संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले एक नयाँ प्रतिवेदनमा सबैभन्दा बढी जोखिममा रहेका बालबालिकाहरुलाई सुरक्षा दिन तयार पारिएका अन्तर्राष्ट्रिय कानुनहरुको व्यापक र जघन्य उल्लंघनहरु भएको जनाएको छ।
युनिसेफका निर्देशक म्यानुअल फोन्टेनले बालबालिकाहरु उनीहरुकै घर‚ विद्यालय र खेलमैदानहरुमा निशानामा पारिएका उल्लेख गरेका छन्।
त्यस्तो प्रकारका क्रुरतालाई “सामान्य मान्न नसकिने” उनले बताए।
निशानामाबालबालिका
सो प्रतिवेदनले गत वर्ष बालबालिकाहरु निशानामा पारिएका कैयौँ द्वन्द्वग्रस्त क्षेत्रहरुबारे चर्चा गरेको छ।
•मध्य अफ्रिकी गणतन्त्रमा हिंसामा भएको नाटकीय वृद्धिसँगै बालबालिकाहरुको हत्या वा बलात्कार भएको छ। त्यहाँ बालबालिकाहरु अपहरणमा परेको र सशस्त्र समूहद्वारा लडाईँमा प्रयोग गरिएको छ।
•उत्तर-पूर्वी नाइजेरिया र क्यामरुनमा इस्लामवादी समूह बोको हरामले कम्तीमा १३५ बालबबालिकाहरुलाई आत्मघाती हमलाकारी बन्न वाध्य तुल्याएको थियो। त्यो अघिल्लो वर्षको तुलनामा पाँच गुणाले बढी हो ।
•म्यामारको रखाइन राज्यमा थातथलोबाट धपाइने क्रममा मुस्लिम रोहिंज्या बालबालिकाहरुले स्तब्ध तुल्याउने र व्यापक हिंसाको सामना गरेको पाइएको छ।
•दक्षिण सुडानमा १९ हजार भन्दा बढी बालबालिकाहरु सशस्त्र फौजहरु वा समूहरुमा भर्ती गराइएका थिए।
•यमनमा जारी गृहयुद्धमा कम्तीमा पाँच हजार बालबालिकाहरुको ज्यान गएको वा घाइते भएको त्यहाँको सरकारी आँकडाले देखाउँछ, तर साँच्चिकै संख्या भने एकदम धेरै रहेको ठानिएको छ।
•पूर्वी युक्रेनमा २ लाख २० हजार बालबालिका युद्धको बेला छोडिएका जमिनमुनि बिछ्याइएका विस्फोटन पदार्थ वा विस्फोट नभएका अन्य उपकरणहरुको निरन्तर जोखिममा छन्।
आक्रमण
युनिसेफका निर्देशक म्यानुअल फोन्टेनले भने, “यस्ता खालका आक्रमणहरु वर्षैपिच्छे भइरहेका छन् र हामी यसबारे केही नगरीकन बस्न सक्दैनौँ।”
सो प्रतिवेदनमा भनिएको छ, केही स्थानहरुमा उग्रवादी समूहहरुबाट अपहरणमा परेका बालबालिकाहरुलाई सुरक्षा फौजहरुको जिम्मा लगाइँदा उनीहरु थप यातना र दुर्व्यवहारमा परेका छन्।
दशौं लाख बालबालिकाहरु खानेकुरा, स्वच्छ पानी, सरसफाइ वा स्वास्थ्यमाथि उनीहरुको पहुँचमा अवरोध हुँदा कुपोषण‚ विभिन्न खाले रोग वा मानसिक आघातको शिकार हुन पुग्छन् भनी प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनले भनेको छ, “युनिसेफ युद्धरत सबै पक्षहरुलाई बालबालिकाहरुमाथि हुने हिंसा र विद्यालयहरु तथा अस्पतालहरु लगायतका नागरिक संरचनाहरुलाई निशानामा पार्ने कार्य रोकी तत्कालै अन्तर्राष्ट्रिय कानुनअनुरुप उनीहरुका दायित्वहरुको पालना आह्वान गर्दछ।”
युनिसेफले, उसकै शब्दमा, युद्धरत पक्षहरुमाथि आफ्नो प्रभाव भएका राज्यहरुलाई उनीहरुको त्यस्तो प्रभाव प्रयोग गरी बालबालिकाहरुको रक्षा गर्न पनि आह्वान गरेको छ। बीबीसी