प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन् ।
नयाँ सरकार गठन प्रक्रिया सुरु भइसकेपछि देउवाले देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरिसकेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारबाट गरिएको सम्बोधनका क्रममा उनले तीनै चरणको निर्वाचन सम्पन्न गरेको र संविधान कार्यान्वयन गरेकोलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा व्याख्या गरे ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुःखमा रहिरहने बताए । सम्वोधन लगत्तै आफ्नो राजीनामा पत्र बुझाउन देउवा राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन् ।
यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आजै प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छन् ।
वाम गठबन्धनको तर्फबाट ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपति समक्ष बहुमत सांसदको दावी पेश भएलगत्तै प्रधानमन्त्री नियुक्त गर्न लागिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न बहुमतको दाबीसहित एमाले र माओवादीका शीर्ष नेता शीतल निवास पुगेका थिए ।
ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै आजै ४ बजे शीतल निवासमा सपथग्रहण हुनेछ ।