उत्साहको ढोल ठटाउँदै
ढोलेहरु सोइसोइला खेल्दै आउ
उमङ्गको झ्याम्टा बजाउदै
सिलिमेहरु बञ्छर नाच्दै आउ ।
सोइ ढोले सोइ,
अर्को ढोले खोइ?
एनी लै लै
हौ बरि लै लै ।
इन्द्रेणी सपना युवा मनमा सजाएर
सगरमाथा आकांक्षा हृदयमा उमारेर
टिपेर शिलीहरु श्रृष्टिको
आराधना गरिरहेछौ चोखो मनले
माटोको, भूमिको
तर, तिमीले कहिल्यै सोच्यौ
तिम्रा इन्द्रेणी सपनाहरु स्यामुनामा गाइयो कि गाइएन ?
तिम्रा सगरमाथा आकांक्षाहरु एनि लैलै मा आयो कि आएन ?
अनि तिमीले पुजा गर्ने त्यो माटो तिम्रै छ कि छैन ?
तिमीले हिड्ने त्यो बाटो तिम्रो छ कि छैन ?
ए होइ स्यामुना ।
इतिहासले भन्छ तिमी भूमिपुत्र हौ
सबैलाई थाहा छ तिमी भूमिपुत्र हौ
तिमी माटोको सन्तान,
माटो तिम्रो हो,
तिमी आकाशको सन्तान
आकाश तिम्रो हो,
तर तिमीले यी सबै थाहा पाउन अझै बाँकी छ
तिमीले यी सबैमाथि अधिन गर्न धेरै बाँकी छ ।
तिमीले त हिड्दा हिड्दै गन्तब्य हराएका छौ,
माटो हराएका छौ
आफ्नै माटोमा शरणार्थी बनेका छौ ।
माटो हराए पनि भूमि पूजा गर्छौ,
बाटो हराए पनि बाली पूजा गर्छौ ।
ऐया बरि लै लै
कुर्र हा हा,
वर्षहरु उछिट्टिएर गए
र शताब्दि शताब्दि बित्यो,
सालसालै उभौली उधौलीमा
तिमिले आफ्नो हराएको ढोले साथी खोज्यौ
सोइ ढोले सोइ
अर्को ढोले खोइ ?
तर तिमीले हक खोजेनौ
तिमीले आफू विस्थापित हुनुको क्षतिपूर्ति खोजेनौ
र आफू भूमिपुत्र हुनुको अर्थ खोजेनौ
ए भूमिपुत्र ढोले,
अब सोइ ढोले सोइ
अर्को ढाले खोइ ? भनेर
ढोले मात्र नखोज
आफ्नो हराएको शासन र गुमेको सिंहासन खोज
अर्थात भूमिपुत्रको अर्थ खोज
माटोको सन्तान हुनुको मर्म खोज
र यसपालीको उभौली उधौलीमा भन
सोइ ढोले सोइ
हाम्रो धरती खोइ ?
उत्साहको ढोल ठटाउँदै
ढोलेहरु सोइसोइला खेल्दै आउ
उमङ्गको झ्याम्टा बजाउदै
सिलिमेहरु बञ्छर नाच्दै आउ ।
सोइ ढोले सोइ
हाम्रो धरती खोइ ?
एनी लै लै
हौ बरि लै लै ।
हाम्रो धरती खोइ ?
– टंक राई
२०६५ जेठ ९ गते
