तिनीहरु दरबार पसेर हृदयहीन भएका हुन्, कि
हृदयहीन भएर नै दरबार पसेका हुन् हँ?
सहरमा पछारिएको सपनाका आला लासहरु,
सडकमा पसारिएका असरल्ल आकांक्षाहरु
वेवास्ता गर्दै
त्यसलाई हेर्दै नहेरी
बरु त्यसै माथि
जंगबहादुरको घोडा कुदाउँदै
त्यसैलाई टापहरुले निर्ममतापूर्वक कुल्चदै
उनीहरु
दरबार छिरिरहेका छन्
भाले बास्न अगावै
उज्यालोबाट तर्सदै, तर्सदै ।
तिनीहरु दरबार पसेर दानव भएका हुन्,
कि दानव भएर नै दरबार पसेका हुन् हँ?
सपनाको गीतमा आगो लगाएर
आकांक्षाको सगरमाथामाथि ज्वालामुखी विष्फोट गराएर
कुम्भकर्ण निन्द्रा सुत्न
कुनै संवेदनाले सक्तैन,
कुनै हृदयले सक्तैन ।
हामी त बाँच्न पो चाहन्थ्यौ,
हामी त हास्न पो चाहन्थ्यौं,
हाम्रो ज्यान खोसेर,
हाम्रो खुसी लुटेर,
प्राणमाथि भयको डोजर चलाएर
आनन्दमाथि सत्ताको ट्यांक गुडाएर
उनीहरु
दरबार छिरिरहेछन्
सखारै कोही बिउझिनु अगावै
चेतनाबाट तर्सदै तर्सदै ।
तिनीहरु दरबार पसेर चेतना शुन्य भएका हुन् कि
चेतनाशुन्य भएर नै दरबार पसेका हुन् हँ ?
डढेलोले उमंगको वन आगोको लप्कामा सल्केको छ,
द्वन्द्वको सुनामीले शान्तिको घरबार बगेको छ,
बग्दै बग्दै स्खलनको अन्तिम बिन्दुमा पुगेको छ समय
टाइमबम फाट्न केही मिनेटमात्र बाँकी छ,
इतिहासमा बज्ने निरोको बाँसुरी
किन सिंहदरबारभित्र बजेको सुनिन्छ आजकल?
ध्वंशको रासमाथि उभिएर
बुद्धको प्रतिमा
युगलाई सम्बोधन गर्न किन सक्तैन आजकल?
क्षेप्यास्त्र मार्फत शान्ति सन्देश प्रक्षेपित गरेर
मुर्कट्टाहरु लस्कर लागेर
भिरबाट खस्तै खस्तै
उनीहरु
दरबार छिरिरहेछन्
निस्फिक्री तारा खस्नु अगावै
आफैबाट तर्सदै तर्सदै।
तिनीहरु दरबार पसेर पछि हिड्ने भएका हुन् कि
पछिमात्र हिड्दा हिड्दै दरबार पसेका हुन् हँ ?
स्वाभिमानको लासलाई समुन्द्रपारिको गिद्धले खाइरहेछ,
स्वतन्त्रताको मुनालाई छिमेककै साँढेले ढलिमलि गरिरहेछ
दरबार कै भान्सामा
अरुले नै भागबण्डा लगाइरहेछन्
दासहरुको मुकुण्डो भिरेर
पाउ परेका श्रीपेच धारीहरु
इतिहासमा आजै किन यति निरिह भएका छन्?
काखीमा हरदम किन श्रीपेच च्यापीरहेछन्?
उन्मुक्तिको ललाटमा पराधिनताको बुटले कुल्चदै
आत्मसम्मानको चरु चाकरीको आगोमा होम्दै होम्दै
उनीहरु
दरबार छिरिरहेछन्
दशगजा ठडिनु अगावै
स्वाधिनताबाट तर्सदै तर्सदै
तिनीहरु दरबार पसेर दास भएका हुन् कि
दासमात्र भएकाले दरबार पसेका हुन् हँ
केही सिमित मुट्ठीहरु
हावामा उचालिएका छन्
आफ्नै नाकमा जोतिने गरी
केही आवाजहरु
वातावरणमा फैलिएका छन्
आफ्नै कान फुटाउने गरी
कोही खबरदारी गर्ने पनि छ कि?
कोही पहरेदारी गर्ने पनि छ कि?
केही जोर हवाइ चप्पलहरु
केही जोर गोल्डस्टार जुत्ताहरु
दरबार ताकेर हिडिरेछन् लगातार
ठुलो गेटको मुखैमा पुगेका छन्।
तिनीहरु मान्छै नै भएर दरबार पस्न खोजेका हुन्
कि दरबार पसेर पनि मान्छे नै भइरहन्छन् हँ ?
– टंक राई