने पनि देखियो। अहिले पनि नेपाली कांग्रेस पहिलो भएको छ र एमाले दोस्रो। सँगसँगै, अतिवादी वा अति दक्षिणपन्थी शक्तिले हाम्रो पार्टीमाथिको जुन वितृष्ण फैलाउन खोजिरहेका छन्, त्यसलाई पनि जनताले जवाफ दिएका छन्।
जनताले वामपन्थीलाई दिएको अर्को ठूलो सन्देश होः तिम्रो विभाजन गलत छ। र, त्यो विभाजनमा को जिम्मेवार छ भन्ने कुरा पनि जनताले देखाइदिएका छन्। जसरी यो वामपन्थी एकतालाई कायम गर्नुपर्थ्यो, त्यो कायम गर्न नसक्ने असक्षमता तिमीहरूले देखायौँ भन्ने सन्देश यो निर्वाचनले दिएको छ। केही भिन्नताका बावजूद सामाजिक तहमा वामपन्थीहरूबीच सद्भाव, एकता र हिजोको जस्तो सौहार्दपूर्ण सम्बन्ध अहिले पनि देखिन्छ। चुनाव लड्दा मर्यादापूर्वक प्रतिस्पर्धा पनि देखियो। यहाँसम्म कि ०६२/६३ साल पछिका चुनावताका भन्दा पछिल्लो पटकको चुनावमा अलि बढी परिपक्व सम्बन्ध भएको देख्छु।
एकताका समस्याहरू
वामपन्थी एकता नहुनुका पछाडि तीनवटा प्रवृत्ति जिम्मेवार छन्। पहिलोः नेतृत्वमा निस्कण्टक अधिनायक हुने प्रवृत्ति। यसलाई स्वेच्छाचारी वा अति आत्मकेन्द्रित संगठनात्मक संरचना बनाउने प्रवृत्ति पनि भन्न सकिन्छ। दोस्रोः यो वामपन्थी आन्दोलनभित्र नजानिदो ढंगले मिसनप्रतिको समर्पण कम देखिन्छ भने अति महत्वकांक्षा बोकेका मान्छेहरू पार्टीमा हावी भएका छन्। पार्टीलाई आफ्नो निहितार्थ भर्याङ्गका रूपमा प्रयोग गर्ने मान्छेहरू पनि यहाँ छन्। तेस्रोः संगठनमा बस्दा कायम रहेको एक किसिमको स्ट्याटसबाट तलवितल भएपछि नेतृत्वमा जन्मिएको कुण्ठाका कारण पनि एकता हुन नसकेको हो।
यी तीनवटा रोगहरू नेतृत्वको माथिल्लो तहमा गएर केन्द्रित भएका छन्। ती एक अर्कामा प्रतिक्रियात्मक हुँदा अहिलेको विभाजन भएको हो। यो निर्वाचनलगत्तै मेरो अपेक्षा जनताले दिएका सन्देशहरुमा कम्तिमा केही हदसम्म नेताहरू संवेदनशील हुन्छन् भन्ने थियो। तर मैले कतैबाट पनि त्यो लक्षण देखिनँ। न एमालेबाट, न माओबादीबाट, न अरु वामपन्थीहरूमा यो लक्षण देखें। यसका पछाडिको कारण हाम्रो नेतृत्वमा नजानिँदो ढंगको अन्तर्राष्ट्रिय राजनीतिको स्वभाविक प्रभाव हो जस्तो लाग्छ।
अन्तर्राष्ट्रिय बाछिट्टा
वाम आन्दोलनमा पछिल्लोपटकको विभाजनका पछाडि उल्लेखित प्रवृत्तिहरू कारक हुन् नै, त्यस सँगै नेपालमा कम्युनिष्टहरूको बलियो उपस्थितिलाई निस्तेज गर्ने उद्देश्यसहितको अन्तर्राष्ट्रिय प्रभाव पनि हो भन्नेमा कुनै शंका छैन। यदि तपाईं बाह्य राजनीतिक प्रतिक्रियाहरूलाई नजिकबाट हेरिरहनुभएको छ वा मुलुकबाहिरका मिडियामा आउने रिपोर्टहरू हेर्नुभएको छ भने त्यसमा यो कुरा स्पष्ट देख्न सकिन्छ। नेपालमा कम्युनिष्टहरू धराशायी भए वा ओरालो लागे भनेर उनीहरू हर्षोल्लास मनाइरहेका छन्।
विभाजनपछिका घटनाक्रमहरू हेर्दा नेपालको दीर्घकालिन हितलाई प्रभावित गर्ने खालका मुद्दाहरूलाई ओझेलमा पार्दै लगियो। एमसीसीका लागि सिंगो राष्ट्रको अस्मिता नै दाउमा राखेर तामझामका साथ यसलाई अनुमोदन गरियो। युक्रेन संकटको मामिलामा नेपालले आफ्नो एउटा पुरानो मित्रराष्ट्र विरुद्धको निन्दा प्रस्तावमा सहमति जनायो। जबकि यस विषयमा बढी कन्सर्न राख्ने चीन र भारतजस्ता मुलुकहरूमध्ये एउटा त्यसको बर्खिलापमा गयो भने अर्को तटस्थमा रह्यो। अहिले नजानिँदो ढंगले विश्व राजनीतिको ध्रुवीकरणमा नेपाललाई पनि तानिँदैछ।
हामी नजानिँदो ढंगले कता रुमाल्लिएका छौँ? केही समयअघि अमेरिकी सहायक विदेशमन्त्री तिब्बत मामिलामा चासो राख्दै आइपुगिन्, उनले भारतमा दलाई लामालाई भेटिन् र नेपालमा आएर शरणाार्थीहरूलाई भेटिन्। यहाँ अप्रत्यक्ष ढंगले के के गतिविधि हुँदैछन्, सायद ती सबैको सूचना हामीसँग छैन होला। हामी अनुमान मात्रै गर्दैछौं। यस्ता मुख्य घटनाहरूलाई गौण बनाइएको छ भने नेता विशेषलाई छिचरो रुपमा प्रस्तुत गराइएको छ। नेताहरू एकअर्काविरुद्ध छिचरो भाषामा आरोप र प्रत्यारोपमा उत्रिएका छन्, जसले वाम एकताको सम्भावनालाई पूरै नकारिदिएको छ।
यसले वामपन्थी आन्दोलनमा एउटा भयानक संकट निम्त्याउँदैछ। त्यो संकटलाई निवारण गर्नका लागि नेतृत्वले हिजोका गल्ती र कमजोरीलाई पन्छाएर नयाँ चेतनाका आधारमा एकता कायम गर्नुपर्छ। यो भावना आम वामपन्थी नेता, कार्यकर्ता र जनस्तरमा छ भन्ने कुरा प्रष्ट छ।
तर त्यो भावनामा तुषारापात गर्नेगरी यस बीचमा शीर्ष नेताहरूका जस्ता अभिव्यक्ति आएका छन्, त्यो अभिव्यक्तिले वामपन्थी जनमतलाई अरु हतोत्साही बनाउँछ। तल्लो तहबाट ‘यदुवंशीको संहार’ नहुञ्जेलसम्म नेतृत्वमा चेत आउँदैन भन्ने जस्ता प्रतिक्रिया सुनिन थालेका छन्। नेतृत्वमा जुन ढंगको संवेदनशीलता, जिम्मेवारी र परिपक्वता हुनुपर्थ्यो, त्यो देखिएन। वामपन्थी आन्दोलनको प्रचलित प्रवृत्तिमा विहंगम अन्तरदृष्टि लिएर एउटा ठूलो परिवर्तन नगर्ने हो भने यसको अधोगतिलाई रोक्न सकिने ठाउँ छैन।
के हो वामपन्थ ?
सामान्य मानिसहरू अर्थात् छिपछिपे दृष्टिकोण भएकाहरू वामपन्थीको परिभाषाभित्र प्रचण्ड, ओली र माधव नेपाललाई मात्रै देख्छन्। तर वामपन्थमा यो भन्दा विशाल फाँट छ। यो त एउटा आन्दोलन हो। तलदेखि संगठित हुँदै आएको विशाल जनमत यसमा छ। तिनीहरूले नेतृत्वको फुली लगाएका छन् कि छैनन् भन्ने कुरा महत्वपूर्ण कुरा होइन। वामपन्थी आन्दोलनका आदर्श, सपना र त्यसको स्वरुपमा आकर्षित हुनेहरूको जमात नै वामपन्थ हो।
त्यसैले हामीले नेता विशेषमा केन्द्रित भएर हेर्ने भन्दा पनि मुभमेन्टलाई हेर्नुपर्छ। जस्तैः अहिलेको निर्वाचनमा माओवादीले पर्याप्त भोट ल्याएको छ। धेरै मान्छेलाई यो पटक एमाले सकिन्छ भन्ने लागेको थियो। तर त्यस्तो भएन। तल्लो तहमा हेर्ने हो भने वामपन्थ ज्युँदोजाग्दो शक्ति देखिन्छ। आज पनि नेपालमा वामपन्थ, दक्षिणपन्थी र मध्य शक्तिबीचको ट्रेङ्गुलर फाइटलाई हेर्ने हो भने वामपन्थसँग प्रतिवाद गर्न सक्ने तागत अरु कसैसँग छैन।
अझ प्रष्ट्याँउ, वामपन्थी जनमतलाई सम्पूर्णतामा अथवा एउटै बास्केटमा राखेर हेर्नुहुन्छ भने वामपन्थसँग प्रतिवाद गर्ने तागत अरुसँग छैन। तर नेतृत्वको अल्पदृष्टिका कारण, मिसनका हित र मुलुकका हितप्रति गम्भीर प्रतिवद्धताका अभावका कारण यो आन्दोलन छितरिएको हो। तर वामपन्थी आन्दोलन आफैंमा एक शसक्त मोर्चा हो। कतिपय खराब प्रवृत्तिहरू यो आन्दोलनमा हुर्किएका छन् र त्यसले संस्थागत रूप लिइसकेको छ। त्यो प्रवृत्ति भनेको खाली प्रचण्ड, माधव नेपाल या ओलीसँग मात्रै जोडिएको कुरो होइन, एक किसिमले तल्लो तहदेखि माथिसम्म नै एउटा अंगकै रूपमा संस्थागत भएको छ।
र, कतिपय मान्छेलाई भने यही ढाँचा र संरचनाभित्र यी पार्टीलाई अब परिवर्तन गर्न सकिँदैन भन्ने लागेको होला। तर मलाई के लाग्छ भने यहींभित्र पनि विस्तारै विस्तारै रियलाइजेसनको टेम्पो बढिरहेको छ। मान्छे हिजो जहाँसुकै रहेको भएपनि ‘ठीकै होला त्यो नेता’ भन्ने मान्छेलाई पनि आज भइराखेका परिणामहरूले अलिअलि सोच्न वाध्य बनाएको छ झैँ लाग्छ। र, एउटा खास बिन्दुमा जो सुध्रन चाहँदैन, समयको सन्देश र पुकारलाई जसले रेस्पोन्स गर्न चाहँदैन, तिनीहरूको चाहिँ विनाश अनिवार्य छ। जो हिजोका गल्ती र कमजारीका बाबजुद पनि पार्टीमा सुधार गर्न, समयको हाँकलाई, समयको सन्देशलाई जसले अनुभूत गर्छ, तिनीहरूलाई फेरि रिकरेक्सन गर्ने अवसर त होला नै।
कसले गर्ने कम्युनिष्ट जनमतलाई एकिकृत?
संगठन र पार्टीहरू दुई किसिमले बन्छन्। एउटा, सुरुमा माथिबाट तल पार्टी बनाउँदै ल्याउने तरिका। बनिसकेका पार्टीहरूको हकमा चाहिँ तलबाट माथितिर बनाउने हो। खासगरी २०४६ साल पछाडिको हाम्रो आन्दोलनभित्रको हाम्रो कमी के हो भने तलबाट पार्टी बनाउने त भनियो तर तलको शक्ति चाहिँ सबल हुन सकेन। प्रभावकारी हुन सकेन। त्यसभित्र नेतृत्वका प्रभाव लगायत तमाम कारणहरू होलान्। हाम्रो पार्टी र आन्दोलनले आफैंले हुर्काएका कतिपय विधिविधानहरू होलान्। त्यसका संगठनात्मक सिद्धान्तहरू होलान्। जस्तैः हाम्रै कम्युनिष्ट आन्दोलनकै सन्दर्भमा मैले धेरै चोटी भनेको छु, ‘हामीले जुन संगठनात्मक प्रणाली अवलम्वन गर्यौं, त्यो मार्क्स, एंगेल्स या लेनिनले अवलम्वन गरेको प्रणाली होइन। स्टालिनले अवलम्बन गरेको अत्यन्तै केन्द्रिकृत प्रणाली हामीले अवलम्बन गर्यौं। र, त्यस प्रणाली अपनाइएका अन्य मुलुकहरूमा पनि ढिलोचाँढो केन्द्रिकृत प्रणालिका दोषहरू देखिएका छन्। चीनमै पनि स्टालिनले अपनाएको संगठनात्मक प्राणालीका प्रभावहरू सांस्कृतिक क्रान्तिमा प्रकट भयो। त्यस पछाडि त उत्पातै भयो।
यहाँ हामीकहाँ पनि नजानिँदो ढंगले विस्तार हुँदैहुँदै त्यो पद्धति आयो। म आफैँ संलग्न नेकपा (माले) समयको आन्दोलनको कुरो गर्नुपर्दा, त्यो साँच्चिकै उच्च तहको लोकतान्त्रिक संरचना थियो। तर २०४६ सालपछि विस्तारै–विस्तारै त्यो केन्द्रिकृत हुँदै गएर यो अत्यन्त केन्द्रिकृत संरचनामा रुपान्तरित हुन थाल्यो। देख्नका लागि २/४ सयको कमिटी बनाउने तर त्यसलाई अन्तर्पार्टी जनवादका मापदण्ड नमान्ने अवस्था हुनगयो। त्यसका दोषहरू आज देखिएका हुन्। गत चुनावको कुरा गरौँ न। केही–केही उमेद्वार छान्ने विषयमा नै जसरी रोष प्रकट भयो, त्यस्ता उमेद्वारहरूलाई सिफारिस गर्ने मानिसहरू दण्डित हुनुपर्छ कि पर्दैन? के तिनीहरूले हारको नैतिक जिम्मेवारी लिनुपर्दैन? नेतृत्वले विजयको हर्षोल्लास मनाउने मात्रै होइन, पराजयका दोषहरूको भागीदार पनि बन्न सक्नुपर्छ। त्यो जिम्मेवारी लिन सक्नुपर्छ।
कसो गर्यो भने कम्युनिष्ट आन्दोलन बच्छ?
तलदेखि माथिसम्म यो आन्दोलनसँग जोडिएका जति पनि वामपन्थी छौं, हामीले साङ्गोपाङ्गो यो आन्दोलनको आत्मसमिक्षा गर्नुपर्छ। खास गरेर २००८ यताका प्रमुख घट्नाक्रमलाई हामीले समिक्षा गर्नुपर्छ। हाम्रो पार्टी संचालनको प्रणाली जुन छ, यसको बारेमा पनि समिक्षा गरौं। अनि आजको सन्दर्भमा पार्टी निर्माण र पार्टी निर्माणका मापदण्डका बारेमा पनि गम्भीर रूपमा छलफल गरौं। ‘माथि रहेको नेताले भनिदियो, यसकारण यही कुरा सत्य हो’ भन्ने ढंगले भने अघि बढ्ने होइन। त्यो समय लिउँ। तर अब विषद आत्मसमिक्षा गरौं। त्यो आत्मसमिक्षाको निष्कर्षले वामपन्थी आन्दोलनलाई यथास्थितिमा राख्नुपर्छ भनेर अवश्य भन्ने छैन। ‘भेस्टेड इन्टरेस्ट’ भएका बाहेक कसैले पनि यो वामपन्थी आन्दोलनलाई विभाजनमै राखिराख्नुपर्छ भन्ने आवाज अवश्य उठाउने छैन।
हाम्रा कमीकमजोरीहरू छन् र त्यो कमीकमजोरीहरूबारे नयाँ मान्छेहरूलाई थाहा छैन। तर हाम्रा सवलताहरू पनि छन्। यो आन्दोलन सधैंभरी नकारात्मक कोर्समा मात्रै गइरहेको छ भन्ने त पक्कै होइन। कमजोरीहरूलाई छाड्दै र उपलब्धिहरूको जगेर्ना गर्ने खालको परिपक्व र लोकतान्त्रिक तथा बढी जनमुखी तथा राष्ट्रिय भावना भएको भएको पार्टीका रूपमा यसलाई विकास गर्न सकिएला। अहिले पनि मुद्धैको कुरा गर्ने हो भने चाहे कांग्रेस होस् या एमालेको, राष्ट्रियता, प्रजातन्त्र र सामाजिक न्यायका नै सबैका प्रमुख मुद्धा हुन्। यी मुद्धामा कुनै एउटा मुद्धाको मात्रै प्राथमिकताले हुँदैन। यी सबैलाई एकिकृत ढाँचामा लिएर जानुपर्छ। हामीले प्रजातन्त्रको कुरा गरिराख्दा राष्ट्रियतालाई भुल्नु भएन, सामाजिक न्यायलाई भुल्नु भएन। आज जनता किन ‘हामीले डेलिभरी पाएनौ?’ भनेर असन्तुष्टि जनाइराखेका छन्? त्यसले गर्दा होलिस्टिक अप्रोचमा तल्लो तहदेखि नै ‘मेरो मुक्तिको नुक्साचाहिं नेताले आफ्नो गोजीमा हालेर आको छ’ भनेर होइन, ‘तलको जनता उ के चाहन्छ? कसरी उ मुक्ति प्राप्त गर्न चाहन्छ? त्यो मुक्तिको प्रक्रियामा सहभागी हुन चाहन्छ’ भन्ने कुराको ख्याल गर्दै यो प्रक्रिया तल्लो तहबाटै सुरु गर्नुपर्छ।
तलबाट निश्रित नभएर माधव, प्रचण्ड र ओली मिल्दा मात्रै हुन्न। त्यस्तो एकताले गतिचाहिं अवश्य लिन्छ तर त्यस खालको एकता दिगो हुने रहेनछ भन्ने कुरो त हामीले बुझिसक्यौं। अब ‘बटम् अप’ अर्थात् तलबाट माथिको अप्रोचमा जानुपर्छ। त्यसकारण, अब तलको कार्यकर्ताले नै हो पार्टी जोगाउने। यदि त्यस्तो महसुस भएन भने आफ्नो मुक्तिका एजेन्डा आफैं कोरेर, त्यो ऐजेण्डाभित्र कार्यकर्ता आफैंले आफ्नो सम्वद्धता खोजेन भने मैले भनेको भरमा या तपाईंले भनेको भरमा प्रचण्ड, ओली या माधवले भनेको भरमा मात्र कम्युनिष्ट आन्दोलनको पुनर्गठन सम्भव छैन। त्यसो हुँदा कम्युनिष्ट आन्दोलनकै ओभरहलिङ ( समीक्षाका साथै पुनर्ताजगी ) गर्नुपर्छ।
भिडियो–
एमाले नेता टंक कार्कीसँग नेपाल रिडर्सले गरेको कुराकानीमा आधारित।