प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनका क्रममा बुधबार नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आमसभाको आयोजना गरेको छ । सभामा सो समूहका नेताहरुले संसद विघटनविरुद्ध चर्को अभिव्यक्ति दिएका छन् ।
कांग्रेस अब भ्रममा पर्न आवश्यक छैनः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयविरुद्धको आन्दोलनमा साथ दिन कांग्रेससँग आग्रह गरेका छन् । काठमाडौँमा बुधवार गरिएको नेकपा प्रचण्ड–नेपाल समूहको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड लोकतान्त्रिक आन्दोलनको छवी बनाएको कांग्रेस अब भ्रममा पर्न आवश्यक नरहेको बताए । अध्यक्ष प्रचण्डले केपी ओलीको समूहतिर गएका धेरै नेता तथा कार्यकर्ता अफ्नो समूहतिर फर्कन चाहेको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य र मान्यता राख्ने सबै अन्तर्राष्ट्रिय शक्ति र समूदायलाई साथ र सहयोग गर्न आग्रह पनि गरे ।
ओलीको चुनाव चिन्ह ‘बयलगाढा’ : माधवकुमार नेपाल
काठमाडौँमै भएको सभालाई सम्बोधन गर्दै नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले संविधान मिचेका प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा गएर धम्क्याएको बताएका छन् । नेपालले चुनाव चिन्ह सूर्य आफूहरुको भएको भन्दै केपी ओलीको चिन्ह बयलगाडा मात्र भएको बताए । प्रधानमन्त्री ओली तर्कभन्दा पनि धम्की तर्फ लागेको नेता नेपालले बताए।
ओलीको जमानत जफत हुन्छः झलनाथ खनाल
नेकपा प्रचण्ड–नेपाल समूहकै नेता झलनाथ खनालले अब हुने चुनावमा प्रधानमन्त्री ओलीको जमानत जफत हुने दाबी गरेका छन् । काठमाडौँमा भएको सो समूहको सभामा नेता खनालले अब दुई वर्षपछि हुने निर्वाचनमा ओलीको जमानत जफत हुने बताएका हुन् । उनले प्रचण्ड वा नेपाललाई प्रधानमन्त्री बनाउन आफूहरूले आन्दोलन नगरेको उल्लेख गर्दै लोकतन्त्र र स्थायित्वका लागि लडाइँ गरिरहेको बताए ।