कसलाई थाहा छ र यो प्रतिवेदन प्रकाशित हुँदासम्म कति जना गैह्र–सैनिक प्यालेस्टेनियनहरु मारिइसकेका हुनेछन्? पेट्रोल र बिजुलीको अभावमा अस्पताल वा मुर्दाघर लैजान नसकिएका शवहरुमध्ये अधिकांश बालबालिकाहरुका हुनेछन्। उनीहरु आफ्ना घरहरुभित्र लुकेर इजरायली एफ-१६ बमवर्षक विमानहरु आफू नजिक आइरहेको र कुनै किरा फट्याङ्ग्रालाई लखेटिरहेको कमिलाको ताँती सरह आफू नजिक आइरहेका बम विस्फोटका आवाजहरु सुनिरहेका हुनेछन्। उनीहरुले दुवै हातले आफ्ना कानहरु थुनेर अँध्यारो कोठामा आफ्ना बाबुआमा छेवैमा टुक्रुक्क बसेर आफ्नो घरमाथि बर्षने त्यो बम कुरिरहेका हुनेछन्। उद्धारकर्ताहरु आइपुगुन्जेलमा उनीहरुलाई विध्वंसको रास मुनिबाट उधिनेर निकालिनछन् र उनीहरुका शवहरु पहिचान गर्न नसकिने अवस्थामा हुनेछन्, रोइरहेका नातेदारहरुले लत्ताकपडा र भाडाकुडाबाट पहिचान खुलाउनेछन्। गाजा क्षेत्रमा बसोबास गर्ने प्यालेस्टीनीहरुको त्रासदी यसप्रकारको छ।
हालसालैको इजरायली बमबारीको पहिलो रातमा गाजामा बस्ने मेरा एकजना साथीले उनको १७ बर्षे छोरा गाजा क्षेत्रका प्यालेस्टिनी माथि इजरायलीहरुले बर्षाएका विगतका १० घातक बमबारीमा बचेको कुरा मलाई सुनाए। कुराकानीको क्रममा हामीले सम्झन सक्ने युद्धहरुको सूची तयार गर्यौं (किनभने ती सबै युद्धहरु इजरायली युद्ध थिए, हामीले उनीहरुका गाजा क्षेत्रमा माथि भएका आक्रमणमा इजरायली सेनाका नाम प्रयोग गरेका छौं)।
+ Operation Summer Rains (June 2006)
+ Operation Autumn Clouds (October-November 2006)
+ Operation Hot Winter (February-March 2008)
+ Operation Cast Lead (December 2008-January 2009)
+ Operation Running Echo (March 2012)
+ Operation Pillar of Cloud (November 2012)
+ Operation Protective Edge (July-August 2014)
+ Operation Black Belt (November 2019)
+ Operation Breaking Dawn (August 2022)
+ Operation Shield and Arrow (May 2023)
ती मध्ये सबै हमलाबाट गाजा क्षेत्रमा रहेका आधाभूत संरचना नष्ट भएका छन् र प्यालेस्टिनी जनताहरुले धेरै कष्ट बेहोर्दै आएका छन्। गाजाको स्वास्थ्य मन्त्रालयले ती हमलाबाट भएका नागरिकहरुको मृत्यु र हताहती हुनेको संख्या दर्ज गर्थ्यो तर इजरायल र त्यसका पश्चिमी समर्थकहरुले यसमाथि ध्यान नै दिएनन्। जस्तो कि हालको बमवारी व्यापक हुँदैछ, पत्रकार मुहम्मद स्मिरी भन्छन्, “यस पटक हामी बच्दनौं होला।” यस्तो चिन्ता स्मिरीको मात्र होइन। हरेक पटक जब इजराइलले आफ्ना लड़ाकू जेट र मिसाइलहरु छोड्छ, तब मृत्यु र विनाश अकल्पनीय अनुपातमा हुन्छ नै। सम्पूर्ण शक्तिका साथ गरिएको यस पटकको आक्रमणले आजसम्म कहिलेपनि नदेखिएको विनाशको परिणाम देखाउनेछ।
खण्डहर गाजा
गाजा क्षेत्र लगभग बिस लाख निवासीहरुको खण्डहर भूमि हो। सन् २०१४ मा गाजा क्षेत्रमा गरिएको इजरायलको भिषण गोलावारीपछि, संयुक्त राष्ट्र संघले रिपोर्ट दिएको थियो कि “ मानिसहरु साच्चै नै विध्वंशको अवशेषमा सुतिरहेका छन्; बच्चाहरु हाइपोथर्मियाबाट (कठाङ्ग्रिएर)) मरिरहेका छन्।” यस्ता वाक्य लेखन हरेक बम विस्फोटपछि फेरिदै जानसक्छन् तर जब यस्ता गोलावारीको अन्त हुनेछ तव के लेख्ने हो फैसला हुनेछ।
सन् २००४ मा, इजराइलका राष्ट्रिय सुरक्षा निर्देशक जियोरा एइल्याण्डले भनेका थिए– गाजा क्षेत्र एक “विशाल यातना शिविर” हो। यो “विशाल यातना शिविर” सन् १९४८ मा बनाइएको थियो, जुनवेला नवनिर्मित इजरायली राज्यको जातीय सफाया नीतिले प्यालेस्टिनीहरुलाई गाजा क्षेत्र लगायतका शरणार्थी शिविरहरुमा पठाइएको थियो।
यस बीचका ७३ वर्षमा यस फैसलामा कुनै परिवर्तन भएको छैन। सन् २००५ मा इजरायली निवासीहरु र सैनिकहरुको औपचारिकरुपमा फिर्ता भइसकेपछि पनि, इजरायलले गाजा पट्टी क्षेत्रको भूमि र समुद्री सीमाहरुलाई घेराउ गरी कव्जामा राखी रह्यो। इजराइलले नै गाजा क्षेत्रमा कसलाई प्रवेश गर्न दिने तय गर्छ र समय-समयमा मानिसहरुको घाँटी थिच्न त्यस शक्तिलाई प्रयोग गर्छ।
राजनीतिक हत्या
सन् २००६ जनवरीमा गाजा क्षेत्रका प्यालस्टेनीहरुले आफनो नेतृत्वमा सरकार बनाउन चुनाव गरे। त्यसमा सन् १९८७ भन्दा अघि गठित इंतिफादा (विद्रोह) हमासले चुनाव जित्यो। हमास (इस्लामिक प्रतिरोध आन्दोलन) को विजयलाई इजरायल र पश्चिमा शक्तिहरुले निन्दा गरे, तिनीहरुले चुनाव परिणामलाई उल्ट्याउन सशस्त्र आक्रमण गरे। अपरेशन समर रेन्स र अपरेशन एटम क्लाउड्सले प्यालेस्टिनीहरुलाई विधायक चुनावमा हमासलाई रोजेको कारण सामूहिक दण्डका रुपमा निरन्तर गोलाबारीको सामना गर्नुपर्ने नयाँ परिस्थितिमा धकेली दियो। गाजा क्षेत्रलाई कहिल्यै पनि राजनीतिक प्रक्रियामा सामेल हुन दिइएन, वास्तवमा, नागरिकलाई बोल्नका लागि कुनै पनि प्रकारका राजनीतिक अधिकारलाई स्थापित गर्न दिइएन। इजराइलले गाजा क्षेत्रको राजनीतिक जीवनलाई तहसनहस गर्ने र त्यहाँका वासिन्दाहरुलाई स्थायी सशस्त्र संघर्ष गरिराख्ने स्थितिमा बाध्य पार्न प्रयाश गरिरह्यो। जुनवेला प्यालेस्टिनीहरुले सन् २०१९ मा अहिंसक ग्रेट मार्च अफ रिटर्न को आयोजना गरेका थिए, त्यसवेला इजरायली सेनाले क्रूरतापूर्व बल प्रयोग गरेर २०० व्यक्तिहरुलाई मारे। जब अहिंसक विरोध कार्यलाई बलपूर्वक दवाइन्छ, तव व्यक्तिहरुलाई त्यो बाटोमा हिडाइरहन र हतियार नउठाउनका लागि मनाउन कठिन हुन्छ।
जसै यो द्वन्द्वले स्थायित्व ग्रहण गर्दै जान्छ, सम्झौता सम्भव छैन । यसकारणको प्यालेस्टिनी राजनीतिक निरासा हतियारबन्द हिंसाको अपरिहार्यता तर्फ बढ्दै जान्छ। अन्य कुनै मार्ग बाँकी रहदैन। प्यालेस्टिनी राजनीतिक नेतृत्व युरोपीयन युनियन वा अमेरिकाद्वारा पगाहा (खुट्टे) लगाइएको हुनाले र आम जनभावनाबाट अलग्याइएको छ वा यदि उसले ती जनभावनालाई प्रतिबिम्बित गर्ने कामलाई निरन्तरता दिन्छ भने उसलाई इजरायलका नरक जस्तै कैयौं झ्यालखान मध्ये कुनै एकमा थुनिन्छ (प्यालेस्टिनी पुरुष मध्ये १० जनामा ४ जना मानिस कि त जेलमा छन् वा जेल बसिसकेका छन्, जबकि धेरैजसो बाम पार्टीका नेताहरुले “प्रशासनिक थुनछेक” आदेश अन्तरगत लामो समय कारागारमा बिताएका छन्) । इजरायली समाजशास्त्री बरुच किम्मरलिङ भन्छन् – प्यालेस्टिनीहरु प्रति इजरायलको नीतिले “पोलिटिसाइड (politicide)” अर्थात् नियतवस प्यालेस्टिनी राजनीतिक प्रक्रियाको ध्वंस निम्त्याएको छ। खुला रहेको एक मात्र बाटो सशस्त्र संघर्ष नै हो ।
वास्तवमा, अन्तर्राष्ट्रीय कानून अनुसार, कुनै कब्जा गर्ने शक्तिविरुद्ध सशस्त्र संघर्ष गर्नु अवैध होइन। यस्ता कैयन अन्तर्राष्ट्रीय कन्भेन्सन र संयुक्त राष्ट्र संघ रिजोलुसन छन्, जसले आत्मनिर्णयको अधिकारलाई पुष्टि गर्छन्: जसमा, जेनेभा कन्भेन्सन–१९४९ को अतिरिक्त प्रोटोकल १, संयुक्त राष्ट्र संघ महासभा रिजोलुसन ३३१४ (१९७४), र संयुक्त राष्ट्र महासभा रिजोलुसन ३७/४३ (१९८२) समेत पर्दछन्। सन् १९८२ को रिजोलुसन “सशस्त्र संघर्ष सहित सबै उपलब्ध उपायबाट स्वतन्त्रता, क्षेत्रीय अखण्डता, राष्ट्रिय एकता तथा औपनिवेशिक र विदेशी प्रभुत्व तथा विदेशी कब्जाबाट मुक्ति पाउनका लागि गरिने संघर्षको वैधतालाई पुष्टि गर्दछ।” यी निर्णयहरु जुनसुकै प्रकारका अवैध कब्जाका विरुद्ध गरिने सशस्त्र संघर्षलाई कानूनी वैधता दिनका लागि पर्याप्त छन्
हमासले इजराइलमाथि किन हमला गर्यो? किनकि इजरायली कब्जाको प्रकृतिबाट प्यालेस्टिनीहरु र इजरायलीहरुबीचको सम्बन्धमा एक राजनीतिक व्याकरण थपी दिएको छ। वास्तवमा, कुनै पनि बेला जब कतारको मध्यस्थतामा हमास र इजरायली सरकार बीचको वार्तामा प्रगति हुँदै जान्छ, त्यहीवेला त्यस वार्तालाई इजरायली लड़ाकू विमानहरुको आवाजले बन्द गराइदिन्छ।
यूद्ध अपराधहरु
जब जब इजरायलका लडाकू विमानहरुले गाजा क्षेत्रमा वमवारी शुरु गर्छन्, पश्चिमा मुलुकहरुका नेता/ शासकहरु एकै लाइनमा खडा भएर फलाक्न थाल्छ्न् “हामी इजरायलको पक्षमा छौं” र “इजरायललाई आत्मरक्षाको अधिकार छ।” यो इजरायललाई आत्मरक्षाको अधिकार भन्ने भनाइ नै कानूनतः गलत छ। सन् १९६७ मा, इजरायली सेनाले सन् १९४८ को इजरायली “ग्रीन लाइन” लाई उल्लङ्घन गर्दै पूर्वी जेरुसलम, गाजा र वेस्ट बैंक क्षेत्रमा कब्जा जमाए। त्यति बेलैको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको रिजोलुसन २४२ ले “हालै संघर्षमा कब्जा भएका क्षेत्रहरुबाट [इजरायली] सशस्त्र बलको फिर्ता गर्नुपर्ने” की माग गर्यो। यहाँ प्रयोग गरिएको “कब्जा” शब्दले गहन शव्द बोकेको छ। हेग सन्धी (१९०७) को धारा ४२ बमोजिम “शत्रु सेनाको अधिकार भित्र कजिन गरी कुनै क्षेत्र पारिन्छ भने त्यस क्षेत्रलाई कब्जा गरिएको मानिनेछ।” चौथा जेनेभा कन्भेन्सनमा गरिएको व्यवस्था अनुसार कब्जा गरिएको क्षेत्रका वासिन्दाहरुको जिवीका तथा लोककल्याणको जिम्मेवारी कव्जा गर्ने पक्षको हुनेछ, – यो व्यवस्थाको इजरायली सरकारबाट वारम्वार उल्लङ्घन भएको छ।
वास्तवमा, जहाँसम्म गाजा क्षेत्रको कुरा छ, सन् २००५ यता इजरायली उच्च अधिकारीहरु त “आत्मरक्षा” भन्ने शव्द नै उच्चारण गर्दैनन्। तिनीहरु “सामूहिक दण्ड”को मात्र कुरा गर्छन्। हालै जारी बमबारीलाई पक्षपोषण गर्दै इजरायलका प्रधान मन्त्री बेन्जामिन नेतन्याह भन्छन्, “हामीले गाजा क्षेत्रमा बिजुली, इन्धन र अन्य उपभोगका वस्तुहरुको आपूर्ति रोक्ने निर्णय गरेका छौं।” त्यस लगत्तै इजरायलका रक्षा मन्त्री योव ग्यालाण्ट भन्छन्, “मैले गाजा पट्टीमा पूर्ण घेराबन्दी गर्न आदेश दिई सकें। अब त्यहाँ रसद पानी, बिजुली, इन्धन केहीको पनि आपूर्ति हुँदैन।” त्यसमा इज़राइलका ऊर्जा मन्त्री काट्जले थपे, “मैले गाजा क्षेत्रमा इजराइलबाट भइरहेको पानी आपूर्ति तत्काल रोक्न निर्देशन दिएको छु।” यी धम्कीहरुलाई चरितार्थ गर्दै उनीहरुले गाजा क्षेत्रको पूर्ण घेराबन्दी गरेका छन्- र अझ त्यसमाथि गाजाबाट इजिप्ट निस्कन सकिने नाकासमेत ध्वस्त बनाएका छन्। र यसरी २० लाख भन्दा बढी जनताको जीवनयापनलाई धरापमा पारेका छन्। जेनेभा कन्भेन्सनहरुका अनुसार यो “सामूहिक दण्ड” हो, र यो युद्ध अपराधको श्रेणीमा पर्दछ। सन् २०२१ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायलका युद्ध अपराधहरुबारेमा छानविन शुरू गर्यो तर त्यसले सूचना/प्रमाण संकलन गर्न समेत पाएन।
बच्चाहरुलाई उनीहरुका कोठामा खाँदेर राखिन्छ र कति वेला बम पड्कने हो त्यसको टुङ्गो नहुने हुनाले पानी र खाना खान नपाएकाव्याकुल बच्चाहरु विजुली नहुने हुनाले अँध्यारो कोठमा तडपी तड्पी बस्दछन् ।
सन् २०१४ इजरायली बमवर्षाका बेला आफ्नो दश वर्षे छोरासँगको अनुभव बताउँदै भन्छिन्- उ बमको डरलाग्दो धमाका र मानिसहरुको मृत्यु आफ्नै वरिपरि भइरहेको देखेर आमालाई छाड्नै मान्दैनथ्यो र यति चर्को स्वरमा रुन्थ्यो कि त्यो रुवाइ नभएर अट्टहास जस्तो लाग्थ्यो।
अक्टुवर १३, २०२३
हालै नोम चोम्स्कीको सहलेखनमा विजय प्रसादको द विदड्रल: इराक, लीबिया, अफगानिस्तान एण्ड द फ्रयागिलिटी अफ यूएस पावर नामक पुस्तक प्रकासित भएको छ।
https://www.newsclick.in/savagery-war-against-palestinian-people बाट भावानुवाद।