संगठन निर्माणतिर
करीव ३ वर्षसम्मको झापा जिल्लामा चलेको वर्गशत्रु खतम अभियानपछि झापा वरपर रहेका क्रान्तिकारी व्यक्ति र समूहहरुबीच सम्पर्क गर्ने कार्यको शुरुवात हुन थाले। ०२९ को वर्षायाममा इलामका झलनाथ खनालसँग सिपी भेट्न पुगेका थिए। यसै फेरोमा उनको मोरंगमा कार्यरत रामचन्द्र यादव, र माधव नेपालहरुसँग भेट भयो, जो नेपाल क्रान्तिकारी संगठन (माले) मोरङ को नाममा कार्यरत थिए।
नेपाल क्रान्तिकारी संगठन (माले) मोरंग पनि भारतीय नक्सलवादी आन्दोलनकै प्रभावमा थियो। यसका संस्थापकहरुमा विश्व भट्ट, रामचन्द्र यादव, अन्य दुई थिए भने पछि माधवकुमार नेपाल सामेल भएका थिए। यादव, भारतीय कम्युनिष्ट पार्टी मालेका सम्पर्क प्रतिनिधि थिए। त्यसैले २०३० देखि भाकपा (माले)का नेताहरु क. जोहर र उनको निधनपछि क. विनोद मिश्र माधव नेपालको डेरामा आउनेजाने गर्दथे। त्यसबेला सो संगठन पनि सशस्त्र संघर्षकै पक्षमा थियो, र ‘विराटनगरमा एक असईलाई मार्न दुईतीन दिन ढुकेर पनि असफल भएको’ थियो।
झापा ‘‘विद्रोह अगाडिदेखि झापामा अलग अलग समयमा ‘जिल्ला कोअर्डिनेशन कमिटी’ जिल्ला पार्टी संगठन समिति’ ‘जिल्ला कमिटि, (ने.क.पा.) आदि नाम दिइएका क्रान्तिकारी कम्युनिष्ट पार्टी संगठन थियो। … त्यसबेला देखि नै … संसदीय रोगबाट पूर्णरुपले मुक्त राष्ट्रिय स्तरको एउटा नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्ने उद्देश्य’’ थियो। तर ‘‘ त्यस्तो पार्टीको निर्माण तथाकथित राष्ट्रिय स्तरका नेताहरुको भेला गरेर होइन, इलाका इलाकामा रहेका संघर्षशील कार्यकर्ताहरुलाई संगठीत र वर्गसंघर्षमा सक्रिय पार्ने’’ … तिनीहरुको ‘प्रतिनिधिहरुलाई भेला गराई केन्द्रीय कोअर्डिनेशन बनाउने र त्यसबाट पार्टी निर्माण र अन्य समस्याहरु हल गर्ने’ उद्देश्य रहेको थियो। यसैबमोजिम भारतीय नक्सलवारी आन्दोलनको प्रभावमा परेका झापा जिल्ला कमिटि (ने. क. पा.) र नेपाल क्रान्तिकारी संगठन (माले) मोरङ दुवैले देशभरिका मार्क्सवादी–लेनिनवादी कम्युनिष्ट क्रान्तिकारीहरुलाई समन्वय हुन २०३१ जेठ १४ मा एउटा अपील जारी गरे। त्यसमा तिनीहरुले ‘‘आफ्ना संघर्षका अनुभवका आधारमा निम्नलिखित शर्तहरु मान्ने कुनैपनि कम्युनिष्ट क्रान्तिकारी वा ग्रुपसँग समन्वय कायम गर्न तयार भएको’’ उल्लेख गरेका थिए। ती शर्तहरु थिएः
क) अध्यक्ष माओलाई विश्व क्रान्तिका प्राधिकार मान्ने माओत्सेतुङ विचारधारालाई वर्तमान समयको मार्क्सवाद–लेनिनवादको सर्वोच्च रुप हो भनी स्वीकार गर्ने तथा मार्क्सवाद–लेनिनवाद– माओत्सेतुङ विचारधारलाई निशर्त रुपले देशको क्रान्तिको ठोस व्यवहारमा लगाउन स्वीकार गर्ने,
ख) नेपालको हरेक क्षेत्रमा जबर्दस्त क्रान्तिकारी परिस्थिति विद्यमान छ भनेर मान्ने
ग) स्थानीय रुपमा सत्ता कब्जा गर्ने संघर्षको राजनीतिलाई स्वीकार गर्ने।
घ) गेरिल्ला पद्धतिले मात्र आज हामीहरु सशस्त्र संघर्षलाई उठाउन र विकसित गर्न सक्छौं र यसलाई कमरेड चारु मजुमदारको वर्ग शत्रु खतम सम्बन्धी विचारहरु अनुरुप जमीन्दार दलाल खतम वा प्रतिक्रियावादी सशस्त्र शक्तिमाथि हमला गर्ने कामद्घारा शुरुगर्न सकिन्छ भन्ने कुरालाई मान्ने।
यी उल्लेखित शर्तहरु राखेर अपील जारी गर्ने र स्वीकार गर्ने दुवै पक्षका व्यक्तिहरुको त्यसबेलाको अडानलाई प्रष्ट गर्छन्, त्यसबेला यसका हस्ताक्षरकारी र सहमतिमा कोकेमा आवद्ध हुनेले यसबारे कुनै कुरा उठाएका थिएनन्। यो अपील झापाको वर्ग खतम अभियानलाई स्वीकार गर्ने मात्र होइन, यसलाई विस्तार र सुव्यवस्थित गर्ने मनशाययुक्त दस्तावेज थियो। यस अपीलले नै माओलाई विश्व क्रान्तिको प्राधिकारका साथै माओ विचारधारलाई आजको मार्क्सवाद–लेनिनवादको सर्वोच्च रुप हो भन्ने स्वीकार गरेको थियो। त्यस विचार प्रणालीले त्यो विचारधारा निशर्तरुपमा नेपाली क्रान्तिको ठोस व्यवहार लगाउन सकिने, जबर्दस्त क्रान्तिकारी परिस्थिति विद्यमान छ भन्दै स्थानीय रुपमा सत्ता कब्जा गर्ने, सशस्त्र संघर्षलाई उठाउन र विकसित गर्न गेरिल्ला पद्धति र चारु मजुमदारको वर्ग शत्रु खत्तम सम्बन्धी विचारहरु मान्ने कुरा स्पष्ट दोहोर्याएको छ।
त्यस अपीलले ‘सोभियत धुरीका रायामाझी गुट, क्रान्तिकारी परिस्थिति विद्यमान छैन भन्ने जस्तै मनमोहन गुट र पुष्पलाल गुटहरुलाई नौलो जनवादी क्रान्तिको विरोधमा खडा भएको’ चित्रण गरेको छ। यसैकारण ती समूहहरुसँग कुनैपनि एकता तथा सहकार्यका लागि छलफल चलाउन मिल्ने कुरा सो अपीलका हिमायतिहरुका लागि क्रान्तिविरोधी भयो। तिनीहरुका लागि नेपालमा कुनै कम्युनिष्ट पार्टी नै नभएको र २००६ सालमा गठीत पार्टीका सबै नै नेताहरु उनीहरुका लागि संसोधनवादी गद्दार भइसकेका थिए। यसर्थ आफूले स्वीकारेको विचारप्रणाली अनुसार तिनीहरुले देशका विभिन्न भागमा रहेका स्वतन्त्र क्रान्तिकारीहरुसँग मात्र छलफल चलाउने निधो गर्नु स्वभाविक थियो र, एक सुदृढ पार्टीका लागि एक जुट हुन आव्हान गर्नु मुनासिव नै थियो।
अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटि (कोके) को गठन
यही अपीलको आधारमा ती झापा र मोरंगका क्रान्तिकारीहरुले देशका विभिन्न स्थानमा रहेका स्वतन्त्र र विद्रोही क्रान्तिकारीहरुसँग छलफल चलाए। खासगरी इलामका झलनाथ खनाल, सिन्धुपाल्चोकका अमृत बोहरा, सिराहामा रहेका मणीलाल राईसँगको छलफलपछि सिपि मैनाली एक देशव्यापी समन्वय समिति गठन गर्ने निर्णयमा पुगे। फलस्वरुप २०३२ साल जेठ २५ गते एक ८ सदस्यीय अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (जुन को. के. नामले परिचित भएको थियो) गठन भयो, जसमा सिपि मैनाली, रामचन्द्र यादव, माधवकुमार नेपाल, झलनाथ खनाल, अमृत बोहोरा, मणिलाल राई, गोविन्द न्यौपाने, मुकुन्द न्यौपाने, चुनिएका थिए। त्यस केन्द्रका सचिव झापा विद्रोहका उत्तराधिकार र मुकुन्द झापा विद्रोहको सुरुआत लगत्तै पन्छिएका थिए भने अन्य झापा विद्रोहमा असंलग्न थिए। ती मध्ये विराटनगरको राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत माधव, शिक्षण पेसामा रहेका इलामका झलनाथ र चौथो महाधिवेशनमा संलग्न सिराहाका मणीलाल, भद्रपुर अस्पतालमा कार्यरत अहेव गोविन्द थिए र पुष्पलाल समूहसँग असन्तुष्ट रहेका सिन्धुपाल्चोकका अमृत बोहरा थिए।
यसरी निर्माण गरिएको कोकेले ‘राष्ट्रिय जनवादी क्रान्तिलाई अगाडि लानको निम्ति एउटा मार्क्सवादी–पार्टी गठन गर्न … देशभरीका तमाम क्रान्तिकारी कम्युनिष्टहरुलाई यसको झण्डा मुनि एकत्र हुन आह्वान’ गर्यो। तर, यसले रायमाझी, पुष्पलाल, मनमोहन, मोहन विक्रम तथा नेपालका अरु संसोधनवादी गद्दार गुटहरुलाई निषेध गरेको थियो’।

कोअर्डिनेशन केन्द्रको तीव्र यात्रा
दरभङ्गा प्लेनमले विवाद सुल्झ्याउन नसकेपछि र विश्व कम्युनिष्ट आन्दोलनको विभाजनका बाछिट्टाले नेपाली कम्युनिष्ट आन्दोलन १०–१२ वर्षसम्म अस्तव्यस्त र अंगभंग हुन पुग्यो। यस अवधिमा नेपालका कम्युनिष्ट आन्दोलनभित्र चिनीयाँ मार्गको संघर्षका अनुयायीहरु सशक्तरुपमा देखा परे। यसपछि यस मार्गको आधारमा आन्दोलनलाई एकत्रित र व्यवस्थित गर्न पटक–पटक सामुहिक तथा व्यक्तिगत प्रयाशहरु भए तर ती प्रयाशहरु नै अर्को समूह निर्माणका बैधताका कारण बन्न गए। ती मध्ये २०२८ मङसीर २० गते निर्माण गरिएको केन्द्रीय न्युक्लियसको आडमा मोहनविक्रम सिंहले २०३१ भाद्र ३० देखि असोज ७ सम्म ‘‘चौथो महाधिवेशन गरेर’’ एक समूह निर्माण गरे, जुन नेपाली कम्युनिष्ट आन्दोलनको एक जवर्दस्त धार बन्न पुग्यो। अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी कोअर्डिनेशन कमिटि (कोके) ले त्यस चौम समूह लगायत नेपालका अन्य सबै कम्युनिष्ट समूहहरुलाई संसोधनवादी करार गर्दै तथा हालसम्म नेपालमा कम्युनिष्ट पार्टीको निर्माण नै हुन सकेको भन्दै नेपालमा एक क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने अपील जारी गरेको थियो।
कोकेको अपीलले विभिन्न समूहबाट असन्तुष्ट र अलग रहेका स्वतन्त्र व्यक्तिहरुलाई ‘झापाली स्पिरिट’को आधारमा आकर्षित र संगठित गर्न थाल्यो, जसमा पूर्वाञ्चल तथा राजधानीका कलेज र अन्य वाम विद्यार्थी तथा युवाहरु अत्यधिक थिए। तर, कोकेको अपील प्रचार हुनथालेको १० महिना नपुग्दै यसको ३ सदस्यीय पोलिट व्यूरोका सबै सदस्यहरु नै पक्राउ परे। यसका नेता रामचन्द्र यादव २०३२ पुषमा बिराटनगरबाट, सिपि मैनाली र को. के. सदस्य गोविन्द नेउपाने २०३२ माघ १७ मा झापाबाट र माधव कुमार नेपाल २०३२ माघ २९ मा धनुषाबाट पक्राउ परेका थिए। यसरी ८ सदस्यीय को.के.का पोलिट व्यूरोका ३ जना सबै र अन्य १ सदस्य गरी ४ सदस्यहरु पक्राउ पर्दा कोकेको अभियान संकटमा पर्न गएको थियो। यसपछि झलनाथ खनाल कार्यबाहक सचिव भएका थिए तर ती पनि ०३३ असोजमा गिरफ्तार भए। यसरी एकपछि अर्को नेताहरु पक्रा पर्दा यसको अभियानमा शिथिलता आउनु स्वभाविक थियो।
यस अवधिमा मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा चौथो महाधिवेशनको देशव्यापी विस्तार भइरहेको थियो तर पुष्पलाल समूहमा भने विभिन्न पैरोहरु गइरहेका थिए। रोहित, रुपलाल विश्वकर्मापछि मोदनाथ र जीवराज आस्रितको अगुवाइमा पुष्पलाल समूहमा अर्को विद्र्रोह भयो। यस विद्रोहका सदस्यहरुले नेपाल क्रान्तिकारी बुद्धिजीवी संगठन नामक एक समूह बनाए तथापी यिनीहरु मुक्तिमोर्चा पत्रिकासँग सम्बन्धित भएकाले ‘‘मुक्तिमोर्चा समूह’’ बाट परिचित भए।
पुष्पलाल समूहबाट भिन्न हुन यस समूहले २०३३ आषाढ १५ मा रुपन्देहीमा एक भेला गरेको थियो। त्यसपछि यसले मोहन विक्रमसँगसँगै ‘‘गद्दार पुष्पलाल’’लाई दुत्कार्न थाल्यो। त्यसबेलाको मुक्तिमोर्चा पत्रिकाले पुष्पलाल मृत्युशैयाँमा भएको अवधिमा समेत तिनका वैचारिक तथा राजनीतिक अडानबारे निष्कृष्ट गाली गर्दथ्यो। त्यसका २ देखि ४ अंकहरुमा लेखिएका कुरामा त्यसका एक सदस्य मोदनाथ प्रश्रितले पश्चताप त गरेका छन्। तथापी पुष्पलाललाई लगाइएका आरोपहरु विर्सनै नसकिने र नहुने छन्। त्यसबेलाका मुक्तिमोर्चामा उनकाबारे लेखिएका थिए ‘‘नेपालका गद्दार संसोधनवादीमध्ये पुष्पलाल, मनमोहन, रायमाझी, तुल्सीलाल, शम्भुराम र मोहनविक्रम आदि अगुवा हुन्। विशेषगरी पुष्पलालले … चेहरा बदल्दै क्रान्तिकारी … हरुलाई भ्रम र धोका दिदैं आएको छ। यो गद्दार क्रान्तिको … सबभन्दा ठूलो संसोधनवादी दुश्मन र जघन्य अपराधी हो। … नयाँ जनवादलाई व्यवहारमा लागू गर्ने प्रयाश जीवनमा पुष्पलालले कहिल्यै गरेन। … पुष्पलाल नेतृत्वको लोभी, पदलोलुप, पतित चरित्र भएको काँग्रेसी दलाल हो…। पुष्पलाल साह्ै नै अवसरवादी र षडयन्त्रकारी अधम योजना लिएर अघि बढेको थियो। ऊ ने का ले बम आन्दोलन चलाउँदा त्यसको खुब गुणगान गर्थ्यो तर पार्टीभित्र कहिं पनि सशस्त्र संघर्षको कुरा गर्दा रिसले चुर हुन्थ्यो। … यस्तो देखा पर्यो कि उसको नेतृत्वलाई समर्थन गर्ने एकजना पनि सक्रिय, पेशेवर र इमान्दार कार्यकर्ता बाँकी रहेन र आज ऊ दुधबाट माखो जस्तै क्रान्तिकारी कम्युनिष्ट र जनताको तीव्र घृणाको पात्र भएको छ।
पुष्पलालसँगै मोहन विक्रमसँग बोली मिलाउनुको कारण त्यसबेला मुक्तिमोर्चा समूहले ‘चौथो महाधिवेशनमा संलग्न हुन प्रयाश गरेको थियो तर यसको कार्यक्रमिक र साँगठनिक व्यवस्थापनका विषयमा सहमत हुन सकेन। त्यसपछि उक्त समूह देशमा रहेका स्वतन्त्र व्यक्ति र समूहलाई गोलबन्द गर्ने प्रयत्नमा लाग्यो। त्यसै मेलोमा यसका एक सदस्य मदन भण्डारीले पूर्वमा रहेको रातो झण्डा समूहसँग वार्ता चलाए तर ती बीच एकता हुन सकेन।
यसैताका चैत्र १२, २०३३ मा झापा विद्रोहका नेता चन्द्र प्रकाश मैनाली र अन्य नेताहरुसहित नक्खु जेलबाट भागे। नक्खु जेल ब्रेकका कारण झापा विद्रोह, त्यसमाथि भएको दमनबारे नेपाली राजनीतिमा चर्चाको विषय बन्न पुग्यो। यस चर्चासँगै सिपीको चमत्कारिक र रहस्यात्मक व्यक्तित्वको परिकल्पना गर्दै त्यसवेलाका युवा र विद्यार्थीहरु कोर्डिनेशन केन्द्र प्रति आकर्षित हुन थाले। खासगरी ०३४÷३५ साल यसप्रतिको आकर्षणबाट कोके का युवा संगठकहरुले संगठनको सञ्जाललाई देशव्यापी तन्काउन सके। त्यसपछि भने पछि कम्युनिष्ट ध्रुवीकरणको एक तीव्र लहर उठ्न थाल्यो।
नक्खु जेल ब्रेकले नेपालको कम्युनिष्ट पार्टीको विस्तारमा निकै महत्व राख्यो र राख्दछ पनि। यस ब्रेकबाट उम्केका १५ जना मध्ये ५ जना पुनः पक्रा परे भने १० जना पक्राउ परेनन्। यसै मध्ये प्रदीप नेपाल एक थिए, जसले मुक्तिमोर्चा समूहसँग सम्बन्ध गाँस्दै सो समूहलाई कोकेमा प्रवेश गराए। भाद्र १४, २०३४ मा भएको मुक्ति मोर्चाको प्रवेश कोर्डिनेशन केन्द्रको अहकांरमा आधारित थियो, जसको मूल्य सिपीले चुकाउनु पर्यो। तथापी उनले मूल्य चुकाउनु परेपनि नेपालको कम्युनिष्ट पार्टीको एकीकरण प्रयाशलाई मूर्तरुप दिने आधार खडा गर्यो। कोर्डिनेशन केन्दमा मुक्तिमोर्चा समूहको प्रवेशसँगै मुलुकको पूर्वमा मात्र रहेको संगठन पश्चिम र प्रवाशमा विस्तार भयो र संगठनको गुणनात्मक विस्तार हुन थाल्यो।
यो पनि पढ्नुहोस् –
भारतको नक्सली समूहहरुबीच चारु लाइनमा मतभिन्नता आउन थालेपछि, कोके संगठनभित्र पनि ‘‘वर्गशत्रु खतम लाइन’’ बारे प्रश्नहरु उठ्न थालेका थिए। तर, यसैबेला पूर्वको रातो झण्डाको एक नेताले संखुवासभामा २०३४ चैत्र २३ गते एक ‘‘वर्गशत्रु खतम’’ गरे। यस घटनालाई लिएर तत्कालिन सरकारमात्र चनाखो भएन कि, नेपाली कँग्रेसपक्षीय राष्ट्रपुकारले समेत ‘‘पूर्वी नेपालमा उग्रवादी पुनः सक्रिय’’ शिर्षक दिदैं ‘चन्द्रप्रकाश मैनाली समूह झापा, धनकुटा, कमला खोंच (सिराहा), धनुषा, उदयपुर र सिन्धुलीमा सक्रिय भइरहेको’ बतायो। तर, संखुवासभाको घटनाले पूर्वको रातो झण्डा समूहका सक्रिय सदस्यहरु र इकाइहरु कोर्डिनेशन केन्द्रसँग एकता गर्नुपर्ने अवस्था बन्यो।
रातो झण्डा समूहको पनि आफ्नै विगत थियो। आफ्ना नेता तथा सहकर्मीहरु धमाधम पञ्चायतमा प्रवेश गरेको हेरिरहेका र झापा विद्रोहलाई सूक्ष्मअवलोकन गरिरहेका कोशी अञ्चलका युवाहरुले ०३१ मा धनकुटामा रातो झण्डा समूह गठन गरेका थिए। र, यो समूहको सक्रियता र विस्तारले कोशी अञ्चलका पहाडी तथा तराइमा समेत समूहहरु निर्माण गरी रातो अञ्चल समिति बनाएको थियो। तथापी यसका नेता तथा सदस्य सबैजसो पूर्णकालिन थिएनन् र नेतृत्वको अभाव थियो। यस्तो परिस्थिति र कोकेको २०३५ श्रावण ४–९ को तेस्रो केन्दीय सम्मेलनले चारु लाइनलाई अस्वीकार गरिसकेको अवस्थामा २०३५ भाद्र २६ मा रातो झण्डा समूह कोकेमा मिसिन पुग्यो। रातो झण्डा समूहको प्रवेशबाट कोअर्डिनेशन केन्द्रले अर्धभूमिगत रहेर काम गर्ने मध्यमस्तरीय कार्यकर्ताहरु हासिल गर्यो। ती कार्यकर्ताहरु कोशी अंचलका जिल्लाहरुमा प्रभावशाली र सक्रिय थिए।
यस अवधिसम्ममा कोकेले आफ्नो सञ्जाल पूर्व मेचीदेखि लुम्विनीसम्म विस्तार गरिसकेको थियो। तर सुदुरपश्चिमाञ्चलमा केही सम्पर्क व्यक्तिहरु भएपनि सँगठन बनाइहाल्ने अवस्था थिएन। यसैबीच २०३४ साल चैत्रमा नेत्रलाल अभागी, रोमहर्ष धिताल, शोभाराम बस्नेत लगायत केही सहकर्मीहरुले नेकपा चौथो महाधिवेशनबाट अलग हुने निर्णय लिए। जस्मा साहित्यिक तथा सामाजिक क्षेत्रमा संलग्न रहेका परिचित व्यक्तिहरु थिए। तिनीहरुले सन्देश नामक एक साहित्यक तथा राजनैतिक पत्रिका प्रकाशन गर्दथे। यसैकारण पछि यस समूहलाई सन्देश समूह भनियो। यो समूहका अगुवा नेत्रलाल पौडेल र अन्यमा रोमहर्ष धिताल, शोभाराम बस्नेतहरु थिए। यस समूहले करीव ९ महिनासम्म स्वतन्त्र रही आन्दोलनको समीक्षा गर्दै २०३५ साल मसिंर ११ मा कोकेसँग एकता गर्ने निर्णय लियो। सन्देश समूह एकिकृत हुने निर्णय अघि नै कोकेले पार्टी गठनका लागि राष्ट्रिय सम्मेलन बोलाइसकेको थियो। यसैबमोजिम २०३५ साल पौष ११–१७ सम्म जम्मा २५ जना प्रतिनिधि रहेको भेला नै कोकेको प्रथम राष्ट्रिय सम्मेलन भयो। जसले नेकपामाले गठन गर्नुका साथै यसको १० सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्यो।
जनसंगठनको आवश्यकता र निर्माण
विद्रोह सुरू गर्दा हाम्रो सांगठनिक आधार पनि त्यति बलियो थिएन। एक सय पचासको हाराहारीमा युवाहरू संगठित थियौं। रात–बिहान सघाउने किसानहरूसहित कार्यकर्ताहरूको संख्या तीन सयभन्दा बढी थिएन। नेतृत्वको हिसाबले पनि आन्दोलनको राप र अनुभवले खारिएर परिपक्व थिएनौं। … सशस्त्र संघर्षलाई झापाबाट सुरू गरेर कसरी देशव्यापी बनाउने?… कुनै योजना र अनुभव थिएन ।”
किसानहरूसहित कार्यकर्ताहरूको संख्या तीन सयभन्दा बढी नभएको त्यसमाथि कैयन पलायन, गिरफ्तार भइसकेको संगठनको भौतिक अवस्थामा के कत्रा र कस्ता संगठन तथा कमिटी बन्न सक्थे, त्यो आजका दिनमा पनि सजिलै अनुमान गर्न सकिन्छ। अझ, ‘संघर्षलाई देशव्यापी बनाउने कुनै योजना नभएका’ र झापाका स्थानीय तहका ‘आन्दोलनको राप र अनुभवले खारिएर परिपक्व थिएनौं भन्ने नेतृत्व’बाट पूर्णकदको संगठन माग गर्नु अभौतिकवादी तथा अनुचित आग्रह नै हुन्छ। यस कारण झापा संघर्षदेखि कोकेको शुरुवातीकालको संगठनको भौतिक अवस्था र त्यसमाथि वर्गशत्रु खतम अभियान नत्यागी सकेको संगठनले गोप्य र प्रतिबद्ध सदस्यहरु रहेको कमिटी र जत्था मात्र निर्माण गर्नु जायज नै थियो। त्यसबेला खुला र समर्थकहरु रहेका जनसंगठनको निर्माण र विस्तार गर्नुको मतलव नरसंहारका लागि प्रतिकृयावादी सत्तालाई निम्ता गर्नु हुन्थ्यो। त्यसमाथि जनसंगठन बनाउन समेतको संख्या पनि कोकेको शुरुवाती कालमा थिएन। कोकेकाल पछि बृद्धि भएका सदस्य संख्या पार्टीको जिल्ला र क्षेत्रीय इकाइमा राख्न नै अपुग थियो। यस्तो अवस्था बहुदलीय व्यवस्था प्राप्तिपछि देखिएका इकाइहरुले प्रष्ट नै पार्छन्।
तर, कोकेको २०३५ श्रावण ४–९ को तेस्रो केन्दीय सम्मेलनले चारु लाइन र वर्ग शत्रु खतमलाई त्याग गरिसकेपछि संगठन निर्माण र कार्यशैलीमा आधारभूतरुपमा भिन्नता ल्याउनु पर्ने अवस्था बन्यो। अझ २०३५ पुषमा पार्टी गठन भएपछि संगठनलाई पुर्णकदमा ढाल्ने जिम्मेवारी नेतृत्वसामू देखा परेको थियो। त्यसमाथि पार्टी गठन भएको तीन महिना नपुग्दै चैत्र २४ बाट देशव्यापी विद्यार्थी आन्दोलन शुरु भयो। भूमिगत कार्यशैली अपनाइरहेका मालेका विद्यार्थीहरुले त्यसबेला विद्यार्थी भेलाको अगुवाइ गर्न नमिलेर कैयन जुलुसहरुमा रमिते बन्न पुगेका थिए। तथापी त्यसबेलाका आन्दोलनको केन्द्र बनेका अमृत साइन्स, महाराजगञ्ज, इञ्जीनियरिंग, बुटवल, मोरंग, धरान लगायतका क्याम्पसहरु मालेमा संगठित विद्यार्थीहरुकै पकडमा थिए।
त्यसबेलाको सांगठनिक रचनामा पार्टीको जिल्लाले स्थानीय युवाविद्यार्थीहरुलाई इलाकीय स्तरमा रेड गार्डका रुपमा गोलबन्द गरेको थियो, त्यसोहुँदा जिल्लाभर नै विद्यार्थी–विद्यार्थीहरुबीच समन्वय र आन्दोलनमा सहकार्य गर्न सकिदैनथ्यो। जसैतसै विद्यार्थी आन्दोलनको अन्तमा माले पार्टीका विद्यार्थीहरुले हरेक क्याम्पस तथा शैक्षिक इकाइमा नेतृत्व र प्रभाव गर्नसके। विद्यार्थी आन्दोलनपछि राष्ट्रिय विद्यार्थी संगठन बनाउन पाउने अवस्था बन्यो।
शुरुमा नेकपा माले र नेकपा चौथो महाधिवेशनका बीच विद्यार्थीहरुको साझा मञ्च बनाउनेबारे छलफल भयो, प्रकारान्तरमा सहमति हुन सकेन। नेकपा चौथो महाधिवेशनका विद्यार्थीहरुले २०३३ जेठमा भारतको अयोध्यामा पाँचौ राष्ट्रिय सम्मेलन भइसकेको र सो सम्मेलनलाई मान्यता दिनुपर्ने अडान राखेका थिए। तर त्यो शर्त नेकपा मालेका लागि मान्य हुने कुरा नै थिएन, एक त चौम पार्टीका प्रतिनिधिका रुपमा त्यसका अध्यक्ष निनु चापागाइँ थिए र दोस्रो अनेरास्ववियूलाई चौमले जनसंगठनको रुपमा संचालन गरिरहेको थियो। तथापी कुरामा एकअर्कालाई व्यस्त गराइरहने चाल भइरहेका थिए। यसै वीचमा चौम समूह पक्षधर विद्यार्थीहरुले २०३६ भदौ २१–२३ मा छैटौं राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरे। यसपछि मालेका विद्यार्थीहरुलाई अर्कै संगठन बनाउनै पर्ने अवस्था बन्यो। केही समकालिनहरुले विद्यार्थी संगठनको नाम नेपाल जनवादी विद्यार्थी यूनियन हुनुपर्ने प्रस्ताव राखेका थिए, तर पार्टीको च्यानलबाट अनेरास्ववियू नै राख्ने सूचना प्रवाह भयो। र, इन्जिनियरिंग क्याम्पस यूनियनमा उपत्यकाका मालेका अगुवा विद्यार्थीहरु भेला भई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको पाँचौ सम्मेलन तयारी समिति बनाइयो। शुरुमा यसलाई नै पाँचौ सम्मेलन गर्नका लागि गठन गरिए पनि यस समितिमा काठमाडौं उपत्यकाका विद्यार्थीहरुको प्रतिनिधित्व मात्र भएको कुरा उठ्न थाल्यो। यस कुरालाई सम्वोधन गर्दै क्षेत्रीय स्तरमा सम्मेलन गरी त्यसका प्रतिनिधिहरु संलग्न गराई २०३६ मंसिर १९ मा केन्द्रीय तयारी कमिटि निर्माण गरिएको थियो। अनेरास्ववियूलाई प्रगतिशील, जनवादी तथा देशभक्त विद्यार्थीहरुको साझा संगठन भनिएको र यो गुटनिरपेक्ष भई संचालन गरिने कुरा बताइएको थियो। यसै आधारमा सर्वहारा क्रान्तिकारी सँगठन नेपालका विद्यार्थीहरु समेत यसमा सामेल थिए।
जनमत सँग्रहकालमा आएको केही राजनीतिक खुकुलोमा विभिन्न क्षेत्रका मजदुर सँगठनहरु, शिक्षक संघ निर्माण हुन थाले। यसैबेला नेपाल यातायात मजदुर संघ, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ निर्माण गरिए। करीव करीव दुई वर्षको अवधिमा सामाजिक वर्गहरु मध्ये जस्तै महिला, मजदुर, किसान, विद्याथीहरुका संगठनहरुका राष्ट्रिय स्वरुप तयार भइसकेका थिए। यी सँगठनहरुलाई वैधानिक दायराभित्र संचालन गर्ने प्रयाशहरु भए तर सँगठन र यसका नेता तथा सदस्यहरुले पञ्चायती शासनको क्रुर आक्रमणको प्रहार र मार बेहोर्नु पर्यो ।
जनमत सँग्रहको खुकुलोकालमा नै मालेले वैधानिक संघर्ष संचालन गर्न सिक्यो। यसले देशका विभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रमहरु, आमसभाहरु, अनेरास्ववियू, कलेज तथा विद्यालयका यूनियनबाट गर्न सकिने हरेक कार्यक्रमहरुलाई समेत पार्टी प्रचार र इकाइ निर्माणको आधार बनाउन थाल्यो।
वैधानिक दायरामा चलाइने जनसँगठनको संचालन वैधानिक आधारमा गर्नुपर्ने भएकाले नेकपामाले भित्र जनसंघर्षलाई वैधानिक दायराभित्र ल्याउने चेतनाको संचार हुन थाल्यो। झापाकालको ससस्त्र संघर्ष र त्यसमाथि गरिएको दमनको अवस्थामा र पञ्चायती व्यवस्थाको उन्मुक्त वैंशकालमा तत्कालिन कोके तथा नेकपामालेको नेतृत्वले खुला संगठन र वैधानिक संघर्षको सम्भावना नदेख्नु स्वाभाविकै थियो। त्यसमाथि विश्वका अनेकन कुनामा सशस्त्र संघर्षहरु चरम उत्कर्षमा संचालन भइरहेका थिए। तर, जनमत सँग्रहकाल पछि भएको जनचेतना अभिबृद्धि, नेकपामालेको सांगठनिक विस्तार र नेपालका काँग्रेस तथा अन्य प्रजातान्त्रिक व्यक्तिहरु, शिक्षक, वकिल लगायत विभिन्न पेशाका व्यक्तिहरुको पञ्चायती सरकारविरुद्धका सचेतनमूलक गतिविधिहरु हुन थाले। यसबेला राष्ट्रियता, जनजीविका र संवैधानिक छूटका विषयमा वैधानिक संघर्ष गर्न सकिने अवस्था बन्दै गयो। अवस्था यसरी फेरिएको थियो कि टिमुरबोटे काण्ड, हवाइ अपहरण र राजालाई बम हान्ने नेपाली काँग्रेस पूर्णत शान्तिपूर्ण संघर्षको पक्षमा मात्र होइन राजासँग मेलमिलाप गर्ने अवस्थामा आइसकेको थियो। साना वाम दलहरुका नेता तथा कार्यकर्ताहरुसमेत सानातिना सभा र गतिविधिहरु गर्न थाले। यसतो अवस्थाका बीचमा माले लगायत अन्य दलसँग सम्बद्ध विद्यार्थी, शिक्षक, मजदुर, सांस्कृतिक क्षेत्रहरुले विभिन्न मुद्धाहरुमा संघर्ष तथा राजनीतिकि गतिविधिहरु चलाइरहेका थिए। यो परिस्थिति झापा संघर्षपछिको दमनकाल भन्दा अति भिन्न र जनसंघर्षका लागि अनुकुल थियो। यस्तो अवस्थामा नेकपामालेले सशस्त्र संघर्षको तरिकामा परिवर्तन गर्नु आवश्यक थियो ।
झापा संघर्ष पश्चात्को सैद्धान्तिक, वैचारिक तथा राजनैतिक यात्रा
झापा संघर्षको शुरुवाती र मुख्य अवधिमा झापा जिल्ला कमिटीका सचिव रहेका राधाकृष्ण मैनालीका भनाइ नै झापा संघर्षको सैद्धान्तिक, वैचारिक तथा राजनैतिक यात्राका लागि बेञ्चमार्क बन्न सक्छ। उनी लेख्छन्– सैद्धान्तिक रुपमा मार्क्सवादका धेरै ठेलीहरू पिएका पनि थिएनौं। कतिसम्म भने संघर्ष सुरू गर्नुअघि हामीले क्रान्तिकारी कार्यक्रमको कुनै लिखित दस्तावेजसमेत तयार पारेका थिएनौं ।”“…प्रष्ट बाटो बनिसकेको थिएन, लक्ष्य नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने थियो ।…सशस्त्र संघर्षलाई झापाबाट सुरू गरेर कसरी देशव्यापी बनाउने ?… कुनै योजना र अनुभव थिएन ।”
पूर्वकोशी प्रान्तीय कमिटीबाट झापाका रहेका क्रान्तिकारीहरु मिलेर २०२७ साल चैतमा कोअर्डिनेशन केन्द्र झापा निर्माण गरेका थिए। संघर्ष सुरू गर्नुअघि हामीले क्रान्तिकारी कार्यक्रमको कुनै लिखित दस्तावेजसमेत तयार पारेका थिएनौं भनेर त्यसवेलाका सचिव राधाकृष्ण मैनालीले स्वीकार गरेका नै छन्। झापा संघर्ष हरेक अर्थमा भारतको नक्सलवारी संघर्षको नक्कल मात्र थियो। तथापी झापालीहरुले संघर्षको अनुकरण गर्न पनि कुनै दस्तावेज तयार र रुपरेखा तयार गरेका थिएनन्। भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) सँग विमति जनाउन चारु मजुमदारले दस्तावेज प्रस्तुत गरेका थिए, जसलाई चारुका आठ दस्तावेज भनेर जानिन्छ। यही दस्तावेजका कैयन प्रस्तावनाहरु झापालीहरुले शुरुमा सैद्धान्तिक तथा वैचारिक कार्यमा समेत अनुकरण गरेका छन्। कम्युनिष्ट पार्टीको अध्ययनकर्ताहरुले राधाकृष्णकालीन झापा संघर्षका दस्तावेज र पर्चाहरुसमेत कहिंपनि दृष्टान्तका रुपमा पेश गरेका छैनन्। यसर्थ ती बेला कुनै दस्तावेजहरु लेखिएनन् नै ।
राधाकृष्ण मैनाली २०२७ साल चैत्रदेखि २०२९ कार्तिकसम्म झापा केन्द्रको सचिव रहे। यसपछि सो केन्द्रमा केपी ओली सचिव वनेका थिए। सचिव भएपछि फागुनसम्म उनले बैठक बोलाएनन् र बेपत्ता भए। यसो हुँदा त्यसबेला सैद्धान्तिक तथा वैचारिक दिशा तय गर्ने दस्तावेज निस्कन सक्ने कल्पना गर्न सकिदैन ।
केपी ओली झापा कमिटिको सम्पर्कमा नआएपछि २०२९ फागुन १६ र १७ मा झापाको बुधवारे होक्सेमा बसेको झापा कमिटीको बैठकबाट तेस्रो सचिव सिपि मैनाली बने। सिपि मैनाली सचिव बनेको ४ दिनपछि फागुन २१ मा सुखानीको जंगलमा ५ जना झापा विद्रोही मारिए। सिपी भन्छन् – धेरै साथीहरु समातिए। मारिए। आतङ्कले भागे। तर पनि मैले हिम्मत हारिन। म उभिएँ। मैले साथीभाई जम्मा पारें र झापा विद्रोहपछि ०३१ सालमा फेरि साथीहरुलाई अपील गरें। ०३२ सालमा कोअर्डिनेशन बनाइयो। फेरि समातिँए। जेल ब्रेक गरें। फेरि बाहिर आएँ। र, काम गरें। ०३५ सालमा नेकपा माले पार्टी बनाइयो।