इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेका छन्। ट्रम्पजस्तो व्यक्ति राष्ट्रपति हुनु अमेरिकीहरुका लागि लज्जाको विषय भएको खामेनीले बताएका छन्।
ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभामा दिएको वक्तव्यलाई लिएर खामेनीले उनको आलोचना गरेका हुन्। ‘काउब्वाइ र ग्यांस्टरले बोल्ने शब्द रहेको त्यस्तो मूर्खतापूर्ण, कुरुप, उग्र र उच्छृंखल भाषणको कारण उनीहरुको रिस र निराशा नै हो,’ खामेनीले विज्ञहरुको एक सभालाई सम्बोधन गर्दै भने, ‘अमेरिकी राष्ट्रपतिको भनाइ अमेरिकीहरुका लागि गर्व गर्न लायक छैन। त्यस्तो राष्ट्रपति हुनु अमेरिकी सम्भ्रान्तहरुका लागि लज्जाको विषय हो।’
महासभाको सम्बोधनमा ट्रम्पले उत्तर कोरिया, इरान र भेनेजुएलाको तीव्र आलोचना गरेका थिए। ट्रम्पको भनाइ ‘अज्ञानतापूर्ण, निरर्थक, घृणास्पद’ भएको भन्दै इरानी राष्ट्रपति हसन रुहानीले महासभामै उनको आलोचना गरिसकेका छन्।
उत्तर कोरियाली विदेशमन्त्रीले भने ट्रम्पको अभिव्यक्ति ‘कुकुर भुकाइ’ भएको टिप्पणी गरेका छन्। एजेन्सी/नेपालखबर