प्रतिनिधि सभा विघटनविरुद्ध देशभर भइरहेका विरोधका कार्यक्रमहरूमा आन्दोलनरत दलका नेताहरूले बिहीबारपनि संसद पुनस्र्थापनाको पक्षमा अभिव्यक्ति दिएका छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै उनीहरूले पुनस्र्थापनाका लागि माग गर्दै आएका छन् ।
संसद् पुनस्र्थापना नभए देश गृहयुद्धमा जान्छ : रामचन्द्र पौडेल
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनस्र्थापना नभए देश गृहयुद्धमा जाने र अफगानिस्थानको हालतमा पुग्ने बताएका छन् । बिहीबार पोखरामा आयोजित कार्यक्रममा नेता पौडेलले प्रधानमन्त्रीले संसद विघटन गरेकाले विदेशी शक्तिको चलखेल बढ्नसक्ने संकेत गरे । संविधानमाथि नै प्रहार गरेका बेला अदालतले जे गर्छ गरोस् भनेर कांग्रेस चुप लागेर बस्न नमिल्ने उनको भनाई छ ।
कसरी निष्पक्ष चुनाव हुन्छ ? : डा. बाबुराम भट्टराई
जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले असंवैधानिक ढंगले नियुक्त गरिएका आयुक्तबाट निष्पक्ष चुनाव हुनेमा प्रश्न गरेका छन् । बिहीबार समाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन् ‘चुनाव, जनमत संग्रह, संविधान संशोधनको कुरा राम्रो हो । अवैधानिक ढंगले नियुक्त आयुक्तबाट कसरी निष्पक्ष चुनाव हुन्छ ?’ यस्तै संविधानका विभिन्न धाराहरू उल्लेख गर्दै उनले संसदले निर्णय नगरी जनमत संग्रह हुने र दुबै सदनको दुई तिहाईले पारित नगरी संविधान संशोधनका विषयमा पनि उनले प्रश्न गरेका छन् ।
संविधान मिचेर घोषणा गरिएको चुनावको अर्थ छैनः सुजाता कोइराला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले संविधान मिचेर घोषणा गरिएको चुनावको कुनै अर्थ नरहने बताएकी छिन् । नेपाल प्रेस युनियन झापा शाखाको आयोजनामा झापाको विर्तामोडमा भएको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले मिचिएको संविधान सही ‘ट्र्याक’मा ल्याउन प्रतिनिधि सभा पुनस्र्थापित हुनै पर्ने बताइन् । संसद विघटन असंवैधानिक भएको बताउँदै कोइरालाले सर्वोच्च अदालतले संसद पुर्नस्थापनाको पक्षमा निर्णय दिनुपर्ने धारणा कोइरालाको भनाइ छ ।