सप्तरी पछिल्लो समयमा भएको आन्दोलनको उदगमस्थल हो । मधेसी दलहरुले जिल्लामा लगातार आन्दोलन गरेको छ । कुल १८ वटा स्थानीय तह रहेको जिल्लामा ९ वटा स्थानीय तह मधेसी दलले नै जितेका छन् भने गणना भइरहेको राजविराजमा मधेसी दलकै अग्रता देखिएको छ ।
स्थानीय तहमा निर्वाचित भएसँगै सप्तरीका प्रमुखहरुले बिभिन्न किसिमको योजना ल्याउने उदघोष गरेका छन् ।
कसैले बाढी रोक्ने बताएका छन् भने कसैले लोडसेडिङमुक्त बनाउने बताएका छन् । सँगै मधेसी दलबाट निर्वाचित भएकाहरुले मधेस मुद्दाको उत्थान गर्ने बताएका छन् ।
‘मधेसका जे जति मागहरु पूरा भएको छ, त्यसबारे जानकारी गराउँदै पूरा नभएका मागहरुलाई सम्बोधन गराउनका निम्ति पनि काम गर्नेछु,’ राष्ट्रिय जनता पार्टीबाट तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका सतिश सिंहले भने, ‘मधेसीको मुद्दा सम्बोधन गराउन अलिकति पनि पछि पर्ने छुइनँ ।’
कुल ७ तिलाठी-कोइलाडी गाउँपालिकामा तीन वटा वडासहित प्रमुख र उपप्रमुख राजपाले जितेको छ ।
तिलाठी सप्तरीको यस्तो ठाउँ हो जहाँ सामान्य वर्षामा पनि बाढी पस्छ । प्रमुख सिंहले बाढी आउनै नदिनका लागि काम अघि बढाउने आफ्नो प्रमुख एजेन्डा रहेको बताउँछन् । यस वर्ष आएको बाढीले यस गाउँपालिकाको हरेक वडा डुबानमा परेको थियो । सिंहले बाढी आउन नदिन बाँध बनाउनेदेखि नष्ट भएका खेतीलाई कसरी कृषियोग्य बनाउने त्यसतर्फ ध्यान दिने बताए ।
तिलाठी-कोइलाडीसँगै जोडिएको हनुमाननगर-कंकालिनी नगरपालिकामा पनि राजपाले जित हात पारेको छ । यो नगरपालिकाका मेयर शैलेश साहले पनि बाढी आउन नदिनका लागि काम गर्ने बताउँदै यसपछि सडकको कामलाई गति दिने बताए । ‘बाढी आएको बेला धेरै ठाउँमा गाडी जान सकेको थिएन,’ उनले भने, ‘हरेक वडामा गाडी पुग्ने किसिमले बाटो बनाउनेतर्फ ध्यान दिनेछौं ।’
हनुमानगर-कंकालिनीलाई नगरपालिका भनिएपनि अहिले गाउँ जस्तै रहेको भन्दै उनले साँच्चिकै नगरपालिका बनाएर छाड्ने बताए ।
विकास सँगसँगै मधेशको मुद्दालाई अघि बढाउने उनले बनाए । ‘मधेसको धेरै मुद्दा हालसम्म सम्बोधन हुन सकेको छैन,’ उनी भन्छन्, ‘सम्बोधन हुन नसकेका मुद्दालाई पनि अगाडि बढाउने काम गर्छौं ।’
जिल्लाको सबैभन्दा पछाडि परेको क्षेत्र हो बलान-बिहुल गाउँपालिका । शुरुमा बोदे बर्साइन नगरपालिकामै राखिएको यस गाउँपालिकाका ६ वटा गाविसहरुलाई पछि बलान-बिहुल गाउँपालिका बनाइएको थियो । यो गाउँपालिकामा संघीय समाजवादी फोरमका युवा नेता दयानन्द गोइत प्रमुखमा निर्वाचित भएका छन् । अधिकांश वडा र उपप्रमुख समेत फोरम नेपालले नै जितेको छ ।
‘म गाउँपालिकाको प्रमुख होइन, सेवक बन्ने सौभाग्य पाएको छु,’ गोइतले भने, ‘शुरुदेखि हालसम्म केन्द्र र जिल्लाबाट समेत अपहेलित यो गाउँपालिकालाई पाँच वर्षभित्र नेपालकै नमूना गाउँपालिका बनाउन कुनै कसर बाँकी राख्दैनौं ।’
गाउँपालिकाको अधिकांश ठाउँमा बिजुली पुगेको छैन भने भौगोलिक दृष्टिले एकदमै पछि परेको छ । सडकहरु राम्रा छैनन् । मावि विद्यालय २ वटा मात्रै रहेको छ ।
प्रमुख गोइत गाउँपालिकामा केहि दिनभित्रै प्राविधिक शिक्षालय खोल्न लगाएर दक्ष जनशक्ति उत्पादन गर्ने र बिजुली जडान गर्ने पहिलो लक्ष्य भएको बताउँछन् ।
मधेसका मागहरुको सन्दर्भमा उनले भने, ‘मधेस मुद्दालाई पनि विकाससँगै जोडेर लग्नेछु ।’
शहीदका परिवारलाई हरेक किसिमको लाभ दिन आफू तयार रहेको बताउँदै यो गाउँपालिकाका कुनै पनि जनतामाथि अन्याय हुन नदिने र सबैले न्यायको अनुभूति पाउने बताए ।
पूर्व-पश्चिम राजमार्ग र ग्रामिण भेग समेतसँग जोडिएको रुपनी गाउँपालिकाका अध्यक्षले एक महिनाभित्रै लोडसेडिङ मुक्त गर्ने प्रतिबद्वता जनाएका छन् । प्रमाण पत्र लिने बेला बोल्दै उनले यसपछि सडक निर्माणका कामलाई तिब्रता दिने बताए ।
राजपाबाट डाक्नेश्वरी नगरपालिकामा राजपाबाट मेयरमा निर्वाचित भएका शिबनारायण साहले सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्ने एजेन्डालाई प्राथमिकता दिएर काम गर्ने बताएका छन् । शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले हरेक काम पारदर्शी तरिकाले हुने र आफूले कसैलाई बोल्ने ठाउँ नदिने समेत बताए ।
सदरुल पुत्रको छुट्टै योजना
जित्ने आश गुमाइसक्दा पनि जितेका जिल्लाको खड्ग नगरपालिकाका मेयर हेमायु हकले भने छुट्टै योजना बनाएका छन् ।
आफ्नै पत्नी र छोरीको योजनामा हत्या गरिएका पूर्व सभासद् सदरुल हकका छोरा हेमायुल जनताको हरेक गुनासो सुन्न तयार रहेको बताएका छन् । फोरम नेपालबाट निर्वाचित उनले विजयी जुलुसकै क्रममा जनतालाई आफ्नो मोवाइल नम्बर दिँदै कुनै गुनासो भए तत्काल फोन गर्न भनेका छन् ।
उनले महिनाको अन्तिम आइतबार गाउँ-गाउँ पुगेर जनगुनासो सुन्ने र सम्बोधन गर्ने योजना बनाएका छन् । अनलाइनखबर