Date
बिहि, जेष्ठ ७, २०८३
Thu, May 21, 2026
Thursday, May 21, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कति उमेरका भए शिवजी?

nepal_readers nepal_readers
फाल्गुन २७, २०७७
- यो हप्ता
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    -रोहेज खतिवडा- पौराणिक कथाअनुसार महाशिवरात्रिको दिन शिव अनन्तलिंगेश्वर स्वरूपमा प्रकट भएका थिए।को ठूलो भन्ने विवादमा अल्झिएका ब्रह्मा र विष्णु उनको अनन्त लिंगको उद्गम र अन्त्य खोज्न दुईतिर लागे पनि भेट्न सकेनन्।हैरान भएर फर्किएका ब्रह्मा र विष्णुलाई शिवले आफ्नो स्वरूपको दर्शन दिए।यसै दिन पहिलो पटक शिव प्रकट भएको मानिन्छ।तर, शिवलाई उत्पत्ति र मृत्युभन्दा माथिका ईश्वरका रूपमा पुराणमा चर्चा गरिएको छ।

    पुराणमा शिवका नाममा यस्ता अनेक रोचक कथा छन्।शिव पौराणिक कालका ‘कलरफुल’ पात्र हुन्।पुराणमा भएका कथामा यौन, प्रेम, क्रोध, करुणा आदि मिसिएर शिव जीवन्त बनेका छन्।पुराणका कथाले निर्माण गरेको शिवको मिथकीय जीवनी जति रोचक छ, आधुनिक इतिहास विधाले फेला पारेको उनको जीवनकथा पनि त्योभन्दा कम रोचक छैन।

    शिव भन्नेबित्तिकै हामी एउटा आकृति सम्झिन्छौं- कपाल गुजुल्टो पारेर बाँधेको, घाँटीमा सर्प बेरेको, अर्धनग्न शरीरमा खरानी घसेको, बाघको छाला बेरेको, त्रिशूल बोकेको।छेउमा बसेको बडेमानको साँढे सम्झिन्छौं।शिवसँगै बसेकी सुन्दर पार्वती सम्झिन्छौं।गाँजा र भाङधतुरो खाने उनको बानी सम्झिन्छौं।शिवको प्रसाद भन्दै शिवरात्रिमा धेरैले गाँजा तान्ने चलनै छ।शिवजीको यस्तो छवि कसरी बन्यो ?  शिवजीको चार हजार वर्षभन्दा लामो आर्कियोलोजिकल अर्थात् पुरातात्विक जीवनकथाले उनलाई चिन्न मद्धत गर्छ।

    पशुपति : प्रोटो-शिव

    शिवजी छन्, हिन्दू धर्मभन्दा जेठा।उनको आयु अहिले चार हजार वर्षभन्दा धेरै भइसकेको छ।किटैरै त भन्न सकिन्न तर कम्तीमा पनि ४५ सयदेखि ४२ सय वर्षअघि उनको जन्म भइसकेको थियो।शिवजीको यो जन्म चित्रका रूपमा हो।कथामा उनको जन्म यसअघि नै भइसकेको पनि हुनसक्छ।त्यस बेलाका मानिसले सृष्टि कथामा कुनै न कुनै नाममा पक्कै पनि उनको वर्णन गरेको हुनुपर्छ, त्यसैले नै उनलाई चित्रमा उतारे।तर, त्यो सृष्टिकथा कस्तो थियो, त्यस बेला उनको नाम र भूमिका के थियो भन्नेबारे अनुमान गर्ने कुनै आधार छैन।

    अहिलेसम्म भेटिएको शिवजीसँग सम्बन्धित पहिलो चित्र भनेको सिन्धु घाटी सभ्यताकालको सिल (माटोको सिक्का) चित्र हो।हिन्दू धर्मको विकास हुनुभन्दा पहिले नै सिन्धु नदीले बनाएको उपत्यकामा ठूलाठूला सहरसहितको सभ्यता विकास भइसकेको थियो।आजभन्दा ६ हजार वर्षपहिले त्यहाँ सहरी सभ्यता विकास हुन सुरु भएको थियो।४५ सयदेखि ३७ सय वर्ष पहिलेको कालखण्डमा सहरी सभ्यता उन्नत चरणमा पुगेमा थियो।इतिहासकारहरूले पत्ता लगाएको यो सभ्यताको पहिलो सहर हरप्पा थियो, त्यसैले यसलाई हरप्पाको सभ्यता पनि भन्ने गरिन्छ।मोहेन्जो-दारो यहाँको सबैभन्दा ठूलो सहर थियो।यो सभ्यता आफ्नो उन्नत कालखण्डमा अफगानिस्तानको उत्तरपूर्वी भूभागदेखि सप्तसिन्धुको क्षेत्र हुँदै भारतको पन्जाब, राजस्थान लगायतका ठाउँसम्म फैलिएको थियो।यहाँ सानाठूला गरेर एक हजारजति सहर बनेका थिए।

    सिन्धु घाटी सभ्यतामा पुरातत्व अध्येताहरूले सहरी योजनाका अचम्म लाग्ने तथ्यहरू फेला पार्दै आएका छन्।त्यस बेला सहरलाई विभिन्न ससाना एकाइमा बाँडिएको हुन्थ्यो र प्रत्येक एकाइको बीचमा सभाहल र अन्नभण्डारसहितको ठूलो भवन हुन्थ्यो।यसबाहिर विभिन्न वृत्ताकार घेरामा सर्वसाधारणका घरहरू हुन्थे।प्रत्येक घेराको बीचमा फराकिलो सडक हुन्थ्यो।सडकको दुवै किनारमा ढल निकासको राम्रो व्यवस्थासहितको नाली हुन्थ्यो, जसलाई माथिबाट ढुंगा वा माटोको टाइल्सले ढाकेर फराकिलो सडकपेटी बनाइएको हुन्थ्यो।रोचक कुरा त, त्यस बेला पनि हरेक घरमा ‘बाथरुम’ थियो।यसबाहेक सार्वजनिक धारामा भेला भएर नुहाउने चलन पनि थियो।

    कुनै संस्कृति शुद्ध वा अशुद्ध छैन। हामीले हाम्रा संस्कृति हाम्रा ज्ञान, कथा, पीडा, पसिना साटेर निर्माण गरेका हौं।कुनै रगत आज शुद्ध वा अशुद्ध छैन।हामी सबै एकअर्कासँग मिसिएर बनेका हौं।

    सार्वजनिक धारामा नुहाउने चलन कुनै धार्मिक वा सांस्कृतिक प्रचलन हुनसक्छ।यो सभ्यताका अधिकांश सहरमा विशाल विशाल पानी ट्यांकीसहितका सार्वजनिक धाराहरू भेटिएका छन्।यसले सिन्धु घाटी सभ्यताका मानिसहरूमा धार्मिक संस्कार विकास भइसकेको थियो भन्ने संकेत गर्छ।यसबाहेक उनीहरूले बनाएका केही मूर्ति र सिलले पनि उनीहरूको धर्मिक आस्था झल्काउँछ।यस्ता सिलमध्ये अधिकांशमा एकसिंगे गैंडा, भैंसी, बाघ लगायतको चित्र अंकित हुन्छ।साँढे सिलमा धेरै अंकित जनावर हो।

    यहाँ मान्छेको आकृति भएका विभिन्न सिल पनि भेटिएका छन्।निर्वस्त्र महिलाको चित्र अंकित सिललाई ‘मदर गडेस’को उपमा दिइएको छ।यही सभ्यताको अर्को एउटा सिल छ, जसमा दुईवटा लामो लामो सिङ भएको एउटा मानिस ध्यानमा बसेको छ।उसको वरिपरि बाघ, गैंडा, साँढेजस्ता जनावर छन्।दक्षिण एसियाको प्राचीन धर्मबारे अध्ययन गर्ने कतिपय इतिहासकारको मत छ- शिवजीको सबैभन्दा पुरानो प्रतिमा यही हो।यो सिलमा बसेका ध्यानीलाई नाम दिइएको छ- ‘प्रोटो-शिव’।अर्थात, परापूर्वकालका शिव।कतिपयले पशुपति नाम दिएका छन्।वरिपरि जनावर भएकैले यस्तो नाम दिइएको हुनुपर्छ।हुनसक्छ, आज शिवजीको छेउमा बस्ने साँढे सिन्धु घाटीको त्यही साँढे हो जसलाई पछि नन्दी नाम दिइयो।

    पशुपति र प्रोटो-शिव इतिहासकारहरूले दिएको नाम हो।सिन्धु घाटी सभ्यताका बासिन्दाले सिलमा अंकित चित्रलाई कुनै नाम दिएका थिए ?  यसको जवाफ भेटिइसकेको छैन।

     प्रोटो शिव र रुद्रको जम्काभेट

    सिलमा शिवको यो चित्र बनाइको त्यो समय हिन्दू धर्मको सुरुआत हुनुभन्दा पहिलेको समय हो।हिन्दू धर्मको सुरुआत कहिलेदेखि भयो भनेर तोक्न सकिने समयको कुनै बिन्दु छैन।ऋग्वेद हिन्दू धर्मको सबैभन्दा पुरानो ग्रन्थ हो।त्यसैले, ऋग्वेदको रचना सुरु भएको कालखण्डलाई हिन्दू धर्मको सुरुआत मान्न सकिन्छ।तर, त्यो समयसम्म आइपुग्न हिन्दू धर्मले लामो यात्रा भने तय गरेको थियो।आर्य समुदायको त्यो यात्रा मध्य एसियाको उरल संस्कृतिबाट सुरु हुन्छ।सम्भवतः जति बेला युरोपेली तथा इरानीहरूसँग छुट्टिएर उरल संस्कृतिबाट दक्षिण एसियातर्फको यात्रामा आर्यहरू निस्किए, त्यसै बेला हिन्दू धर्मको प्रथम स्वरूप वैदिक धर्मको बीजारोपण भयो।यो पूर्व-वैदिक धर्मको चरण हो।आर्यहरू सिन्धु घाटी आइपुगेपछि ऋग्वेदको रचना सुरु हुन्छ, यहाँबाटै वैदिक धर्मको औपचारिक सुरुआत भएको मान्न सकिन्छ।यो यात्रामा सयौं वर्ष गुज्रिएको छ।

    उरल संस्कृतिबाट आएको आर्य धार मात्रै हिन्दू धर्मको सम्पूर्ण स्रोत भने होइन।भारतीय आदिवासी संस्कृतिका यस्ता अनेक खोल्सीहरू यो धार्मिक नदीमा मिसिएर हिन्दू धर्म आजको स्वरूपमा आइपुगेको हो।

    सिन्धु घाटी आइपुगेका आर्यहरूसँग तेज गतिमा दौडिने खाइलाग्दा मध्य एसियाली घोडा थिए।घोडाले तान्ने दुईपांग्रे रथ थियो।गाईपालन उनीहरूको मुख्य पेसा थियो।त्यसैले प्रशस्तै गाईबस्तु थिए।दूध-दहीजत्तिकै गाई मासुका लागि पनि उपयोग हुन्थ्यो।(ऋग्वैदिक कालभन्दा पछि सयौं वर्षसम्म पनि हिन्दूहरू गाईको मासु खान्थे।) उनीहरूको आफ्नै धार्मिक पद्धति थियो।इन्द्र आर्यहरूका सबैभन्दा ठूला देवता थिए।इन्द्रलाई मुख्यतः गौरक्षकका रूपमा चर्चा गरिएको छ।अर्थात् अन्य जातीय समुदाय वा आर्यहरूकै अर्को समूहबाट गाईबस्तु जोगाउने देवताको रूपमा चर्चा गरिएको छ।इन्द्रपछि अग्नि, सोमलगायतका देवता महत्वपूर्ण थिए।सोमदेव, तिनै सोमरसका देवता हुन्, जुन सोमरस सोम नामक वनस्पतिबाट बनाइन्थ्यो।त्यो सोमरस अहिले पाइने सोमलता हो ? बोटानिक हिस्ट्रीका अध्येताहरू करिब सहमत छन्।

    पुराणका भगवान्हरू ऋग्वेदकालमा कति जन्मिएकै थिएनन्, कतिले त्यस्तो महत्व पाएका थिएनन्।ऋग्वेदमा विष्णुको नाम उल्लेख त छ तर त्यति महत्व दिइएको छैन।ब्रह्माको कुनै अवधारणा छैन।त्यस्तै एक साधारण देवता छन्, रुद्र।उनका छोरा मरुत्स, अर्थात् आँधीका देवताको चर्चाको क्रममा ऋग्वेदमा उनको नाम आउँछ।रुद्रको चरित्र पनि अलि नकारात्मक छ।एक क्रोधी र नचाहिने गरी ठूलो हल्लाखल्ला गर्ने देवताका रूपमा ऋग्वेदमा उनको चित्रण छ।

    आर्यहरूसँग इन्द्र, अग्नि, सोम, वरुणजस्ता देवता थिए।देवताका कथाहरू थिए।उनीहरूलाई आह्वान गर्न लामालामा छन्दबद्ध ऋचा थिए।तर, ती देवताको कुनै प्रतिमा थिएनन्।देवताहरू ऋचामा थिए, कथामा थिए, चित्रमा थिएनन्।सिन्धु घाटी सभ्यताका मानिसहरूले झैं सिल वा मूर्ति बनाउने कला उनीहरूले सिकिसकेका थिएनन्।

    आर्यहरू सिन्धु घाटी आइपुग्दा यहाँको सभ्यता अन्तिम सास फेर्दै थियो।सभ्यताको अवसान भएको र आर्यहरू त्यहाँ आइपुगेको समय लगभग मिल्न जान्छ।के आर्यहरू र सिन्धु घाटीका रैथाने मानिसहरूबीच युद्ध भएको थियो।के आर्यहरूले युद्ध जितेर सिन्धु घाटीको सभ्यता ध्वस्त पारे ?  पुरातात्िवक प्रमाणहरूले त्यस्तो संहारकारी युद्धको प्रमाण दिँदैन।ऋग्वेदमा पनि त्यस्तो सभ्यता नै ध्वस्त पार्ने युद्धको चर्चा छैन।दस्यु र दाससँग युद्धको चर्चा त छ, तर ती दस्यु र दास को थिए भन्ने अहिलेस्मम यकिन हुन सकेको छैन।उनीहरू सिन्धु घाटीका आदिवासी नै थिए भने त्यस्तो ठूलो महायुद्धको त्यहाँ चर्चा छैन।बरु आर्यहरूबीचकै युद्धको चर्चा ऋग्वेदमा छ।कुनै ठूलो युद्ध भएको पुरातात्िवक प्रमाण पनि अहिलेसम्म पाइएको छैन।

    पुरातात्िवक प्रमाण भन्छ- आर्यहरू यहाँ आउनुअघि सिन्धु घाटीले पर्यावरणीय संकट बेहोर्नु पर्‍यो।सिन्धु तथा अन्य शाखा नदीमा आएको बाढीले सहरहरू डुबाएको तथा लामो समयसम्म खडेरी परेका कारण सिन्धु घाटीको सभ्यता ओरालो लागेको थियो।यसमा आर्यहरूसँगको युद्धले सामान्य भूमिका खेलेको पनि हुनसक्छ।आर्य र सिन्धु सभ्यताका रैथानेहरूबीच युद्धभन्दा धेरै घुलमिल भएको प्रमाण पाइन्छ।पछिल्लो समय विकास भएको मानव डीएनए परीक्षण विधिले प्रायः सबै भारतीयमा सिन्धु घाटी सभ्यताका मानिस र आर्यहरू दुवैको डीएनएको निश्चित हिस्सा भएको पत्ता लगाएको छ।फरक यही हो, कसैसँग एउटा प्रकारको डीएनएको मात्रा धेरै होला, कसैसँग अर्को।

    यसरी मानिसहरू मिसिँदा धार्मिक विश्वास पनि मिसिए।यो संयोजनबाट नयाँ धार्मिक प्रणाली विकास भयो, संस्कृति र प्रथाहरू बने।दुवैका कथाहरू मिसिएर थप चाखलाग्दा कथा बने।र, देवताहरू पनि मानिसजस्तै एकआपसमा मिसिए।आर्यहरूसँग रुद्रको चाखलाग्दो कथा थियो, सिन्धु घाटीका रैथानेसँग प्रोटोशिवको प्रतिमा।रुद्रको चरित्रका लागि यो चित्र उपयुक्त भयो।रुद्रको प्रतिमाको रूपमा त्यही प्रोटो-शिवको चित्र प्रयोग हुन थाल्यो।सिन्धु घाटी सभ्यताका प्रोटो-शिव र आर्यहरूका रिसाहा रुद्र एकअर्कामा समाहित भए।यो आजभन्दा करिब तीन हजार वर्ष अगाडिको कुरा हो।

    रुद्रबाट शिव

    सिन्धु घाटी आइपुगेका आर्य घुमन्ते थिए।उनीहरू एकै ठाउँमा लामो समय बस्न बानी परिसकेका थिएनन्।गाईपालक भएकाले उनीहरू समयसमयमा बसाइँ सरिरहन्थे।त्यति बेला पर्यावरणीय परिवर्तनका कारण सिन्धु घाटी बस्नलाई आकर्षक पनि थिएन।त्यसैले उनीहरू अझ पूर्वतिर बसाइँ सर्दै गए।करिब पाँच सय वर्षमा उनीहरू गंगा यमुना नदीको मैदानमा आइपुगे।यसै क्रममा उनीहरू सिन्धु घाटीदेखि गंगा मैदानसम्मका रैथाने मानिसहरूसँग घुलमिल भए।

    आजभन्दा तीन हजार वर्षअघि गंगा यमुना मैदानमा कृषिमा आधारित अर्थतन्त्र निर्माण भइरहेको थियो।आर्यका पुराना कुलमा आधारित केही राज्य पनि स्थापित भएका थिए।महाभारतको युद्ध यसै कालखण्डको हो।यसपछिका केही सय वर्ष यसवरपरको क्षेत्रमा बसोबास र कृषि तीव्र गतिमा फैलियो।कृषिबाट जम्मा भएको बचतको जगमा मजबुत राज्यहरू स्थापना भए।शक्तिशाली राजाहरू देखिए।कृषि उपजमा राजाहरूले चर्को कर असुल गर्न थाले।त्यो करबाट ब्राह्मणहरूलाई प्रशस्त दान दिन थाले।समाजमा वर्ण र वर्ग दुवैको अन्तर स्पष्ट भयो।

    यही समयमा धार्मिक संस्कारलाई जटिल र खर्चिलो बनाइयो।राजाहरूले ठूलाठूला यज्ञ गर्ने तथा सयौं ब्रह्मणलाई एकसाथ सयौं गाई दान गर्ने प्रचलन बस्यो।राजकीय यज्ञ गर्ने र एकआपसमा युद्ध गर्ने भएपछि खर्च बढ्यो।राजाको खर्च बढेपछि कर बढ्यो।आममानिसका लागि वैदिक संस्कार मानिरहन कठिन हुँदै गयो।उनीहरू जातीय विभेद र चर्को करबाट मुक्तिको उपाय खोज्न थाले।

    आममानिसको असन्तुष्टिको जगमा बौद्ध, जैन, वैष्णवजस्ता थुप्रै सम्प्रदाय विकास हुँदै आए।शैव यस्तै एक सम्प्रदाय हो।शैव सम्प्रदाय कहाँ र कहिले सुरु भयो भन्ने निश्चित छैन।यसबारे इतिहासकारहरूका फरक-फरक मत छन्।

    गौतम बुद्धको समयतिर विभिन्न धार्मिक सम्प्रदायको उदय भएको र वैदिक धर्म वा धार्मिक संस्कारलाई चुनौती दिने प्रचलन सघन भएको देखिन्छ।यति मात्र नभएर रैथाने आदिवासीसँग हिन्दू जनसंख्याको घुलमिलका कारण सांस्कृतिक आदानप्रदान पनि यस बेला बढेको थियो।त्यसैले यही समय आसपास शैव सम्प्रदाय पनि सुरु भएको हुनुपर्छ।

    उपनिषद्मा पहिलोपटक शिवबारे चर्चा गरिएको छ।श्वेताश्वतर उपनिषद्मा रुद्रलाई शक्तिशाली देवताका रूपमा चित्रित गरिएको छ।उनलाई योग, ध्यान आदिका देवताका रूपमा चर्चा गरिएको छ।यो क्रमलाई कथालाई शैव उपनिषद्ले थप अघि बढायो।र, शिवलाई सर्वशक्तिमान ईश्वर बनायो।

    सिन्धु घाटीमा ध्यानस्थ पशुपतिको प्रतिमा भेटिनु र दुई हजार वर्षपछि फेरि शिवलाई ध्यानका देवताको रूपमा उल्लेख गरिनु संयोग मात्रै हो त ?  कि आदिवासी भारतीयहरूले सिन्धु घाटी सभ्यता नरहे पनि प्रोटो शिवसँग सम्बन्धित संस्कृति र कथा जोगाएर राखेका थिए ?  यो कथा र संस्कृति वैदिक संस्कृतिसँग मिसियो र उपनिषद्मा लेखियो ?  वैदिक संस्कृतिको विस्तार तथा आदिवासी संस्कृतिसँगको घुलमिलको समय र उपनिषद्को रचनाकाल हेर्दा यो असम्भव देखिँदैन।

    शैवहरू वैदिकले झैं यज्ञ गर्दैनथे।शिवको आराधना गर्थे।त्यसैले पूजाका लागि उनीहरूलाई खास प्रतिमा आवश्यक पर्‍यो।सिन्धु घाटीको सभ्यताबाट आएको पशुपतिको प्रतिमा शिवका लागि उपयुक्त भयो, जो रुद्रको नाममा गंगा मैदान आइपुगेको थियो।शैवहरूले परिकल्पना गरेको सर्वशक्तिशाली ईश्वर र वैदिक देवता रुद्रबीच प्रशस्त समानता पाएपछि शैवहरूले रुद्रलाई शिवको स्वरूपका रूपमा स्वीकार गरे।यसले शैव सम्प्रदायलाई वैदिक धर्मसँग जोड्ने काम गर्‍यो।त्यसैले शैव हिन्दू धर्म अन्तर्गतको एक सम्प्रदाय बन्यो।बुद्ध वा जैनझैं अलग धर्मका रूपमा विकास भएन।वैष्णव, शैव लगायतका धेरै सम्प्रदाय हिन्दू धर्मको छातामा आइपुगे।

    बुद्धको समयभन्दा पछि भारतमा कलाको निकै ठूलो विकास भइसकेको थियो।व्यापार तथा हस्तकला उद्योगको वृद्धि, युरोपसँगको व्यापार, कृषि उपजमा वृद्धि भएका कारण सबैले कृषिमा काम गर्नैपर्ने अवस्था नहुनु, युनानीहरूको आक्रमण तथा प्रभाव आदि सबै कारणले कला क्षेत्र निकै विकास भएको थियो।त्यसै बेला शिवको मूर्ति बन्यो।यसमा कलात्मक विकास भयो।

    पार्वती-प्रणय

    हिन्दूकरण हुनुअघि आदिवासीहरूको ठूलो हिस्सा झाँक्री संस्कृति अर्थात् सामनिक धर्म मान्थे।यसको प्रभावले हिन्दू धर्ममा तन्त्रपद्धति प्रवेश गर्‍यो।सुरुमा यसलाई शैव सम्प्रदायले अभ्यास गरे र भारतभर फैलाउने काम गरे।शिवजीलाई उनीहरूले महान् तान्त्रिकका रूपमा पूजा गर्न थाले।ईशाको पहिलो शताब्दीसम्म आइपुग्दा शैव सम्प्रदाय निकै लोकप्रिय हुँदै गएको थियो।यो समयबाट राजाहरूले बुद्ध तथा जैन धर्म त्याग गरेर वैदिक धर्मलाई स्वीकार गर्ने क्रम बढ्यो।उनीहरूमध्ये कतिपयले चाहिँ वैष्णव तथा शैव धर्म स्वीकार गरे।विशेषतः पश्चिम, पश्चिमोत्तर तथा दक्षिण भारतका राजाहरूले शैव धर्म स्वीकार गरेका थिए।शैव धर्म स्वीकार गरेका राजाहरूले यसको प्रचारमा पनि जोड दिए।

    पूर्वी भारतमा केही शताब्दी अघिदेखि नै आदिवासीहरूको तीव्र हिन्दूकरण भइरहेको थियो।उडिसा, बंगाल लगायतका क्षेत्रमा वन फँडानी गरेर खेती सुरु गर्ने र रैथाने मानिसलाई हिन्दू धर्ममा भित्याउने काम सँगसँगै चलिरहेको थियो।यो काममा वैदिक हिन्दूहरू मात्र नभएर वैष्णव, शैव लगायताका सम्प्रदाय पनि लागिपरेका थिए।

    सम्भवतः यी आदिवासीमाझ मातृसत्ता प्रचलित थियो।नभए पनि, मातृशक्तिको महत्व धेरै थियो।देवी पूजन उनीहरूको संस्कृतिको महत्वपूर्ण पक्ष थियो।यहाँ देवीहरूको विभिन्न स्परूपको पूजा हुन्थ्यो।शक्ति वा दुर्गा तिनैमध्ये एक प्रमुख देवी थिइन्।मानिसहरू र धर्म एकआपसमा मिसिएपछि कथाहरू पनि एकआपसमा मिसिए।कथाका पात्रहरू एकअर्कासँग संवाद गर्न थाले।जोडी नभएका देवताका जोडी बाँधिन थाले।दाइभाइ दिदीबहिनीको साइनो लाग्न थाल्यो।कथाहरू मिसिने यही क्रममा नै पश्चिमबाट आएका शिव र पूर्वकी दुर्गाबीच मायापिरती बस्न पुग्यो।दुर्गासँगै अरू थुप्रै देवीहरू शिवसँग जोडिए।उनीहरूलाई दुर्गाकै स्वरूप मानियो।शिव-शक्ति एकअर्काका परिपूरक बने।

    शिवका सबैभन्दा रोचक प्रेमकथा पार्वतीसँगका छन्।पुराणहरूले पार्वतीलाई तिनै दुर्गाको स्वरूप वा दुर्गालाई पार्वतीको स्वरूप मानेका छन्।शिव पार्वतीका रसरंगमय प्रणय कथाहरू पुराणमा मात्र होइन, अन्य काव्यसाहित्यमा पनि उत्तिकै पाइन्छ।कालिदासको कुमारसम्भव यसको उत्कृष्ट नमुना हो।चौथो शताब्दीका कवि कालिदासले पार्वतीको रूप, शिवप्रति उनको प्रेमभाव, उनीहरूबीचको प्रणय प्रसंग र कार्तिकेय कुमारको जन्मलाई बढो रसिलो गरी प्रस्तुत गरेका छन्।प्रेम, प्रणय र युवतीको सुन्दरतालाई एउटा कविले कतिसम्म रोमान्टिक बनाउन सक्छ, कुमारसम्भव उदाहरण हो।

    खासमा कुमार कार्तिकेय दक्षिण भारतीय देवता हुन्।ईशापूर्व दोस्रो शताब्दीदेखि केही सय वर्षसम्म दक्षिण भारतमा क्रमशः हिन्दू धर्म फैलिएको थियो।अहिले पनि दक्षिण भारतमा कार्तिकेय महत्वपूर्ण देवता हुन्।उनका अलग्गै मन्दिरहरू छन्।यिनै कुमार कार्तिकेय शिव परिवारमा समावेश भए।र, शिव पार्वतीका सन्तान बन्न पुगे।यसरी ईशाको तेस्रोचौथो शताब्दीतिर आइपुग्दा शिवको विवाह सम्पन्न भएर दुई सन्तानका पितासमेत भए।पुराणमा शिव, पार्वती, कार्तिकेय कुमार र गणेशसहितको शिवको सानो र सुखी परिवार बन्यो।

     पुराणमा शिव

    शिव महिमा भएका मुख्य तीन पुराण छन्- शिव पुराण, वायु पुराण र लिङ्ग पुराण।यीमध्ये सबैभन्दा पुरानो वायु पुराण हो।यसको केही अंश ईशापूर्व दोस्रो शताब्दीतिरै रचना भएको मानिन्छ।र, चौथोपाँचा्रै शताब्दीसम्ममा यसको रचना पूर्ण भएको मानिन्छ।यसपछि पनि विभिन्न समयमा यसमा परिमार्जन भइरहेको पाइन्छ।शिव-महिमा भएको लिंग पुराण दसौं शताब्दीतिरको हो, अर्थात् आजभन्दा हजार वर्ष पुरानो।शिव पुराण पनि यही कालखण्डको हो।तर, सत्रौं-अठारौं शताब्दीसम्म पनि यी पुराणमा संशोधन भइरहयो।शिवको कथामा पनि संशोधन भइरहयो।

    यी पुराणहरूले शिवका अनेक स्वरूप, अनेक कथा, अनेक किंवदन्तीलाई सिलसिलेवर रूपमा जोड्ने काम गरे।यिनै पुराणले आज हामीले कल्पना गर्नेजस्तो शिवको स्वरूप निर्माण गर्ने काम गरे।यो कालखण्डमा शिवका मन्दिर र मूर्ति पनि उत्तिकै बने।

     समर सिंह : आधुनिक शिव स्वरूप

    अहिले हामीमध्ये धेरैको आँखामा फ्याट्ट आउने शिवको स्वरूप र अनुहारचाहिँ नयाँ हो।सन् १९९७ मा विकास कपुरमा निर्देशनमा ‘ओम नम : शिवाय’ नामक टेलिशृंखला बन्यो।सुरुमा दूरदर्शनबाट प्रसारण भएको यो शृंखला नेपाल टेलिभिजनले समेत प्रसारण गर्‍यो।यसमा शिवको भूमिका समर सिंहले निर्वाह गरेका थिए।आज समर सिंहको त्यही स्वरूपमा हामी शिवको कल्पना गर्छौं।त्यो शृंखलामा पार्वतीको भूमिकामा गायत्री शास्त्री थिइन्।

    शिव-सन्देश

    यसरी करिब चार हजार वर्षभन्दा लामो इतिहासबाट शिवको आजको स्वरूप बनेको छ।प्रोटो शिवबाट सुरु भएको शिवको जीवनकथा अहिले समरसिंहसम्म आइपुगेको छ।अनेक देवताका र कथाको संगमबाट आजका शिव बनेका हुन्।शिवको जीवनकथाले हाम्रो समाजमा कोही कसैको संस्कृति  श्रेष्ठ र कसैको नीच छैन भन्ने बुझाउँछ।कुनै संस्कृति शुद्ध वा अशुद्ध छैन, हामीले हाम्रा संस्कृति एकअर्कासँग हाम्रा ज्ञान, कथा, पीडा, पसिना साटेर निर्माण गरेका हौं।कुनै रगत आज शुद्ध वा अशुद्ध छैन, हामी सबै एकअर्कासँग मिसिएर बनेका हौं।शिवको जीवनकथाको सन्देश हो, सामाजिक सहअस्तित्व र आदिवासी संस्कृतिको सम्मान गर, महत्व देऊ।-अन्नपूर्ण पोस्ट

    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      nepal_readers

      nepal_readers

      नेपाल रिडर्स सार्वजनिक नीतिहरु र मुद्दाहरुबारे निरन्तर छलफल–विचार विमर्श गर्ने विद्युतीय मञ्च हो।

      Related Posts

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      के एआई एजेन्टहरू मार्क्सवादी बन्दैछन् ?

      nepal_readers
      जेष्ठ ५, २०८३

      कृत्रिम बुद्धिमत्ता (एआई) ले मानवको रोजगारी खोस्ने बहस विश्वभर चर्किरहेका बेला हालै गरिएको एक अध्ययनले अनौठो तथा रोचक निष्कर्ष सार्वजनिक...

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.