पत्रकार तथा एक्टिभिस्ट गौरी लङ्केशले गत चौबीस घन्टामा आफ्नो ट्विटर र फेसबुकमा रोहिङ्ग्या मुसलमानहरु, नोटबन्दीको कारण नोक्सान, भारतीय अभिभावकहरुलाई समलैंगिकताबारे सूचनाका यूट्यूब भिडियो र प्रम नरेन्द्र मोदीको आलोचनासँग सम्बन्धित पोस्ट गरेकी थिइन्। मंगलबार राती करीब आठ बजे केही व्यक्तिले लङ्केशलाई उनकै घर बाहिर गोली हानेर हत्या गरेका छन्। उनले आफ्नो कन्नड़ साप्ताहिक पत्रिकामा विगत तीन महीनादेखि केन्द्र सरकार र नेताहरुको आलोचना गर्दै आठ वटा लेखहरु प्रकाशित गरेकी थिइन्। लङ्केशले यस पटकको साप्ताहिक स्तम्भमा गोरखपुरको बाबा राघवदास मेडिकल कलेज र अस्पतालमा बच्चाको मृत्यु र डाक्टर कफील खानलाई बर्खास्त गरेको विरोधमा लेखेकी थिइन्।
सोशल मिडियामा गौरी लङ्केशले भारतीय जनता पार्टी (बीजेपी) सरकारको आलोचना गर्दै पोस्ट लेख्थिन् वा शेयर गर्दथिन्। केही दिन यता उनले केरलाका उच्च अधिकृत जेम्स विल्सनका केही ट्वीटलाई रीट्वीट गरेकी थिइन्। विल्सन नरेन्द्र मोदी सरकारद्वारा गरिएको नोटबन्दी लगायत अन्य नीतिहरुको आलोचना गर्ने गर्छन्। बितेको चौबीस घन्टामा गौरी लङ्केशले धेरैजसो विभिन्न खबरहरुका लिङ्क शेयर गरेकी थिइन्। उनले सुप्रीम कोर्टद्वारा केन्द्र सरकारबाट रोहिङ्ग्या मुसलमानहरुलाई फिर्ता पठाउने बारेको खबरको लिङ्क शेयर गरेकी थिइन्। गौरी लङ्केशको फेसबुक अकाउन्ट उनको ट्विटर अकाउन्टसँग लिङ्क छ, यसकारण फेसबुकमा पनि धेरैजसो उनको ट्विटरका लिङ्कहरु पोस्ट हुने गर्छन्।
गौरी लङ्केशको फेसबुकको प्रोफाइलमा दलित रिसर्च स्कलर रोहित वेमुलाको तस्बिर छ। ट्विटरमा उनले जवाहरलाल नेहरू विश्वविद्यालय यूनियनका पूर्व अध्यक्ष कन्हैया कुमारसँगको आफ्नो तस्बिर राखेकी छिन्। हत्या गरिनु केही घण्टा अघि गौरी लङ्केशले शिक्षक दिवसको अवसरमा आफ्नो पिता स्वर्गीय पी लङ्केशको तस्बिर शेयर गर्दै लेखेकी थिइन् “अक्सर नामौजूद पिता लेकिन जिंदगी के एक शानदार शिक्षक- मेरे अप्पा!! हैप्पी टीचर्स डे।” बीजेपी कार्यकर्ताहरुको विरुद्धको एक समाचार दिएपछि गौरी लङ्केशलाई लगाइएको मानहानी मुद्दामा सथानीय अदालतले दोषी बनाएको थियो। त्यस फैसला विरुद्ध उनले उच्च अदालतमा अपील गरेकी थिइन्। समाचार वेबसाइट न्यूजलन्ड्रीलाई नम्बर २०१६ मा दिएको इन्टरभ्युमा गौरी लङ्केशले भनेकी थिइन् “जब म मेरा बारेमा गरिएका ट्वीट र कमेन्ट पढ्छु, त्यसबाट मलाई मेरो सुरक्षाको चिन्ता हुने गर्छ…. आफ्नो व्यक्तिगत सुरक्षाको होइन कि आज देशमा नै अभिव्यक्ति स्वतन्त्रता र राज्यको चौथो खम्बाकाे मुक्तिको।”
हत्याको कारण र संदिग्धहरुबारे अहिलेसम्म पुलिसले पहिचान गर्न सकेको छैन तर केही व्यक्तिहरुले हिन्दुवादी संगठनलाई जिम्मेदार भन्दैछन्। गौरी लङ्केशका हत्यालाई करीब दुई वर्ष अघि ३० अगस्त २०१५ मा हत्या गरिएका कन्नड़ साहित्यकार एमएम कलबुर्गीको हत्यासँग जोड़ेर हेरिदैछ। कलबुर्गीका अलावा तर्कवादी नरेन्द्र दाभोलकर र गोविन्द पानसरेका हत्यामा हिन्दुवादी संगठनमाथि आरोप लगाइने गरिन्छ।