Sunday, February 5, 2023
  • Login
  • Register
No Result
View All Result
Nepal Readers
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
  • गृहपृष्ठ
  • मत-अभिमत
  • सामयिक
  • सुशासन
  • स्वास्थ्य /शिक्षा
  • समाज
  • दस्तावेज
  • हाम्रोबारे
No Result
View All Result
Nepal Readers
No Result
View All Result

Home » चाडपर्वलाई पूँजीवादले कब्जा गर्दैछ

चाडपर्वलाई पूँजीवादले कब्जा गर्दैछ

ऐक्यबद्धता छ भन्दैमा सबै महिलाले एकै हिसाबले मनाउन सकेका छैनन्। महिलाभित्र पनि वर्ग छ। त्यो वर्गको आधारमा तीजलाई मनाउने कुरा फरक छ।

विद्या भट्टराई by विद्या भट्टराई
September 1, 2022
- सँस्कृति
A A
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तीज पर्वको कथाका मुख्य पात्र भनिएका शिव र पार्वती हुन्। तिनीहरुलाई सांकेतिक रुपमा मंगोल र आर्यानको रुपमा व्याख्या गरिन्छ। तर यसलाई विवाह र पवित्रता तथा अपवित्रतासँग लगेर जोडियो। यस्तै, पार्वतीले आफ्नो रोजाइमा वर चुन्ने विषयसँग लगेर जोडियो। जसले गर्दा पितृसत्तात्मक समाजले विस्तारै आफ्नो पक्षमा व्याख्या गरिदियो।

हिजोको सन्दर्भमा शिव र पार्वतीलाई दुईवटा समुदायको मिलनको रुपमा हेरिन्थ्यो भने लैंगिकताको हिसाबले महिला र पुरुषको समरुपताको रुपमा तीजलाई व्याख्या गरिन्छ। र, तीजलाई अहिलेसम्म पनि सामाजिक रुपमा भन्दा पनि धर्मको आडम्बरको रुपमा व्याख्या गरियो। तीजका हरेक व्यवहारलाई धर्मसँग जोडियो। त्यसमा पनि खासगरी महिलाले व्रत बस्नुपर्ने र महिलाले नै पूजा गर्नुपर्ने जस्ता बाध्यात्मक नियमलाई अगाडि बढाइयो। जसको कारण त्यहाँभित्रका सामाजिक पक्ष र त्यहाँभित्रका सद्भावपूर्ण व्यवहारका कुरा कमजोर भए।

तीज संस्कृति बनिसक्यो
सामाजिक परिकल्पनाहरुले संस्कृति बदल्छ। हिजो व्याख्या गरेकै आधारमा आज संस्कृतिका रुपहरू देखिँदैनन्। समाजको परिकल्पनाहरूसँगै संस्कृतिका परिकल्पनाहरू पनि बद्लिन थाल्छन्। जुन तीजमा पनि देखिन्छ। हामीले अहिलेसम्म तीजलाई एउटा परम्पराका रुपमा हेरिरहेका छौं। तीजलाई चाडपर्व मात्रै भन्दैनौं।

संस्कृति परम्परा होइन। संस्कृति आवश्यकता हो। यदि संस्कृति आजको आवश्यकता र आजको समाजसँग जोडिन सक्यो भने त्यसको अस्तित्व रहिरहन्छ। होइन भने त्यो परम्पराका रुपमा मात्र रहन्छ। जुन निश्चित समयमा मात्रै अवलम्बन गरिन्छ। तर तीजको सन्दर्भमा भने यो संस्कृति बनिरहेको देखिन्छ।

हिजो वैदिककालमा गरिएका तीजका व्याख्या आज मिल्दैनन्। तीजमा के र कस्ता खानेकुरा खाने लगायतका परिभाषाहरू आज मिल्दैनन्। हिजो गाइने गीत र आज गाइने गीतमा समानता छैन। यी विषयहरू आजको समाज अनुसार तय भइसकेका छन्। पर्व कसरी मनाउने भन्ने कुरा समाजको चेतनासँगै परिवर्तन हुँदै जान्छ। हरेक समाजसँग एउटा चेत हुन्छ। त्यो चेतले ल्याउने परिवर्तन पर्वसँग जोडिदै जान्छ।

अहिलेको समयको तीज अब परम्परा मात्रै रहेन, यो अब धर्मको रुपमा पनि छैन। यो संस्कृतिका रुपमा स्थापित भइसक्यो। यसका बारेमा पक्ष र विपक्षका तर्क हुनसक्छन् । तर यो संस्कृतिका रुपमा स्थापित भयो। किनभने हिजो हामीले हरितालिकाका रुपमा जसरी यसलाई व्याख्या गर्थ्यौं आज तीज त्यो रुपमा छैन।

तपाईंहरुलाई रुचि लाग्न सक्छ

पाँच शताब्दी – तीन विश्व व्यवस्था

यस पालाको तीजः महिला आक्रामक, पुरातनी पुरुषको जलन

September 3, 2022
धर्म, समाज र हिंसा

धर्म, समाज र हिंसा

October 14, 2021
शाक्त परम्परा : पहिले पनि थिए “छाडा” र “उन्मुक्त” महिला

शाक्त परम्परा : पहिले पनि थिए “छाडा” र “उन्मुक्त” महिला

October 12, 2021
स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

October 1, 2021

अब तीजले महिलाहरूलाई मात्रै जोडिरहेको छैन। पुरुषहरू समेत यो चाडलाई स्वीकार गर्न बाध्य भएका छन्। हिजो व्रतका लागि तयारी स्वरुप खाइने दर आज सबै मिलेर खानुपर्छ भन्नेसम्म आइपुगेको अवस्था छ। हिजो चेली र माइतीलाई मात्रै जोड्ने यो पर्व आज समाजका विविध खालका संगमहरूको थलोको रुपमा स्थापित भइसकेको छ।

संस्कृतिको परिभाषा फराकिलो छ। हामी अर्थतन्त्रलाई संस्कृतिका रुपमा विकास गर्न सक्छौं। चाडपर्वहरू पनि संस्कृतिका रुपमा व्याख्या गर्छौं। संस्कृतिको निर्माण मानवीय चेतले गर्छ। मानवीय चेतले समाजको अवस्थालाई बदल्दै जान्छ। बदलिदैं जाँदा पर्वहरूको पनि रुपान्तरण हुँदै जान्छ। यसक्रममा पर्वको आवश्यकता बोध भएन भने त्यो लोप हुँदै जान्छ। आवश्यकता रहिरह्यो भने अथवा समाजले यसको आवश्यकतालाई पुष्टि गर्न सक्यो भने त्यो स्थापित हुन्छ।

ऋषि पञ्चमी
तीज र ऋषि पञ्चमी फरक हो। त्यसलाई हामी समग्रतामा बुझ्ने गर्छौं। ऋषि पञ्चमी पवित्रता र अपवित्रतासँग बढी जोडिएको छ। रजस्वलाबाट महिलाहरू अपवित्र हुन्छन् भन्ने कथनले यो परम्परा सुरु गरियो। यसलाई म पर्व भन्दिनँ। हिजो ऋषि पञ्चमीको महत्वको रुपमा जुनखालको चर्चा गरिन्थ्यो आज त्यो घट्दैछ। आजभोलि छाउका कुरा र महिनावारी बार्नु हुँदैन भन्ने जस्ता परिभाषाले यो आवश्यक छैन भन्ने मानसिकता बढ्दैछ।

ऋषि पञ्चमी हिजोका दिनमा जस्तो दत्तिवन लिएर पाप पखाल्नुपर्छ भन्ने ठाउँमा अब छैन। मान्नेले मानिरहेका छन् तर नमान्नेहरू अब त्यसमा तर्क वितर्क गर्ने वा यो ठीक छैन भन्ने भइसके। ऋषि पञ्चमीका सम्बन्धमा हिजोदेखिको मान्यता आज विस्तारै कमजोर हुँदै गएको छ।

बजारको कब्जा
हामी उपभोक्तावादी संस्कृतिबाट बढी ग्रसित छौं। तर चाडपर्वहरू बजारले मात्रै कब्जा गरेको छैन। चाडपर्वलाई हिजो कुनैबेला राजनीतिले पनि कब्जा गरेको थियो। अहिले पनि तीजको सन्दर्भ पारेर छलफल तथा बहस हुने गर्छ। आजपनि तीजमा सबैजना एक ठाउँ बसेर नाचौं भन्ने गर्छौं। तीजलाई यसरी पनि हामीले उपभोग गरिरहेका छौं।

अहिले मानिसको बजारसँग सम्बन्ध स्थापित भएको छ। केही समय अगाडिसम्म छड्के तिलहरी तीजको प्रतिकको रुपमा देखिन्थ्यो भने अहिले रातो सारी अनिवार्य जस्तै भइसकेको छ। रातो सारी तीजको पहिचानको रुपमा आउन थाल्यो। त्यसैले पर्व मनाउने क्रममा धेरैकुरा बजारसँग जोडिएको छ। बजारमा जे कुरा पाइन्छ त्यसका आधारमा त्यो वस्तुको महत्व पर्वमा देखिन्छ। रातो सारी जसरी पहिचान बन्यो, त्यसैगरी फेशन पनि बन्दैछ।सबै महिलाले उस्तै रंगको सारी लगाउने मात्रै नभएर उस्तै बुट्टा भएको कपडा लगाउने गरेको पनि देखियो। तीजमा मात्रै होइन अन्य चाडपर्वमा पनि चाड अनुसारका भेषभुषा लगाउने प्रचलन आइसक्यो। हाम्रो समाजमा जति पनि कुरा स्थापित हुँदै गएका छन्, ती बजारसँगै जोडिएका छन्। मानिसहरूका सम्बन्ध, व्यवहार र मानिसको आकर्षण पनि बजारसँग जोडिएको छ।

अहिले कति मानिसहरू पार्टी प्यालेस तथा होटलमा तीज मनाइरहेका छन्। यसको मतलव बजारसँग मानिसको पहुँच बढ्दै जाँदा पर्वमा पनि मानिसले बजारलाई प्रयोग गर्छ। यदि यसलाई बजारले आम्दानी गर्छ भन्ने दृष्टिकोणबाट हेर्ने हो भने स्वभाविक रुपमा बजारले अधिकतम रुपमा हामीलाई शोषण गरिरहेको छ। त्यसकारण दुईवटै पक्षबाट हेर्नुपर्छ भन्ने म ठान्छु।

वर्गीय असमानता बढ्दो
यदि तपाईंले संस्कृतिलाई सरल हिसाबले मनाउनुभयो भने वर्गीय असमानता कम हुन्छ। हिजो हामी समुदायमा हुँदा सबैले मनाउने पर्व उस्तै खालको हुन्थ्यो। तर अहिले शहरीकरणको विकाससँगै बढ्दै गएको बजारीकरणले वर्ग-वर्ग बीचको खाडललाई झनै बढाएको छ। गाउँमा धनी र गरीबबीच जमिनबाहेक अरु भिन्नता खासै हुँदैन। तर शहरमा आम्दानीमात्रै होइन, जीवनशैलीमै भिन्नता हुन्छ। कसैले कस्तो कपडा लाएको छ वा कस्तो गाडी चढेको छ भन्ने आधारमा उ कुन वर्गको भन्ने कुरा पहिचान गर्न सक्ने स्थिति शहरमा छ।

तीजमा आजभोलि गिफ्ट दिने प्रचलन सुरु भएको छ। दिदीबहिनीलाई बोलाएर दर खुवाउने र गिफ्ट दिने चलन छ। यसले पनि बजारलाई नै प्रवद्धन गर्‍यो। त्यसले हिजो जुन खालको ‘किप इन टच’ थियो त्यो अब वस्तुमा आधारित बन्न थाल्यो। आफ्ना दाईभाई तथा आफन्तले के दिए वा कति पैसा दिए भन्ने चासोले अब ठाउँ पाउन थाल्यो। त्यसको कारण बजारसँगको हाम्रो पहुँच नै हो।

नेपाली समाजमा अहिले चाडपर्व मनाउने तौरतरिकालाई हेर्ने हो भने अब यहाँको समाज पूँजीवाद तर्फ नै उन्मुख छ। हामीले समाजवाद उन्मुख भनेपनि हाम्रा पर्वहरूलाई हामीले पूँजीवादी मान्यताबाट निर्माण गरिरहेका छौं। यसकारण चाडपर्वका मनाउने तरिकाले वर्गीय विभेद बढ्दै जान्छ।

बहस र नीति निर्माण
मैले हेर्दा एउटा समय तीज असाध्यै भड्किलो थियो। गरगहना र महंगा कपडा देखाउने चलन थियो। यो पटक हेर्दा गरगहना लगाउने प्रचलनमा कमी देखियो। तर कुनै सहकारी तथा कम्युनिटीहरूले मनाउने तीजमा चाहिँ अझै यो प्रचलन कायम देखिन्छ।

पर्व कसरी मनाउने भन्ने कुरामा बहसहरू भइरहनुपर्छ। यस्ता बहसहरूलाई अभियानको रुपमा लैजानुपर्छ। कसैलाई दण्डित गरेर चाँहि परिवर्तन हुँदैन। अभियान, बहस र छलफलले नै परिवर्तन गर्न सकिन्छ। यसमा खासगरी मिडियाको भूमिका हुन्छ।

हामी जस्ता नीति निर्माताको भूमिका त हुने नै भयो, हाम्रा बहसहरू मिडियामार्फत जानुपर्छ। पर्व कसरी मनाउनुपर्छ? भन्ने खालको प्रगतिशील चिन्तन राख्नेहरूले राखेका विचारहरू मिडियामार्फत आम मानिसमा पुग्नुपर्छ। विचार दिने काम मात्र नभएर त्यस्ता मानिसले आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरामा पनि ध्यान दिनुपर्छ।

यदि म अरुलाई भड्किलो नबन्न सुझाव दिन्छु, तर म आफैं रातो कपडा लगाएर मिडियामा जान्छु भने मेरो बाहिरी रुपले रातो साडी नै तीजको परिचय हो भनेर बोलेको हुन्छ। त्यसैले समाजलाई कस्तो कुरा इन्टर्नलाइज गर्न लगाउने कुरामा अभियान्ताहरूको भूमिका महत्वपूर्ण हुन्छ।

पार्टीहरूलाई जिम्मेवार बनाउनुपर्छ
राजनीतिक पार्टीहरू हिजो समुदायको प्रतिनिधित्व गर्थे। आज उनीहरू राज्यका प्रतिनिधि भए। त्यसले गर्दा आज हामी पार्टीभित्र व्यक्ति र समुदायले अपनाउने कुराका बहस लैजान सक्दा रहेनछौं। पार्टीभित्र राज्यमा प्रतिनिधित्व कसरी बढाउने र आफ्नो भूमिकाको वर्चश्व कसरी कायम गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ। चुनाव जितिसकेपछि पनि आफ्नो सर्वोच्चता कायम गर्नेमा नै बढी ध्यान हुन्छ।

अबको राजनीति हिजोको जस्तो सामाजिक अभियानसँग जोडिँदैन। आज राजनीतिलाई राज्यको शक्तिमा कसरी स्थापित हुने भन्ने कुरासँग जोड्न थालियो। त्यसैले यस्ता विषयहरू राजनीतिले भन्दा पनि सामाजिक अभियानहरूले उठाउनुपर्छ। त्यो अभियानमा हामी राजनीतिज्ञहरू ऐक्यबद्धता राख्न सक्छौं। तर हामीले उठाएका कुरा अब धेरै प्रभावकारी हुँदैनन्।

वकिल तथा प्राज्ञहरूले के कुरा सही र के गलत भनेर भन्नुपर्‍यो। त्यस्ता बहसबाट पार्टीहरू प्रभावित भएर उनीहरूलाई नीतिगत सुधार गर्न तयार बनाउनुपर्यो। सरकारमा भएका पार्टीले कतिपय कुराका नियम बनाउन सक्छन्। जस्तैः तीजमा के गर्ने वा नगर्ने जस्ता कुराको नियम बनाउन सक्छन्। यो सँगसँगै सामाजिक चेतना अभिवृद्धि गर्ने काम पनि हुनुपर्छ। होइन भने एउटा पार्टीले एउटा एजेण्डा ल्याउँछ र अर्कोले विरोध गर्छ। त्यसले संस्कृतिमाथि नै द्वन्द्वात्मक अवस्था निर्माण गर्छ। यसबाट समाजमा ऐक्यबद्धता भन्दा पनि समाजलाई विखण्डित गर्ने खालका काम हुन्छ।

त्यसैले प्रगतिशील र तार्कित विचार राख्नेहरूले यी विषयमा बहस र तर्कहरू गर्नुपर्छ। जसले आजको समाजको चेतनामा पनि विकास गर्छ र पार्टीहरूलाई जिम्मेबार बनाउन सक्छ। आम रुपमा आह्वान गर्न त पार्टीले सक्दैन। त्यसैले सरकारमा जाने पार्टीहरूले कसरी शिष्ट ढंगले हाम्रा संस्कृतिहरू आम रुपमा एकै ढंगले मनाउने भन्ने विषयमा एउटा नीति निर्माण गरेर मिडियामार्फत लैजान सक्छ।

हिजो फागु पूर्णिमा किशोरी तथा युवतीका लागि पीडाको कुरा थियो। धेरै बहस र छलफल चलेपछि सरकारले एउटा नीति बनायो। हुँदाहुँदा अब समूहमा मात्रै फागु मनाउनुपर्छ भन्ने खालको व्याख्या भयो। अरु पर्व पनि समाजमा विकृत भइरहेको छन भने यसमाथि बहस सुरु हुन्छ र त्यसले त्यसका तरिकाहरूलाई बदल्छ। तरिका बदल्ने कुरामा सरकारको दायित्व हुन्छ भने बहस निर्माण गर्ने कुरामा सामाजिक अभियानको भूमिका हुन्छ। सामाजिक अभियानका लागि नागरिक समाजले भूमिका निर्वाह गर्नुपर्ने हुन्छ।

एउटा साझा अवधारणा बन्नेछ
तीजलाई हेर्ने दृष्टिकोण धेरै छन्। हिजो धार्मिक हिसाबले मात्रै हेरिन्थ्यो। महिलाहरूमा आएको फरक खालको चेतनाका कारण महिलाहरू अब हिजोका परिभाषाहरू स्वीकार गर्दैनन्। हाम्रो पुस्ताले धेरै प्रश्न गरेको छैन। तर हामी पछिको पुस्ताले प्रश्न गर्छ। कहाँ शोषण भएको छ र कहाँ भएको छैन भनेर घरभित्रै प्रश्न गरिरहेका छन्।

तीजमा दुईवटा भाष्य देख्छु। एउटा, तीज पतिका लागि मनाइने पर्व हो भनिन्छ। अर्को, महिलाहरूको एउटा समूह यसको धार्मिक पक्षलाई मान्न तयार छैन र फरक ढंगले व्याख्या गर्छ। यो समूहले महिलाहरूलाई जोड्ने पर्वका रुपमा तीजलाई व्याख्या गर्छ। म चाहिँ यी दुईवटै कुरामा क्रिटिकल मान्छे हुँ। ऐक्यबद्धता छ भन्दैमा सबै महिलाले एकै हिसाबले मनाउन सकेका छैनन्। महिलाभित्र पनि वर्ग छ। त्यो वर्गको आधारमा तीजलाई मनाउने कुरा फरक छ।

हिजो भनिएको पतिको नाममा व्रत बस्ने कुरा पनि अब बिस्तारै तोडिँदै गएको छ। अब यसलाई रमाइलोका लागि मान्ने चलन सुरु भएको छ। पतिको आयूका लागि भन्दै व्रत बस्ने चलन भने कम मात्रै भएको हो, पूर्ण रुपमा अन्त्य भएको भने होइन। पछिल्लो ८/१० वर्षयता तीज मनाउने तरिका फरक भएको देख्न सकिन्छ। अब विस्तारै एउटा नयाँ साझा अवधारणा निर्माण हुन सक्छ। अहिले नै साझा अवधारणा बनिसकेको छैन। तीजलाई लिएर महिलाहरूमै विविध धारणा बनेका छन्।

(नेपाल रिडर्सका लागि एमाले सांसद विद्या भट्टराईसँग प्रकाश अजातले गरेको कुराकानीमा आधारित)

ShareTweet

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
विद्या भट्टराई

विद्या भट्टराई

Related Posts

पाँच शताब्दी – तीन विश्व व्यवस्था

यस पालाको तीजः महिला आक्रामक, पुरातनी पुरुषको जलन

by मेनुका बस्नेत
September 3, 2022

यो वर्ष पनि तीज त्यतिकै सकिएन, आगामी दिनमा बहस र चर्चाका लागि केही प्रश्नहरू उब्जाएर गएको छ। महिना दिन अघिदेखिको...

धर्म, समाज र हिंसा

धर्म, समाज र हिंसा

by घनश्याम शर्मा पौड्याल
October 14, 2021

धर्मको शाब्दिक अर्थ धारण गर्नु, लिनु, मान्नु वा त्यसको घेरामा रहनु भन्ने हुन्छ। धर्मलाई कुनै वस्तुसँग सम्बन्धित गरेर अथ्र्याउने हो...

शाक्त परम्परा : पहिले पनि थिए “छाडा” र “उन्मुक्त” महिला

शाक्त परम्परा : पहिले पनि थिए “छाडा” र “उन्मुक्त” महिला

by नेपाल रिडर्स
October 12, 2021

वैदिक सनातनीहरू प्रायः देवीहरूका प्रसंग उल्लेख गर्दै सनातन–हिन्दू धर्मले कहिल्यै पनि महिलामाथि विभेद नगरेको दुहाइ दिने गर्छन्। मनुस्मृतिमा उल्लेख भएको...

स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

स्वामी अग्निवेश : एक क्रान्तिकारी जोगी

by अमरनाथ
October 1, 2021

आर्यसमाज नामक अभियान/समाजसुधार आन्दोलनले भारतीय समाजमा गरेको योगदानलाई आज धेरै मान्छेहरूले भुलिसकेका छन् तर एक समय हिन्दू समाजमा रहेका कुरिती,...

ऋषि पञ्चमीको कथा भन्छ: जन्मैले महिलाहरू पापी हुन्

ऋषि पञ्चमीको कथा भन्छ: जन्मैले महिलाहरू पापी हुन्

by प्रकाश अजात
September 8, 2021

महिलाहरूले विशेष रूपले मनाउने तीज पर्वका अन्य पक्षहरू पनि छन् तर नेपालमा पञ्चमी पूजालाई विशेष महत्व दिइएको देखिन्छ। ब्रम्हाण्ड पुराणअनुसार...

के राम र रामायण हाम्रै मात्र हुन्?

के राम र रामायण हाम्रै मात्र हुन्?

by शैलेन्द्र चौहान
June 14, 2021

दश वर्ष पहिले रामायणसँग जोडिएको ए के रामानुजनको लेखलाई दिल्लीको विश्वविद्यालयको पाठ्यक्रमबाट हटाउने विषयमा विवाद भएको थियो। लेखको शीर्षक थियो...

Leave Comment

सिफारिस

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

माहिलावादमा जासिन्डा आर्डेनले देखाएको बाटो

5 days ago
नेपालमा वर्ग र जात/जाति

नेपालमा वर्ग र जात/जाति

6 months ago

सामाजिक सञ्जालमा पुग्नुहोस्

  • गृहपृष्ठ
  • कृषि
  • दस्तावेज
  • मत-अभिमत
  • विचार
  • समाज
  • हाम्रो बारे

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

No Result
View All Result
  • Home

© 2021 Nepal Readers - Website Managed by Saustav Bhattarai.

Welcome Back!

Sign In with Google
Sign In with Linked In
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Google
Sign Up with Linked In
OR

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In