विष्णु पौडेलको राजनीति धरापमा: शंकर पोखरेलले मारे बाजी

प्रदेश नम्बर ५ को राजधानी वुटवलबाट दाङको भालुवाङ सार्ने निर्णयले अहिले वुटवल तनावग्रस्त छ । प्रतिपक्षी नेपाली कांग्रेसका भातृ संगठनहरु आगजनीमा उत्रिएका छन् भने नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु नेकपा महासचिव विष्णु पौडेल विरुद्ध सामाजिक संजालमा खनिएका छन् । बुटवललाई राजधानी बनाउने पूर्व योजनाबाट पछि हटेर मतदातालाई धोका दिएको मात्र हैन महासचिवले अर्थमन्त्री पदसँग प्रदेशको राजधानी सारेर चरम अवसरवादी चरित्र देखाएकोसम्मका आरोप कार्यकर्ताहरुले खुलेआम लगाइरहेका छन् । बहुमत सदस्य भएको नेकपा भित्रकै १४ जना सांसदहरुले पार्टीको ह्विपका विरुद्ध वक्तव्य नै जारी गरेर विरोध जनाइसकेका छन् ।

अर्कोतिर दाङमा कांग्रेसकै नेता कार्यकर्ताहरु दिपावली मनाइरहेकाछन् भने शंकर पोखरेलले पश्चिमलाई न्याय गरेको भनेर मुख्यमन्त्री शंकर पोखरेलको जयगान शुरु भइसकेको छ । रुपन्देही, कपिलवस्तु र पाल्पाका स्थानीय जनप्रतिनिधिहरुले पनि प्रदेश राजधानी दाङ लैजाने कुराको वक्तव्य निकालेर विरोध गरेका छन् ।

माओवादी र कांग्रेसले बुटवल छोडेर अन्यत्र राजधानी राख्ने प्रयास गरिरहँदा सबैभन्दा अघिल्लो मोर्चामा कार्यकर्तालाई मैदानमा उतार्ने काम गरेर हिरो भएका थिए विष्णु पौडेल । निर्वाचनमा वुटवललाई प्रदेशको राजधानी बनाउने एजेण्डाले नेपाल कम्युनिष्ट पार्टीलाई चुनाव जित्न सहयोगपनि गर्यो । रुपन्देहीमा जग्गाको भाउ हातबाट बित्तामा झर्ने स्थिति भयो । प्लटिङ व्यवसाय मौलायोे । रातारात धनी हुनेहरु च्याउ झैँ निस्किए ।

यिनै जग्गा दलाल र सार्वजनिक जग्गालाई समेत चलखेल गरेर हत्याउने ठूलो समूह जिल्लास्तरीय राजनीतिमा हावि भयो । अपराधीकरण यति भयो कि, देवदहमा त हत्याका श्रृँखला नै भए । पार्टीको जिल्ला तहका मानिसहरु नै त्यसमा संलग्न भए पनि केन्द्रीय स्तरका नेतासँगको पहुँचका कारण उनीहरु जोगिए । पार्टीका धेरै मानिसहरु जसरिपनि कमाउने धन्दामा लागे । प्रदेश राजधानीमा सबैभन्दा बढि लाभान्वित हुनेहरु नै अहिले सबैभन्दा बढि बिच्किएका छन् ।

त्यतिमात्र हैन, अन्तर्राष्टिय विमानस्थल र लुम्बिनीका कारण लगानीकर्ताहरु समेत आकर्षित हुन थाले । मेडिकल कलेज, निजी क्षेत्रका अस्पताल लगायत लगानीकर्ताहरुले उढ्योग धन्दामा राम्रै लगानी गर्न थालेपछि तिब्र रुपमा रुपन्देहीमा विकासले गति लिन थालेको देखियो । वुटवलदेखि भैरहवा जाने बाटोको लेन समेत बढाएर स्तर उन्नति भएपछि त झन् प्रष्टै देखिन थाल्यो । यो सबै तिब्र परिवर्तन विष्णु पौडेलको नेतृत्वमा सम्भव भएको हो भन्ने जनमानसमा छाप रह्यो । तर बालुवाटारको जग्गा काण्डमा विष्णु पौडेलको नाम मुछिएपछि उनी अलोकप्रिय हुन थाले । अगाडिका दिनहरुमा जस्तो प्रधानमन्त्री ओलीको अति निकट वृत्तमा पौडेल पर्न छोडे । आफूमाथि अख्तियारको तरबार बज्रिन सक्छ भन्ने हेक्का रहेका पौडेलले प्रचण्ड र ओलीसँग समदूरी रहेर समन्वय भूमिका खेलेपनि ओलीको टिम भित्रकै हुँ भन्ने छाप पार्न सफल भइरहे । तर, प्रचण्ड माधव नेपालहरुको ओली विरोधी मोर्चाबन्दीमा अन्तिम अवस्थामा आएर प्रचण्डकै क्याम्पमा बस्न पुगेको भन्ने आरोप उनीमाथि लाग्यो ।

वामदेव गौतमलाई टोलीबाट हटाएर अल्पमतमा पार्न शंकर पोखरेल वुटवलबाट काठमाडौंमा गइ धर्ना कसेर दौडधूप गर्नुपर्ने स्थिति आयो । पार्टी एकताका क्रममा सक्रियतापूर्वक लागेका र संगठन विभागको क्रममा आफ्नै सम्पर्क बनाउन सफल चतुर नेता महासचिव त भए, तर यो प्रदेश विवादले भने उनलाई कमजोर बनाइदिएको छ । बरु, मुख्यमन्त्री र पार्टी इन्चार्जको रुपमा स्थानीय तहमा आफ्ना विश्वासपात्रहरु बनाउन सफल शंकर पोखरेलले अबको पश्चिमको कमाण्ड सम्हाल्दै केन्द्रमा जिम्मेवारीमा पुग्ने सम्भावना रहेको आँकलन गर्न थालेका छन् पश्चिमका वाम बुद्धिजीवीहरु ।

अर्थमन्त्री बन्नको निम्ति सौदाबाजी गरेको आरोप आफ्नै कार्यकर्ताबाट आउनु सानोतिनो कुरो होइन । भोलि पौडेल त्यो नेतृत्वमा पुग्लान् नपुग्लान् तर यस्ता अफवाह र वुटवललाई राजधानी बनाउन असफल नहुनुको घाटा भने
उनलाई ठूलै हुने देखिन्छ ।

स्याङ्जामा जन्मेका पौडेलले पंचायती व्यवस्था विरुद्ध संघर्ष गर्दा भूमिगत कालमा पाल्पा, गुल्मी, स्याँङ्जा, रुपन्देही, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची यिनै जिल्लाहरुमा संगठन बिस्तार गरेकाले अहिले पनि उनको आफ्नै खालको सम्बन्ध र सम्पर्क छ । राम्रै लाभका पद र पार्टीको निर्णयकारी भूमिकामा पुग्न सफल पौडेलले अब आफ्ना रुपन्देहीका मतदाता सामु के भनेर प्रस्तुत हुने हुन् ? बडो गम्भीर प्रश्न तेर्सिएको छ ।

पौडेल कमजोर भएको यो अवस्थाको फाइदा नेपाली कांग्रेसले लिन खोजिरहेको छ । असोज १८ आइतबारलाई कांग्रेसले बुटवल बन्दको आव्हान गरिसकेको छ भने प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रदेश राजधानीको विवादलाई ह्विपबाट समाधान गर्न खोजेपछि पार्टी भित्र यसले व्यापक विभाजनको स्थिति ल्याउने देखिन्छ ।

माओवादी उद्गमस्थल रोल्पा, रुकुम, बलियो संगठन मानिएको पश्चिमलाई ध्यानमा राखेर प्रदेश ५ को राजधानी देउखुरी हुने कुरा प्रचण्डले केही महिना सार्वजानिक रुपमै अघि बताएका थिए । एकातिर प्रचण्डले आफ्ना कार्यकर्ता जोगाउनुपर्ने जिम्मेवारी, अर्कातिर शंकर पोखेलको प्रभाव क्षेत्र जोगाउनुपर्ने दायित्व, ओलीका प्रियपात्र पोखरेलले अन्तिम अवस्थामा बाजी मारेर विष्णु पौडेललाई पराजित गरिदिएकाछन् ।

संघियतामाथि प्रश्न ?
धेरै मानिसहरुले नेकपा भित्रको झगडालाई रुचाइरहेका छैनन् । वर्षौँदेखि उर्वर ठाउँको रुपमा चिनिएिको वुटवललाई नै फेरि हराभरा पार्नु भन्दा दाङ जस्ता नयाँ ठाउँहरुको के छ भने प्रदेशका सभासदहरु औचित्यविहीन बनाइए । उनीहरु माटाका मूर्ति जस्ता भए । ओली र प्रचण्डको सहमतिमा सदरमुकाम तोकिने भए ह्विप लगाएर भोटिङ गर्ने नाटक नै किन गर्नुपर्यो ? हाइकमाण्डले निर्णय गरे भैहाल्यो भनेर दुखेसो पोख्दैछन् सभासदहरु पनि । स्वतन्त्रता बन्देजमा राखेर केवल सहीछाप गर्न प्रयोग भएकोमा ग्लानी पोखिरहेका छन् सभासदहरु ।

पार्टीले चुनाव जिताएपछि पार्टीको आदेश नमानेर सुख पाइन्छ ? भनेर तर्क त गर्न सकिएला । तर स्थानीय तहमा निर्वाचन जितेर सभासद भइसकेका मानिसहरुको बुद्धि र विवेकमा पार्टीका केहि मानिसहरुको निर्णयकारी हस्तक्षेप हुनु पक्कै पनि गणतन्त्र र संघियताको मर्म विपरीत हो । कालान्तरमा यसको नतिजा पनि देखिएरै छाड्नेछ । लिला भारद्वाज/नेपाल प्लस

फेसबुकबाट तपाईको प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here