अमेरिका र रुसबिच सुमधुर सम्बन्ध छैन । तर, कोरोना भाइरसको संकटका बेलामा भने रुसको एउटा नयाँ रूप देख्न पाइएको छ । अमेरिकाको सर्वाधिक संक्रमित न्यु योर्क सहरका लागि रुसले मेडिकल सामाग्रीहरूको आपूर्ति गरिरहेका छ । जसलाई रुसका तर्फबाट “फ्रम रुस विथ लभ” अभियानको हिस्सा भएको बताइँदै छ ।
अघिल्लो साता यस्तै एउटा मालवाहक विमान रुसबाट इटाली पुगेको थियो । जसमा मेडिकल सामाग्रीका अतिरिक्त एक सय जना रुसी सैन्य चिकित्सक समेत थिए ।
तर, रुसको यो सहयोगलाई सङ्कटको बेला रुसले उठाएको पाइँदाको रूपमा व्याख्या गर्न थालिएको छ । रुसले सहयोग गरेको भन्ने खबर आम जनतामा नपुगोस् भनेर अमेरिकी विदेश मन्त्री माइक पम्पियोले ट्विट गर्दै आफूहरूले रुसबाट ल्याएका समानको भुक्तानी गरेको उल्लेख गरेका छन् । साथै, उनले कोरोना भाइरसलाई पराजित गर्न रुससँग एकसाथ काम गरिरहेको पनि बताएका छन् । तर, रुसी विदेश मन्त्रालयले भने न्यु योर्क पठाएको आधा समानको पैसा लिएको र आधा चाहिँ अमेरिकालाई सहयोग स्वरूप दिएको बताएको छ ।
रुसको ठुलो मध्यको एक मिडिया ग्रुप गैजप्रोमद्धारा सञ्चालित टेलिभिजन एनटिभीमा प्रसारित एक रिपोर्ट अनुसार अमेरिकाको जोन एफ क्यानडिया एयरपोर्टमा रुसी जहाजलाई देख्दा त्यहाँका स्टाफहरू निकै नै उत्साहित भएका थिए । तिनीहरू विमानको छेउमा आएर सेल्फि खिचेको र जहाजका पाइलट तथा रुसका राष्ट्रपति पुटिनलाई धन्यवाद समेत भनेको बीबीसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
केही दिन अघि अमेरिकी र रुसी राष्ट्रपतिबिच भएको फोन वार्तामा डोनाल्ड ट्रम्पले भ्लादमीर पुटिनसँग तेलको मूल्य घटाउन अनुरोध गर्नुका अलवा रुसबाट मेडिकल सामाग्री आपूर्ति गरिदिन सकेत माग गरेका थिए । जसमा पुटिनले सहमति जनाएका थिए ।
रसियामा शनिवार बिहानसम्म ४ हजार भन्दा बढी संक्रमित भई सकेका छन् भने ३४ जनाको मृत्यु भई सकेका छ । अहिले रुसले पनि पुरै मुलुकलाई लकडाउन गरेको छ । त्यहाँका कर्मचारीहरू छुट्टिमा छन् । पुटिनले त्यो बिदालाई अप्रिल ३० सम्मको लागि तलबी बिदाको रूपमा दिएका छन् ।
त्यसो त रुसले इटालीमा गरेको सहयोगसमेत आलोचना गरिँदै छ । यो अवसरमा रुसले कतै आफ्नो प्रभाव त बढाउने होइन भन्ने चिन्ताले आलोचकहरूले रुसले सहयोग स्वरूप पठाएको समानहरू ८० प्रतिशत बेकारका र काम नलाग्ने थिए भन्ने गरेका छन् । बीबीसीले यस सम्बन्धमा अमेरिकाका लागि रुसी राजदूत अनातोली अनातोनोवलाई प्रश्न गर्दा उनले त्यो आलोचना आफैमा क्रुर, अनैतिक र निन्दनीय भनेर खण्डन गरेका छन् ।
वास्तवमा इटालीमा रुसी सहयोगको विरोध भएको होइन । त्यहाँका रक्षामन्त्री लोरेन्जो गुएरनीले रुसी सरकारलाई सहयोग प्रति आभार प्रकट गरेका छन् । इटालीका पूर्व प्रधानमन्त्री सिलबियो बर्लुस्कोनीले पनि पुटिनलाई धन्यवाद र आभार भनेका छन् । तर, त्यति सहयोग पाउने बित्तिकै इटाली नागरिकहरूले रुसको राष्ट्रिय गीत गाए भन्ने रुसका सञ्चार माध्यमहरूको प्रचार चाहिँ केही हदसम्म अतिरञ्जित नै हो ।
तर इटालीका एक लोकप्रिय पप गायकले समाचार एजेन्सी ताससँगको अन्तर्वार्तामा खुलेर रुसको प्रशंसा गरेका छन् । अर्का एक इटालियन गायकले रुसी गीत गाएर आफ्नो फेसबुकमा हालेका छन् । यसको अर्थ इटालीले आवश्यक समयमा रसियाले गरेको सहयोगलाई धूमधामले स्वागत गरेको देखिन्छ ।
जे होस्, मानवीय सहायताको क्षेत्रमा अहिले चीन र रुसले गरेका गतिविधिहरू प्रशंसा योग्य छन् । आफै समेत कोरोना संक्रमणको चपेटामा पर्दै गर्दा को शत्रु, को मित्र नछुट्याई जसरी रसियन राष्ट्रपति पुटिन र चिनियाँ राष्ट्रपति सी जिङपिङले छाती फराकिलो पारेर सहयोग गरेका छन् त्यसले विश्वका नेताहरूलाई एउटा पाठ सिकाई रहेका छ । यदि उनीहरू सिक्न तयार भए भने ।आर्थिक न्यूज।