नेपालको संविधान (दोस्रो संशोधन) विधेयक बुधबार (भोलि) संसदमा प्रस्तुत हुने भएको छ।सरकारले यही जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा दर्ता गरेको संशोधन विधेयक बुधबार बस्ने बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएका हुन्।
प्रतिनिधिसभा नियमावलीअनुसार सरकारी विधेयक संसदमा प्रस्तुत गर्न दर्ता भएको कम्तिमा पाँच दिन हुनुपर्ने व्यवस्थाअनुसार पाँच दिन पुगेकै दिन प्रस्तुत हुन लागेको हो।कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले बुधबार दिउँसो २ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।
शुक्रबार मन्त्रिपरिषद्ले निशान छाप संशोधन गर्ने निर्णय गरेपछि त्यसको केही घण्टामै प्रतिनिधिसभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता भएको थियो।सरकारले बुधबार लिम्पियाधुरा, कुटी, गुञ्जी, नावी, लिपुलेख र कालापानीसहितका भूभाग समेटेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो।
२०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेख र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्ताव गरेको हो।नियमावलीअनुसारको मिति पुगेको पहिलो दिनमै सरकारले संसदमा संशोधन विधेयक पेश गर्नुले संविधान संशोधन विधेयक छिटो पारित हुने संकेत गरेको छ।