गत हप्ता प्रतिष्ठित अनलाइन खवरमा मैले नेपालमा संक्रमण प्रसार बढी नहुने कुरामा आशावादी भएको लेखेको थिएँ। यसको कारण मैले कोभिड-१९ का पुष्टि संख्या २ र पुष्टि संख्या ३ हरुले संक्रमण भएको सन्देह लाग्नासाथ र सामान्य लक्षण देखिनासाथ स्वास्थ्य सेवाको खोजमा आएकाले भनेको थिएँ। मैले एक पटकमात्र होइन – दुई दुई पटक दोहोर्याएको थिएँ। म यहाँ यसको कारण बूँदागतमा रुपमा व्यक्त गर्छु।
म किन आशावादी छु
(१) हालको कोरोनाभाइरस- २ बाट व्यक्तिगत वचाउ र सामुदायिक बचाउ कसरी गर्ने कुरा आम जनसमुदायलाई आमरुपमा जानकारी भइसकेको छ। अहिले विश्वका समस्त मानवजाति, मुलुक, समुदाय, परिवार र व्यक्तिको चासो र कुराकानी यसैविषयमा भैरहको छ।
नेपालमा यस्तो परिवार छैन कि घर वा आफन्तहरु विदेश नगएका होउन्। विदेश जाने अब कोइला खानीका मजदुर जस्ता असचेत र संचारभन्दा टाढा रहेका छैनन्। ती आफ्ना प्रियजनहरुलाई इमोबाट तस्वीर पठाउन क्षणक्षणमा सेल्फी खिच्नमा अभ्यस्त हुने खालका छन्। हाल ती यस महामारीतिर फर्केका छन्। यसकारण हरेक दिन नेपालका आमाबावु र श्रीमान वा श्रीमतिबीच यही महामारीका बारे कुराकानी भाइवर वा मेसेन्जर वा अरु यापबाट कम्तिमा एक वा सो भन्दा बढी वार्तालाप हुने गरेका छन्।
(२) अहिले नेपालमा संक्रमण पुष्टि भएका सबै संख्या नै सामान्य लक्षणका आधारमा सेवा खोज्न नजिकका र सम्वन्धित अस्पतालमा पुगेका छन्। तर पुष्टि संख्या ४ अस्पतालमा चैत्र ७ मा पुग्दा त्यहाको अस्पतालले यात्राविवरण नमागेको बुझिन्छ या मागेको भएपनि राम्ररी परामर्श नदिएको देखिन्छ। किनकि अस्पताल पुष्टि संख्या २ कतार एअरवेजमा आएको चैत्र ९ गतेमात्र खुल्यो। त्यसपछिको प्रचारले पुष्टि संख्या ४ पुन अस्पतालमा चैत्र ११ गते पुग्यो। यस कुराले कुनै पनि विदेश यात्रा गएका वा अन्य संसर्गमा पुगेका व्यक्ति सचेत छन् र शंका लाग्नासाथ अस्पताल जाने वा समुदायले समेत बाध्यात्मक क्वारेन्टाइन वा आइसोलेसनमा पुर्याउने अवस्था बनेको छ।
(३) समुदाय अब तयार भइसकेको छ। विदेशबाट फर्किएकाहरुमाथि घरपरिवारले नै निगरानीमा राख्न थालेका छन्। पुष्टि संख्या ५ को अतरियाको मामलामा श्रीमतिको करले सेवा खोज्न अस्पताल पुगेकाछन्।
छिमेकीहरु र आफन्तले समेत निगरानीमा राखेका छन् र तिनको संसर्गबाट बच्न हरसम्भव प्रयत्न गरेका छन्। मेरै भतिज त्रिवि विमानस्थलमा काम गर्छन्, उनी म घर आउँदिन भनेर छुट्टै बसेका छन्। यस्ता अनेकन भएका छन्।
टोलमा अर्को टोलमा नआउन् भनेर तगाराहरु तेर्स्याएका तस्वीरयुक्त समाचार आएका छन्। कतिसम्म भएको छ कि अपरिचित व्यक्ति देखिए पुलिसलाई खबर गर्नु भन्ने सूचनासमेत टाँगिएका छन्। समुदाय-समुदायको आवतजावतमा भिसा प्रणाली लाग्ने बाहेक सबै खालका चलायमानता रोक्ने गरी अभियान चलेकाछन्।
पालिका र वडाहरुले विदेशबाट फर्केका व्यक्तिहरुको लगत तयार गरिसकेको फेसबुकमा देखिएको छ। मैले सोधेका स्थानहरुमा यस्ता लगत भरिएको सुनिएको छ। यसले प्रसारण रोक्ने लगायत क्लस्टर छुट्याउन सहयोग पुग्नेछ।
(४) अरु आयातित केस आइसक्नु पर्ने हो किनकि अन्तर्राष्ट्रिय विमानस्थल कडाइ र बन्द गरिएको दुई हप्ता भइसकेको छ। जब कि हालसम्म संक्रमण भएका पुष्टि संख्या २, पुष्टि संख्या ३, पुष्टि संख्या ४ र पुष्टि संख्या ५ सबै नै बढिमा ५ दिनमा सेवा खोज्न अस्पताल आइपुगेका छन्। (आज पुष्टि संख्या ६ यो किन १६ दिन पछि पत्ता लाग्यो त्यसका बारे खोजी गरिनु पर्छ)।
लकडाउन गरिएको १४ दिनभित्र अधिकांश मामलाहरु प्रकट हुनेछन्। यतिबेलासम्म साधारणतया प्रसार प्रवृत्ति र स्थान पहिचान भइसक्नेछ। यसैको आधारमा लकडाउनको स्वरुप यस्तै कडा राख्ने हलुका वा क्लस्टरका आधारमा गर्ने अनुमान गर्न सकिन्छ। यसैबेलाको प्रबृत्ति हेरेर लकडाउन कुन स्तरको गर्ने हो र उपचार व्यवस्थापन कसरी प्रभावकारी बनाउने हो योजना गर्न सकिन्छ। सामान्तया सेवालाई सकेसम्म स्थानीय तहमा ओराल्न पर्छ। विशिष्टिकृत सेवा अमेरिकाका लागि समेत मुस्किल भएको प्रष्ट नै छ।
(५) अन्तर्राष्ट्रिय हवाइ यात्रुको आवागमन रोक भएपछि हवाइमार्गबाट नेपालमा संक्रमितहरुको प्रवेश हुन सक्दैन। चीनको ल्हासामा १ व्यक्ति आयातित संक्रमित देखिएका थिए तर ती निको भइसके। हाम्रो उत्तरी सीमा चीनको तिब्वत संक्रमणरहित भएकाले त्यहाँको स्थलमार्ग हुँदै संक्रमण प्रसार हुने सम्भावना देखिदैन।
(६) भारतसँगको खुला सीमा छ। तर भारत सरकारले हाम्रोमा पुष्टि संख्या १ वुहानबाट आएको देखिनासाथ उत्तरप्रदेश तथा विहारमा निगरानी र टेस्ट/परिक्षण गर्न शुरु गरिसकेको थियो। वास्तवमा भारत सरकार नेपालमा चीनबाट भित्रिएर त्यतातिर संक्रमण प्रसारण हुन्छ भन्नेमा सचेत भइरहेको थियो। नेपालमा संख्या १ माघ १० मा पुष्टि भएको भनिएपनि वर्ल्डोमिटरमा ७ माघ भनेर उल्लेख गरिएको छ जब कि भारतमा १५ माघमा मात्र संख्या १ पुष्टि भएकोछ। तर अब भने भारतको दृश्य बदलिएको छ।
यद्यपी म पिलिभित उत्तरप्रदेशको संक्रमित क्लस्टर हेर्दा अत्तालिएको थिएँ। तर सबैले स्मरण गरौं कि हालसम्म भारतमा रहेका नेपालीहरुमा संक्रमण भएको समाचार आइपुगेको छैन। यसकारणले अहिलेसम्म भारतबाट संक्रमित व्यक्ति प्रवेश गरी हाले जस्तो लाग्दैन।
यस्तो किन भयो या किन हुनसक्छ ?
यसबारे मेरा केही तर्कहरु छन्।
भारतको संक्रमण पुष्टि संख्याका आधारमा केरलामा २१३, महाराष्ट्रमा २१५, उत्तरप्रदेशमा ८८ संक्रमित पुष्टि मामलाहरु बढी देखिएका छन् (मार्च ३०)।
अब त्यहाँ रहेका नेपाली र उनीहरु काम गर्ने परिसरमा भारतीय जनताहरुको सम्बन्धलाई ध्यान दिनुपर्छ। अर्को कुरा कोरोनाभाइरस-२ अधिकांश मुलुकहरुमा चिनिया पर्यटकहरु खासगरी वुहानबाट हवाई मार्ग यात्रा गर्दै सरेको देखिन्छ। विश्वका राजनीतिक व्यक्ति र मन्त्री र राजारानीमा कसरी पुग्यो त्यसको लिङ्क जानकारीमा नआएपनि भाइरसको शुरुको यात्रा हवाई मार्गबाट नै भएको प्रष्ट छ।
यसैकारण कोरोनाभाइरस -२ को शुरुको बाहक उच्चवर्ग भएको अनुमान गर्न सकिन्छ। यही कुरालाई ध्यानमा राख्दा केरला र महाराष्ट्रमा काम गर्ने नेपाली श्रमिकको कार्य त्यहाँको उच्चवर्गसँग फ्रन्टफेसमा रहेर गरिने खालका छैनन्। अधिकांश चौकीदार र उच्च वर्गलाई टाढै नमस्कार गर्नेहरु त्यहाँ छन्। भाषाका कारण पनि लामोसमयसम्म दोहोरो कुराकानी हुने अवस्था देखिदैन।
उत्तरप्रदेशका ८८ संक्रमित मध्ये ३८ जना पिलिभितमा देखिएको छ। यसबारे चनाखो रहनु पर्छ। अतः भारतबाट आएका व्यक्तिहरु आफै, परिवार र समुदाय आआफ्नो तहमा सतर्क र जिम्मेवार भए महामारी यस्तो प्रवृत्तिमा फेरवदल आउँदैन। यी कुराहरु हालसम्मको परिवेशका कारण भनिएका हुन्। यदि भारतीय सीमाबाट ‘जन्मभूमि मर्न पाउँ’ भनेर संक्रमितहरु कतैबाट पसेभने यो अनुमान नमिल्न सक्छ।
लकडाउन कहिले सम्म ?
लकडाउन कुन स्तरमा गर्ने भारतले गरेको स्तर र समयावधीलाई ध्यानमा राखेर नै गर्नु पर्ने हुन्छ। तर संक्रमित क्लस्टर समुदाय पहिचान गरी लकडाउनलाई साँघुरो पार्दै लानु पर्छ। यसलाई प्रदेशको अनुगमनमा पालीका र वडासम्मको तहमा सीमित गराउँदै लानु पर्छ। तर भारतको संक्रमण प्रसार नरोकिई नेपाल ढुक्क बस्न सक्दैन र मिल्दैन। यसैकारण “कोभिड–१९ को प्रकोपमा नेपालभारत भारण्ड चरा हुन्” भनिएको हो। यो कुरा अहिले भारतबाट मुलुक फर्कने नेपालीको ताँतीले अझ राम्ररी प्रष्ट पारेको छ। यसकारण भारतसँग समन्वय र सहकार्य गर्नै पर्छ।
लकडाउनको १४ दिनमा संक्रमितहरु सतहमा निस्की सकेपछि संक्रमित क्षेत्र वा क्लस्टर पहिचान गर्न सकिन्छ पहिचान गरिएका समुदायमा कडा स्तरको निगरानी गरिनु पर्छ।
प्रकोपको चिह्न नै नदेखिएका समुदायमा र विदेशबाट आएका व्यक्तिलाई क्वारेन्टीनमा राख्ने समुदाय वा परिवार तयार भएका स्थानमा लकडाउन सीमित स्तरको मात्र गर्दा हुन्छ। तर समुदाय तयार नभएका र तयार हुन नसक्ने समुदायलाई पुरै निगरानी गर्नसक्ने लकडाउन गर्नु पर्ने हुन्छ।
स्मरणीय छ कि विश्वमहामारी भएकाले कुनै पनि मुलुक वा विश्वले यस्तो नेपालबन्द खालको लकडाउनलाई दीर्घकालिन गर्न सक्दैन। यसर्थ महामारी स्थानीयकृत भएपछि खास चरणका लागि विश्वले कार्यक्रम अगाडि सार्नेछ त्यसका लागि नेपालले दृष्टि दिनु पर्ने हुन्छ।
अहिलेको खोप नै चनाखो समुदाय हो
अहिलेको खोप भनेको चनाखो समुदाय, चनाखो समुदाय, र फेरि पनि चनाखो समुदाय नै हो। औषधीय खोप त आजका सूचना अनुसार करीव एकडेढ वर्षमा तयार हुनेछ। त्यो पनि यसले अनुवंश उत्परिवर्तन गरेन भने। यसर्थ हाम्रो खोप भनेको नै आमसमुदायलाई परिचालन गर्ने नेकपाहरु, नेपाली काँग्रेस, मधेशवादी तथा समाजवादी लगायतका दलहरु नै हुन्। यिनीहरुको जुरमुराईले समुदायका साथै र सबै क्षेत्रका पालीका सक्रियरुपमा परिचालन हुनेछन्।
नेपालमा परिक्षण गरिसक्न १०/११ वर्ष लाग्छ
“टेस्ट टेस्ट टेस्ट” का लागि सरकार तयार गर्दैछ। अमेरिका नै माग्ने भइसकेका बेला सरकारले गरेको प्रशंसनीय छ र आशा गरौं तर धेरै आशा गरौं।
जहाँसम्म परीक्षणको कुरा छ यही रफ्तार र क्षमताले बढाउने हो भने ३ करोड जनताको परिक्षण गर्न ११ वर्षसम्म लाग्नसक्छ। चैत्र ५ बाट शुरु गरिएको परीक्षण चैत्र १९ साँझसम्ममा ११८४ नमूना जाँच भएको छ। जुन प्रतिदिन ७४ रहेको छ। त्यसकारण दक्षिण कोरियाको उदाहरण देखाउँदै आमरुपमा गरिनु पर्छ भनेर माग सिर्जना गरिनु हुँदैन।
किन करिव ११ वर्ष लाग्न सक्छ
- परिक्षण शुरु गर्न थालिएको चैत्र ५
- चैत्र १९ बेलुकी (१५ दिन) साँझसम्म परिक्षण भएको ११८४ वटा नमूना
- परीक्षण गरिएको सरदर ७९
- यही सुविधा र क्षमताले परिक्षण गरिएमा वर्षमा गर्न सकिने २८,८३५
- नेपालको नेपालमा रहेका करीव ३ करोड जनसंख्या ( अरुबाँकी विदेशमा छन् भन्ने आधारमा तथ्याङ्क पुष्टी गरौं)
- वर्षमा २८,८३५ का दरले ३ करोड जाँच्न १०.४० लाग्ने।
विश्वको चिकित्सा शिक्षा र उपचार सेवाको मिसनमाथि प्रश्न उठाएको छ। यसले निजीकरणको असली कुरुप देखाएको छ। साथै विश्वमा स्वास्थ्य महामारी आउँदा उपचार सेवा र जनशक्तिको अनुक्रिया कस्तो हुनेछ प्रष्ट पारेको छ।
अन्तमा निष्कर्ष के हो भने जनताको भाइरस र यसको बचावटबारे जानकारी, समुदायको निगरानी र हवाई तथा थलमार्गको प्रतिबन्धका कारणनै यहाँ भाइरस छिर्न सकेन । केही छिरेकाले सचेतनाका कारण प्रसार हुन सकेन। यदि समुदाय चनाखो रहेमा नेपालले कोभिड- १९ प्रकोप कावूमा राख्नेछ ।
सबै सक्रिय होऔं– नेपालले भाइरसको रोकथामको नेपाली मोडल विश्वलाई दिऔं।
भूलसुधार: शिर्षकमा करीव ११ वर्ष हुनु पर्नेमा ११ सय वर्ष भएछ। माफी चाहन्छौं। नेपाल रिडर्स परिवार।