गत भदौ २९ गते अन्तरपार्टी निर्देशन जारी गर्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दिवंगत नेताहरूका नाममा खोलिएका प्रतिष्ठानहरूलाई गतिविधि नगर्न निर्देशन दिएका थिए ।
पार्टीका प्रतिष्ठानहरू गुटबन्दीका अखडा बनेको निचोड निकाल्दै ती संस्थाहरूलाई नियमन गर्न आवश्यक रहेको ओली–प्रचण्डको ठहर थियो । प्रतिष्ठानहरूमा पार्टीका नेता वा कार्यकर्ताको संलग्नता र त्यसको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त नहुञ्जेलन गतिविधि गर्न दिन नहुने स्थायी कमिटी बैठकको निष्कर्ष पनि थियो । त्यही निर्णयलाई कार्यान्वयन गर्न अध्यक्षद्वयले अपानि बनाएर मातहतका निकाय–कमिटीमा पठाएका थिए ।
तर, ओली समूह संरक्षक रहेको मदन भण्डारी फाउन्डेसनले गतिविधिलाई कायमै राखेको छ । फाउन्डेसनले काठमाडौं केन्द्रित गरेर विभिन्न गुटगत र पार्टीका गतिविधिसँग मिल्दोजुल्दो (समानान्तर) कार्यक्रम जारी राखेको नेकपाका नेताहरूले जनाएका छन् ।
मदन भण्डारी फाउन्डेसनको पार्टीको संरचनासँगै मेल खाने स्थानीय, जिल्ला कमिटीहरू छन् । काठमाडौंको नेतृत्व दीपक निरौलाले गरेका छन् । तत्कालीन एमालेको जिल्ला कमिटीको पदाधिकारीमै रहिसकेका निरौला काठमाडौं ५ को प्रदेशसभा सदस्य पनि हुन् ।
उनको सक्रियतामा काठमाडौंमा फाउन्डेसनले गतिविधि जारी राखेको नेकपाका एक नेताले जानकारी दिए ।
उनकाअनुसार साउन र भदौमा पार्टी विवाद उत्कर्षमा पुगेका बेला फाउन्डेसनले काठमाडौंका नगरैपिच्छे भेला राखेको थियो । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवस (साउन ७) को अवसर पारेर फाउन्डेसनले गतिविधिलाई तीव्रता दिएको थियो ।
पार्टीभित्रको विवाद साम्य भइसकेपछि पनि फाउन्डेसन सक्रिय रहेको नेताहरूले बताएका छन् ।
फाउन्डेसनको बूढानीलकण्ठ नगरकमिटीले साउन ७ गते रक्तदान कार्यक्रम आयोजना गरेको ती नेता बताउँछन् ।
साउन ५ गते कीर्तिपुर र साउन ३ गते टोखा, असोज २ गते काठमाडौं महानगर कमिटीले पनि सोही प्रकृतिको कार्यक्रम आयोजना गरेको थियो । संविधान दिवसको दिन तारकेश्वर नगर कमिटीले पनि दीप प्रज्ज्वलनसहितको कार्यक्रम आयोजना गरेर गतिविधिलाई निरन्तरता दिएको थियो ।
संविधान दिवसकै सन्दर्भ पारेर मदन भण्डारी फाउन्डेसन काठमाडौं जिल्ला कमिटीले भर्चुअल अन्तरक्रिया कार्यक्रम गरेको थियो । नेपालको संविधान र मौलिक हक कार्यान्वयनको सवाल नाम दिएको कार्यक्रमका वक्ताहरूमा प्रधानमन्त्रीको पूर्व प्रेस सल्लाहका डा. कुन्दन अर्याल, डा डम्बर चेम्जोङ, सुशील प्याकुरेल, राधा वाग्ले लगायत थिए ।
भदौ २९ मदन भण्डारी काठमाडौंले नै बालबालिकासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेर पार्टीगत गतिविधिकै झल्को दिएको थियो ।
के भनिएको थियो निर्देशनमा ?
पार्टीका विभिन्न नेताका नाममा विभिन्न प्रष्ठिान वा संघ–संस्थाहरू परिचालित छन् । यी मध्ये अधिकांश गुटबन्दीको माध्यम बन्दै गएका छन् । गुटबन्दी रोक्न प्रतिष्ठानहरूलाई नियमन गर्न जरुरी छ । त्यसका लागि निम्नानुसार गर्ने :
पार्टीले यस्ता संस्थाहरूमा नेता वा कार्यकर्ताको संलग्नता र तिनको आर्थिक स्रोत तथा क्रियाकलापका बारेमा तथ्यपरक जानकारी प्राप्त गर्ने । त्यस्ता संस्थाहरूमा पार्टीका नेता, कार्यकर्ता वा सदस्यहरूको संलग्नताको स्वरूप निश्चित गर्ने । सचिवालयले प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहित कार्यदल गठन गर्ने । कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात् त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनै पनि प्रष्ठिानहरूलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने । – बाह्रखरी