प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेस लगायत दलहरूले आन्दोलन जारी राखेका छन् । ती दलका नेताहरूले ओलीले संसद विघटन गरेर प्रतिगमन गरेको भन्दै त्यसविरुद्ध संघर्ष चर्काउने बताएका छन् ।
ओलीले अर्को पार्टी गठन गर्छन्ः सुरेन्द्र पाण्डे
नेकपा प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सुरक्षाका लागि अर्को पार्टी गठन गर्ने बताएका छन् । प्रचण्ड–नेपाल समूहको फेसबुक पेजमा मंगलबार भएको कुराकानीका क्रममा नेता पाण्डेले संसद पुनस्र्थापना भयो भने ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्ने बताए । ओली समूहका नेताहरूले संसद् पुनस्र्थापना भए अर्को निर्वाचनसम्म पार्टी एकता गर्ने बताउन थालेको सुनेको भन्दै उनले तत्काल एकता संभव नभएको बताए ।
ओलीको असफलता प्रकट भइसक्यो : देवेन्द्र पौडेल
नेकपा प्रचण्ड–नेपाल समूहका नेता देवेन्द्र पौडेलले देशमा भ्रष्टाचार र अनियमितता मौलाएको बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा पौडेलले प्रधानमन्त्री ओली आत्मरति गर्दै हिँडे पनि तथ्य तथ्यांकहरूले भ्रष्टाचार र अनियमितता निकै मौलाएको देखाएको बताएका हुन् । प्रधानमन्त्री केपी ओलीले सरकारको कामको प्रशंसा एकतर्फी रूपमा गर्दै हिँड्नुले उनको असफलता प्रकट भएको नेता पौडेलको भनाइ छ ।
संसद विघटनबाट कम्युनिष्ट पार्टीमा प्रहारः युवराज ज्ञवाली
नेकपा प्रचण्ड–नेपाल समूहका नेता युवराज ज्ञवालीले संसद विघटनबाट कम्युनिष्ट पार्टीमा प्रहार भएको बताएका छन् । अखिल नेपाल महिला संघ लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण तथा महिला भेलालाई लमहीमा सम्वोधन गर्दै ज्ञवालीले प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर कम्युनिष्ट सिध्याउने खेल खेलेको बताएका हुन् । उनले विद्या भण्डारीले नेतृत्व गर्दा अखिल नेपाल महिला संघ संगठनको रुपमा नभई एउटा भजन मण्डली मात्रै हुन पुगेको आरोप लगाए ।
संघर्षबाट मात्रै लोकतान्त्रिक गणतन्त्रको रक्षा हुन्छः जयपुरी घर्ती
भेलालाई सम्वोधन गर्दै नेकपा नेता जयपुरी घर्तीले संघर्षबाट मात्रै गुम्न लागेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सकिने बताएकी छिन् । विचार र राजनैतिक रुपमा स्पष्ट भएर अघि बढ्नुपर्ने बेला आएको उनको भनाई छ । कम्युनिष्ट आन्दोलनमा विचलन ल्याउन प्रतिगमन सोच हावी भएकै कारण देश यो ठाउँमा आइपुगेको नेता घर्तीले बताइन् ।
संघर्ष अझै गर्नुपर्छ : ओनसरी घर्ती
नेकपाका लुम्बिनी प्रदेश अध्यक्ष ओनसरी घर्तीले प्रतिगमनविरुद्ध संघर्ष अझै गर्नुपर्ने बताइन् । सोही भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको यो प्रतिगमनलाई संघर्षबाट घुँडा टेकाउन सक्ने बताइन् ।