प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको मतदान आज हुँदै छ । तराई र पहाडी ४५ जिल्लामा हुने मतदानबाट प्रतिनिधिसभाका १२८ र प्रदेश सभाका २५६ सांसद निर्वाचित हुनेछन् । निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ । सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदान गर्न आयोगले मतदातालाई आग्रह गरेको छ ।
दोस्रो चरणको निर्वाचनमा ७ हजार ७५२ मतदानस्थलमा १५ हजार ३४४ मतदान केन्द्र हुनेछन् । १ लाख ५५ हजार कर्मचारी र करिब २ लाख सुरक्षाकर्मी परिचालित छन् । आयोगका अनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १ हजार ६६३ र प्रदेश सभामा २ हजार ८१९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यो निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।
मतदाता परिचयपत्र नभए के गर्ने ?
मतदाता परिचयपत्र नभए पनि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, जग्गाधनी प्रमाणपत्र, सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाइनेछ ।
मतगणना आजैबाट
आयोगका अनुसार अाजै साँझ ५ बजेपछि मतणना सुरु हुनेछ । पहिलो चरणमा १० मंसिरमा मतदान भएका ३२ जिल्लामा साँझ ५ बजेबाटै गणना सुरु हुनेछ ।
अाज मतदान हुने जिल्लामा मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा जम्मा भएपछि सर्वदलीय बैठक बसेर मतगणनाको कार्यतालिका सार्वजनिक हुनेछ ।
४ दिनभित्र मतपरिणाम
आयोगले ४ दिनभित्र प्रदेश सभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिसक्ने तयारी गरेको छ ।
प्रत्यक्षतर्फको मतगणना अाज साँझ ५ बजेबाट सुरु हुनेछ । आयोगले गणना सुरु भएको ४ दिनभित्र मतगणना सम्पन्न गर्ने गरी मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएपछि समानुपातिकको मतगणना सुुरु हुनेछ । आयोगका अनुसार प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको ४ दिनभित्र समानुपातिको मतपरिणाम आइसक्नेछ ।
आयोगको निर्देशिकाअनुसार सम्भव भए प्रत्यक्ष र समानुपातिकको मतगणना सँगसँगै गर्न पनि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई भनिएको छ । तर, त्यसरी मतगणना गर्दा प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभाका दुईवटा र समानुपातिकतर्फका दुईवटा गरी ४ वटा समूह बनाउनुपर्ने हुन्छ । मतगणनास्थल र जनशक्तिअनुसार दल र निर्वाचन अधिकृतबीचको सहमतिअनुसार कुन पहिला गणना गर्ने भन्ने निर्धारण गर्न पनि सक्नेछन् ।
तर, सामान्यतः पहिलो प्रतिनिधिसभाको प्रत्यक्ष, त्यसपछि प्रदेशको प्रत्यक्षको गणना हुने सम्भावना छ । यी दुवै गणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना सुरु हुनेछ ।
मतदान कसरी गर्ने ?
दोस्रो चरणमा ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रबाट १ करोड २२ लाख ३५ हजार ९९० मतदाताले मतदान गर्नेछन् । ती जिल्लाबाट प्रतिनिधिसभातर्फ प्रत्यक्षका लागि १२८ र प्रदेश सभातर्फ २५६ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।
मतदाताले ४ वटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तर, उनीहरूले ४ वटा मतपत्र भएको ३ वटा पाना पाउनेछन् । मतदानका लागि लाइन बसेका मतदाताले सुरुमा हरियो रंगको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको एउटा मतपत्र पाउनेछन् । उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि कालो रंगको प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र पाउनेछन्, तर उक्त मतपत्रमा छाप लगाएर मतपेटिकामा खसाएपछि रातो रंगको समानुपातिकतर्फको ठूलो आकारको मतपत्र पाउनेछन् ।
उक्त पाानामा माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेश सभातर्फ आफूले रुचाएको दललाई दुई ठाउँमा मतदान गर्नुपर्नेछ ।
चुनावमा २ लाख सुरक्षाकर्मी परिचालन, सीधै गोली हान्ने अधिकार
४५ जिल्लामा हुन लागेको प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको चुनावको सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आयोगले सुरक्षाको पूर्ण प्रवन्ध मिलाइएकाले ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेको छ ।
चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ । चुनावमा चार तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी र नेपाल प्रहरीलाई भित्री घेरामा राखिएको छ । सबैभन्दा बाहिरको घेरामा नेपाली सेना र बीचको घेरामा सशस्त्र प्रहरीलाई खटाइएको छ ।
मतदान स्थल र त्यस वरपर सादा पोशाकका सुरक्षाकर्मी र तालिमप्राप्त कुकुर पनि परिचालित छन् । सादा पोशाकका सुरक्षाकर्मीले सूचना संकलन गरी सम्वन्धित निकायमा रिपोर्टिङ गर्नेछन् ।
सुरक्षा संवेदनशीलताको आधारमा सेनाले हवाई र पैदल गस्ती समेत गरेको छ । निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने अधिकार सुरक्षाकर्मीले पाएका छन् ।
निर्वाचन सुरक्षाका लागि ४५ जिल्लाभर करिब २ लाख सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए । चुनावमा कुनै घटना भइहालेमा कममा पााच मिनेटदेखि बढीमा ३० मिनेटभित्रै घटनास्थलमा सुरक्षाकर्मी पुग्ने गरी प्रवन्ध मिलाइएको छ ।
१ लाख ५५ हजार कर्मचारी खटिए
निर्वाचनका लागि सुरक्षाकर्मीबाहेक १ लाख ५५ हजार कर्मचारी खटाइएका छन् । दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा १५ हजार ३ सय ४४ मतदान केन्द्र तोकिएको छ । यी जिल्लाहरुमा कुल १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाता छन् ।
४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुन लागेको हो । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
दोस्रो चरणको निर्वाचन सकिएलगत्तै मतगणना सुरु गर्ने तयारी निर्वाचन आयोगको छ । यही मंसिर १० गते पहिलो चरणमा भएको निर्वाचनको मतगणना पनि दोस्रो चरणको चुनाव सकिएलगत्तै सुरु हुनेछ । त्यसका लागि मतगणना स्थलमा सीसी टीभी क्यामरा जडान गरिएको छ भने तार जालीको बार समेत लगाइएको छ ।