कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले पहिलोपटक कृषि ऐन बनाउने तयारी थालेको छ । ऐनको मस्यौदाका लागि मन्त्रालयका सहसचिव डा.नारायण रेग्मीको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारको कृषि नीति कार्यान्वयन गर्न ऐन बनाउन लागिएको मन्त्रालयको भनाइ छ । छुट्टै कृषि ऐन नहुँदा कृषि क्षेत्रको विकास हुन नसकेकोले कृषि ऐन बनाउन लागिएको मन्त्रालयका उपचिव डा.गंगा आचार्यले जानकारी दिए । कृषि मन्त्रालयले हालै घोषणा गरेको कृषि विकासका पाँच नीतिगत आधारमा उल्लेख भएका उत्पादन सामग्रीमा अनुदान, सस्तो र सुलभ ऋण, सबै किसानलाई प्राविधिक सेवाको पहँच, कृषि तथा पशु बिमा र न्युनतम समर्थन मुल्यसहित खरिदको ग्यारेन्टीका प्रावधानलाई कानुनी रुपमा व्यवस्थित गर्न ऐन आवश्यक भएको आचार्यले बताए ।
मन्त्रालयले कृषि नीति २०६१ पनि परिमार्जन गर्न गठित सहसचिव डा. हरिबहादुर केसीको संयोजकत्वमा अर्को समितिले काम गरिरहेको जनाएको छ । अनलाइनखबर