पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पाटी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू पुन: डेरा सर्न लागेको बताउनुभएको छ । पछिल्लो समय किसानलाई मल अभाव हुनुको मुख्य कारण प्रचण्डका घरभेटीले सरकारसँगको सम्झौता रहेकोे भन्दै आलोचना भइरहेका बेला उहाँले आफना घरभेटीसँग जोडेर आफ्नो अनावश्यक आलोचना भइरहेको बताउनुभएको हो । यही कारण आफू डेरा सर्न लागेको उहाँले बताउनुभएको छ ।
एक टेलिभिजन अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘ठेक्कापट्टासँग जोडेर पटकपटक मेरो घरभेटी भन्ने आइरहेको छ, मैले अब अर्को घर खोज्न थालेको छु’ उहाँले भन्नुभयो, ‘कता ठेक्का लिन्छन, के गर्छन ? मलाई केही थाह पनि छैन, बाटाहरुका ठेक्का त म यो घरमा आउनुभन्दा धेरै पहिलेका ठेक्का हुन ।’
घरभेटीका ठेक्कापट्टासँग आफ्नो कुनै गोरु बेचेको साइनो पनि नभएको बताउनुहुँदै नेकपा अध्यक्ष प्रचण्डले मल प्रकरणबारे के भएको हो भनेर कृषि मन्त्रीसँग बुझ्ने क्रममा कसैले बदमासी गरको भए कारबाही गर्दा हुन्छ भनेको उल्लेख गर्नुहुँदै त्यसमा आफ्नो कुनै आपत्ती नहुने प्रष्ट पार्नुभयो । मन्त्री लगायतको कुरा सुन्दा उहाँहरु आफैं अफ्ठ्यारोमा परेजस्तो कुरा गर्नुहुन्छ भन्दै प्रचण्डले भन्नुभयो, ‘यस विषयमा उहाँहरुले नै राम्रोसँग बुझेर जनतालाई पनि साँचो कुरा भनिदिनुपर्यो र मिल्नसक्ने छ भने मिलाइदिनुपर्यो ।’
आफू जहाँ बस्यो यसरी नै विभिन्न विषय जोडेर कुरा गर्ने गरिएको भन्दै प्रचण्डले गुनासो पनि गर्नुभएको छ । अरु जतिसुकै महँगा खाटमा बसेपनि कुरो नआउने तर आफूले थाहै नपाएको खाटको विषयमा पनि पहिले यस्तै चर्चा चलेको अध्यक्ष प्रचण्डको भनाइ छ । उहाँले त्यतिबेला चर्चा चलेको खाटबारे पनि आफूलाई थाहै नभएको बताउनुभयो ।