प्रतिनिधि सभा विघटनको कदमविरुद्ध रहेका राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । सोमबार देशका विभिन्न स्थानमा आयोजित कार्यक्रममा नेताहरूले ओली कदमको विरोध र संसद पुनस्र्थापनाको पक्षमा बोलेका छन् ।
ओली रक्षात्मक बन्दैछन् : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक हुने वातावरण बनिसकेको दावी गरेका छन् । सोमबार काठमाडौँमा आयोजित आफू निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद बैठकमा अध्यक्ष प्रचण्डले वातावरण विस्तारै सकरात्मक बन्दै गएकोले प्रतिक्रान्तिकारीहरुलाई हराई छाड्ने जिकिर गरे । काठमाडौंमा ओली पक्षले गरेको माघ २३ गतेको प्रदर्शनमा ३५ हजार भन्दा बढी मानिस सहभागी नभएपछि प्रधानमन्त्री ओली रक्षात्मक अवस्थामा गइसकेको प्रचण्डको दाबी छ ।
न्यायमूर्तिहरु लम्पसार पर्दैनन् : कृष्णप्रसाद सिटौला
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अदालतले संसद पुनस्र्थापना गराएरै छाड्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा नेता सिटौलाले न्यायमूर्तिहरू प्रधानमन्त्रीको पाउमा लम्पसार नपर्नेमा आफू ढुक्क रहेको बताउँदै संसद पुनस्र्थापना भएरै छाड्ने विश्वास व्यक्त गरे । नियुक्ति गरेकै भरमा न्यायिक प्रक्रिया पक्षपातपूर्ण नहुने नेता सिटौलाको भनाई छ ।
नवौँ महाधिवेशनबाट ‘केशरजंग रायमाझी’ जन्मिए : रामकुमार झाँक्री
नेकपा प्रचण्ड–नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले तत्कालिन एमालेको नवौँ महाधिवेशनबाट केपी शर्मा ओली निर्वाचित भएसँगै अर्को केशरजंग रायमाझीको जन्म भएको बताएकी छिन् । म्याग्दीमा प्रचण्ड–नेपाल समूहको जिल्ला भेलालाई सम्बोधन गर्दै झाँक्रीले महाधिवेशनबाट ओली निर्वाचित भएसँगै पार्टी विभाजन भएर केशरजंग रायमाझी जन्मिनु स्वभाविक भएको बताएकी हुन् । उनले प्रधानमन्त्री ओलीलाई ‘कागजी तानाशाह’ र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘बडा महारानी’को संज्ञा दिइन् ।
ओली कदमले संघियता र धर्म निरपेक्षता जोखिममाः शक्ति बस्नेत
नेकपा प्रचण्ड–नेपाल समूहका नेता शक्ति बस्नेतले प्रधानमन्त्री ओलीको कदमले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् । काठमाडौँमा सोमबार सहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले गरेको बिरोध -याली तथा कोण सभामा नेता बस्नेतले प्रधानमन्त्री ओलीको कदमले संघीयता, गणतन्त्र, समावेशी समानुपातिक प्रतिनिधित्व र धर्म निरपेक्षता जोखिममा परेको बताए । ओलीको कदमविरुद्ध सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने आवश्यकता पैदा भएको नेता बस्नेतको भनाई छ ।