नेपालको पश्चिमी सीमास्थित दार्चुलामा पर्ने लिपुलेक हुँदै भारतले सडक बनाएपछि विरोधको स्वर बढिरहेको छ। भारतले मानसरोवर जाने सडक नेपाली हुँदै बनाएपछि समाजवादी पार्टी नेपालले पनि आपत्ति जनाएको छ।
सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेस र अर्को प्रतिपक्षी राप्रपासहित भारतीय कदमविरुद्ध समाजवादी पार्टी नेपाल पनि उभिएको हो। नेपाल र भारतको सीमासम्बन्धी १८१६ को सुगौली सन्धिको स्मरण गराउँदै समाजवादीले नेपाली भूमिमा छिरे अवैध गतिविधि नगर्न भारतलाई सचेत गराएको हो। ‘उक्त सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा र लिपुलेक क्षेत्र नेपालको अभिवाज्य भूमि हुन्’, समाजवादीले भनेको छ, ‘नेपालको सहमतिबिना त्यस क्षेत्रमा निर्माण कार्य पूर्णरुपमा अस्वीकार्य छ।’
विज्ञप्तिमा नेपाली भूमिमा भएको अतिक्रमण हटाउन भारतलाई भनिएको छ। ‘द्बिपक्षीय सीमासम्बन्धी विवाद तत्काल छलफलबाट समाधान गर्न समाजवादी पार्टी नेपाल सरकारसँग आग्रह गर्दछु, विज्ञप्तिमा भनिएको छ, ‘मैत्रीपूर्ण सम्बन्ध कायम गरी लिपुलेक लगायत मुलुकको मिचिएको भूगोल फिर्ता ल्याउन वार्तामा बस्न आग्रह गर्छौं।’