कोरोना भाइरस (कोभिड-१९) यति बेला विश्वमहामारी भएको छ। नेपालमा हालसम्म परिक्षण गरिएका ५०० नेपालीमा कोरोना भाइरसबाट संक्रमितहरु भएका पाइएन। एक पटक पुष्टी गरिएका १ व्यक्ति पनि उपचार भई घर फर्केका छन्। तर नेपालमा लक्षण देखीनसकिएका संक्रमित रहेका छन् भन्ने सञ्त्रास सर्वत्र छ। यसलाई विश्व स्वास्थ्य संघले पनि संकेत गरेको छ। जबसम्म निश्चित गरिएका बिमारीहरु भएको सरकारको औपचारिक घोषणा गरिदैंन त्यसबेलासम्म हामी ढुक्क रहनै पर्छ। यसमा मिडिया र सामाजिक सञ्जाल सञ्चालनकर्ता समेत जिम्मेवार हुनुपर्छ।
कोभिड-१९ गराउने भाइरस आयातित भाइरस हुन् र यी सिमाना नाघेर नेपालमा प्रवेश हुन सक्छन्। यसका लागि भारतको खुला सीमा र चीनको स्वशासित प्रदेश तिब्बतलाई ध्यानमा राख्नु जरुरी छ। भारतसँगको सीमा क्षेत्रका प्रदेशमा कोभीड-१९ भएको उत्तर प्रदेशमा बाहेक अन्यत्र पुष्टी भएको छैन। उत्तरको चीनको तिब्बतमा यसको प्रकोप नभएको स्पष्टै छ। यसैगरी एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको जाँच व्यवस्था र प्रबन्धनले त्यस प्वालबाट संक्रमितहरु छिर्न नसक्ने अवस्था छ। तर भारततर्फको खुला सीमा र अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले चौबिसै घण्टा पहरा दिनु आवश्यक छ।
हालसम्म महामारीको प्रकोप हुन नदिन ननमेडिकल हस्तक्षेपहरु (गृह र रक्षा मन्त्रालय)को प्रमुख महत्व छ, क्लिनिकल हस्तक्षेपका लागि स्वास्थ्य मन्त्रालयका सेवाइकाइ र शिक्षा मन्त्रालय अन्तर्गतका मेडिकल कलेजहरु तयारि अवस्थामा रहनु पर्छ।
यसैबीच सरकारले कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समिति निर्माण गरी सक्रिय बनाएको छ। यसले करीब लकडाउनकै रुपमा घोषणा गरिसकेको छ। जसलाई जनताले स्वागत गरेका छन्।
फेरि दोहोर्याउँ अझैसम्म नेपालमा संक्रमित छैनन्। अब हामीलाई डर छ भने आयातित संक्रमणबाट मात्र हो । यसकारण यसलाई भित्रन नदिन कठोर भन्दा कठोर कदम चाल्न तयार हुनुपर्छ। यसर्थ पनि यूरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाउन निर्णयलाई प्रभावकारी बनाउनै पर्छ। जहाँसम्म भारतबाट प्रवेशको कुरा छ, त्यसलाई कडाइका साथ जाँचुबझ र कम्तिमा १४ दिन क्वारीन्टीनमा बस्ने निश्चित गराइनु पर्छ। करीब भोलि चैत्र ७ गते शुक्रबारबाट लागू हुने र बैशाख ३ सम्म कायम रहने यो व्यवस्थालाई कडाइका साथ लागू गरिए हामी प्रकोपको मार नपर्ने मुलुक हुनेछौं।
अहिले सम्मको कोभिड- १९ को प्रकोपको महामारीलाई ४ चरणमा बद्ध गरिएको छ । ती बारे हामी सर्वसाधारणले बुझ्नु उपयोगी हुन्छ। जसअनुसार
चरण – १. संक्रमितबाट भाइरस फैलिने संकेत देखा पर्छन् ।
चरण – २. स्थानीय व्यक्तिमा भाइरस सर्न शुरु हुन्छ। र संक्रमितको संख्या बढ्दै जान्छ।
चरण – ३. धेरै ठूलो संख्यामा समुदाय र बस्तीमा फैलिन्छ।
चरण – ४. रोग महामारीमा बदलिन्छ र कहाँ कहिले के हुन्छ केही भन्न सकिदैँन।
यी चरणहरुबाट यो प्रष्ट हुन्छ कि अब पनि हामी सुरक्षित रहन सक्यौं भने वर्तमान लहरको प्रकोप हामीले खप्न नपर्ने हुनसक्छ। तर दोस्रो लहर १ वा २ वर्षभित्र हुने विज्ञहरुको आकलन छ। कथंकदाचित सजगता अपनाइएन भने सरकारको संरचना, राष्ट्रको स्रोत साधन र उपलव्ध प्रविधि तथा ज्ञानले हामी यो प्रकोप धान्न सक्दैनौ।
अन्तमा, हामीले बुझौं- हालसम्म महामारीको प्रकोप हुन नदिन ननमेडिकल हस्तक्षेपहरु (गृह र रक्षा मन्त्रालय)को प्रमुख महत्व छ, क्लिनिकल हस्तक्षेपका लागि स्वास्थ्य मन्त्रालय मातहतका सेवा इकाइहरु र शिक्षा मन्त्रालय अन्तर्गतका मेडिकल कलेजहरु तयारी अवस्थामा रहनु पर्छ। निजी क्षेत्रका अस्पतालहरुले सरकारलाई सहयोग गर्ने बेला यही हो। नत्र स्पेनमा जस्तै राष्ट्रियकरण गर्नुपर्ने आवाज उठ्न थाल्छ। सीमा, खुला सीमा र अन्तर्राष्ट्रिय विमानस्थलबाट संक्रमण सकेसम्म भित्रन नदिन र उपचार व्यवस्थापनका लागि सजग तयारी हुनुपर्छ।
अन्य जनताको दैनिक जीवनलाई हाहाकार मच्चाउने सबै अनुहार र वर्गकालाई कानूनी प्रक्रियामा ल्याउन सरकार चुक्नु हुँदैन । यसमा हामी जनताको पनि रचनात्मक सहयोग हुनुपर्छ।