कञ्चनपुरका कोरोना संक्रमित ४१ वर्षीय पुरुष यही चैत २ गते मात्रै भारत गएको भेटिएको छ। कामका लागि भारतको उत्तराखण्ड राज्यको चम्फावत जिल्लाको लुहाघाटबाट १० किलोमिटर सुन्नीगाउँ पुगेका उनी सहितका १३ जना भारत र नेपाल दुईवटै देशमा लकडाउन भएपछि नेपाल आएका थिए।
१३ गते उनी भारतबाट आएर १४ गते सीमामा पुगे। तर गड्डाचौकी नाका वन्द गरेपछि उनीहरु ब्रहमदेवमण्डी क्षेत्र अर्थात भीमदत्त नगरपालिकाको ‐९ मटेनाबाट सीमा छलेर नेपाल आएका थिए । तर शसस्त्र प्रहरीको टोलीले भेटेर समातेर बेदकोट नगरपालिकाको सडकमा ल्याएर छोडेको थियो ।त्यसपछि उनी सहितका १३ जनाले गाउँमै गएर बस्न खोजे। तर गाउँलेले हल्ला गरेर बस्न नदिएपछि १२ बजे राति नगरपालिकाले क्वारेन्टाइलमा बसाइएको नगरप्रमुख अशोक चन्दले बताए।
ती १३ जनाको चैत २० गते सेनाले स्वाब संकलन गरेको थियो। अरु सबैको नेगेटिभ देखिए पनि बेदकोट नगरपालिका‐१० चतरीका ती ४१ वर्षीय पुरुषमा संक्रमण भेटिएको छ। खेतबारीका नाममा चार कट्टा जग्गा मात्रै भएका दलित परिवारका ती पुरुषका श्रीमति १० वर्षको छोरी र १५ वर्षको छोरा छन्।
बालवच्चाको पालन पोषणका लागि नै उनी कञ्चनपुरबाट नजिकैको पर्ने उत्तराखण्डको चम्फावत लगायतका जिल्लामा जाने आउने गरिहन्थे । यसपटक पनि सुन्नी गाउँमा सडक खन्ने गरेर उनीहरु त्यता गएका थिए ।ती संक्रमितलाई शनिबार विहान १० बजे सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको छ। – अनुमोदन खबर