तीन सय शय्याको अस्पताल सञ्चालनमा आएपछि कर्णालीका बासिन्दाले आफ्नै क्षेत्रमा विशेषज्ञ चिकित्सा सेवा सुरू भएकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार जुम्लामा अस्पतालको उद्घाटन गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ७६ करोडको लागतमा अस्पताल भवन निर्माण गरिएको हो । यसको लागत ९१ करोड अनुमान गरिएको भए पनि रसुवा कन्स्ट्रक्सन कम्पनीले ७६ करोडमै ठेक्का लिएको थियो । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले तोकिएको समयभन्दा तीन महिनाअघि नै निर्माण सम्पन्न भएको बताए । नयाँ भवनमा एक सय ५० किलोवाट क्षमताको सौर्य ऊर्जा जडान गरिएको छ।
अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कर्णालीमा तीन सय शय्याको अस्पताल बनेपछि पश्चिम नेपालका जनताको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठानलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए ।
उद्घाटन समारोहमा स्वास्थ्यमन्त्री दीपक बोहराले स्वास्थ्य क्षेत्रमा कर्णालीको परनिर्भरता हटेको बताए । उनले भने, ‘अब यहाँका नागरिकले स्वास्थ्य उपचारका लागि दुःख पाउनेछैनन् ।’
कर्णाली बासीमा उत्साह
अस्पताल सञ्चालनमा आएपछि कर्णाली बासी उत्साहित बनेका छन् । पत्नी गर्भवती हुँदा उपचार नपाएर मृत्यु भएको सुनाउँदै तातोपानी गाउँपालिका–२ का निलो कामीले भने, ‘अब यहाँका दिदीबहिनीले अकालमै ज्यान गुमाउनु नपर्ला । अस्पताल खुलेपछि खुसी लागेको छ ।’
प्रतिष्ठानका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले यस क्षेत्रका बासिन्दालाई सुलभ स्वास्थ्य सेवा दिन प्रयासरत रहने बताए । उनले भने, ‘स्तरीय सेवा दिन तथा व्यवस्थापन गर्न चुनौती छ, तापनि सुलभ स्वास्थ्य सेवा दिने प्रयास रहनेछ ।’
अहिले पनि अस्पतालमा सिटिस्क्यान, एक्स–रे मेसिनलगायतको अभाव छ । त्यसका लागि सरकार र दातृ निकायलाई गुहारिरहेको उपकुलपति डा. वाग्लेले बताए । यसअघि पनि प्रतिष्ठानले सय शय्याको अस्पताल, २५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ५० जना जनशक्तिले सेवा दिँदै आएको थियो ।
प्रतिष्ठानका अनुसार गत वर्ष २९ हजार नौ सय ३४ बिरामीले सेवा लिएका थिए भने दुई हजार चार सय ९१ जनाको शल्यक्रिया गरिएको थियो । एमबिबिएसको पढाइ, फार्मेसी सञ्चालन गर्ने, ब्लड बैंक स्थापना गर्ने, अक्सिजन प्लान्ट राख्नेलगायतका काम एक महिनाभित्र हुने उपकुलपति डा. वाग्लेले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।