गत वैशाख १६ गते सोमबारबाट सुरु भएको संसदको चौथो अधिवेशन बिहीबार सकिएको छ । यो अधिवेशन १ सय ४४ दिन चलेको थियो भने २ पटक राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठक बसेको थियो । आजै राष्ट्रियसभाको पनि अधिवेशन सकिएको छ ।
यस अधिवेशनमा २ पटक राष्ट्रपतिले सम्बोधन गरेकी छन्। बर्खे अधिवेशन पनि भनेर चिनिने यस अधिवेशनमा १७ वटा सरकारी विधेयक दर्ता भएकोमध्ये ७ वटा दुवै सदनबाट पारित भयो भने ५ वटा विधेयक सभामा पेश हुन बाँकी छ। ४ वटा विधेयक विभिन्न समितिमा विचाराधीन छ।यस्तै प्रतिनिधिसभाको दोस्रो र तेस्रो अधिवेशनमा दर्ता भएका १९ विधेयकमध्ये ८ वटा दुवै सदनबाट पारित भएको छ। ६ वटा विधेयक समितिमा विचारधीन छ।
यस अधिवेशनमा चर्चामा रहेका मिडियासम्बन्धी विधेयक, नागरिकता विधेयकलगायतका सर्वाधिक चासोका विधेयकहरुलाई थाती राखेर अन्त्य भएको छ। यी विधेयकहरु अर्को अधिवेशनमा छलफल हुनेछ। यही समयमा सरकारले गुठी विधेयक आफैंले फिर्ता लिएको थियो। चरम दबाबको बाबजुद सरकारले गुठी राष्ट्रियसभाबाट फिर्ता गर्यो। यही अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्यो।