नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले लिम्पियाधुरासहितको नक्सा छाप्ने निर्णय पार्टीकै भएकाले व्यक्तिलाई देवत्वकरण गर्न नहुने बताएका छन् । नेकपाको सचिवालय बैठकले जेठ २ गते लिम्पियाधुरासहितको नक्सा छाप्न सरकारलाई निर्देशन दिएको थियो । त्यही निर्देशनबमोजिम सरकारले नीति तथा कार्यक्रममा नक्सा छाप्ने कुरा समाविष्ट गरेको गौतमको ठहर छ ।
उपाध्यक्ष गौतमले सामाजिक सञ्जालमा लामो स्ट्याटस राख्दै वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य भएको बताएका छन्।
“ऐतिहासिक तथ्य, प्रमाण र लिखतद्वारा निर्दिष्ट गरिएको आधारमा नेपाल सरकारले हाम्रो देशको नयाँ नक्सा सार्वजनिक गरेको छ । यसप्रति समस्त नेपाली जनसमुदाय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति आभारी छ,” उनले भनेका छन्, “नेपालका अतिक्रमित भूमिलाई समेटेर देशको नक्सा जारी गर्नुपर्ने सन्दर्भमा मैले सुरुदेखि नै पार्टीमा सशक्त विचार र जोडदार माग राख्दै आएको म सबैमा स्मरण गराउन चाहन्छु ।”
उनले नयाँ नक्सा छाप्ने प्रस्ताव आफ्नो भएको दाबी गरेका छन् ।“यसपटक पनि छुटेका नेपाली भूभाग समेटेर नक्सा जारी गर्नुपर्ने प्रस्ताव पार्टीको बैठकमा मैले नै राखेको यहाँहरु सबैमा जानकारी गराउँछु । वर्तमान सरकारका अनेकन कार्य आलोचनायोग्य हुँदाहुँदै पनि यो काम भने स्वागतयोग्य छ । किनभने, सिमाना व्यवस्थापनसँग सम्बन्धित हाम्रा ऐतिहासिक अभिलेखलाई यो नक्साले अझ बलियो प्रमाणका रुपमा आत्मसात् गर्दै आगामी पुस्तालाई सीमा रक्षाका निमित्त प्रेरणा, उत्साह र उर्जा दिने काम भएको छ,” उनको दाबी छ ।
अनुयायीहरू व्यक्ति केन्द्रित हुन्छन् र निश्चित व्यक्तिका नामलाई देवत्वकरण गर्न व्यस्त हुने प्रचलन रहेको भन्दै यो कदम पार्टीको सामुहिक निर्णयको उपज भएको बताएका छन् ।
“यो निर्णय पार्टीको सामूहिक निर्णयप्रक्रिया अनुसार भएर, नेपाल सरकारबाट पनि त्यहीअनुरुप अनुमोदन भएको वास्तविकतालाई सबैले स्वीकार गर्नुपर्छ । हामीले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुर्छ,” उनले आग्रह गरेका छन्।