चीनबाट इन्धन आयात गरी आयल निगमलाई बिक्रीको जिम्मेवारी दिने नेसनल ट्रेडिङको रणनीति
सरकारी स्वामित्वको नेसनल ट्रेडिङ लिमिटेडले चीनबाट इन्धन आयात गर्ने योजना अघि सारेको छ । चरम नोक्सानीबाट गुज्रेपछि सबै कर्मचारीलाई बिदाइ गरी नयाँ स्वरूपमा सञ्चालन अघि बढाएको संस्थानले यस्तो योजना अगाडि ल्याएको हो ।
आपूर्ति मन्त्रालयले उपसचिव लवदेव जोशीलाई महाप्रबन्धक बनाएर संस्थानलाई नयाँ तरिकाबाट अगाडि बढाउने जिम्मेवारी प्रदान गरेको थियो । आफूले प्राप्त जिम्मेवारीका आधारमा चीनबाट इन्धन ल्याएर बिक्री गर्ने योजना बनाएको उनले बताए । ‘चीनसँग यसअघि नै इन्धन खरिद गर्ने समझदारी भइसकेको छ,’ उनले भने, ‘सोही समझदारीलाई कार्यान्वयन गरी तेल आयात गर्ने योजना बनाइरहेका छौँ ।’ आपूर्ति मन्त्रालयमा नेसनल ट्रेडिङलाई नयाँ स्वरूपमा सञ्चालन गर्ने विषयमा एक साताभित्र योजना पेस गर्ने उनले जानकारी दिए ।
चीनसँग आयल निगमले ११ कात्तिक, ०७२ मा इन्धन आयात गर्ने समझदारी गरेको थियो । नेसनल टे«डिङले चीनबाट इन्धन आयत गरी आयल निगमलाई बिक्रीको जिम्मेवारी दिने रणनीति बनाएको छ । यही मोडालिटी कार्यान्वयन भए आयल निगमले गरेकै समझदारीअनुसार आयात हुन सक्छ । तर, नेसनल ट्रेडिङले भण्डारण गृह बनाउने र पम्प पनि आफैँ सञ्चालन गर्ने अवधारणा अघि बढाए चीनसँग नयाँ समझदारी गर्दै आयात सम्झौता गर्नुपर्ने हुन्छ । महाप्रबन्धक जोशीले सरकारबाट स्वीकृति पाए धमाधम काम सुरु गर्ने बताए ।
भारतको एकाधिकार तोडिने
हाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट पेट्रोलियम पदार्थ आयात गरिरहेको छ । आइओसीले भारतमा माग बढेका वेला नेपाललाई कम दिने गरेको छ । ३ वर्षअघिसम्म तेल खरिद गरेको बक्यौता समयमै नदिँदा आइओसीले निगमलाई कम तेल दिएर अभाव सिर्जना गराउँदै आएको थियो । चीनबाट इन्धन आयात सुरु भए भारतको एकाधिकार तोडिने र बजारमा प्रतिस्पर्धी मूल्य काम हुनेछ । हाल निगमले महिनामा ३० करोडभन्दा बढी नाफा राखेर पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्दै आएको छ । दुई कम्पनी भए अन्तर्राष्ट्रिय बजारमा आएको परिवर्तनअनुसार मूल्य निर्धारण हुन सक्छ ।
भारतमा सरकारकै तीन कम्पनी
भारतमा तेल कारोबार गर्ने सरकारी स्वामित्वका तीन कम्पनी छन् । नेपालले इन्धन आयात गरिरहेको आइओसी सरकार स्वामित्वकै हो । यसका अलवा भारत पेट्रोलियम कर्पोरेसन र हुन्दुस्तान पेट्रोलियम कर्पोरेसन छन् । तीन कम्पनीले आपसमा प्रतिस्पर्धा गरी कारोबार गरिरहेका छन् । त्यसैले नेपालमा दुई कम्पनीले तेल कारोबार गर्नु स्वाभाविक हुने उपभोक्ता अधिकारकर्मीको भनाइ छ ।
निर्यात कम्पनीको पनि योजना
नेसनल ट्रेडिङले निर्यात कम्पनीका रूपमा काम गर्ने योजनासमेत बनाएको छ । अहिलेको बढ्दो व्यापार घाटालाई कम गर्न निर्यात बढाउने काम गर्नुपर्ने महाप्रबन्धक जोशीले बताए । ‘हामीले निर्यातजन्य वस्तु किसान र व्यवसायीबाट खरिद गर्छौैं,’ उनले भने, ‘त्यसपछि सम्भावना भएका देशमा निर्यात गर्न सक्छौँ । यसका लागि पनि योजना बनाइरहेका छौँ ।’ विदेशी बजारको खोजी गर्न नसक्दा धेरै नेपाली उत्पादन निर्यात हुन नसकिरहेको उनको भनाइ छ । सरकारी निकायबाट अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी पहल गर्न सजिलो हुने भएकाले निर्यात कम्पनीका रूपमा काम गर्ने योजना बनाएको उनले बताए । नयाँ पत्रिका दैनिकबाट