रुपन्देहीको तिलोत्तमामा लगानी सम्मेलन शुरु भएको छ । काठमाडौं बाहिर पहिलोपटक आयोजित लगानी सम्मेलनको पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गरे । सम्मेलन उदघाटन समारोहमा बोल्दै प्रचण्डसहित विभिन्न दलका नेताहरुले रुपन्देहीमा गरिने लगानी सुरक्षित हुने र उच्च प्रतिफल प्राप्त हुने बताएका छन् ।
प्रचण्डले राजनीतिक दल तथा नेताहरुले आफ्नो आचरण सुधार गर्नुपर्ने बताएका छन्। ‘जातिवित्ति नकारात्मक टिप्पणी भएको छ, यसले कसैलाई हित गर्दैन’, प्रचण्डले भने,‘राजनीतिक दल तथा नेताहरुमा सुधार समेत आवश्यक रहेको छ, हामी कम्युनिस्ट बडाहाकिम जस्तै भयौं, हामी पञ्चायतकालीन बडाहाकिम कि अरु भन्नेमै अन्योल छ, त्यसैले बडाहाकिम शैली फेरौं।’निजी क्षेत्रलाई नाफा कमाउने सुरक्षा र स्वतन्त्रता भएकै कारण चीन, भारत, सिंगापुरको विकास सम्भव भएको भन्दै उनले त्यो वातावरण अब नेपालमा बन्ने विश्वास गरे। विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भए पनि अब पनि मुलुक समृद्धितर्फ जाने प्रचण्डको भनाई छ।
‘२४० वर्षको शैली परिवर्तन गर्न कठिन छ, ढेड वर्षमै सम्भव पनि हुँदैन’, उनले भने,‘टिकाटिप्णी मात्रै गरेर अराजकता निम्त्याउनु हुदैन।’सम्भावनै सम्भावना भएको रुपन्देही लगानीको वातावरण बन्दै गएकोसमेत प्रचण्डले प्रष्ट पारे। उनले शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटक भित्रिने दाबी गरे।
त्यस्तै यही कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण नै नभएको भन्नु सत्य नभएको दाबी गरे। कैयौं कानुन परिमार्जन गरेर नीतिगत सुधारहरु सरकारले गरिरहेको उनको भनाई छ।
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरलले पनि यही सम्मेलनमा प्रदेशमा लगानीमैत्री वातावरण बन्दै गएको प्रष्ट पारे। प्रदेशमा तिव्र गतिमा पुर्वाधारको विकास भइरहेको बताउँदै यसले लगानीकर्तालाई उत्साह थप्ने विश्वास उनको छ।
करिब ५० अर्ब लगानी भित्र्याउने लक्ष्यसहित २२ परियोजना अघि सारेर नगरपालिकाले लगानी सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा नेपाल, भारत र चीनसहित विदेशी मुलुकबाट समेत गरी पाँच सय जना लगानीकर्ता सहभागी छन् ।
सम्मेलन आयोजक तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सम्मेलनमा कृषि, उद्योग, पर्यटन, यातायात र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित २२ परियोजनाहरु प्रस्ताव गरिएको र कम्तिमा १० परियोजनामा सम्झौता हुने अपेक्षा रहेको बताए ।
सम्मेलनमा तिलोत्तमा एकीकृत कृषि उपज संकलन तथा प्रशोधन केन्द्र (कोल्ड स्टोरसहित), तिलोत्तमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र, तिलोत्तमा ११ गणेशनगरमा ढाक्रेबास एकीकृत पर्यटकीय आयोजना, मिनी नेपाल, तिलोत्तमा क्यान्सर अस्पताल, तिलोत्तमा रेल्वे (रिङरोडमा) लगायत प्रस्ताव राखिएको छ ।
सम्झौता हुने परियोजनालाई नगरपालिकाले ३०/४० वर्षसम्म भाडामा जमिन उपलब्ध गराउने छ । जग्गा भाडा प्रतिकट्ठा पाँच हजार रुपैयाँ मात्र तोकिएको छ ।नगरपालिकाले न्यूनतम ५० जनासम्मलाई रोजगारी दिने उद्योग तथा परियोजनालाई पाँच वर्षसम्म व्यावसायिक करमा ५० प्रतिशत छुट दिने जनाएको छ ।
यस्तै, तीन सयसम्मलाई रोजगारी दिनेलाई १० वर्षसम्म व्यावसायिक करमा ७५ प्रतिशत छुट दिइने नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।पाँच सय जनासम्मलाई रोजगारी दिने परियोजनालाई १२ वर्षसम्म व्यावसायिक करमा ९० प्रतिशत छुट दिने र पाँच सयभन्दा बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्षसम्म व्यावसायिक करमा शतप्रतिशत छुट दिने निर्णय नगरपालिकाको बैठकले गरेको छ ।
कृषिमा आधारित दुग्ध उद्योग, माछाभुरा उत्पादन, मत्स्यपालन, प्रशोधन एवं प्याकेजिङ, कोल्ड स्टोरलगायत परियोजनालाई स्थापनाको सात वर्षसम्म व्यवसायिक कर र नक्शा पासमा ५० प्रतिशत छुट दिइने नीति बनाइएको छ ।उदघाटन सत्रपछि कृषि, पर्यटन, उद्योग र यातायात क्षेत्रमा लगानीका संभावना र चुनौतिका समूहगत छलफल हुने तिलोत्तमा नगरपालिकाका प्रवक्ता श्रीले बताए ।