सरकारले भारतीय कम्पनीबाट खरिद गर्न लागेको ५० लाख डोज कोभिड खोपमा १० प्रतिशत कमिसन रकम थप गर्नुपर्ने खेल सुरु भएको खुलासा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको सेरम इन्स्ट्च्यिुटबाट खरिद गर्न लागेको कोभिसिल्ड भ्याक्सिन खरिद गर्नेक्रममा ‘एजेन्ट’का नाममा १० प्रतिशत कमिसन छुट्याउने खेल सुरु भएको हो।
स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले ५० लाख डोज ‘कोभिसिल्ड भ्याक्सिन’ खरिदमा सेरमको नेपालस्थित एजेन्ट हुकुम इन्टरप्राइजेजका नाममा १० प्रतिशत कमिसन उपलब्ध गराउने खेल सुरु भएको नेपाल लाइभलाई बतायो। खोप उत्पादक कम्पनीले पनि एजेन्टलाई उपलब्ध गराउनु पर्ने १० प्रतिशत कमिसन जोडेर स्वास्थ्य मन्त्रालयलाई खोपको नयाँ मुल्य प्रस्ताव गरेको छ।
‘कम्पनीले १० प्रतिशत कमिसन जोड्दा प्रतिडोज ६ दशमलव ०५ डलर पर्ने प्रस्ताव गरेको छ’, स्रोत भन्छ, ‘कमिसन नजोड्दा प्रतिडोज ५ दशमलव ५० डलर पर्छ। कमिसनसहितको शुल्क आएकाले हामी पनि अचम्मित छौं। सरकारले कम्पनीसँग सिधै खरिद गर्ने खोपमा किन एजेन्टलाई कमिसन दिने कुरा आइरहेको छ भन्ने हामीले पनि बुझेका छैनौं।’
अघिल्लो पटक स्वास्थ्य मन्त्रालयले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरीद गरेको थियो। यो पटक कमिसनसहित प्रतिडोज ६ दशमलव ०५ डलरमा ५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको छ। यो आधारमा हेर्दा नेपालले प्रतिडोज खोपको मूल्यमा २३४ रुपैयाँ बढी तिर्नुपर्ने छ।
बुधबारको विदेशी मुद्रा विनिमय दर अनुसार एक डलरको ११७ नेपाली रुपैयाँ छ। यो आधारमा हेर्दा स्वास्थ्य मन्त्रालयले ५० लाख डोज खोपका लागि ३ अर्ब ५३ करोड ९२ लाख ५० हजार रुपैयाँ तिर्नुपर्छ। कमिसन सहितको मुल्य र कमिसन बाहेकको मूल्यमा ३२ करोड १७ लाख ५० हजारको अन्तर देखिन्छ।
मन्त्रालय स्रोतका अनुसार मन्त्रालयले पनि कमिसन सहितको मूल्यमा खोप खरिद गर्ने तयारी अगाडि बढाएको छ। ‘कमिसनसहितको मूल्यमा किन खोप खरिद गर्ने रुचि देखाइएको छ, हामीले समेत बुझ्न सकेका छैनौं,’ स्रोत भन्छ।
कमिसनको विषय उठेपछि मन्त्रालयकै केही कर्मचारीहरु स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले खोप खरीदका लागि सेरम कम्पनीबाहेक अर्को विकल्प किन खोजेनन् भन्नेबारेमा चर्चा गर्न थालेका छन्। उनीहरुले अन्य विकल्पबारे चासो नदिई कोभिसिल्ड महंगोमा खरीद गर्न खोज्नुमा मन्त्रीको ‘इन्ट्रेस्ट’ रहेको हुनसक्ने अनुमान लगाइरहेका छन्।
स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भने मन्त्री त्रिपाठीको यो विषयमा कुनै चासो नरहेको दाबी गरे। उनले केही ‘एजेन्ट’ले कमिसनको कुरा उठाएको भने स्वीकार गरे। ‘कमिसनको कुरामा मन्त्रालयले कुनै इन्टरटेन नै गर्दैन’, उनले भने। सेरमले यसअघि अग्रिम रुपमा २० लाख डोज खोपको रकम लिइसकेको भए पनि अझै १० लाख डोज खोप उपलब्ध गराएको छैन।-नेपाललाइभ