पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि पेस भएको उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथिको दावी विरोधको प्रक्रिया सकिएको छ ।
उम्मेदवारको मनोनयनपत्र र प्राप्त उजुरीको छानविन गरी प्रारम्भिक चरणको नामावली प्रकाशन गरेको निर्वाचन आयोगले जनाएको छ । नुवाकोटको प्रदेश सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार रमेश महतविरुद्ध मात्र उजुरी परेको आयोगका सह–प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो । गत आइतबार मनोनयन दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिन आयोगले हिजो १० देखि ५ बजेसम्मको समय छुट्याएको थियो ।
आज दावी विरोधको प्रक्रिया सकिएकाले नाम फिर्ता लिन चाहने उम्मेदवारले भोली विहान १० देखि १ बजेसम्ममा आफ्नो नामावली फिर्ता लिन सक्ने आयोगले जनाएको छ । भोली नै दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी ३ बजेदेखि ६ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह उपलब्ध गराउने आयोागले जनाएको छ ।
पहिलो चरणमा आगामी मंसिर १० गते ३२ जिल्लाको ३७ क्षेत्रमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । प्रतिनिधि सभाको ३७ सिटका लागि तीन सय २० र प्रदेश सभाको ७४ सिटका लागि ४ सय ८२ जनाको उम्मेदवारी परेको छ । कान्तिपुर