नेकपा अध्यक्ष पुष्पकमल दाहालले विश्वका पूँजीपतिहरु जनतालाई कम्युनिस्टबाट अलग गर्ने प्रयासमा लागिपरेको बताएका छन् ।आइतबार काठमाडौंमा आयोजित भरतमोहन अधिकारीको स्मृतिसभामा दाहालले आफूलाई उदारवादी देखाएर मध्यमवर्गीय र निम्न मध्यमवर्गीय जनतालाई कम्युनिस्टबाट अलग गर्ने रणनीतिका साथ पुँजीपतिहरु अगाडि बढिरहेको बताए।
‘मध्यमवर्गका जनताहरुलाई आफूतर्फ आकर्षित गर्न तथाकथिक विकासमा सहयोग गरेको देखाएर मध्यमवर्गबाट कम्युनिस्ट, वामपन्थी र प्रगतिशीलहरुलाई अलग गरी आफ्नो वर्चश्व र एकाधिकार कायम गर्ने रणनीतिमा उनीहरु अगाडिबढिरहेका छन्’, दाहालले भने।दाहालले स्वर्गिय अधिकारीले कम्युनिस्ट आन्दोलनलाई लोकतान्त्रिक बनाउन ठूलो भूमिका खेलेको बताए। अधिकारीको एक निर्णयले जनताहरुले कम्युनिस्टप्रति विश्वास गर्ने गरेको दाहालको भनाइ छ।
बुर्जुवा र पुँजीपतिहरुले कम्युनिस्ट भनेका ६० वर्ष कटेकाहरुलाई मार्छन् भनेर भ्रम छरेपनि अधिकारीले गरेको एक निर्णयले त्यसलाई ध्वस्त पारेको उनले बताए। ‘कम्युनिस्ट भनेका बुढाबुढी ६० कटेपछि मार्छन भन्ने प्रचार बुर्जुवा र पुँजीपतिहरुले गरेका थिए। मानिहरुलाई होकी भन्ने भ्रम थियो। डरलाग्दो अवस्था थियो तर भरतमोहन अधिकारीको एउटा निर्णयले भ्रमणलाई ध्वस्त पार्यो। कम्युनिस्टहरुले बुढाबुढीहरुलाई सम्मान, माया गर्ने हुँदा रहेछन्। जनताका छोराछोरी रहेछन् भन्ने स्थापित गर्यो’, उनले भने।
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको २०७५ फागुन १८ गते उपचारका क्रममा निधन भएको थियो। २०५१ सालमा तत्कालिन नेकपा एमालेको सरकारमा अर्थमन्त्री रहेका अधिकारीले त्यतीबेला ७५ वर्ष उमेर पुगेकाहरुलाई मासिक १ सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गरेका थिए। कान्तिपुर