स्वास्थ्य मन्त्रालयले आइतबार का दिन मस्जिदमा रहेका शंकास्पद २४ जनाको स्वास्थ्य परीक्षणमा ३ जना भारतीयमा कोरोनाभाइरस पोजेटिभ पाएको जानकारी गराएकोछ। ती ३७, ४४ र ५५ वर्ष उमेरका तीनैजनालाई अहिले नारायणी क्षेत्रीय अस्पतालमा आइसोलेसनमा राखिएको छ।
प्रहरीले २७ चैतमा मस्जिदमा बसिरहेका उनीहरुको स्वाब संकलन गरेको थियो। स्वाबलाई किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडा र पछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँचपछि उनीहरुमा संक्रमणको टुंगो लागेको थियो।
संक्रमितको सम्पर्कमा आएका शंकास्पद २१ र थप तीनजना गरी २४ जनालाई अहिले क्वारेन्टिनमा राखिएको छ।
पर्सामै संक्रमण भएको अनुमान
प्रहरी स्रोतका अनुसार संक्रमित तीनसहित १४ जनाको समुह १ पुसमा भारतको नयाँ दिल्ली बाट नेपाल लागेका थिए। मोरङको रानी भन्सार नाका हुँदै २ पुसमा नेपाल प्रवेश गरेका उनीहरु दुई दिन रानी क्षेत्रकै मस्जिदमा बसे। त्यसपछि एकसाता सुनसरीस्थित दुहबी मस्जिद र सदरमुकाम इनरुवा हुँदै सप्तरी आएका थिए।
तबलिगी जमातले ३ देखि ५ फागुनसम्म सप्तरीमा आयोजना गरेको नेपाल इज्मिामा सहभागी हुन आएका उनीहरु कार्यक्रम सकिएपछि पनि सप्तरीकै विभिन्न मस्जिदहरुमा बसिरहेका थिए। त्यसपछि पर्सा पुगेका उनीहरु त्यहाँका विभिन्न मस्जिद र मदरसामा धार्मिक प्रवचन दिने दिंदै भारत फर्कने क्रममा १३ चैतमा वीरगञ्जस्थित छपकैया मस्जिद आइपुगेका थिए। तर दुवै देशमा लकडाउनका कारण त्यही रोकिए। प्रहरीले अहिले यात्रामा उनीहरुले प्रयोग गरेका सवारी साधन, त्यसमा सवार यात्रुहरुका बारे पनि सोधखोज शुरु गरिसकेको छ।
प्रहरीले यतिबेला गत महीनामात्र नयाँ दिल्लीमा भएको तबलिगी जमातको इज्तिमामा उनीहरुमध्ये कोही सहभागी भएको वा सहभागी कसैसँग भेटघाट गरेको बारे सोधपुछ गरिरहेको छ। “उनीहरुले ठ्याक्कै मिति र स्थान बताउन सकिरहेका छैनन्, मोबाइलबाट हामी थप यकिन गर्दैछौं”, सोधपुछमा संलग्न एक प्रहरी अधिकारीले भने।
प्रहरीको कोभिड–१९ केन्द्रीय स्वास्थ्य कमाण्ड सेन्टरका अधिकारी भने उनीहरु नेपालमै रहेको भए संक्रमित कसैको सम्पर्कमा आएको हुनसक्ने बताउँछन्।
“नेपालभित्रै संक्रमित नभएको अवस्थामा उनीहरु कसरी संक्रमित भए भन्ने बारे अनुसन्धान केन्द्रीत छ”, उनी भन्छन्। उनका अनुसार, सप्तरीका शंकास्पद एक युवाको स्वाब पनि परीक्षणकै क्रममा छ।
दिल्ली इज्तिमामा सहभागी नेपालीमार्फत नै उनीहरु संक्रमित भएको आशंकामा मोरङ, सुनसरी, सप्तरी र पर्सामा रहेका मस्जिद र मदरशामा पनि सोधपुछ भइरहेको छ।
प्रहरी अधिकारीहरुका अनुसार संक्रमित तीनैजना मुस्लिम धर्मगुरु हुन्।
प्रदेश २ प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्की पनि संक्रमितको सहयोगमार्फत तीव्र गतिमा ‘कन्टयाक्ट ट्रेसिङ’ कार्य भइरहेको बताउँछन्।
केन्द्रबाटै ‘कन्टयाक्ट ट्रेसिङ’
हालै मात्र गठीत कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) अन्तर्गतका ४ वटा क्लष्टरहरुलाई फरक–फरक जिम्मेवारी तोकिएको छ। जसअन्तर्गत स्वास्थ्य सेवा तथा उपचार, औषधि उपकरण तथा स्वास्थ्य सामग्री आपूर्ति सेवा, शान्ति सुरक्षा अनुगमन तथा नियन्त्रण कार्य र सूचना तथा प्रविधि कार्य छन् । चारैवटा क्लष्टरलाई ‘कन्टयाक्ट ट्रेसिङ’ को जिम्मेवारी पनि तोकिएको छ ।
सीसीएमसीले २६ चैतमै २५ जनाको समूह बनाई ‘कन्टयाक्ट ट्रेसिङ’ का लागि खटाएको छ । यसले १ चैत देखि हवाई तथा स्थल मार्गबाट नेपाल प्रवेश गरेका व्यक्तिहरुको ट्रेसिङ गरी विवरण संकलन र विश्लेषण गर्दैछ।
सीसीएमसीका एक सदस्यका अनुसार १ चैतमा नेपालमा एक्टिभ गरिएका मोबाइल नम्बर र ती नम्बरबाट पटक–पटक सम्पर्क भएका नम्बरहरुको पहिचान काम भइरहेको हो।
यसका लागि मुलुकमा रहेका सबै दुरसञ्चार प्रदायक कम्पनीले तथ्यांक उपलब्ध गराएका छन्। उनीहरुको पहिचानपछि स्वास्थ्य अवस्था, घरपरिवारको विवरण र अन्य तथ्य पत्ता लगाएर सम्पर्क कायम गर्ने प्रयास पनि भइरहेको छ। यसका लागि सीसीएमसीले स्थानीय तहका वडा सदस्यमार्फत समेत सूचना संकलन गरिरहेको छ।
साभारः दिपक खरेल/हिमाल खबर