सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका स्थायी कमिटी सदस्य धर्मेन्द्र बाँस्तोलालाई सर्वोच्च अदालतका रजिष्टार र नेपाल बार एसोशिएसनका अध्यक्षको रोहबारमा थुनामुक्त गर्न आदेश जारी गरेको छ ।
न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले आज थुनामुक्त गर्न आदेश जारी गरेको हो ।
यसअघि, यही माघ १५ गते न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले बन्दी बनाउनुको आधार र कारणसहित सूचना प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन साथै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न भनिएको थियो।
बाँस्तोलालाई नख्खुस्थित् एनसेल टावरमा भएको बम बिस्फोटको घटनामा संलग्न रहेको आरोप लागेको छ। रासस