सुगौली सन्धिपछि अंग्रेजहरूले नेपाली समाज र यहाँको जनसांख्यिक बनोटको सुक्ष्म अध्ययन गरिरहे। उनीहरूले नेपालका मगर, गुरूङ, राई/लिम्बुलाई मार्सल रेसको रूपमा परिभाषित गरे र उनीहरूलाई भर्नामा प्रमुख प्राथमिकता दिए। पहिले अंग्रेजहरूको ध्यान पश्चिम पहाडका दुई ठूला जनजातीय समुदाय गुरूङ र मगरको भर्तीमा केन्द्रित थियो।
दोस्रो विश्वयुद्ध अघिको युरोप र अमेरिकामा नश्लको बहस निकै प्राथमिकतामा थियो। युरोपेलीहरू सेतो छाला र चुच्चो नाक भएको आफ्नो नश्ललाई सर्वश्रेष्ठ नश्ल घोषित गरिरहेका थिए। उनीहरूले गोर्खालाई पनि नश्लीय दृष्टिबाट हेरे र लडाकु नश्लका रूपमा परिभाषित गरे। उनीहरूका लागि मैदानी भूभागका भारतीय बासिन्दाहरू लडाकु गुण हराइसकेको नश्लका थिए तर आश्चर्यजनक रूपमा गोर्खाहरू भने लडाकु नश्लका थिए। उनीहरूले चिसो मौसम र पहाडी-हिमाली भू-बनोटले गोर्खालाई लडाकु नश्लका रूपमा विकसित गरेको धारणा निर्माण गरेका थिए। गोर्खालाई मार्सल रेसका रूपमा परिभाषित गर्ने मध्येका एक जनरल रोबर्टले लेखेका छन्, ‘बेलायती सेनामा कुनै एक रेजिमेन्ट अर्को भन्दा राम्रो हुन्छ भने त्यो तालिमको कारणले मात्रै हो, अंग्रेज, स्कट र आइरिसहरूमा उत्तिकै साहस र लडाकुपना हुन्छ। तर, नेपालका गोर्खा वा उत्तरी भारतका लडाकु जातिसँग दक्षिणका ‘स्त्रैण’ मानिसको तुलना पनि हुनसक्दैन।’
जनरल रोबर्टले लेखेका छन्, ‘बेलायती सेनामा कुनै एक रेजिमेन्ट अर्को भन्दा राम्रो हुन्छ भने त्यो तालिमको कारणले मात्रै हो, अंग्रेज, स्कट र आइरिसहरूमा उत्तिकै साहस र लडाकुपना हुन्छ। तर, नेपालका गोर्खा वा उत्तरी भारतका लडाकु जातिसँग दक्षिणका ‘स्त्रैण’ मानिसको तुलना पनि हुनसक्दैन।’
सुरूमा उनीहरूका लागि पश्चिम नेपालका मगर र गुरूङहरू मार्सल रेस थिए। किनभने, अंग्रेजविरूद्ध लडेको गोर्खाली सेनामा उनीहरू ठूलो संख्यामा समावेश थिए। गोर्खामा पृथ्वीनारायण शाहको सेना मगर, गुरूङ, क्षत्री र खस-ठकुरी गरी निर्माण गरिएको थियो, यसले अंग्रेजविरूद्धको युद्धसम्म नै निरन्तरता पाएको थियो। सन् १८१५बाट गोर्खा भर्ती सुरू गरेका बेलायतीहरूले १८२०पछिबाट गोर्खालाई ‘मार्सल रेस’का रूपमा परिभाषित गर्न सुरू गरेका थिए।
लेखक प्रत्युष वन्तका अनुसार, ‘सन् १८२०को दशकको मध्यतिर ब्रिटिस राजदुतावासमा कार्यरत ब्रायन हड्सनले नेपालका ‘लडाकु जातिहरू’बारे लेखेको दस्तावेज यो मामिलामा महत्वपूर्ण मार्गदर्शन साबित हुनपुग्यो। उनले नेपालीहरूमा खस, मगर र गुरूङहरू मात्र लडाकु जाति हुन भनेर तोकेका थिए।’ आफूविरूद्ध लडेका मगर, गुरूङ र खसलाई लडाकु जाति देखेको अंग्रेजको आँखा सन् १८८१पछि भने पूर्वका राई र लिम्बुहरूमाथि पर्यो। क्याप्टेन मर्सेरलाई उदृत गर्दै ‘इम्पेरियल वारियर्स’ नामक किताबमा टोनी ग्लाउड लेख्छन्:
मार्सल रेस सिद्धान्तको विकाससँगै सैन्य अधिकारीहरू कसलाई सेनामा भर्ना गर्ने भन्नेमा अझ धेरै छनोट गर्न थालेका छन्। उनीहरू अरू जाति भन्दा पनि मगर र गुरुङहरूका साथै राई र लिम्बुलाई भर्ती गर्न चाहन्छन् जसबारे कप्तान मर्सेरले लेखेका थिए, ‘हामीले पूर्वी नेपालका कबिलाहरूमा अझ धेरै लडाकु गुण पाउनसक्छौं। यसले भर्नाका लागि हामीसँगै अझै पनि ठूलो अतिरिक्त क्षेत्र छ भन्ने प्रमाणित गर्दछ।
यसरी छानीछानी खास जातिका युवाहरूलाई भर्ती गर्ने बेलायतीहरूले विश्वयुद्धका बेला भने उनीहरूले जातजातिको कुनै ख्याल नराखी सकेसम्म ठूलो संख्यामा भर्ना गरे। यसक्रममा चन्द्रशमशेरले नेपालका जेलमा सजाय काटीरहेका कैदीहरूलाई पनि बेलायती फौजमा पठाए। युद्ध सकिएपछि उनीहरू फेरि पुरानै जातीय विभाजनमा ध्यान दिन थाले। उनीहरूको यो दृष्टिकोण कुनै न कुनै रूपमा आजसम्म पनि कायमै छ।
गोर्खा रेजिमेन्ट भारतभित्र बेलायती शासन फैलाउन र जग बलियो बनाउन अग्रमोर्चामा खटिए। उनीहरूले मराठा, भरतपुर, शिख साम्राज्यविरूद्धका युद्धमा अंग्रेजहरूलाई दिलोज्यानले साथ दिए। गोर्खाहरूकै रगतको बलमा यी क्षेत्रमा ब्रिटिस शासन स्थापित भयो।
गोर्खा रेजिमेन्ट हालको भारतभित्र बेलायती शासन फैलाउन र जग बलियो बनाउन अग्रमोर्चामा खटिए। उनीहरूले मराठा, भरतपुर, शिख साम्राज्यविरूद्धका युद्धमा अंग्रेजहरूलाई दिलोज्यानले साथ दिए। गोर्खाहरूकै रगतको बलमा यी क्षेत्रमा ब्रिटिस शासन स्थापित भयो। शिखविरूद्धको युद्धमा गोर्खाली बटालियनको भूमिकाको प्रशंसा गर्दै प्रधानसेनापति सर (पछि लर्ड) ह्युज गोले सोबराउँको युद्धपछि लेखेका थिए:
खासगरी हाम्रा दुई गोर्खा बटालियनहरू सिरमुर र नासिरी बटालियनको बहादुरी र कठीन प्रतिबद्धताबारे लेख्नका लागि मैले गम्भीर भएर कलम रोक्नै पर्छ। शिखहरूले उनीहरूलाई जहाँजहाँ रोके, त्यहाँ उनीहरू लडे। शरीर सानो कदको भए पनि उनीहरूको आत्मामा अदम्य साहस थियो… कम्मरमा हिमालतिरको छोटो हतियार भिरेका उनीहरू यो युद्धभरी शिखहरूका लागि साँच्चिकै आतंक बनेका थिए।
यसका साथै गोर्खाहरू अफगानिस्तान युद्धमा पनि अंग्रेजका अग्रमोर्चाका सिपाही बने। नर्थवस्ट फ्रन्टियर र नर्थइस्ट फ्रन्टियरका युद्धमा चीनसँग जुध्न पनि गोर्खाहरू नै अघि सारिए। र, बक्सर विद्रोह दबाउने पश्चिमा शक्तिहरूको संयुक्त सेनामा चीन पनि पुगे। उनीहरूले भारतभित्र बेलायती साम्राज्यको जग बलियो बनाउन पनि लडे। १८५७को सिपाही विद्रोह दबाउन गोर्खाहरूले नै सबैभन्दा मुख्य भूमिका खेलेका थिए।
यो पनि पढ्नुहोस् –
गोर्खाको कथा-१: अग्निपथले तुहाएको लाहुरे सपना
बेलायती साम्राज्यको बिस्तारमा इन्डोनेसिया र मलेशियाका भूमिमा पनि उनीहरू लड्न पुगे। विश्वयुद्धमा नेपाली पहाडका गाउँगाउँ रित्तो पारेर नेपाली युवाहरू जापानी र जर्मनी सेनाहरूको प्रतिकारमा उत्रिए। ब्रिटिस साम्राज्यको अस्त नहुन्जेल उनीहरूले लडेका थोरै युद्धमात्रै होलान्, जहाँ गोर्खाली समावेश थिएनन्। उनीहरू मेसोपोटामिया, इजिप्ट, फ्रान्सविरूद्धको युद्धमा होमिए, रसियाली मध्य एसियामा गएर लडे। गलीपोली र फकल्याण्डको युद्धमा बेलायतलाई साथ दिए। यसक्रममा हजारौं नेपालीहरूले ज्यानको आहुती दिए। बेलायत सरकारको औपचारिक तथ्यांक अनुसार दुई विश्वयुद्धमा मात्रै लगभग २८ हजार गोर्खाहरू मारिए। तर, सुवेदीले आफ्नो पुस्तकमा लेखेअनुसार युद्धमा संलग्न गोर्खाहरूको यो संख्या बेलायतले उल्लेख गरेभन्दा कता हो कता धेरै रहेको बताउँछन्।
१५ अगस्ट १९४७मा भारत स्वतन्त्र भएपछि दशौं लाख मुस्लिमहरू भर्खरै स्थापित भएको मुलुक पाकिस्तान तिर बसाइँ सरे भने त्यति नै संख्यामा हिन्दूहरू ठीक विपरित दिशामा भारततिर बसाइँ सरे। र, यो बसाइँसराइलाई गोर्खाहरूले एउटा तटस्थ संस्थाको रूपमा सहजिकरण गरे।
सन् १९०० पछि अंग्रेजहरूले कुटिलतापूर्वक भारतमा धार्मिक राष्ट्रवाद र धार्मिक विद्वेशको राजनीतिमा खेल्ने रणनीति अख्तियार गरे। यसको सुरुवात १९०५मा बंगाल विभाजनबाट भयो। यो क्रम निरन्तर चलिरह्यो। सन् १९४७मा भारत र पाकिस्तान विभाजन हुँदै सम्हाल्नै नसक्ने जातीय दंगा भड्कियो। यी दंगा नियन्त्रण गर्न पनि गोर्खाहरू नै अग्रमोर्चामा खटिए। भारतीयहरू आफैं हिन्दू र मुस्लिममा विभाजन भएर पक्ष लिइरहेका बेला बेलायती सेनामा रहेका भारतीयहरू पनि विभाजित थिए। तर, गोर्खाहरूले यसको पर्वाह नगरी दंगा नियन्त्रणका लागि खटिइरहे। केही वर्षअघि प्रकाशित आफ्नो पुस्तक ‘आयो गोर्खाली’मा टिम गुरूङ लेख्छन्:
१५ अगस्ट १९४७मा भारत स्वतन्त्र भएपछि दशौं लाख मुस्लिमहरू भर्खरै स्थापित भएको मुलुक पाकिस्तान तिर बसाइँ सरे भने त्यति नै संख्यामा हिन्दूहरू ठीक विपरित दिशामा भारततिर बसाइँ सरे। र, यो बसाइँसराइलाई गोर्खाहरूले एउटा तटस्थ संस्थाको रूपमा सहजिकरण गरे। अनुशासित गोर्खाको निर्देशन र सुरक्षामा एकपछि अर्को रेल हजारौं मानिस बोकेर दुवै दिशामा दौडिरहन्थे र लाखौं जीवनको रक्षा भएको थियो।
गोर्खाहरू साहसी र युद्ध कौशलमा निपुण थिए भन्ने कुरामा शंका गर्न आवश्यक छैन। तर, बेलायतीहरूले गोर्खाको वीरताको अतिरञ्जना गरे र यसलाई दुश्मनमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने हतियारका रूपमा प्रयोग गरे। बेलायतविरूद्ध युद्धमा होमिएकाहरूका लागि गोर्खा एक मिथकीय लडाकु जाति बन्न पुग्यो। उक्त पुस्तकमा गुरूङ लेख्छन्:
युद्धका दौरान बेलायतीहरूले गोर्खालाई विभिन्न प्रचारबाजीमा प्रयोग गरे। धेरैजसो यस्तो प्रचार उनीहरूको खुकुरीबारे हुन्थ्यो, अरूबेला टोपीको बारेमा जसलाई ताररहित एन्टेना भनेर दोस्रो विश्वयुद्धमा प्रचार गरिएको थियो। सन् १९८२को फकल्याण्ड युद्धमा अर्जेन्टिनी विरूद्ध गरिएको प्रचारबाजी भने अत्यन्त घृणित थियो। गोर्खालाई पागल, रक्तपिपाशु जंगली जनावरजस्तै बनाएर प्रचार गरियो र भनियो- उनीहरू मान्छे मारेर रगत चुस्न नपाएसम्म शान्त हुनसक्दैनन्।
यतिसम्म कि नोबल पुरस्कार बिजेता लेखक ग्याब्रियल गार्सिया मार्खेज समेत यस्तो प्रचारबाट दिगभ्रमित हुन पुगे। थुप्रै नेपालीभाषी पाठकहरू उनका फ्यान छन्। तर, गोर्खाको दानवीयकरणमा चलेको उनको कलमबारे थोरै मात्रै अवगत छन्। उनका थुप्रै लेखहरूमा गोर्खालाई अमानवीयकरण गरिएको गुरूङको पुस्तकमा उल्लेख छ। सन् १९८३मा वासिङ्टन पोस्टमा प्रकाशित एक लेखमा अमेरिकी पत्रकार पिटर ओस्नोसले मार्खेजले गोर्खाको अमानवीयकरण गरिरहेको टिप्पणी गरेका थिए। उनले मार्खेजको एक लेख उद्धृत गरेका छन् जहाँ मार्खेजले गोर्खालीलाई ‘रक्तपिपाशु जनावर’को उपमा दिएका छन्। ओस्नोसले उदृत गरेअनुसार मार्खेजले लेखेका छन्, ‘यी जनावरहरू यतिसम्म रक्तपिपाशु हुन्छन् कि एकपटक स्टान्लेको युद्ध सकिएपछि उनीहरूलाई हतकडी लाएर नियन्त्रण नगरेसम्म आफ्नै सहयोद्धा अंग्रेजहरूलाई मारिरहे।’ मार्खेजले यो युद्धमा सरिक भएका सात सय गोर्खालीमध्ये ७० जनामात्रै जिवित फर्किएको बताएका छन्। तर, बेलायत सरकारको तथ्यांक अनुसार यो युद्धमा बेलायती सेनातर्फ २५० जनाको मात्रै क्षति भएको थियो जसमा गोर्खालीहरु जम्मा दुई जनाको ज्यान गएको थियो। मार्खेजले गोर्खाको खुकुरीले प्रत्येक सात सेकेण्डमा एक जनाको शिर काट्न सक्छ भन्ने पनि उल्लेख गरेका रहेछन्।
फकल्याण्ड युद्ध सुरू हुनु अघि उनीहरूले पत्रकारहरूलाई बोलाएर गोर्खाले खुकुरी उद्याइरहेको र हावामा खुकुरी नचाइरहेको फोटो खिच्न लगाएका थिए। यसले दुश्मन सेनाको मनमा गोर्खा आतंक सिर्जना गरेको थियो। पार्करका अनुसार ती पत्रिकाहरूको शिर्षकमा गोर्खाहरू ड्रग्स खान खप्पिस छन्, बच्चा भेट्टाए भने खाइहाल्छन् जस्ता डरलाग्दा शिर्षक राखिएको थियो।
मार्खेजले फकल्याण्ड युद्धमा सहभागी कुनै एक सैनिकले बताएको भन्दै यी प्रसंग लेखेका रहेछन्। तर, बेलायतीहरूले नियोजित रूपमा यस्तो प्रचारबाजी गरेको बुझ्न कठिन छैन। गोर्खालीलाई ‘किलिङ मेसिनको उपमा दिएका लेखक जोन पार्करको पुस्तक ‘द गोर्खाज: द इनसाइड स्टोरी अफ द वर्ल्ड्स मस्ट फियर्ड सोल्जर्स’मा उल्लेख भएअनुसार बेलायतले नियोजित रूपमा नै यस्तो प्रचार गरेको थियो। युद्ध सुरू हुनु अघि उनीहरूले पत्रकारहरूलाई बोलाएर गोर्खाले खुकुरी उद्याइरहेको र हावामा खुकुरी नचाइरहेको फोटो खिच्न लगाएका थिए। यसले दुश्मन सेनाको मनमा गोर्खा आतंक सिर्जना गरेको थियो। पार्करका अनुसार ती पत्रिकाहरूको शिर्षकमा गोर्खाहरू ड्रग्स खान खप्पिस छन्, बच्चा भेट्टाए भने खाइहाल्छन् जस्ता डरलाग्दा शिर्षक राखिएको थियो।
फकल्याण्ड युद्धमा गरिएको अतिरञ्जित प्रचारबाजी एउटा उदाहरणमात्रै हो। ब्रिटिसले कुनै पनि युद्धमा गोर्खाहरूको दानवीकरण गरेर दुश्मन सेनामा मनोवैज्ञानिक आतंक सिर्जना गर्न बाँकी राखेन। त्यसैले, सुवेदीको पुस्तकमा उल्लेख भएअनुसार एक जापानी सिनेमामा गोर्खाले मान्छेको मासु खाइरहेको देखाइएको छ। जापानीहरूको मष्तिस्कमा यस्तो छाप कसरी पर्यो त ? बेलायतीहरूले दोस्रो विश्वयुद्धमा गरेको प्रचारवाजी बाहेक अर्को कारण पक्कै थिएन।
गोर्खाबारे संसारमा अनेक मिथकहरू सिर्जना गरिए। दापबाट खुकुरी निकालिसकेपछि गोर्खाले कसै न कसैलाई काट्नै पर्छ, कसैलाई काट्न पाए भने आफ्नै हातको औंला काट्छ भनेर पनि निकै प्रचार भएको थियो।
गोर्खाबारे चलाइएका यस्ता मिथले उनीहरूलाई साधारण मानवभन्दा फरक अरू नै केही देखाउन खोज्यो। यस्तो वीर-गाथामा नेपालीहरू पनि रमाउन थाले। गोर्खालीको वीरताबारे यही समुदायमै पनि अनेक मिथकहरू फैलिरहे। स्कुले जीवनमा हामीले पटक-पटक सुनेका थियौं, सन् १९८६को विश्वकप फाइनलमा इंग्ल्याण्डलाई हराएपछि म्याराडोनाले भनेका थिए, ‘हामीले विश्वकपमा इंगल्याण्डलाई हरायौं किनभने फुटबल मैदानमा गोर्खाली थिएनन्।’ म्याराडोनाले यस्तो भनेका थिए भन्ने कहिँकतै भेटिँदैन। तर, आज पनि सामाजिक सञ्जालमा म्याराडोनाको भनाइ भन्दै यो पोस्ट भेटिन्छ।
आज पनि नेपाल र भारतीय नेपाली समुदायले आफूलाई वीर र लडाकु जातिका रुपमा गर्व गर्न खोजिरहेको हुन्छ, जसको पर्दापछाडि बेलायती उपनिवेशवादको छाया मडारिइरहेको हुन्छ। यो वीरगाथालाई भूपी शेरचनले आफ्नो कवितामा व्यंग्य गर्दै भनेका थिए:
हामी वीर त छौँ
तर, बुद्धू छौँ
हामी बुद्धू छौँ
र त हामी वीर छौँ
हामी बुद्धू नभईकन वीर कहिल्यै हुन सकेनौँ
अहिले नेपालीहरू बेलायत, ब्रुनाइ, सिंगापुर लगायतका सेना वा पुलिसमा काम गरिरहेका छन्। पछिल्लो समय फ्रेन्च आर्मी र कतार पुलिसले पनि नेपालीहरूको भर्ना खुला गरेको छ। तर, गोर्खा माथिको यो लेखमा हामी अग्नीविर र अग्नीपथमा नेपाली नागरिकको भर्नाको विषय केलाउँदै छौं। त्यसैले, हामी यहाँबाट भारतीय सेनामा रहेका गोर्खाहरूमा ध्यान केन्द्रित गर्छौं।
दोस्रो विश्वयुद्धपछि बेलायतलाई पछि पार्दै अमेरिका विश्वको सबैभन्दा शक्तिशाली मुलुक बन्यो। युद्धले जर्जर बेलायत आफ्ना उपनिवेशहरू धान्न सक्ने अवस्थामा थिएन। अर्कातिर, भारतमा भारत छोडो आन्दोलन उत्कर्षमा पुगेको थियो। परिणामस्वरूप भारत र पाकिस्तान दुई अलग मुलुक बने र बेलायती उपनिवेशबाट स्वतन्त्र भए। मुस्लिम राष्ट्र बनेको पाकिस्तानले ‘हिन्दू’ गोर्खाहरूमा कुनै रूचि देखाएन। तर, बेलायतले आफ्नो सेनामा सानो संख्यामा गोर्खा सैनिक राख्न चाह्यो। बाँकी गोर्खा सैनिकलाई आफ्नो सेनामा समावेश गर्ने प्रधानमन्त्री नेहरूलाई बेलायतले दबाव दिएको सुवेदीले लेखेका छन्। ‘गोर्खाहरूलाई आफ्नो सेनामा नराख्ने हो भने निकोबार अन्दमान द्वीपसमूह नछाड्ने धम्कीसमेत ब्रिटिसहरूले दिएकाले नेहरू यसमा सहमत भएका थिए,’ सुवेदीले लेखेका छन्।
सन्धि अनुसार गोर्खा राइफल्सका पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं र नवौं रेजिमेन्टहरू भारतीय सेनामा रहने भए। बेलायतको मातहत रहने भनिएका चार रेजिमेन्टबाट पनि भारतीय सेनामै रहन चाहनेहरूलाई समावेश गरेर भारतीय सेनामा एघारौं गोर्खा रेजिमेन्ट खडा गरियो। अहिलेसम्म भारतीय सेनामा गोर्खाका यी सात रेजिमेन्टअन्तर्गत् ४० बटालियन छन्।
भारत स्वतन्त्र हुनुभन्दा केही महिना पहिले १९४७को जुनमा ब्रिटिस फिल्ड मार्सल रोबर्ट मोन्टगोमरी अष्ट्रेलिया जाने क्रममा नयाँ दिल्ली निस्किए। जवाहरलाल नेहरूसँग उनको छलफल भयो। यो छलफलमा मोन्टगोमरीले दोस्रो, छैटौं, सातौं र दशौं रेजिमेन्टका दुई-दुई बटालियन बेलायतले आफ्नो अधिन राख्न चाहेको बताए। यसमा नेहरू पनि सहमत भए। बेलायतले यी नै आठ बटालियन किन रोज्यो त ? हिमाल खबरपत्रिकाको नोभेम्बर १९९८को अंकमा तत्कालीन सम्पादक बसन्त थापाले आफ्नो मूल आलेखमा दुईवटा सम्भावना औंल्याएका छन्। पहिलो, यी बटालियनहरू बर्मामा खटिएका हुनाले उनीहरूलाई त्यहाँबाट मलाया(मलेशीया) सार्न सजिलो हुने थियो। दोस्रो, दोस्रो र छैटौं रेजिमेन्टमा पश्चिम नेपालका मगर र गुरूङहरू तथा सातौं र दशौं रेजिमेन्टमा पूर्वका राई र लिम्बुहरू थिए। यी जातिलाई बेलायतीहरूले मार्सल रेसका रूपमा परिभाषित गरेको हुनाले नै उनीहरूलाई आफूसँगै राख्न चाहेका थिए। जे भए पनि नेहरू र मोन्टगोमरीबीचको यही सहमतिलाई औपचारिकता दिन नौ नोभेम्बरमा काठमाडौंमा नेपाल-बेलायत-भारतबीच त्रिपक्षीय वार्ता भयो। यो वार्ताले ५ बुँदे सहमति गर्यो। यो सहमति अनुसार माथि उल्लेख भएका चार बटालियन बेलायत मातहत रहने भए भने बाँकी बटालियनहरू भारतकै अधिनमा हुने भए। यसका साथै यसपछि पनि बेलायत र भारतले नियमित रूपमा नेपालबाट गोर्खा भर्ती जारी राख्ने भए।
सुरेन्द्र केसीको पुस्तक ‘गोर्खा: कथा, व्यथा र आन्दोलन’का अनुसार उक्त सम्झौताका मुख्य बुँदाहरू यसप्रकार छन्:
- भारतीय र ब्रिटिश सेनामा नेपाली नागरिकहरूको नियुक्ति निरन्तर रहने
- ब्रिटेन सरकारले आवश्यकताअनुसार आठ बटालियनसम्मका लागि गोर्खा भर्ती गर्न सक्ने
- तत्कालीन ब्रिटिश फौजमा रहेका १० रेजिमेन्टमध्ये दोस्रो, छैठौँ, सातौँ र दशौँ राइफल्सका सैनिकहरू ब्रिटिश सेनामा सामेल गरिने र उनीहरूलाई समुद्रपार तेस्रो मुलुक लान पाइने
- त्यसबाहेक अन्य रेजिमेन्टहरू भारतीय सेनामा सामेल हुने
- दुवै देशका सेनामा सामेल गोर्खाहरूलाई सेवा सुविधामा विभेद नगरिने
- भारतले गोरखपुर र घुममा रहेको भर्ती केन्द्र ब्रिटेनले पनि नेपालमा स्थायी प्रबन्ध नहुन्जेल चलाउन दिने
- भारत सरकारले गोर्खाका लागि आवश्यक ट्रान्जिट सुविधा उपलब्ध गराउने
- भारतले भारतीय रुपैयाँमा ब्रिटिश सेनाका गोर्खा वा अवकाशप्राप्त गोर्खाको रकम प्रदान गर्ने र त्यसको क्षतिपूर्ति ब्रिटेनले गरिदिने
यो सन्धि अनुसार गोर्खा राइफल्सका पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं र नवौं रेजिमेन्टहरू भारतीय सेनामा रहने भए। बेलायतको मातहत रहने भनिएका चार रेजिमेन्टबाट पनि भारतीय सेनामै रहन चाहनेहरूलाई समावेश गरेर भारतीय सेनामा एघारौं गोर्खा रेजिमेन्ट खडा गरियो। अहिलेसम्म भारतीय सेनामा गोर्खाका यी सात रेजिमेन्टअन्तर्गत ४० बटालियन छन्। यी बटालियनमा काम गर्ने गोर्खाहरू सबै नेपाली नागरिक मात्रै भने होइनन्। यसमा भारतीय नेपाली (जसले आफूलाई गोर्खा भनेर पनि चिनाउन चाहन्छन्) र नेपाली नागरिकहरू दुवै गोर्खा राइफल्समा छन्। पहिले गोर्खा राइफल्समा धेरै मात्रामा नेपाली नागरिकहरू हुन्थे।
यो पनि पढ्नुहोस् –
गोर्खाको कथा-२: अमरसिंह थापाको आत्मसमर्पणसँगै सुरू भएको गोर्खा भर्ती
गोर्खाको कथा-२: अमरसिंह थापाको आत्मसमर्पणसँगै सुरू भएको गोर्खा भर्ती
करिब ६०:४०को अनुपातमा नेपाली र भारतीय नागरिकहरू हुन्थे। अहिले भारतले क्रमश: भारतीयको संख्या बढाउँदै र नेपालीको संख्या घटाउँदै लगेको छ। अहिले भारतले नेपालबाट हुने भर्ती क्रमश: घटाउँदै लगेको छ। यो अहिले कुन अनुपातमा भर्ती हुन्छ भन्ने यकिन नभए पनि भारतबाट भन्दा आधा कम संख्यामा नेपालीहरू भर्ती गरिने भारतीय सेनामा काम गरेका गोर्खाहरू बताउँछन्। विभिन्न विवरणहरू अनुसार यी बटालियनमा काम गर्ने नेपाली नागरिकको संख्या ३५ देखि ४० हजारको बीचमा छ।
१९४७को सम्झौताले गोर्खाहरूको पारिश्रमिक र पेन्सन उक्त देशका सैनिकहरूको समान हुने भने पनि ब्रिटिस गोर्खाहरूले सधैं विभेद झेल्नु पर्यो।
भूतपूर्व ब्रिटिस गोर्खाहरूको संगठन गेसोले निरन्तर आन्दोलन र कानुनी रूपमा यो मुद्धा उठाएपछि सन् २००७मा चारवर्ष बेलायती सेनामा सेवा गरिसकेका गोर्खालाई बेलायतमा परिवारसहित बसोबासको अधिकार प्राप्त भयो। गेसो आन्दोलनको परिणामस्वरुप गोर्खाहरूलाई बेलायती सैनिक सरह पेन्सन र पारिश्रमिकको अधिकार पनि प्राप्त भयो। दोस्रो विश्वयुद्धका युद्धबन्दीलाई दिइने क्षतिपूर्तिमा गोर्खाहरूलाई गरिएको विभेद पनि सच्याउन बेलायत सरकार बाध्य भयो। त्यस युद्धका युद्धबन्दीका सन्तानले लामो समयपछि क्षतिपूर्ति रकम प्राप्त गरे।
भारतीय सेनामा गोर्खाहरूले पारिश्रमिकको विभेद भने भोग्नु परेन। नेपाली हुन् वा भारतीय गोर्खा, उनीहरू सदैव भारत सरकारप्रति वफादार रहे र भारतले लडेका प्राय: सबै युद्धको अग्रमोर्चामा खटिए। भारत र पकिस्तान स्वतन्त्र भए पनि यी दुवैको सीमानामा रहेको काश्मिरको भविष्यमाथि कुनै फैसला भएको थिएन। काश्मिर आफू स्वतन्त्र रहन चाहन्थ्यो भने दुवै मुलुकले काश्मिरमाथि दाबी गरिरहेका थिए। काश्मिरमा अशान्त भयो र त्यहाँ युद्ध सुरू भयो। जन्मँदाजन्मँदैका दुई देश भारत र पाकिस्तान काश्मिरका लागि लड्न थाले। यो युद्धमा तेस्रो गोर्खा राइफल्सले भारतका लागि लड्यो। १९६५को भारत-पाकिस्तान युद्धमा पनि गोर्खाहरू भारतीय पक्षबाट अग्रमोर्चामा खटिएका थिए। त्यसको ६ वर्षपछि सन् १९७१मा बंग्लादेश स्वतन्त्रताको आन्दोलनमा भारतीय सेनाले आन्दोलनको पक्षमा हस्तक्षेप गरेको थियो। यसमा पनि गोर्खाहरूले महत्वपूर्ण भूमिका निभाए थिए। यस्तै १९९९को कार्गिल युद्धमा पनि गोर्खाहरू पाकिस्तानविरुद्धको युद्धमा सामेल भए।
१९६२को भारत-चीन युद्धमा पनि गोर्खा राइफल्स सहभागी भयो। यो युद्धमा गोर्खा राइफल्सको भूमिकाबारे जेपी डाल्वीले आफ्नो पुस्तक ‘हिमालयन ब्लन्डर’मा बिस्तारमा चर्चा गरेका छन्। यो युद्धमा करिब ७०० गोर्खाहरू मारिएको आकलन छ।
सन् १९८०को दशकदेखि श्रीलंकामा चलेको तामिल विद्रोह दबाउन भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले श्रीलंकालाई सहयोग गर्ने निर्णय गरे। सन् १९८७मा भारतीय सेना श्रीलंका पुग्यो। यसमा पनि गोर्खाहरू सामेल थिए। १९४७को सन्धिमा गोर्खालाई हिन्दूविरूद्ध प्रयोग गर्न नपाइने प्रावधान भएकाले यो युद्धमा गोर्खालाई पठाउने उक्त सन्धिको उल्लंघन भएको टिप्पणी पनि हुने गरेको छ।
भारतको सीमा सुरक्षामा होस् अथवा आन्तरिक द्वन्द्वमा होस्, गोर्खा राइफल्स सदैव अग्रमोर्चामा लडिरहेको छ। हजारौं गोर्खाहरूले भारतका लागि आफ्नो जीवन बलिदान गरेका छन्, अपाङ्ग भएका छन्। युद्धमा देखाएको वीरताका लागि थुप्रै प्रतिष्ठित मेडल पनि पाएका छन्।
गोर्खा भर्तीको दुई सय वर्ष र स्वतन्त्र भारतको ७५ वर्ष सेवा गरेपछि भारतीय सेनामा गोर्खा भर्तीको भविष्यलाई लिएर पहिलो पटक प्रश्न उठेको छ।
यो पनि पढ्नुहोस् –
भारतीय सेनामा अग्नीपथ योजना: त्रिपक्षीय सन्धि खारेज गर्ने उपयुक्त अवसर
भारतीय सेनामा अग्नीपथ योजना: त्रिपक्षीय सन्धि खारेज गर्ने उपयुक्त अवसर