सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको ९१ बर्षको उमेरमा निधन भयो। गोर्वाचोभले सोभियत संघमा सुधार र खुलापन (ग्लास्नोस्त र पेरिस्त्रोइका) ल्याउन खोजेका थिए जस्मा उनी नराम्रोसँग विफल भए। उनको यहि विफलताका कारण सोभियत संघ विघटन भयो। सोभियत संघको विघटनलाई बर्तमान रुसी रास्ट्रपति भ्लादमिर पुटिनले बीसौं शताब्दी सबैभन्दा ठुलो भू-राजनीतिक विपत्तिको संज्ञा दिएका थिए। मिखाइल गोर्बाचोभको जीवनकाल मै उनलाई कसरी हेर्ने भन्ने बारेमा बिबाद थियो। यो बिबाद उनको मृत्युपर्यन्त पनि जारि रहनेछ। यहाँ मिखाइल गोर्बाचोभको लेगेसीका बारेमा यहाँ चर्चा गरिने छ।
सन् १९६४ मा निकिता ख्रुश्चेभ बिरुद्ध सोभियत कम्युनिस्ट पार्टीभित्र आन्तरिक बिद्रोह गरेर लियोनिद ब्रेज़नेभ महासचिव बने। उनले १८ बर्षसम्म सोभियत संघमा शासन गरे। सोभियत संघमा स्टालिनपछि सबै भन्दा लामो समयसम्म शासन गर्ने व्यक्ति ब्रेज़नेभ नै थिए। ब्रेज़नेभको युगलाई सामान्य सोभियत जनताको लागि सोभियत संघको इतिहासमा स्वर्णकाल मानिन्छ। तर अर्थशास्त्रीहरुले त्यो युगलाई गतिरोधको युग पनि मान्ने गर्छन्। त्यस बेला सोभियत अर्थतन्त्रमा गरिनै पर्ने जरुरी आर्थिक सुधारहरुको अभावमा बिस्तारै शिथिलता पैदा हुन् थालेको थियो।
आर्थिक रुपमा सोभियत संघ अमेरिका भन्दा निकै सानो मुलुक थियो। दोश्रो विश्व युद्धको अन्त्यतिर विश्वको कुल गार्हस्थ उत्पादनमा अमेरिकाको हिस्सा करिब ५० प्रतिशत थियो। तर सोभियत संघको अर्थतन्त्र अमेरिकाको बराबरी कहिले पनि पुग्न सकेन। आफ्नो उत्कर्षको बेला समेत सोभियत संघको अर्थतन्त्र अमेरिकाको ४० प्रतिशत मात्र पुग्न सकेको थियो। आफु भन्दा कयौ गुणा सम्पन्न देशसँग सैन्य क्षेत्रमा ४ दशकसम्म निरन्तर प्रतिस्पर्धा गर्नु पर्दा सोभियत संघ टाट पल्टियो। सैन्य र अन्तरिक्ष प्रविधिमा सोभियत संघले श्रेष्ठता हासिल गरेको थियो। तर १९७० र ८० को दशकमा इलेक्ट्रोनिक्स र उपभोक्त्ता सामग्रीको क्षेत्रमा भने पश्चिम भन्दा धेरै पछि परेको थियो।
त्यस्तै ब्रेज़नेभ युगको अर्को नकारात्मक परिणाम थियो– १९७० को दशकमा सोभियत नेतृत्वमा वृद्ध-तन्त्र (gerontocracy ) हावी हुनु। १९८० मा सोभियत कम्युनिस्ट पार्टीको पोलिट ब्युरोको औसत आयु थियो ७० बर्ष। जबकि स्टालिनको समयमा १९५२ मा यसको औसत उमेर थियो ५५ र निकिता ख्रुश्चेभको समय १९६४ मा ६१ बर्ष थियो। ब्रेज़नेभको १९८२ मा मृत्यु हुदा उनी ७५ बर्षका थिए। तर उनलाई १९७५ मा हर्ट अट्याक भएको थियो र उनी जीवनको पछिल्लो समयमा राम्रोसँग बोल्न पनि सक्दैन थिए। ब्रेज़नेभका विदेशमन्त्रि आन्द्रे ग्रोमिको, रक्षा मन्त्रि दिमित्री उस्तिनोभ र प्रधानमन्त्रि निकोलाइ तिखोनोभ सबै ७५ बर्ष भन्दा माथि र ८० को हाराहारीका थिए। ब्रेज़नेभको निधन भए पछि उनको उत्तराधिकारी बने गुप्तचर विभाग केजेबी प्रमुख युरी एन्ड्रोपोभ। युरी एन्ड्रोपोभ त्यसबेला ६८ बर्षका थिए। उनी पनि स्वस्थ थिएनन्। एन्ड्रोपोभ मृगौलाको रोगबाट गम्भीर रुपमा अस्वस्थ थिए। सत्तामा आएको १५ महिनापछि ९ फेब्रुअरी १९८३ युरी एन्ड्रोपोभको पनि निधन भयो। एन्ड्रोपोभको उत्तराधिकारी बने कोन्सटान्टिन चेरनेन्को। कोन्सटान्टिन चेरनेन्को पनि सत्तामा धेरै दिन बस्न पाएनन्। १३ महिना पछि १० मार्च १९८५ मा उनको पनि निधन भयो। यसरी तीन बर् भित्र सोभियत संघका ३ जना सर्वोच्च नेताहरुको निधन भएको थियो।
१९८२ मा लियोनिद ब्रेज़नेभको निधनपछि सत्तामा आएका युरी एन्ड्रोपोभलाई सोभियत संघले भोग्नु परेका समस्याहरुको बारेमा राम्रो जानकारी थियो। उनले सोभियत संघको आर्थिक समस्याका साथै कम्युनिस्ट पार्टीभित्र हावी रहेको वृद्ध-तंत्र का बारेमा पनि बुझेका थिए। आफ्नो छोटो कार्यकालभित्र यी समस्याहरुको समाधानका लागि केहि प्रयास एन्ड्रोपोभले सुरु गरे। आर्थिक सुधारको ब्यबस्थापकीय सुधार र भ्रस्टाचार बिरुद्ध अभियान पनि उनले सुरु गरे। त्यस्तै कम्युनिस्ट पार्टीभित्र रहेको वृद्ध-तंत्रलाई हटाउन मिखाइल गोर्बाचोभ जस्ता युवाहरुलाई पार्टीको नेत्रत्वमा ल्याए। एक पटक पार्टी भित्रका दुई जना युवा नेताहरु मिखाइल गोर्बाचोभ र निकोलाई रिज्कोभ रास्ट्रपति युरी एन्ड्रोपोभलाई भेट्न पुगे र सोभियत संघको बजेट हेर्न मागे। युरी एन्ड्रोपोभले जवाफ दिए- तिमीहरुले हैसियत भन्दा बढी नै माग्दै छौ। बजेट तिमीहरुले हेर्न मिल्दैन।
तर एन्ड्रोपोभले लामो समयसम्म शासन गर्न पाएनन्। सत्तामा आएको १५ महिनापछि नै फेब्रुअरी १९८३ मा उनको निधन भयो। युरी एन्ड्रोपोभ सक्षम शासक थिए। भनिन्छ उनले केहि समय अरु शासन गर्न पाएका भए सोभियत संघको विघटन हुने थिएन। एन्ड्रोपोभले आफ्नो मृत्यु हुनुभन्दा अगाडि आफ्नो उत्तराधिकारी युवा नेता मिखाइल गोर्बाचोभलाई बनाउन चाहन्थे। तर कम्युनिस्ट पार्टीले अनुभवहीन युवा नेताको साटो बयोबृद्ध ७२ बर्षका कोन्सटान्टिन चेरनेन्कोलाई छान्यो। र कोन्सटान्टिन चेरनेन्को आफै पनि दिर्घ रोगी थिए। उनी युरी एन्ड्रोपोभको अन्त्येष्टिमा संवेदनामा पनि राम्रोसँग पढ्न सक्ने अवस्थामा थिएनन्। कोन्सटान्टिन चेरनेन्को पनि १९८५ मा निधन भयो। यहि नाटकीय परिस्थितिमा १९८५ मा मिखाइल गोर्बाचोभ सोभियत संघको सत्तामा पुगेका थिए। त्यसबेला उनी ५४ बर्षका थिए।

मिखाइल गोर्बाचोभले सुरुमा युरी एन्ड्रोपोभले सुरुवात गरेका सुधारका कार्यक्रमहरुलाई नै निरन्तरता दिए। तर उनलाई यी सुधारका कार्यक्रमहरुबाट खासै चित्त नबुझे पछि झन् महत्वाकांक्षी कार्यक्रमहरु ल्याए। उनले आफू सत्तामा आएको दुई महिना भित्रै सोभियत संघमा रक्सीबिरुद्ध अभियान सुरु गरे। सोभियत संघ जस्तो अत्याधिक रक्सी सेवन गरिने ठाउमा यो अभियान धेरै नै महत्वाकांक्षी थियो। यो अभियानबाट धेरै सामाजिक र स्वास्थ्यजन्य फाइदाहरु भए। तर देशलाई कर मार्फत प्राप्त हुने करोडौ रुबल घाटा भयो। गोर्बाचोभले आफु शासनमा आएको केहि बर्षपछि खुलापन र सुधार (ग्लास्तनोस्त र पेरेस्त्रोइका) नामक अत्यन्त महत्वाकांक्षी कार्यक्रम सुरु गरे। यसलाई लिएर सोभियत कम्युनिस्ट पार्टीभित्र मतभेदहरु र प्रतिरोधका आवाजहरु पनि उठ्ने गर्थे। पछि सोभियत संघमा आर्थिक सुधार भन्दा बढी खुलापनमा जोड दिइएको कारण गोर्बाचोभका यी कार्यक्रमहरु नियन्त्रण बाहिर पुगे। गोर्बाचोभको खुलापनको नीतिले केवल सोभियत संघलाई मात्र प्रभावित पारेको थिएन बरु पुरै पूर्वी युरोपलाई पनि आफ्नो चपेटामा पार्न थालेको थियो। पुर्वी यूरोपका कम्युनिस्ट सत्ताहरु बिस्तारै तासको पत्ता जस्तै ढल्न थाले। तर यो पटक सोभियत संघले विगतमा जस्तो आफ्नो सेना पठाएर पुर्वी युरोपका कम्युनिस्ट सरकारहरुलाई टिकाउन खोजेन। १९८९ मा बर्लिनको पर्खाल ढलेसँगै पूर्वी युरोपबाट सोभियत संघको प्रभावको अन्त्य भयो। पूर्वी युरोपमा सहज रुपमा कम्युनिस्ट सत्ता परिवर्तन हुन दिएको, जर्मनी एकीकरणमा सकारात्मक भूमिका खेलेकोमा अमेरिका र युरोपमा गोर्बाचोभ प्रतिष्ठा चरमचुलीमा पुगेको थियो। यहि परिवेशमा उनलाई नोबेल शान्ति पुरस्कार प्रधान गरियो।
१९९१ मा सोभियत संघ चर्को बिग्रह सुरु भएको थियो। लिथवानिया, लाटभिया र इस्टोनिया जस्ता बाल्टिक गणतन्त्रहरु सोभियत संघबाट अलग हुन खोजिरहेका थिए। त्यस्तै मिखाइल गोर्बाचोभ पनि सोभियत संघको साटो सार्वभौम सोभियत गणतन्त्रहरुको युनियन नामक बनाउन तत्पर थिए। त्यसै बेला सोभियत कम्युनिस्ट पार्टी भित्रका कट्टरपन्थी नेताहरुले उपरास्ट्रपति गेन्नाडी येनायेभको नेत्रृत्वमा अगस्त १९ मा सैनिक बिद्रोह गरे। छुट्टी मनाउन क्राइमिया गएका गोर्बाचोभलाई बिद्रोहीहरुले उतै गिरफ्तार गरे। यो बिद्रोह कुनै खासै ब्यबस्थित तयारी बेगर नै गरिएको थियो। सोभियत संघभित्रको सबैभन्दा ठुलो गणतन्त्रका रास्ट्रपति बोरिस येल्सिनको नेतृत्वमा यो बिद्रोहको बिरुद्ध जनप्रदर्सन सुरु गरियो। ७२ घण्टा भित्रै यो सैनिक बिद्रोह विफल भयो। गोर्बाचोभ फेरि सत्तामा फर्के तर उनको वास्तविक हैसियत सबै गुमिसकेको थियो। शक्तिको गुरुत्व सबै रुसका रास्ट्रपति बोरिस येल्त्सिनतिर सरेको थियो।
यो सैनिक बिद्रोह भएको दुई महिना पछाडि ८ डिसेम्बर १९९१ का दिन रुसका रास्ट्रपति बोरिस येल्त्सिन, युक्रेनका रास्ट्रपति लियोनिद क्राभचुक र बेलोरसियाका रास्ट्रपति स्तानिस्लाभ सुसकेभिचले बेलोरसियाको बेलोभिज्सकाय भन्ने ठाउको रहेको रिसोर्टमा भेला भए। त्यहाँ उनीहरुले सोभियत संघ विघटन गर्ने सम्झौतामा हस्ताक्षर गरे। जबकि त्यस बेलासम्म सोभियत संघमा गरिएको जनमत सर्वेक्षणमा ७७ % नागरिक सोभियत संघ कायम राख्नु पर्छ भन्ने पक्षमा थिए। तर पनि यो सम्झौतालाई ती ३ देशका संसदहरुले अनुमोदन गरे। पछि यो सम्झौतामा अरु सोभियत गणतन्त्रहरु पनि जोडिए। २५ डिसेम्बरमा मिखाइल गोर्बाचोभले सोभियत संघको रास्ट्रपति पदबाट राजिनामा दिए। र २६ डिसेम्बरमा सोभियत संघको संसदको माथिल्लो सदन सोभियत अफ रिपब्लिक्सले सोभियत संघ विघटन भएको औपचारिक घोषणा गर्यो।
अक्सर गरेर कम्युनिस्ट आन्दोलनभित्र र अन्तर्रास्ट्रिय राजनीतिको क्षेत्रमा चीनमा देङ्ग सियाओपिङ्गले सुरु गरेको सुधारको कार्यक्रम किन सफल भयो तर मिखाइल गोर्बाचोभले सोभियत संघमा सुरु गरेको सुधारको कार्यक्रम किन विफल भयो भन्ने प्रश्न उठ्ने गर्छ। यसको जवाफ के हुन् सक्छ भने देङ्गले चीनमा आर्थिक क्षेत्रमा मात्र सुधार गरे तर उनले राजनीतिक क्षेत्रमा सुधार थालनी गर्न चाहेनन्। जसको कारण देङ्ग सफल भए। तर गोर्बाचोभ आर्थिक सुधारलाई भन्दा राजनीतिक क्षेत्रमा खुलापन ल्याउन खोजे। फलस्वरूप उनको सुधार कार्यक्रम नियन्त्रण बाहिर पुग्यो र उनी विफल भए। देङ्ग सियाओपिङ्गले गोर्बाचोभबारे एउटा टिप्पणी गरेका थिए -गोर्बाचोभ हेर्दा स्मार्ट जस्ता देखिन्छन् तर बास्तवमा उनि मूर्ख हुन्।
सोभियत संघ विघटन हुनुमा मिखाइल गोर्बाचोभको मुख्य भूमिका थियो भन्नेबारे अन्तरास्ट्रिय कम्युनिस्ट वृतभित्र बहस हुने गर्छ। अझ कसैले त गोर्बाचोभको भुलवश नभई नियोजितरुपमा विघटन गरेको दाबी समेत गर्छन्। यो कुराको प्रमाणको रुपमा एउटा दस्ताबेजलाई अगाडि सारिन्छ। यो दस्तावेजमा गोर्बाचोभको स्वीकारोक्ति (confession) रहेको छ। यो दस्तावेजमा लेखिएको छ:-
मेरो उद्देश्य सबै जनतामाथि तानाशाहीको रुपमा रहेको साम्यवादलाई दिवालिया बनाउनु थियो। यो अभियानमा मलाई साथ दिने र प्रेरणा दिने काम मेरी श्रीमती राइसाले गरेकी थिईन्। उनी म भन्दा धेरै पहिला नै यो निष्कर्षमा पुगेकी थिईन्। मलाई थाह थियो मैले यो काम मुख्य कार्यकारी पदमा पुगेपछि मात्र सम्पन्न गर्न सक्छु। यसको लागि मेरी श्रीमतीले मलाई देशको सर्वोच्च पदमा पुग्न प्रेरित गरिन्। जब म पश्चिमी जगतसँग परिचित भए मैले यो काम गर्ने मन बनाई सकेको थिएँ। मैले अठोट गरे कि मैले सोभियत कम्युनिस्ट पार्टी र सोभियत संघको प्रणालीलाई नष्ट गर्नु पर्छ। त्यस्तै मैले अरु समाजवादी देशहरुमा पनि यस्तै काम गर्नु पर्छ। मेरो आदर्श प्रजातान्त्रिक समाजवादी बाटो हो। यो ब्यबस्थाले मात्र सबै जनताको हित गर्न सक्छ। यो काम मैले पुरा गर्नु पर्छ भनेर अठोट गरे।
यो स्वीकारोक्ति विश्वासयोग्य छैन। किनकि कतै पनि यसको श्रोत भेट्न सकिदैन। तर पनि रुस, बुल्गारिया र चीनमा समेत यसलाई सोभियत संघ विघटनको मुख्य कारणको रुपमा गोर्भाचोभको गद्धारीको प्रमाणको रुपमा पेश गरिन्छ।
सोभियत संघ विघटन भएपछि मिखाइल गोर्बाचोभ अत्यन्त अलोकप्रिय बने। आम रुसी जनताको नजरमा सोभियत संघ विघटन हुनुको मुख्य दोषी उनी थिए। सन् १९९६ मा रुसमा भएको रास्ट्रपति चुनावमा गोर्बाचोभले जम्मा १% मत पनि पाउन सकेनन्। सोहि निर्वाचनको क्रममा ओम्स्क सहरमा उनलाई मिखाइल माल्युकोभ नामक २९ बर्षीय युवाले रास्ट्रको हित प्रति गद्धारी गरेको र सोभियत संघ विघटन गरेको भन्दै ३ झापड हाने। त्यस्तै मिखाइल गोर्बाचोभको टाउकोमा एक जना बृद्ध महिलाले थुकेकी समेत थिइन्।

त्यस्तै रुसी कम्युनिस्ट नेताहरुले भाषण गर्दै भन्ने गर्थे– ‘भगवानले हामीलाई शैतान चिन्न सजिलो होस् भनेर शैतानका संकेत–चिन्हहरु बारे भन्नु भएको छ। शैतानका टाउको र हातमा दाग हुन्छ रे!’ मिखाइल गोर्बाचोभको पनि टाउकोमा दाग छ र उनको एक हातमा एउटा औला छैन।
आफ्ना पछिल्ला दिनहरुमा मिखाइल गोर्बाचोभमा अमेरिका र युरोपप्रति कटुता बढेको थियो। यसको मुख्य कारण थियो– अमेरिकाले उनलाई जर्मनीको एकीकरणको बेला दिएको बचन तोड्नु। १९८९-९० मा पुर्वी युरोपमा कम्युनिस्ट शासन प्रणाली बिरुद्ध चलेको आन्दोलनको क्रममा पुर्वी जर्मनीको बर्लिन पर्खाल भत्काइयो। त्यस लगत्तै १९९० मा पुर्वी जर्मनीको विघटन भयो र जर्मनीको एकीकरण प्रक्रिया सुरु भयो। दोश्रो विश्वयुद्ध जर्मनी दुई भागमा विभाजित भएको थियो। पुर्वी जर्मनी सोभियत संघ नेतृत्वको वार्सा सैन्य गठबन्धनको सदस्य थियो भने पश्चिम जर्मनी अमेरिकी नेतृत्वको नेटो सैन्य गठबन्धनको सदस्य थियो। त्यसबेला जर्मनीको एकीकरणको सम्बन्धमा १९९० को फेब्रुवरी ९ मा मस्कोमा एउटा बैठक भएको थियो। सो बैठकमा अमेरिकी विदेश मन्त्री जेम्स बेकरले सोभियत राष्ट्रपति मिखाइल गोर्बाचोभलाई जर्मनीलाई नेटोमा संलग्न हुन सहयोग गर्न आग्रह गरेका थिए। जर्मनीको मामिलामा सहयोग गरे नाटोलाई पुर्वी जर्मनीको एल्वे नदी भन्दा पूर्व एक इञ्च पनि बिस्तार नगर्ने वाचा अमेरिकाले गोर्बाचोभ सामु गरेको थियो। यसै वाचामा विश्वास गर्दै गोर्बाचोभले जर्मनीलाई नाटोमा सामेल हुन अनुमति दिए। १९९१ मा सोभियत संघ विघटन भएपछि अमेरिकाले आफैले गरेको वाचा लत्याउदै पुर्वी युरोपमा नेटोको बिस्तार गर्न थाल्यो। शीत युद्धको समाप्ति पछि अमेरिकाले नेटो सैन्य गठबन्धनमा १४ वटा पुर्वी यूरोपेली देशहरुलाई सामेल गरेको थियो। जसमा १९९९ मा चेक गणतन्त्र, हंगेरी र पोल्याण्ड, २००४ मा बुल्गरिया, इस्टोनिया, लाटभिया, लिथवानिया, रोमानिया, स्लोभाकिया र स्लोभेनिया, २००९ मा अल्बानिया र क्रोएसिया, २०१७ मा मोन्टेनेग्रो र २०२० मा म्यासेडोनिया सामेल छन्। अहिले नेटोमा बोस्निया र हर्जगोभिना, जर्जिया र युक्रेनलाई समेत सामेल गर्नेबारे छलफल भैरहेको छ। नेटोको यहि बिस्तारको कारण अहिले रुस र युक्रेन बीच ६ महिना देखि युद्ध भैरहेको छ। आफुलाई यसरी अमेरिकाले धोका दिएको कारण मिखाइल गोर्बाचोभ बर्तमान रुसी रास्ट्रपति भ्लादमिर पुटिनका समर्थक बनेका थिए।
मिखाइल गोर्बाचोभ जसले सुरु गरेको सुधार कार्यक्रमका कारण बीसौं शताब्दीको महानतम देश सोभियत संघ विघटन भयो। जो रुसी जनता र कम्युनिस्टहरुको नजरमा गद्धार र पश्चिमी जगतको नजरमा नायक बने। उनको बारेमा अब इतिहासले निर्मम समिक्षा गर्ने छ।