• जुलुशेहरुलाई महिला प्रहरीहरुले लखेट्थे। छात्राहरु भाग्दै गर्दा तिनीहरु आफूले लगाएको फरियामा अल्झेर वा चप्पल खुस्किएर लड्थे। जब महिलाले फरिया फालेर सर्टपेन्टमा सजिन थाले यस्तो पोशाकको परिवर्तनले पश्चिमी आधुनिकता मात्र भित्र्याएन महिलाको शारिरीक बन्धन चुडाँयो। 

ओहो! ती दिन त इतिहास बनिसकेछन्। कुनै दिन महिलाका लागि फरिया एक बन्धन थियो र सौन्दर्य लुकाउने वस्त्र थियो। अब यो सजिने र ग्लामर पस्कने पहिरन भइसकेछ। एक चिन्तक उर्लिच बि फिलिप्सले ठीकै भनेका रहेछन्–’हामीहरु विगतमा जिउन सक्दैनौ तर विगत हामीसँगै छ।’

त्यही विगतको कुरा हो । सन् १९९० ताका बाग बजारका सडकका पेटीमा गेरु रङगका फरियामा सजिएका पद्मकन्या कलेजका छात्राहरु ओहोर दोहोर गरेका देखिन्थे । त्यस्तै भिडमा मैले यदाकदा रामकुमारीहरुलाई पनि देख्ने गर्थें । तिनीहरुले समय समयमा जुलुश निकाल्थे, टायर बाल्थे, सडक जाम गर्थे र ती जुलुशेहरुलाई महिला प्रहरीहरुले लखेट्थे। छात्राहरु भाग्दै गर्दा तिनीहरु आफूले लगाएको फरियामा अल्झेर वा चप्पल खुस्किएर लड्थे। उता युनिफर्म र बुटजुत्ता लगाएका महिला प्रहरीहरु फूर्तिका साथ कुद्न र लाठी समेत चलाउन सक्दथे।

रामकुमारीहरुलाई बारबार महिला प्रहरीले समातेको देख्दा मप्रहरीलाई फूर्तिला ठान्दथे। केही दिन अघि रामकुमारीजी नुवाकोटको विदुर बजारमा हिंडेको देख्दा म आश्चर्यमा परें। नीलोसूतिको कुर्तासुरुवालमा सजिएकी रामकुमारी एक भूपू मन्त्रीको पीएसओ भन्दा फूर्तिका साथ उकालो चढ्दै थिइन्। एक अर्की महिला पनि उकालो चढिरहेकी थिइन् । उनलाई पाइला चाल्न भन्दा फरियाको मूजा सम्हाल्न सकस परिरहेको थियो। त्यसवेला मेरो वर्तमान पनि त्यहीँ थियो र विगत पनि।

चालीस कटेकाहरुले विगतको २० वर्ष अघिका दृश्यहरु सम्झनु होस् त , पानी दर्केका समय महिलाहरु फरिया माथि सुर्कन्थे, सप्कोबेरेर तथा चप्पल हातमा लिएर बाटोमा जमेका भल काट्ने गर्दथे ।ग्रामीण महिलाहरुलाई गोवर सोहोर्न मात्र होइन, घरको लिस्नो चढ्न समेत सकस थियो। कैयन महिलाहरुको भान्सामा फरियाको सप्कोमा आगो लागेर मृत्यु पनि हुने गर्थ्यो। फरिया उनीहरुका लागि बन्धन नै थियो तर यसका विरुद्ध आन्दोलन गरिनु पर्ने सोचनै थिएन। ९० कै दशकमा नेपालका शहरमा कुर्तासुरुवालको व्यापक प्रवेश भयो।

पञ्जावी कुर्तासुरुवाल नेपाली महिलाहरुका लागि एक फेशन बन्यो। त्यसपछि बाग बजारमा गेरु रङ्गका फरिया लगाएका महिलाहरुको संख्या कम हुन थाल्यो। विस्तारै कुर्तासुरुवाल आफ्ना जिउडाल अनुसारको फेशनमा आयो तव महिलाहरु छिटा छरिता देखिन थाले। फेशन बदलिने क्रममा कुर्ता र पाइजामाले पश्चिमा पोशाकका सर्ट र पेन्ट जस्तो स्टाइल लियो। त्यस स्टाइलका पेन्टसर्टमा एकाध महिलाहरु जब सजिन र अभ्यस्त हुन थाले तब पेन्टसर्ट विस्तारै नेपाली महिलाको अर्को पोशाक बन्यो।

पेन्टसर्टमा चप्पल अमिल्दो बन्दा महिलालाई जुत्ता दियो। जुत्ताले अब रामकुमारीहरुलाई टायर बालेर भाग्नसक्ने अवस्था बनायो। सर्टपेन्टले महिलाको घुम्टो समेत हटायो। यस्तो पोशाकको परिवर्तनले पश्चिमी आधुनिकता मात्र भित्र्याएन महिलाको शारिरीक बन्धन चुडाँयो। समय क्रममा कलकारखाना, कार्यालय र खेतवारीका कार्यहरुमा समेत महिलाको कार्यक्षमतामा बृद्धि गर्‍यो।

मोबाइल

नव्वेको दशक दुरसंचारले फड्को मारिरहेको थियो । त्यसबेला नेपालका उच्च वर्गहरुका घरबैठकमा फोन जडान भइसकेका थिए। तर, त्यो फोन काठमाण्डौ र नेपालका केही शहरका सम्भ्रान्त भन्दा बाहिरको पहुँचमा थिएन। ०४६र०४७ को जनआन्दोलन पछि सुरुमा काँग्रेस र ०५२ सालपछि एमालेका एक तहका कार्यकर्तासम्मको पहुँचमा आइपुग्यो । त्यसबेला फोन घरमूलीको विच्छ्यौना नजिकैएउटा बाक्सामा ताल्चा मारेर राखिन्थ्यो। घरमूलीले चाहेमात्र घरकाअन्य सदस्यहरुले फोन गर्नसक्ने अवस्था थियो।

घरका बुहारीहरुलाई माइती वा उनीहरुका सङ्गीहरुबाट आएका फोनकलहरु उठाउन असहज थियो। घुम्टो ढाकेर धकाउँदै कुराकानी गर्नु पर्दथ्यो। तरुणा छोराछोरीले आफ्ना दौतरी तथा प्रेमीहरुबाट आएका फोनकलहरु उठाउनै सक्दैनथे।

जब सेल फोन नेपालमा प्रवेश गर्‍यो, तब महिलाहरुले नौ डाँडा पारीका आफन्तजनसँग आफ्ना सुखदुखका कुराहरु गर्न सक्ने भए । सेल फोन शुरुमा महङ्गो भएपनि क्रमशः सस्तो हुँदै रसर्वसाधारणका लागि पहुँच योग्य पनि भयो। यसरी नै शहरमा मात्रहोइन, गाउगाउँमा र घरघरमा होइन, हातहातमा मोवाइल पुग्यो। बुहारीहरुले आफ्ना माइतीसँग धक फुकाएर कुरा गर्न पाए। सङ्गीहरुसँग आफ्ना दुखसुख आदानप्रदान गर्न पाए।

  • ०४६ सालको जनआन्दोलन पछिको समाजले कुर्तासलवार, मोवाइल र स्कुटररुपी बन्धनमुक्त, सूसुचित र गतिवान महिलाको समुदाय खडा गर्‍यो। त्यही समुदायले नै उनीहरुको चेत, स्रोत र उपयोगी हुन ठानेको साधनले विभिन्न सामाजिक आन्दोलनहरु हाँक्यो। कहिले टायर बाल्यो, कहिले सडकबन्द गर्‍यो। परिणामत सरकारी सेवामा मात्रै होइन, राजनैतिक क्षेत्रमा समेत महिलाहरुको बाध्यात्मक संलग्नताको प्रत्याभूति गराउन सक्यो।

मोवाइल हरेक पींढिका महिलाहरुको दुखसुखका कुरा बाढ्न मात्रहोइन, संसार बुझाउने र मनोरञ्जनको साधन बन्यो। शुरुमा रेडियो सेवा दिनेमात्र मोवाइल सेट अहिले संसारकै सूचना दिनेसाधन बनिसकेको छ । आजकाल युवाले मात्र होइन बृद्ध महिलाहरुले समेत आफ्ना हालतका तस्वीर लिन र आफूले चाहे अनुसार संसारमा प्रसार गर्न सक्छन् । सूचनाहरुलाई राज्य, महिलामैत्री समाज र रुढीग्रस्त घरपरिवारहरुले वञ्चित गरेपनि महिलाहरु आआफ्ना परिस्थितीय चेतना अनुरुप सूचना प्राप्त गर्न सक्ने अवस्थामा छन् । महिलाको सूचनाको पहुँचमा सेल फोनको भूमिका उल्लेखनीय छ।

जनआन्दोलन अघिसम्म तराई र उपत्यकामा साइकल युवाहरुको पृय सवारी साधन थियो। तर सामाजिक परिस्थिति र पोशाकका कारण साइकल युवतीहरुका लागिअनुकुल बन्नसकेन। साइकल घाँगर र सुरुवाल लगाउने वालिकाहरुलाई सहज परिवहन थियो । तर त्यही साइकल नै फरिया ड्रेस हुने कलेजका छात्रा र विवाहित महिलाका लागि सहज परिवहन हुन सकेन।

मोटरसाइकल

सन् २००० पछि केही शहरमा भारत निर्मित मोटरसाइकल नेपालमा भित्रिन थाले । शहरहरुमा बृद्धि भइरहेको मध्यम वर्गीय पुरुषहरुलाई आफ्ना गच्छे अनुसार मोटरसाइकल उपयुक्त सवारी साधन बन्यो । तर टाङ् फारेर हाँक्नुपर्ने मोटरसाइकल गच्छे भएपनि फरिया लगाउने महिलाहरुका लागि यो साधन उपयुक्त देखिएन । यसैबीच बजारले स्कुटर ल्यायो। यसको प्रचारमा पूँजिवादी बजारले अन्य मुलुकमा झै नेपालमा पनि सेलिब्रेटीलाई प्रयोग गर्‍यो । र, स्कुटर चढ्ने कुरा हैसियत–प्रतीकका रुपमा स्थापित गरायो।

बजार विस्तारमा नेपालका वित्तीय संस्थालाई संलग्न गरायो, नगण्य क्यास डाउन पेमेन्ट गराउँदै निम्न मध्यमका घरमा समेत पुर्‍यायो। यतिसम्म गर्‍यो कि महिलाहरुलाई आफ्ना छड्के तिलहरी समेत बेच्दै स्कुटर किन्नैपर्ने परिस्थिति सिर्जना गराइदियो।

आवश्यकता भन्दा बढी अन्य कारणले महिला जगतभित्र पसेको स्कुटर नेपालका शहरीया युवतिहरुका लागि पुरुष वर्गबाट स्वतन्त्र हुने साधन बन्यो। अहिले उनीहरुको गतिशिलता बढेको छ। अब उनीहरु कार्यालयमा आउनेजाने गर्छन्, तीजमा आफै माइत पुग्न सक्छन्, साथी सङ्गीकहाँ “गेट टुगेदर” गर्न सक्छन्। आजकाल उनीहरु श्रीमान,देवर वा छोरासँग ‘लिफ्ट’ लिन होइन, दिन सक्छन्।

कुर्तासुरुवाल, मोवाइल, र स्कूटर कुनै जनआन्दोलनको मागबाट प्राप्त भएका होइनन्। तर जनताका विभिन्न आन्दोलनहरुका सहउपज नै हुन्। यसमा सरकारी तथा गैरसरकारी संघसंस्थाहरुका जेन्डरमैत्री आन्दोलनरअन्तरक्रिया पनि पर्दछन्।

तर ती आन्दोलन र क्रियाकलापहरु ०४६ सालको जनआन्दोलन पछि मुलुकमा बनेको राजनैतिक वातावरणकै प्रभावका फल हुन् । मलाई सम्झना छ – त्यसभन्दा अघि पद्मकन्या कलेबाट फरिया चोलोको ड्रेस हटाउने प्रयत्नहरु भएका थिए तर सम्भव भएका थिएनन्। ‘ड्रेसलाई हटाउने हो भने त्यहाँ फेसनको प्रतिस्पर्धा हुनेछ र निम्नवर्गका छोरीहरुमा हीनताभाव पैदा हुन्छ’ भन्ने तर्क आउने गर्दथ्यो । फोन तत्कालिन शासकहरुका लागि समेत प्राप्त हुन सक्दैनथ्यो। छोरी बुहारीलाई स्कूटरका लागि ऋणअसम्भव नै थियो। तर जनआन्दोलन पछि पूँजीवादले वित्तीय संस्थाहरु खोल्ने अवस्था दियो।

गाँउगाँउमा सहकारी संस्था खोल्नलाई बचत समूह, आमा समूह, वन उपभोक्ता समूहले पहल लिए। यस्ता बचतसमूहको स्वामित्व, सेवा–उत्पादन तथा वितरणको अर्थराजनीतिबारे छुट्टै चर्चा गर्न आवश्यक छ। तैपनि शहर तथा गाउँका सहकारीहरुले मुलुकभित्र आवश्यकर अनावश्यक सुविधाहरूको माग बढाए। ती सुविधाका मागहरुमध्ये महिलाहरुका लागि स्कूटर पनि भयो।

सामाजिक परिवर्तनमा अनेकौं ज्ञातरअज्ञात चररतत्वहरुले एकले अर्कालाई सक्रिय वा निस्क्रिय पार्दै भूमिका खेलिरहेका हुन्छन्, ती मापन गर्न सकिने या नसकिने हुन्छन् वा देखिने या नदेखिने हुनसक्छन्।

हाल के परिवर्तन देखियो भने महिलाहरु घरबाट फरियाको घुम्टो फाल्दै सामाजिक गतिविधिहरुमा सामेल भइरहेका छन्, सुसूचित भएर दिनप्रतिदिन आफ्ना भूमिकालाई विस्तार र नयाँ क्षेत्रमा तीव्र गतिशीलतका साथ प्रवेश भइरहेका छन् । यस्तो किन भयो भने ०४६ सालको जनआन्दोलन पछिको समाजले कुर्तासलवार, मोवाइल र स्कुटररुपी बन्धनमुक्त, सूसुचित र गतिवान महिलाको समुदाय खडा गर्‍यो। त्यही समुदायले नै उनीहरुको चेत, स्रोत र उपयोगी हुन ठानेको साधनले विभिन्न सामाजिक आन्दोलनहरु हाँक्यो। कहिले टायर बाल्यो, कहिले सडकबन्द गर्‍यो। परिणामत सरकारी सेवामा मात्रै होइन, राजनैतिक क्षेत्रमा समेत महिलाहरुको बाध्यात्मक संलग्नताको प्रत्याभूति गराउन सक्यो।

जनआन्दोलन अघिको नेपालको दशालाई बेञ्चमार्क मानेर त्यसपश्चात्‍का परिवर्तनलाई सूक्ष्मरुपमा हेर्दा निराशाजनक छैनन् र विगतलाई भर्त्सना गरिहाल्नु पर्ने छैन। विगतका अभ्यासहरुले सम्पुष्टि गरेका छन् परिवर्तन न त बुर्कुशी मार्छ, न त भ्यागुता जस्तै उफ्रन्छ, न त छलाङ नै।

०४६ साल अघिको जड समाज नभोग्ने र ई– तरङ्गबाट प्राप्त विश्व चलचित्र हेर्ने युवाहरुका लागि चित्त नबुझ्दो होला। जब विकाशको बेञ्चमार्क दक्षिण कोरिया, जापान र यूरोपका मुलुकहरुसँग निश्चित गरिन्छ, तब युवाहरु “पागल” बन्छन् र अग्रजहरुलाई थु थु गर्न थाल्छन्। आजका युवाहरुले देख्नु र आत्मसात् गर्नुपर्छ, ०७२ सालको नेपालको संविधानले परिवर्तनका क्षेत्र र ‘डोमेन’लाई फराकिलो बनाएको छ।

  • फोन घरमूलीको विच्छ्यौना नजिकैएउटा बाक्सामा ताल्चा मारेर राखिन्थ्यो। घरमूलीले चाहेमात्र घरकाअन्य सदस्यहरुले फोन गर्नसक्ने अवस्था थियो । घरका बुहारीहरुलाई माइती वा उनीहरुका सङ्गीहरुबाट आएका फोनकलहरु उठाउन असहज थियो। मोवाइल हरेक पींढिका महिलाहरुको दुखसुखका कुरा बाढ्न मात्रहोइन, संसार बुझाउने र मनोरञ्जनको साधन बन्यो।

अब नेपाली खासगरी नेपाली महिलाहरुको सामाजिक सहभागिताले पुरै नेपाललाई अङ्गालो मार्नेछ। त्यस्को छनक म मेरो फेसबुक वालमा आइपुगेका तस्वीरहरुबाट नियाली रहेकोछु। ती तस्वीरहरु दलका चिह्न अङ्कीत गञ्जी र ट्रयाकसुट लगाई गाउँगाउँमा स्कुटर हाक्दै स्थानीय निर्वाचन प्रचारमा संलग्न भएका महिलाहरुका हुन्, जुन उनीहरुले आफ्ना सेलफोनबाट पोष्ट गरेका हुन्।

ती तस्वीरहरुमा के देखिन्छ भने यिनीहरुले फरिया फालेका छन्, घर–दलान र समाजका बन्धन चुँडाल्दै उकुशमुकुश हुत्याएका छन् र यिनीहरु स्कुटर भन्दापनि गतिशील छन्। ती शारिरीक तथा मानसिकरुपले मुक्त, सूसुचित र थोरबहुत कार्यकुशल छन्। यस्तो जमात अब माग्ने भएर होइन दावीका साथ निर्णय गर्नसक्ने हैसियतका साथ आइरहेका छन्। यिनीहरुले सामाजिक जीवनका हरेक क्षेत्रमा सहभिगता खोजेका छन्, सम्मानजनक रोजगारी खोजेका छन्। हे सरकार, यिनीहरुलाई रोजगार दिनसक्ने उद्यमस्थल सिर्जना गर, ता कि यिनीहरु वेरोजगार नरहुन्।

पुनस्स्मरण गरौं – हामीहरु विगतमा जिउन सक्दैनौ तर विगत हामीसँगै छ। विगतले भन्छ– वेरोजगारहरु घरभित्र होइन जङ्गल पस्छन्। थाहा नै छ, जालहारीहरु त अहिले पनि जङ्गलमा ढुकिरहेका छन्।

अनलाइनखबर डटकममा २०७४ जेठ २१ गतेमा प्रकाशित यो लेख समय सान्दर्भिक लागेर पुन: प्रकाशित गरिएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया
कोमल भट्टराई
लेखक समसामयिक राजनीति, समाज र जन-स्वास्थ्य सम्बन्धमा कलम चलाउछन्।