प्रतिनिधि सभा विघटनबाट देश अस्थिरतातर्फ धकेलिएको भन्दै यसको विरोधमा आन्दोलन चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको यो कदमविरुद्ध विभिन्न विरोधका कार्यक्रमसहित समाजिक सञ्जालमा समेत अभिव्यक्तिहरू सार्वजनिक भइरहेका छन् ।
संसद विघटनले मुलुक अस्थिरतातिरः नन्दबहादुर पुन
उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अक्सर राजनीतिक अभिव्यक्ति नदिने गरेका उपराष्ट्रपति पुनले बुधबार नेपाल पत्रकार महासंघको २६ औं साधारणसभाको उद्घाटन समारोहमा संसद विघटन गरेर प्रधानमन्त्रीले मुलुकलाई राजनीतिक दुर्घटनातिर धकेलेको टिप्पणी गरेका छन् । संसद विघटनको विरुद्धमा सडकमा भइरहेको आन्दोलनलाई उपराष्ट्रपति पुनले समर्थन गरेका छन् ।
संसद विघटनपछि विदेशी हस्तक्षेप बढ्योः नाराणकाजी श्रेष्ठ
नेकपा प्रचण्ड–नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि देशमा विदेशी हस्तक्षेप बढेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले संसलद विघटनबाट संविधान र लोकतन्त्रमाथि मात्र प्रहार नभएको भन्दै पुनः वैदेशिक हस्तक्षेप पनि बढेको बताए । ‘देश गम्भीर संकटबाट गुज्रदैछ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, उनले लेखेका छन्, ‘पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ।’
सभामुख पन्छिँदैछन्ः अष्टलक्ष्मी शाक्य
नेकपा प्रचण्ड–नेपाल समूह बाग्मती प्रदेशको संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्न सभामुख पन्छिएको आरोप लगाएकी छिन् । सहमति अनुसार सभामुख सानुकुमार श्रेष्ठले बैठक नबोलाएकोमा प्रचण्ड–नेपाल समूहको तर्फबाट बुधबार विरोधपत्र बुझाउने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएकी हुन् । दलहरूबीचको सहमति अनुसार बुधबार दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाउनुपर्ने थियो । तर बिहान ६ बजे नै सूचना टाँसेर बैठक स्थगित भएको जानकारी गराइएको थियो ।