Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
Saturday, May 2, 2026
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
  • लग - इन
  • दर्ता गर्नुहोस्
Nepal Readers
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थतन्त्र
  • विश्व
  • अन्तर्वार्ता
  • . . .
    • रिडर्स डिस्कोर्स
    • मल्टिमिडिया
    • ब्लग
    • साहित्य
    • पुस्तक
    • प्रवासी नेपाली
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्
Nepal Readers
नतिजा छैन
सबै नतिजा हेर्नुहोस्

कात्रो : प्रेमचन्द

आकाश तर्फ हेर्दै माधव भन्छ, “बैकुण्ठ जान्छे ऊ । बैकुण्ठकी रानी बन्छे ।” घीसू उठ्छ र उल्लासको लहरमा तैरिंदै भन्छ, “हो छोरा । बैकुण्ठ जान्छे । न कसैलाई कहिले सताई न कसैलाई कहिले दबाई । मर्दा पनि हाम्रो जिन्दगीको सबैभन्दा ठूलो लालसा पुरा गरेर गई । ऊ नगए को जान्छ बैकुण्ठ ? गरीबलाई दुवै हातले लुटेर कमाएका मोटामोटा सेठ जान्छन् ऊ नगए ?”

सहयोगीबाट सहयोगीबाट
असार २२, २०७८
- यो हप्ता, साहित्य
A A
0
  •  shares
  • Facebook
  • Twitter
  • WhatsApp
  • Gmail
  • Viber
  • Messenger

    यो कथाका मूल पात्र हुन्— घिसु, माधव र बुधिया । घिसु बाबुको नाम हो—अन्दाजी ६० वर्ष; माधवः छोरोको नाम— अन्दाजी २५ वर्ष, उसको एक वर्षअघि बिहे भएको हुन्छ—जोईको नाम बुधिया।

    घिसु र माधव दलित, उत्पीडित जातिका हुँदाहुँदै पनि निर्घिनी, अल्छीको पिण्ड र कामचोरको रुपमा बदनाम भएका हुन्छन् ! ती कामचोरमात्र होइनन्, साँच्चीका चोर पनि नहुन सक्तैनन्— अरुको खेतबारीमा फलेका आलु-टमाटर आदि चोरेर छाक टार्छन्। यिनको घरमा माटोको भाडो सिबाय केही हुँदैन, तैपनि ती आराम गर्न चाहन्छन्। कथाको पृष्ठभूमि किसानहरूको गाउँ हो, कामको कमी हुँदैन तर ती दुईलाई सकेसम्म कसैले पनि काम लगाउँदैनन् किनभने घिसु एक दिन काम गरेपछि तीन दिन आराम गर्छ; माधव आधा घण्टा काम गरेपछि एकघण्टा चिलम तानेर बिताउँछ। घरमा दुई छाक अन्न बचेको बेला ती काममा जाँदैननन्। गाउँलेहरूले अरु कामदार नपाउँदा मात्र यिनलाई काम लगाउँछन्। तैपनि हुनेखानेले यिनलाई कहिलेकहीं बाध्य भएर ऋण दिन्छन्। यिनको टाउकोमा ऋणको गह्रौं बोझ हुन्छ, तर तिनले आफू ऋणी बनेको महसुस नै गर्दैनन्।

    प्रेमचंदले ‘कात्रो’ कथालाई मानवीय पतन’को ब्यङ्ग्यको रुपमा प्रस्तुत गरेका छन् भने बाबुछोराको चरित्रलाई सामाजिक फोहोरको रुपमा वर्णन गरिएको छ। सायद, भारत बृटिश-उपनिवेशबाट मुक्त नहुँदासम्म इन्डियन दलितहरूको मानसिकता घिसु र माधवको जस्तै थियो कि? तर यस्ता छुद्र र अति निकृष्ट चरित्रका मानिस आज पनि पृथ्वीका धेरै कुनामा भेटिँदैनन् र ?

    प्रेमचंदले त्यो समाजप्रति ठूलो व्यङ्ग्य गरेका छन् जो बुधिया जीवित छँदा, प्रसव बेदनाले छटपटाइरहँदा मद्दत गर्न आउँदैनन्, तर ऊ मरेपछि कात्रो किन्न र कृयाकर्म गर्न सहयोग गर्छन्। यसबाट के बुझिन्छ भने पतनोन्मुख समाजमा मान्छेभन्दा परंपरागत रीतिरिवाज बढी महत्वपूर्ण हुन्छन्। (टिप्पणी : प्रेरक कथा)

    कथा

    कथाकार मुन्सी प्रेमचन

    जाडोयामको रात छ। सारा गाउँ अन्धकारमा लीन छ । झुपडीको ढोकैमा बाउ छोरा निभ्न लागेको आगो तापेर चुपचाप बसेका छन्। भित्र छोरो चाहींकी जवान श्रीमती बुधिया प्रशव पीडाले छटपटाइरहेकी छ । बेलाबेला उसको मुखबाट निस्किने आर्तनादले बाहिर बसेका बाउछोरालाई स्तब्ध बनाइरहेको छ।

    यस्तैमा बाउ घीसू छोरोलाई भन्छ, “माधव, बिचरी बाँच्छे जस्तो छैन । दिनभर त दौडेरै बिताइस् । जा, एकपल्ट हेरेर आइज।”

    माधव रिसाउँदै बाउलाई जवाफ फर्काउँछ, “मर्नै छ भने बरु छिटै किन मर्दिन ? मैले हेरेर आउँदैमा के नै हुने हो र?”

    “कस्तो निष्ठुरी हुन सकेको तँ ? वर्ष दिन जोसँग सुख चैनका साथ बसिस्, उसैको लागि तेरो मनमा रत्ति दया छैन!”

    “सुख चैनसँग बसेको थिएँ त्यही भएर त उसको यो तड्पाई देख्न नसकेको हुँ!”

    चमारहरुको यो परिवार सारा गाउँमा बदनाम हुन्छ । बाउ घिसूलाई एक दिन काम गर्दा तीन दिन आराम गर्नु पर्ने । छोरो माधव झन् यस्तो काम चोर, आधा घण्टा काम गर्यो भने पूरा घण्टा चिलिम तान्दै बसी दिने । त्यसैले यी बाउछोरालाई हतपत कसैले मजदुरीमा लगाउन चाहँदैन थिए । घरमा मुठ्ठी-भर अन्न हुँदासम्म त यी काम गर्ने नामै लिंदैन थिए । दुईचार दिन भोकै बस्नु परेपछि बल्ल घीसू कुनै रुख चढी दाउरा काटेर ल्याउँथ्यो । माधव त्यही दाउरा बजार लगी बेचेर आउँथ्यो । यसरी बनाएको पैसा रहुञ्जेल यी बाउछोरा मस्त घुम्दै बस्थे । खेती किसानी गर्नेहरुको गाउँ भएको हुनाले कामको कमी हुन्थेन, मिहिनेती मान्छेका लागि गाउँमा जुनसुकै बेला विभिन्न काम उपलब्ध हुन्थ्यो। यी दुई बाउछोरालाई भने तब मात्र मजदुरीका लागि बोलाइन्थ्यो, जब दुई जनालाई काममा लगाएर एक मजदुर बराबरको काम पूरा हुँदा पनि सन्तोष गर्नुपर्ने अवस्था सिर्जना भएको हुन्थ्यो।

    केही गरी साधु भएका भए सन्तोष र धैर्य, संयम र नियमको अभ्यास गर्नुपर्ने आवश्यकता नै पर्दैन थियो, यी बाउ छोरालाई। त्यो सबै त यिनको प्रकृतिमै थियो। अचम्मको जीवन थियो यिनीहरुको। घरमा माटाको दुई चार वटा भाँडा सिवाय केही सम्पति थिएन। लाज मात्र ढाक्ने जस्ता फाटेका कपडा लगाउँथे। संसारका चिन्ताबाट मुक्त, ऋणको बोझले थिचिएका। गाली, कुटाइ सबै पचाइसकेका। यिनको दीनता देखेर वसुल होला कुनै दिन भन्ने आसै नहुँदा पनि मान्छेहरु यिनलाई कहिलेकाहीं ऋण दिने गर्थे। कहिलेकाहीं बाउछोरा मिलेर अरुको खेतबाट मटर, आलू आदि उखेलेर ल्याउँथे र त्यही खान्थे। कहिले त्यसैगरी अर्काको खेतबाट ऊखु चोरेर ल्याउँथे र रातभर त्यही चुसेर बस्थे। घीसूले त यसरी नै साठी वर्षको जिन्दगी बिताइसकेको थियो। छोरो माधव कम किन हुन्थ्यो, सुपुत्र हुनुको प्रमाण दिंदै ऊ पनि बाउकै पदचिह्नमा आफ्नो जीवन बिताउन उद्यत थियो। अहिले पनि बाउछोरा आगोको अघिल्तिर बसेर कसैको खेतबाट चोरेर ल्याएको आलु पोल्दै थिए। घीसूकी बूढीको त देहान्त भएको निकै भइसकेको थियो।

    माधवको विवाह भने पछिल्लो वर्ष मात्र भएको थियो। जबदेखि माधवकी बूढी घरमा आएकी थिई, यी दुवैको लथालिङ्ग जीवन केही व्यवस्थित भएको थियो। बिचरी कहिले कसैका लागि घाँस काटेर त कहिले कसैको अन्न कुटिदिएर थोरैतिनो अन्नको व्यवस्था गर्थी र निकम्मा बाउछोरालाई पकाएर खुवाउँथी। ऊ घरमा आएदेखि त यी दुई बाउछोरा झनै कामचोर र अलमस्त भएका थिए। कसैले मजदुरीका लागी बोलाउँदा दुईगुणा मजदुरी माग्न थालेका थिए। त्यही स्त्री जसले यिनलाई चैनका यी दिन देखाई, आज प्रशव वेदनाले मर्दै थिई र यी दुई भने कहिले मर्ली र आरामले सुतौंला भनेर पर्खी बसेका थिए।

    भुंग्रोबाट आलू निकालेर ताछ्दै घीसू भन्छ, “जा भित्र गएर हेर् एकपल्ट ! धामी बोलाउनु पर्यो भने बेकारमा एक रुपैयाँ खर्च हुन्छ। कहाँबाट ल्याउनु तेत्रो?”

    आफू भित्र गएँ भने बाउ एक्लैले सबै आलु खाइदेला भन्ने डरले माधव भन्छ, “जान्नँ। मलाई डर लाग्छ एक्लै भित्र जान।”

    “के को डर ? म छँदै छु नि यहाँ!”

    “आफैँ गएर हेर न त बूढा, खुबै त्यस्तो चिन्ता लागेको भए!”

    “मेरी बूढी मर्दा तीन दिनसम्म उसको छेवैमा बसिरहेँ । तेरी बूढी हो, तँ जा । जसको मुखै राम्रोसँग हेरेको छैन मैले, आज यो अवस्थामा उसलाई कसरी हेर्नु ? मलाई देखेर त बिचरी सङ्कोचले कराउन पनि नसक्ली!”

    “सोच्दैछु, केही गरी बच्चा जन्माइहाली भने पो के गर्ने ? घरमा त अदुवा, चिनी, तेल केही छैन !”

    “भगवानले दिन्छन् । सबै आफैँ आउँछ । जो अहिले एक पैसा दिइरहेका छैनन्, तिनै मान्छेले बोलाई बोलाई दिन्छन् । चिन्ता नगर् ! मसँग के थियो ? नौ सन्तान पार लगाएँ मैले ! भगवानले हेर्छन्, बुझिस्?”

    जुन समाजमा दिन-रात नभनी मिहिनेत गर्नेहरुको हालत पनि उनीहरुको भन्दा कुनै गतिलो थिएन, जुन समाजमा मिहिनेती किसानहरु भन्दा किसानहरुमाथि हैकम चलाउने वर्ग ज्यादा सम्पन्न थियो, त्यहाँ घिसूको जस्तो मनोवृत्ति जन्मनु नौलो कुरा हैन । बरु घिसूलाई किसानहरुभन्दा धेरै विचारवान् मान्न सकिन्छ । कम-से-कम किसानहरुले झैं उसले ज्यान दिएर मिहिनेत गर्नु पर्दैन थियो, कमसेकम उसको सरलता र निरीहताको कसैले अनावश्यक फाइदा उठाउन पाउँदैन थियो।

    भुंग्रोबाट निकालेको तात्तातो आलु खान थाल्छन् उनीहरु । हिजोबाट केही खाएका छैनन्, त्यसैले आलु सेलाउन्जेल पर्खिने धैर्य दुवैमा छैन। जिब्रो पोल्छ, तालुको छाला खुइलिन्छ । त्यसैले आलु मुखमा नराखी सुलुत्त निल्छन् । घीसू आफू बीस वर्षअघि गएको ठाकुरको जन्ती सम्झिन थाल्छ। त्यहाँ खाएको भोज र त्यसले दिएको तृप्ति उसको जीवनकै सम्झनायोग्य घटनाहरुमा पर्छ । आजसम्म उत्तिकै ताजा याद माधवलाई सुनाउँदै ऊ भन्छ, “त्यो भोज म कहिले बिर्सिन्नँ । त्यहाँ खाएको जस्तरी अन्यत्र कहिले खान पाएकै छैन । केटी पट्टिकाले सबै जन्तीलाई घिउमा पकाएको पुरी खुवाएका थिए। साथमा चटनी, रायता, तीन किसिमका साग, झोल तरकारी, दही, मिठाई । कुनै रोकटोक छैन, जे माग । जती खाऊ । सबैले पेटमा पानीसमेत नअटाउने गरी खाए । अघाइसक्दा पनि तात्तातो कचौडी पस्किन ल्याउने । भयो, अघाएँ भन्दै हातले छेक्दा पनि जबरजस्ती हाल्दिने । खाइसकेर मुख धोएपछि पान-सुकुमेल लिएर आए । म त उठ्नै सकिरहेको थिइनँ । कहाँबाट पेटमा पान सुकुमेल अटाउनु ! म त झटपट घर आएर कम्बल ओढेर सुतेको थिएँ।”

    बाउले बखान गरेका खाद्यपदार्थको मनमनै मजा लिंदै माधव भन्छ, “अब त कसले खुवाओस् त्यस्तो भोज!”

    “अब कहाँ खुवाउँछन् त । त्यो त जमानै अर्को थियो । अचेल त सबैलाई किफायतीको चिन्ता छ । न विवाहमा खर्च गर्छन् न किरियाकर्ममा । गरीबलाई लुटेर कमाएको धन के गर्छन् खै?”

    “बा, तिमीले त बीस वटा पुरी खायौ होला है?”

    “बीस भन्दा बढी खाएको थिएँ।”

    “म भएको भए पचास वटा खान्थेँ होला!”

    “पचास भन्दा कम त मैले पनि खाइनँ होला।”

    आलू खाएपछि उनीहरु पानी पिउँछन्। त्यहीँ भुंग्रोकै छेउमा आ-आफ्नो धोती ओढेर गुडुल्किएर सुत्छन् । भित्र बुधिया कराई नै रहेकी हुन्छे।

    बिहान सबेरै माधव भित्र गएर हेर्छ। उसकी बूढीको शरीर चिसो भइसकेको हुन्छ । उसको मुखमा झिंगा भन्किरहेका हुन्छन् । ढुङ्गा जस्तो जड भएका आँखा माथि टोलाइरहेका हुन्छन् । उसको सारा शरीर धुलाम्य भएको हुन्छ । पेटको बच्चा पनि पेटमै मरिसकेको हुन्छ। ऊ दौडेर बाहिर आई घीसूलाई सबै बेलीबिस्तार लगाउँछ। दुवै जोड जोडले छाती पिट्दै रुन थाल्छन् । एकाबिहानै यो सुनेर जम्मा भएका गाउँलेहरु उनीहरुलाई सम्झाई बुझाई गर्न थाल्छन् । रोइकराई गरेर मात्र के गर्नु ! लाश बेर्न कात्रो, जलाउन काठ आदिको व्यवस्था गर्नै पर्यो । उनीहरुसँग त त्यसका लागि एक पैसा हुँदैन । दुवै रुँदै कराउँदै जमिन्दारकहाँ पुग्छन् । चोरीको आरोपमा, समयमा काम पूरा नगरेको आरोपमा आफैंले कैयौंपल्ट कुटिसकेको यी बाउछोरालाई जमिन्दार किन पो मन पराउन् ? रिसाउँदै उनी घीसूलाई सोध्छन्, “के हो घिसुवा, गाउँमा बस्न मन छैन जस्तो छ तँलाई । देखिनै छाडिस् त हिजोआज।”

    भुइँमा टाउको राखुँलाझैँ गर्दै आँखाभरि आँसु पारेर घीसू भन्छ, “सरकार ! निकै ठूलो विपत्तिमा छु । माधवकी बूढी मरी ।रातभर तड्पिएर मरी । हामी बाउछोरा उसको सिरानीमै बसीरह्यौं, सकेको औषधी गर्यौं । आइमाईले अन्त्यमा धोका दिएर गई सरकार । हामी त बरबाद भयौं सरकार । जे जति थियो, सबै त्यसको औषधि-उपचारमा सकियो । अब त लाश उठाउनेसम्म पैसा छैन सरकार । त्यसैले तपाईंको द्वारमा आएको हुँ । अन्त कहाँ पो जाउँ र हजुर!”

    त्यसो त जमीन्दार दयालु स्वभावका हुन्छन् तर घीसूको स्वभाव उनलाई थाहा नभएको पनि त हैन । मन त लागेको छ, घीसूलाई फट्कारेर पठाउन, तर परिस्थितिको बोध गर्दै केवल मनमनै रिसाउँछन् र ऊतिर हेर्दै नहेरी दुई रुपैयाँ फ्याल्दिन्छन् । जमिन्दारले नै पैसा दिइसकेपछि अरुले नदिउन् कसरी ? जमिन्दारको नामको डंका बजाउँदै घीसू गाउँका सबैसँग पैसा उठाउन थाल्छ । कसैले दुई आना त कसैले चार आना दिन्छन् । एकघण्टाभित्र घीसूले पाँच रुपैयाँ जम्मा गर्छ । साथै कसैले अनाज दिएका छन् त कसैले दाउरा । दिउँसोतिर बाउछोरा कात्रो किन्न बजारतिर लाग्छन् । केही गाउँले बाँस काट्न थाल्छन् । गाउँका आइमाई एक-एक गर्दै घरमा लास हेर्न आउँछन्, तप्प दुई थोपा आँसु चुहाएर जान्छन्।

    बजार पुगिसकेर घीसू माधवलाई सोध्छ, “दाउरा त जलाउन पुग्ने जति जम्मा भएकै छ हैन माधव?”

    माधव भन्छ, “दाउरा त पुग्दो छ । कात्रो किने पुग्छ।”

    “जाउँ उसोभए एउटा सस्तो कात्रो किनेर ल्याउँ।”

    “हो त। लास उठाउँदासम्म रात परिसकेको हुन्छ। कसैले देख्ने हैनन्, जस्तो कात्रो लगे पनि के फरक पर्छ र!”

    “कस्तो नराम्रो चलन हो यो, जसले बाँचुन्जेल मुस्किलले तन ढाक्ने कपडा पाई, उसलाई मरेपछि नयाँ कात्रो चाहिने!”

    “त्यही कात्रो पनि लाससँगै जलाउनु पर्ने!”

    “यही पाँच रुपैयाँ पहिले नै पाएको भए औषधि खुवाउन त हुन्थ्यो त्यसलाई!”

    दुवै यसरी एकअर्काको मन चोरिरहेका हुन्छन् । बजारमा यताउता घुम्ने क्रममै साँझ पर्छ । अनेक पसल चहार्छन्, कहिले रेशमको कात्रो हेर्छन् त कहिले सुतीको । चित्त केही गरे बुझ्दैन । अन्त्यमा कहाँकताबाट दुवै एउटा रक्सी भट्टीअघि पुग्छन् । योजना नै गरे जसरी भट्टीभित्र छिर्छन् र केहीबेर अप्ठ्यारो मानेर उभिइरहन्छन् । अन्त्यमा घीसूले साहुलाई भन्छ, “साहुजी, एक बोतल हामीलाई पनि दिनुहोस्।”

    केहीबेरमा सितन आउँछ, तारेका माछा । दुवै भुइँमा बसेर आनन्दले खान पिउन थाल्छन् । मातेर रमरम भएपछि घीसू भन्न थाल्छ, “कात्रो किनेको भए पनि के हुन्थ्यो ? आगोमा जल्थ्यो । बुहारीले लाउन त पाउने थिइन क्यारे!”

    आकाशतर्फ हेरी देवताहरुलाई आफ्नो निष्पापताको साक्षी बनाउँदै माधव थप्छ, “बेकारमा बाहुनहरुलाई किन हजारौं रुपैयाँ दान गर्दा हुन् मान्छे ? आखिर परलोक देखेकै कसले पो छ र?”

    “धन हुनेले जसरी उडाउनु छ उडाऊन् पैसा। के फरक पर्छ र ! हामीसँग छैन, उडाउँदैनौं।”

    “तर मान्छेहरुलाई के उत्तर दिने ? कात्रो खै ल्यायौ भनेर पक्कै सोध्छन्, के भन्ने ?”

    घीसू हाँस्छ, “भनिदिउँला पटुकामा राखेको थिएँ, झरेछ कतै। धेरै खोज्यौं, फेला परेन । पत्याउँदैनन् कसैले तर फेरि सबै मिलेर पैसा जम्मा गरीदिन्छन् । चिन्ता नगर् !”

    यो अनपेक्षित सौभाग्य सम्झेर माधव पनि खुसीको हाँसो हाँस्छ । भन्छ, “बिचरी। मर्दा पनि यति खुवाई पियाई गरेर मरी ।”

    आधा बोतल सकिन्छ यसैगरी । साथमा अचार, भुटेको कलेजो र अनेकथरी सितन । भट्टीको सामुन्नेमै एउटा मिठाई दोकान हुन्छ । घीसू माधवलाई त्यहाँबाट पुरी लिएर आउन लगाउँछ । पुरीमा मात्र डेढ रुपैयाँ खर्च हुन्छ । अब उनीहरुसँग थोरै पैसा मात्र बाँकी रहेको हुन्छ । दुवै शानसँग पुरी खाँदै हुन्छन् । मानौं जङ्गलमा कुनै सिंह आफ्नो शिकार उडाइरहेको होस् । न जवाफदेहीको चिन्ता न बदनामीको डर । यस्ता भावनालाई त बाउछोराले जमानामै जितिसकेका हुन्छन् । घीसू दार्शनिक भावमा भन्छ, “हाम्रो आत्मा प्रसन्न छ । यसको पुण्य पक्कै पाउँछे त्यसले ।”

    श्रद्धाले सिर झुकाउँदै माधव थप्छ, “पक्कै पाउँछे। भगवान्, तिमी अन्तर्यामी छौ। हामी हृदयबाट उसलाई आशीर्वाद दिन्छौं। कृपा गरेर उसलाई बैकुण्ठ लोक लैजाऊ । आजको जस्तो भोजन हामीले जीवनमा कहिले खान पाएका थिएनौं।”

    अर्को क्षण माधवको मनमा एउटा शंका उत्पन्न हुन्छ । ऊ सोध्छ, “बाउ, एक दिन हामी पनि त्यहीँ जान्छौँ हैन ?”

    व्यर्थमा परलोकको कुरा सोचेर घीसू यो आनन्दमा खलल पुर्याउन चाहँदैन । त्यसैले माधवको शंकाको उसले बेवास्ता गर्छ । यद्यपि माधवले आफ्नो शंका व्यक्त गरेरै छाड्छ ।

    “मलाई कात्रो किन नकिन्देका भनेर हामीलाई सोधी भने के उत्तर दिने?”

    “भनिदिउँला तेरो टाउको !”

    “पक्कै सोध्छे बाउ।”

    “कात्रो पाउँदिन त्यसले भन्ने चाहिँ कसरी सोचिस् ? पक्कै पाउँछे । हेर्दै गर् । कपाल घाममा सेता भएका हैनन् मेरा । कात्रो पाउँछे र निकै राम्रो पाउँछे !”

    माधव पत्याउँदैन । फेरि सोध्छ, “कसले दिन्छ कात्रो ? पैसा त सबै तिमीले सिध्यायौ। तिमीलाई त किन सोध्छे र, मलाई त सोध्छे नि । सिन्दुर त मैले हालेको हुँ त्यसलाई ।”

    “कसले दिन्छ कात्रो ? किन उत्तर दिंदैनौ बाउ?”

    “जसले पहिले दिएका थिए, तिनैले फेरि दिन्छन् । अबको पालि पैसा भने हाम्रो हात पर्दैन ।”

    अँध्यारो बढ्दै जाँदा, आकाशमा ताराहरुको चमक बढ्दै जाँदा भट्टीको रौनक बढ्दै जान्छ । कोही गीत गाउन थाल्छन्, त कोही अनेक डिङ हाँक्न थाल्छन् । कोही छेउको आफ्नो साथीलाई अँगालो हाल्छन् त कोही साथीलाई आफ्नै हातले पिलाउन थाल्छन् । भट्टीको वातावरण नै त्यस्तै । त्यहाँको हावामै नशा । रक्सी भन्दा बढी मादक त त्यहाँको हावा नै हुन्छ भन्दा अतिशयोक्ति नहोला । जीवनका बाधाले त्यहाँ पुगेकाहरु त्यसैले त केहीबेरलाई सबै बिर्सिन्छिन् । यी बाउछोरा पनि सबै बिर्सिएर चुस्कीको मजा लिइरहेका हुन्छन् । सबैका नजर यिनै बाउछोरामा टिकेको हुन्छ । दुवै कति भाग्यमानी ! पूरा बोतल साथमा लिएर बसेका । भरपेट खाएर माधव बचेका पुरी एउटा भिखारीलाई दिएर आउँछ । अघिदेखि भोको आँखाले आफूहरुतिर हेरिरहेको यो भिखारीलाई दिन पाउँदा दिनुको आनन्द, गौरव र उल्लास माधवले पहिलो पल्ट महसूस गर्न पाउँछ ।

    घीसू भिखारीलाई भन्छ, “खूब खा र आशीर्वाद दे । जसको कमाइ हो ऊ त मरेर गई । तेरो आशीर्वाद ऊसम्म पक्कै पुग्छ । कण कणले आशीर्वाद दे ।”

    आकाश तर्फ हेर्दै माधव भन्छ, “बैकुण्ठ जान्छे ऊ । बैकुण्ठकी रानी बन्छे ।”

    घीसू उठ्छ र उल्लासको लहरमा तैरिंदै भन्छ, “हो छोरा । बैकुण्ठ जान्छे । न कसैलाई कहिले सताई न कसैलाई कहिले दबाई । मर्दा पनि हाम्रो जिन्दगीको सबैभन्दा ठूलो लालसा पुरा गरेर गई । ऊ नगए को जान्छ बैकुण्ठ ? गरीबलाई दुवै हातले लुटेर कमाएका मोटामोटा सेठ जान्छन् ऊ नगए ?”

    अस्थिरता नशाको विशेषता हो । एकैक्षणमा उनीहरुको उल्लास दु:ख र निराशामा परिणत हुन्छ ।

    माधव भन्छ, “बिचरी, बडो दुःख पाएर मरी।”

    दुवै हातले आँखा छोपेर ऊ रुन थाल्छ।

    उसलाई सम्झाउँदै घीसू भन्छ, “छोरा, खुसी हो । मायाजालबाट मुक्त भएर गई । यो जन्जालबाट मुक्त भएर गई । बडो भाग्यमानी रहिछे।”

    दुवै उभिएर गाउन थाल्छन् । भट्टीका अन्य पियक्कड़ अघिदेखि यिनैलाई हेरिरहेका हुन्छन् । यी दुई भने त्यसको परवाह नगरी मस्तीका साथ गाउँछन्, नाच्छन्, उफ्रिन्छन्। अन्त्यमा नशामा धुत्त भएर त्यहीं ढल्छन्।

    *(द्रष्टव्यः धनपत राइ श्रीवास्तव “प्रेमचंद”को अन्तिम कथा हो—’कात्रो’ (२०३५)। उनी उर्दू र हिन्दी आख्यान परंपराका पिता मानिन्छन्। अनुवादः अनुपम पोखरेल/साहित्यपोस्ट )
    •  shares
    • Facebook
    • Twitter
    • WhatsApp
    • Gmail
    • Viber
    • Messenger
      सहयोगीबाट

      सहयोगीबाट

      Related Posts

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      हामीलाई यसरी लपेट्यो भ्रष्टाचारले

      तीर्थ कोइराला
      साउन ४, २०८२

      विश्वमा देहव्यापारको शुरुवात इसा पूर्व २४ सय वर्ष अगाडि भएको इतिहासमा उल्लेख गरिए पनि जब समाजमा परिवार र विवाहको प्रारम्भ...

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      जेष्ठ वामहरुको पोखरा भेलाबारे रामबहादुर भण्डारीको अनुभूति

      रामबहादुर भण्डारी 'आर. बी'
      पुस १, २०८१

      संसारमा जेष्ठ तथा वामहरुको बारेमा अलगै धारणाहरु भएतापनि हाम्रो देशमा बोलिचाली र कतिपय कानूनी रुपमा समेत उमेरले ७० पुगेका र...

      घुस नखाने पार्टी समाजवादको सर्त

      घुस नखाने पार्टी समाजवादको सर्त

      घनश्याम भूसाल
      साउन ८, २०८१

      डा. बाबुराम भट्टराईबारे लेखिएको पुस्तक 'बाबुराम : अ भिजीनरी रेबेल' सबै पढिसक्दा पुस्तकको शिर्षकले न्याय पाउन सकेन जस्तो लाग्छ ।...

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      चीनले सिलिकन भ्यालीलाई कसरी प्रयोग गरिरहेको छ

      जेकोब ड्रेयर
      असार २७, २०८१

      १६ औं शताब्दीसम्म, चीन दुनियाको प्रविधिजगतमा सबैभन्दा बढी विकसित थियो। जुनबेला यूरोपमा कुलीन वर्गको शासन थियो, त्यसबेला चीनका प्रबुद्ध वर्गले...

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      प्यालेष्टाइन–इजरायल द्वन्द्वको वास्तविकता

      रामराज रेग्मी
      असार १२, २०८१

      यही वर्ष २०२४ को गत ७ अक्टोवरमा प्यालेष्टाइनी लडाकू समुह हमासले इजरायलमा गरेको सशस्त्र हमलामा परी १० जना नेपाली विद्यार्थीको...

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      जो लुट्छ देश मेरो त्यै बन्छ राष्ट्र नेता, सच्चा इमानी मान्छे रेटिन्छ छानी-छानी (गजल)

      दिपकराज घिमिरे
      जेष्ठ २६, २०८१

      जे माग्छ देश मेरो त्यो ल्याउनै छ बाँकी यौटा नयाँ बिहानी झुल्काउनै छ बाँकी फाँडेर झाडी वन्को काँडे बुट्ट्यान मास्दै...

      Leave a Reply Cancel reply

      Your email address will not be published. Required fields are marked *

      सिफारिस

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?
      विचार

      के लोकतन्त्रमा धर्म मिसाउन सकिन्छ ?

      प्रा. चैतन्य मिश्र
      मंसिर ६, २०८०

      थप पढ्नुहोस्Details
      महङ्गीबारे रहस्यमय मौनता
      समाज

      महङ्गीबारे रहस्यमय मौनता

      नरेश ज्ञवाली
      कार्तिक १४, २०८०

      थप पढ्नुहोस्Details
      भारतीय समाजको नाजीकरण भइसक्यो!
      विचार

      भारतीय समाजको नाजीकरण भइसक्यो!

      अरुन्धती रोय
      कार्तिक ११, २०८०

      थप पढ्नुहोस्Details
      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!
      विचार

      भविष्य निर्माणका लागि आजै एकजुट होऊँ!

      नालेदी पान्दोर
      कार्तिक १०, २०८०

      थप पढ्नुहोस्Details

      सामाजिक सञ्जालमा पुग्नुहोस्

      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • हाम्रो बारे

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

      Welcome Back!

      गुगल मार्फत साइन इन गर्नुहोस्
      Sign In with Linked In
      वा

      Login to your account below

      Forgotten Password? Sign Up

      Create New Account!

      गुगल मार्फत साइन अप गर्नुहोस्
      Sign Up with Linked In
      वा

      Fill the forms bellow to register

      All fields are required. Log In

      Retrieve your password

      Please enter your username or email address to reset your password.

      Log In

      Add New Playlist

      नतिजा छैन
      सबै नतिजा हेर्नुहोस्
      • राजनीति
      • समाज
      • अर्थतन्त्र
      • विश्व
      • प्रवासी नेपाली
      • रिडर्स डिस्कोर्स
      • अन्तर्वार्ता
      • मल्टिमिडिया
      • ब्लग

      © 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.