नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट पहिलो मृत्यु भएको छ। माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि एकजनाले ज्यान गुमाएका हुन्।
कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया सावित्री तिम्सिना रहेकी छन्। त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको बिहीबार राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति एक विज्ञप्ति जारी गर्दै उक्त कुराको पुष्टि गरेका हुन्। तिमल्सिनाको कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले पनि गरेका छन्।
त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएर घर फिरेकी उनलाई उच्च ज्वरोसहित श्वास फेर्न गाह्रो भएपछि धुलिखेल अस्पतालमा ल्याइएको थियो। सिन्धुपाल्चोकको राम्चे स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्ने भएपछि धुलिखेल ल्याइएकी उनले त्यहीँ ज्यान गुमाएकी हुन्। उनको नौ दिनको शिशु जिवित रहेका छन्। कोरोनासँग मिल्दो लक्षण देखिएपछि ती महिलाको स्वाब संकलन गरेर धुलिखेलस्थित पिसिआर ल्याबमा परीक्षण गरिएको थियो। तर यसअघि गरिएको आरडिटी परीक्षणमा भने उनमा कोरोना नेगेटिभ देखिएको थियो।
धुलिखेल अस्पतालमा कोरोना पोजेटिभ देखिएपछि उनको स्वाब पुनस्परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनवस्वास्थ्य ल्याबमा ल्याइएको थियो। त्यहाँ दुई पटक गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो। उनमा कोरोना देखिएपछि धुलिखेल अस्पतालमै पति, नन्द र सासुको पनि स्वाब लिइएको छ। उनीहरुको स्वाब अहिले परीक्षण भइरहेको छ। नेपालमा सबैभन्दा पहिले गत माघमा चीनबाट आएका युवकमा कोरोना देखिएको थियो। त्यसपछि देशमा २६ वटा जिल्लामा कोरोना पुष्टि भइसकेको छ। अहिलेसम्म नेपालमा २ महिने शिशुदेखि ८१ वर्षीया वृद्धामा पनि कोरोना देखिएको छ।
नेपालमा सबैभन्दा धेरै पुरुषमा कोरोना देखिएको छ। महिलामा भने पुरूषको तुलनामा न्यून संक्रमण देखिएको छ। यससँगै नेपालमा जम्मा संक्रमितको संख्या पनि २८१ पुगेको छ। जसमा अहिलेसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ३६ रहेको छ।